site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली महिला कामदारहरु खाडीमा ‘आधुनिक दास’ का रुपमा फस्दैछन्
SkywellSkywell

एजेन्सी । पाँच महिनासम्म उत्पीडनमा परेकी अमीताले भाग्न जानेकी थिइनन् । यसरी कुवेतको एक सहरी क्षेत्रमा घरेलु कामदारका रुपमा काम गरिरहेकी ४५ अमीता (नाम परिवर्तन) लाई भोको राखेर दिनको २० घण्टासम्म जबरजस्ती काम गर्न लगाइन्थ्यो । 

उनी त्यस घरका सबै सुतेको मौका छोपेर शौचालयको झ्यालबाट बाहिर निस्केर भागेकी हुन् । त्यसपछि उनले कुवेतस्थित नेपाली दूतावास पनि फेला पारिन् । तर त्यहाँका कर्मचारीहरुले आफूलाई सुरक्षित रुपमा घर काठमाडौँ पुर्याइदिने उनको आशा भने बेकार बन्न पुग्यो । 

उनीहरुले मद्दतका लागि अस्वीकार गरेको अमीता बताउँछिन् । 

KFC Island Ad
NIC Asia

उनी भन्छिन्, “उहाँहरुले मलाई म जसरी नै रोजगारदाताको घरबाट भागेका धेरै महिलाहरु रहेको बताउनुभयो र विमानको टिकट शुल्क तिरिदिन नसक्ने भनेर पठाउनुभयो ।” 

तर पनि दूतावासका कर्मचारीहरुले अमीतालाई रोजगार सम्झौता उल्लंघन गरेको भन्दै पुलिससमक्ष आत्मसमर्पण गर्न सुझाव दिएका थिए । 

Royal Enfield Island Ad

त्यसरी ११ दिन जेलमा बिताइसकेपछि मात्र उनलाई कुवेत सरकारको खर्चमा नेपाल पठाइयो । 

यसरी सबै खाडी मुलुकले विदेशी घरेलु कामदारहरुलाई ‘कफाला प्रणाली’ अन्तर्गत रोजगार प्रदान गर्ने गरेको छ । 

यसमा कामदारहरुको बाहिरी आवतजावत पूर्ण रुपमा नियन्त्रण गरिएको हुन्छ जसले उनीहरुको पासपोर्ट पनि पहिले नै जफत गर्छन् । 

त्यसैले पनि देश छाड्ने वा काम परिवर्तन गर्नेमा समेत कानुनी रुपमा उनीहरुकै नियन्त्रण रहने गर्दछ जसकारण यो प्रणालीलाई धेरै समस्याजनक मानिँदै आएको छ । 

नेपाल सरकारले २०१७ मा ल्याएको नयाँ नीतिले महिलाहरुलाई त्यस्ता दुर्व्यवहार र उत्पीडनबाट जोगाउने अपेक्षा गरिएको थियो । तर उल्टै यसले कामदारहरुको समस्या जटिल पारिदिएको द गार्जिएनमा प्रकाशित एक समाचारमा उल्लेख छ । 

आफ्ना कामदारहरुलाई विदेशी भूमिमा सुरक्षित वातावरण दिलाउन चौतर्फी दबाबमा आएपछि नेपाल सरकारले केही वर्ष अगाडि मात्र खाडी मुलुकमा घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाएको हो । 

२०१७ देखि कार्यान्वयन गरिएको यो नयाँ नीति विशेषगरी महिलाहरुलाई अवैध तस्करी र हिंसाबाट जोगाउनका लागि ल्याइएको नेपालको श्रम विभागका प्रवक्ताले द गार्जियनसँग बताएका छन् । 

तर अर्कोतर्फ मानव अधिकारवादी कार्यकर्ताहरु भने उक्त भनाइसँग सहमत छैनन् । सो नियमले नेपाली घरेलु कामदारलाई दुर्व्यवहार र उत्पीडनबाट बचाउने नभएर महिला विरुद्ध भेदभाव बढाएको उनीहरुको आरोप छ । 

एक तिहाइ नेपालीहरुको कमाइ प्रति दिनको तीन डलर मात्र रहेको छ जसले नेपाललाई अत्यन्तै गरिब देश बनाउँदछ । यस्तोमा आम्दानी गर्न हतारिएका नेपाली महिलाहरुका लागि खाडी सबैभन्दा लोकप्रिय गन्तव्य मानिँदै आएको छ जहाँ कतिपय घरेलु कामदारले मासिक ४०० डलरसम्म कमाइ गर्न सक्छन् । 

यसकारण पनि सरकारको उक्त प्रतिबन्धले महिलाहरुलाई रोजगारको सिलसिलामा खाडीमा जानबाट रोकेको छैन । 

उनीहरु नेपालबाट सीधै खाडी नगए पनि छिमेकी देश भारत हुँदै त्यहाँ पुग्ने गरेका छन् । त्यसैले पनि गन्तव्यमा पुग्नु अगाडि नै उनीहरु तस्करी र उत्पीडनको शिकार हुने सम्भावना अधिक छ । विशेषगरी काम मिलाइदिने भन्दै विभिन्न एजेन्टहरुबाट हजारौँ महिला ठगिने र बेचिने गरेका छन् । 

काठमाडौँस्थित एक आप्रवासी अधिकारवादी गैरसरकारी संस्था पौरखीकी निर्देशक मन्जु गुरुङ भन्छिन्, “प्रायः नेपाली महिलाहरु विदेश जाँदा नेपालमा कानुनी रुपमा दर्ता भएकै हुँदैनन् जसले पनि उनीहरुलाई संवेदनशील बनाउँछ । यसकारण महिलाहरु कम पारिश्रमिक दिइने वा बेतलबी राखिने, पासपोर्ट खोसिने जस्ता समस्याको शिकार हुन्छन् । यति मात्र नभएर उनीहरुले शारीरिक हिंसा र यौन उत्पीडनको समेत सामना गर्नुपर्छ । यसरी तिनलाई आधुनिक समयका दास सरह व्यवहार गरिन्छ ।”

अर्को एक घटनामा भने ३३ वर्षीया शुशान्ति (नाम परिवर्तन) तीन वर्ष अगाडि क्लिनरका रुपमा दुबइ गएकी थिइन् । 

गतवर्ष मात्र उनी गर्भवती भइन् तर बच्चाको पिताले यसबारे थाहा पाएपछि उनलाई छाडेर गए । 

यूएइमा विवाहपूर्वको शारीरिक सम्पर्कलाई अवैध मानिन्छ भने एक वर्षसम्मको जेल सजायँ पनि हुन सक्छ । 

यस्तोमा उनले ६ महिनासम्म आफ्नो अवस्था लुकाइन् र कसैले थाहा नपाउन्जेल काम गरिरहिन् । 

सुशान्तिलाई थाहा थियो कि उनले यसमा नेपाली अधिकारीहरुसँग मद्दत माग्न सक्दिनन् । 

त्यसैले उनी ऋण गरेर काठमाडौँको टिकट काटि नेपाल फर्किइन् । तर उनका समस्या अझै सकिएका थिएनन् । 

अविवाहित अवस्थामा गर्भवती भएको हुँदा उनी आफ्नो परिवारकहाँ जान सकिनन् । अहिले उनी आफ्नी छोरीसँगै एक आश्रममा बस्छिन् जहाँ उनले नयाँ चुनौतिहरुको सामना गुर्न परिरहेको छ । 

नेपालको नागरिकता कानुनका अनुसार विदेशी पिता भएका छोराछोरीको नेपालमा जन्म दर्ता गराउन मिल्दैन । यस्तोमा विदेशी कामदारहरुका बालबालिका धेरै अवस्थामा राष्ट्रविहिन हुने गरेका छन् जसले उनीहरुलाई उच्च शिक्षाबाट वञ्चित गराउन सक्छ, कानुनी रुपमा काम गर्न पाउँदैनन् भने उनीहरुले पासपोर्टका लागि पनि निवेदन भर्न पाउँदैनन् । 

यसकारण धेरै यस्ता महिलाहरु आफ्ना छोराछोरीलाई अनाथ आश्रममा पठाउन बाध्य हुन्छन् । जहाँ कसैले ‘एडप्ट’ गरेमा तिनीहरुले नयाँ नाम पाउने उनीहरुको आशा हुन्छ । 

प्रायः अवस्थामा ती महिलाहरुलाई परिवार र समाजले स्वीकार नगर्ने हुनाले पनि उनीहरु आफ्ना मान्छेकहाँ फर्कन नसक्ने गुरुङ बताउँछिन् । 

अहिले भने शुशान्ति आफ्नी छोरीलाई नेपालमै छाडेर पुनः कामका लागि विदेशिने तयारी गरिरहेकी छन् । 

उनी भन्छिन्, “नेपालमा मेरो परिवार अत्यन्तै कडा छ । त्यसैले म उहाँहरुलाई आफ्नो अवस्था बताउन सक्दिनँ । तर अहिले मसँग मेरी छोरी पनि छ र म पैसा कमाउन फेरि दुबइ जाँदैछु । म फेरि विदेश गइनँ भने मलाई कस्ले पैसा दिन्छ ? मैले छोरीका लागि भएपनि कमाउनैपर्छ ।” द गार्जियनबाट

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro