site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पात्रको खोजी 
Sarbottam CementSarbottam Cement

कृष्ण कुसुम  


गाउँबाट फर्केको केही समय भएको थियो । कुनै पनि काममा मन गएको छैन । सायद लामो समयपछि गाउँ गएर पनि होला, दिमागमा खाली बाँसबारीकै चित्रहरु नाचिरहेछन् । बाँसबारी पहिलेको जस्तो गाउँ थिएन । जस्तो बाल्यकालको वसन्ते मझैं अहिलेको वसन्त छैन । अम्बर माविको कार्यक्रममा सहभागी भएयता आफ्नो वालापन र पवनको बढी नै याद आउन थालेको छ । त्यसैले आफैंलाई भुलाउन अलि बढी समय फेसबुकतिर अल्झिन थालेको छु । पैले खासै मन लाग्थेन । फेसबुकमा हुँदा दुईवटा फाइदा पनि हुँदैछ मलाई । पहिलो त आफ्नो नयाँ पुस्तकबारे पाठकले दिने प्रतिक्रिया । अर्कोचाहिँ, आफ्ना गाउँका स्कुले तन्नेरीहरूसँगको अनलाइन भेट ।

दिउँसोभर उफ्रिने र खेल्ने गर्दै थिइन् छोरी जुना । थाकेर होला मसँग खेल्दाखेल्दै मेरो काखैमा निदाइन् । म छोरीसँग खेल्दै गर्दा आस्था टीभी हेर्दै थिइन् । छोरीलाई सजिलोसँग सुताएर डेस्कटप खोलेँ । फेसबुक चलाउन पनि मलाई डेस्कटप नै खोल्नुपर्छ । ल्यापटप र स्मार्टफोन केही चलाउन्नँ म । फोन माने फोन मात्रै हो मेरा लागि । कुरा गर्न मात्र मिल्ने, नोकियाको पुरानो सेट बोक्छु । बेलाबेला यही निहुँमा पनि रिसाउँछिन् आस्था मसँग । भन्छिन्, लेखक जस्तो मान्छे यौटा गतिलो मोबाइल र ल्यापटप त किन्नु नि । के बिजोक गरेको यस्तो ? हुन पनि म तेस्तै छु हातैले लेख्छु आजसम्म । पुस्तकको पाण्डुलिपि हस्तलिखित नै दिने हो प्रकाशकलाई । 

Prabhu Bank
Agni Group
NIC Asia

फेसबुक खोलेँ । केही अफलाइन म्यासेज थिए । धेरै त मेरो पछिल्लो पुस्तकबारे नै पाठकहरुले दिएका प्रतिक्रिया थिए । केहीचाहिँ गाउँबाट आएको । त्यसमध्ये आफू पढेको विद्यालय अम्बर माविका हेडसरको पनि रहेछ । म गएर उनीहरुसँग भएको भेट र आफ्ना कुरा सुनाएर आएपछि विद्यार्थीमा परेको प्रभाव, उनीहरुमा पलाएको नयाँ ऊर्जा आदि कुरा उल्लेख गर्नुभएको थियो । मेसेज पढिरहँदा थाहै नपाई मुस्कुराइरहेको रहेछु । 

‘किन हो एक्लै मुसुमुसु ?’ आस्थाले जिस्क्याउँदै सोधेपछि पो झस्किएँ । 

Global Ime bank

‘गाउँतिरको मेसेजले हो’ उनीतिर नहेरी जवाफ फर्काएँ । 
‘गाउँलाई यस्तो माया गर्ने मान्छे फेरि जान चैं किन अटेर गथ्र्यौ पैला ?’ 

मैले केही बोल्नुअघि उनी आफैं बोलिन्– ‘लौलौ अब एक्लै रमाउनु राइटरजी ! म चैं लागेँ भान्छातिर ।’ 

उनलाई वास्ता नगरी हेडसरको मेसेसको रिप्लाई दिएँ । त्यसपछि अरु सबैको एकएक गरी मेसेज खोल्दै जबाफ दिँदै गर्न थालेँ ।  

मैले यति गरुञ्जेलसम्म नवीन नामबाट नयाँ फ्रेन्ड रिक्वेस्ट आयो । साथमा म्यासेज थियो रिक्वेस्टवालाको । म्यासेज पढेँ—‘वसन्तजी म साहित्यको एक पाठक । केही फुटकर कथा र यौटा उपन्यास पढेको छु, तपाईंको । लेखनसँग त एकतर्फी परिचित छु । अब दोहोरो परिचय होस् र नियमित सम्पर्कमा रहूँ भन्ने चाहेको छु ।’

फेसबुकमा साथी बन्न म्यासेजसहित रिक्वेस्ट पठाउने आफ्नो पाठकलाई किन साथी नबनाऊँ ? कन्फर्म बक्समा क्लिक गरेँ ।

यता मैले क्लिक गरेँ । उता ऊ अनलाइनमा झुल्कियो– ‘धन्यवाद साथी स्वीकार्नु भएकोमा ।’

‘स्वागतम्’ औपचारिकता पूरा गरेँ ।

‘लेखन कस्तो चल्दै छ ?’ गफिने सुरमा थियो उ, ।

‘छैन त्यस्तो केही, लेखन रोकियो ।’ टार्ने प्रयत्नमा लागेँ ।

‘किन रोकियो, व्यस्त भएर ?’

‘हैन । लेख्ने फुर्सद छ ।’

‘विषयवस्तु पाउनु भएन ?’

‘छन् विषयवस्तु पनि । हरेकको भोगाइ यौटा अलिखित कथा हो । अझ सिङ्गो उपन्यास नै भने हुन्छ ।’

‘तब त्यही कुरा लेख्नुस् न त । किन लेख्नुहुन्न ?’ ऊ अह्राइरहेको छ । मानौं, ऊ मलाई गृहकार्य दिने शिक्षक हो ।
‘उस्सै । मन लागेन ।’

‘यत्तिकै नलेख्न त पाइएन नि । पाठकहरु निराश होलान् भन्ने पिर छैन ?’ फुक्र्याउन खोज्यो ।

‘मलाई लाग्दैन मैले नलेख्दा निराश हुने पाठक पनि छन् भनेर ।’

‘कसरी भन्नुहुन्छ ?’

‘त्यस्तै लाग्छ । किनकि म त्यस्तो ठूलो लेखक हैन । जो चारैतिरबाट पाठकहरुले घेरिएर बसेको होस्, जसको नयाँ पुस्तक कैले आउला र पढौंला भनेर ।’

‘रहेछन् भने नि ?’ मलाई उक्साउन खोज्यो ।

‘छैनन् । रहेछन् भने ठीकै छ । अलि रुखो बनेँ । म खास उत्साहित भइनँ उसको उक्साहटबाट ।’

‘यहाँ जति धेरै लेखक छन् त्यति धेरै पाठक छैनन् । र, लेखक पनि अर्काे लेखकको नपढी आत्मरतिमा रमाइरहेको हुन्छ । मलाई थाहा छ यहाँको पठनसंस्कृति ।’ 

‘उसो भए म यौटा मात्र अपवाद रहेछु । विशुद्व पाठक । लेख्न सक्दिनँ, पढ्न रमाउँछु ।’ उसले कुराकानी तन्कायो ।

म भने उसको चित्त नदुखाई कुराकानी टुङ्ग्याउने ध्याउन्नमा थिएँ । तर म कुरा गर्न अनिच्छुक देखिएँ भने मप्रतिको सद्भाव गुम्ला भन्ने डरले घर गरेको थियो ।  

‘आफ्ना पात्रहरुसँग भेट हुन्छ कि हुन्न ?’

‘कथामा पात्र बनाएपछि कमैलाई भेटेको छु ।’

‘भेट्दा उसको विषयमा लेखेको कुरा भन्नु हुन्छ ?’

‘भेटेँ भनेँ त बताउँथेँ ।’

‘किन नभेटेको त  ?’

‘भेट्ने चेष्टा नगरेरै होला । तर भेट्नै खोजेको एउटा पात्र अझै गुमनाम छ ।’

‘कुन पात्र ? पवन ? त्यही फिर्फिरेको पवन ?’

यसपल्ट चैं मलाई ट्वाँ पार्दियो । कसरी थाहा पायो यो कुरा ?

तुरुन्त जबाफ लेखे– ‘हो त्यही पवन । मेरो बालसखा । कसरी थाहा पाउनु भो ?’ अब कुरा गर्न उत्साहित हुने मेरो पालो भयो ।

‘मैले पछिल्लो पढेको त्यही उपन्यास हो । त्यो पुस्तकमा तपाईंको बढी नै आशक्ति देखिन्छ ऊप्रति त्यसैले ।’

म अरु बढी कुरा सोध्न चाहन्थेँ । च्याटबक्समा उसले लगातार टाइप गरिरहेको देखेर एकछिन रोकिएँ ।

‘अन्तिमतिर भगवान्का नाममा चिट्ठी नै लेख्नु भा’थ्यो नि ।’ 

‘हो हो ।’

‘त्यसैले मैले अनुमान लगाएँ ।’

‘तपाईंको अनुमान सही हो । म पवनलाई अझै पनि खोज्दैछु । तैपनि बाँचेर कतै गुमनाम पो बसेको छ कि भनेर !’

‘उसो भए १८र१९ वर्षसम्म भेट्नुभएन पवनलाई ?’ प्रसङ्ग थप्यो उसले ।

‘भेटिएन । उपन्यास लेखेकै पनि १ वर्ष भयो ।’

‘भेटाउने मान्छेलाई पुरस्कार पनि त होला ?’ जिस्काउन थाल्यो ।

‘छ नि त । किन नहुनु ?’

‘के छ ?’ रौसियो ।

‘धन्यवाद टक्राउँछु  ।’ म चैं के कम हुनु । साथमा हाँसोको सङ्केत पनि पठाएँ ।

‘त्यो त झेली भो । त्यस्तरी खोजेको मान्छे भेटाइदिँदा पनि धन्यवादले टार्ने ?’ उसले बार्गेनिङ सुरु गर्‍यो ।

उसको यस्ता कुराले ऊ पवनबारे जानकार मान्छे हो जस्तो लाग्यो । सोधेँ– ‘के तपाईंलाई केही थाहा उसको बारेमा ? भेट्नु भा छ कतै ?’

उसको जबाफ नआउँदै झ्याप्प बत्ती गयो । लोडसेडिङको समय भैसकेछ । राति १ बजेमात्र आउँछ । एकदम रिस उठ्यो । देशको बेथिति दखेर दिक्क लाग्यो । अँध्यारोमा छामछामछुमछुम गरेँ । टेबलमा राखेको मैन र सलाई भेटियो । मैन बालेँ । कम्प्युटरको तार छुटाएँ । एकछिनसम्म एकोहोरिएँ । अस्ति भर्खर आस्थाले भनेको कुरा याद आयो । भनेकी थिइन्– ‘खुरुक्क आईएलटीएस गरेर अस्टे«लिया जाऊ । तिमी गर्दैनौ भने बरु म नै पढ्छु । मेरो डिपन्डन्टमा जाउँ । के पाउँछौं नेपालमा बसेर  ? सबै कुरा अस्तव्यस्त भएको ठाउँमा ! पैले पो आमा हुनुहुन्थ्यो र बस्नैपर्नेथ्यो । अब केले छेक्छ जानलाई ?’
‘भागेर समस्याको समाधान खोज्न मिल्दैन । सबैजना जिम्मेवारीबाट भागेपछि त झन् बिग्रिन्छ नि ।’ मैले सम्झाएको थिएँ ।

‘खोक्रो राष्ट्रवादको भाषण नगर ।’ उनी रिसाएकी थिइन् ।  

साँच्चै यतिबेला खोक्रो राष्ट्रवाद बोकेर बसेको अनुभव गरेँ । आफूले भेट्न लागेको मान्छे एकपटक फेरि उम्कने भो भन्ने सोचाइले गलित भएँ । आफ्नो ल्याङफ्याङे जीवन शैलीप्रति रिस उठ्यो । अलि गतिलो मोबाइल वा ल्यापटप प्रयोग गर्ने भए पनि समस्या हुन्थेन अहिलेलाई च्याट गर्न ।

खाना तयार भएको खबर आयो । खाएँ भनूँ  । रुचि भएन । खाएजस्तो गरेँ । थुप्रै काम थियो गर्नुपर्ने । केही गर्ने मन भएन । गरिनँ । ओच्छ्यानमा पल्टेँ । ननिदाउञ्जेल दुई पात्र मनमा खेलिरहे, पवन र नवीन ।

भोलिपल्ट ब्युँझनासाथ बत्तीको स्विच अन गरेँ । लोडसेडिङ रहेनछ । बल्यो । अरु केही काम नगरी सीधै कम्प्युटरमा बसेँ । फेसबुक खोलेँ । एउटा म्यासेज रहेछ । नवीनले हिजो नै पठाएको थियो त्यो । पढेँ । उसलाई थाहा रहेछ पवनको बारेमा । मसँग भेटेरै कुरा गर्ने मनसायले मोबाइल नम्बर मागेको थियो । हत्तपत्त नम्बर पठाएँ । मलाई हतार थियो ऊसँग भेट गर्न । उसलाई भेट्नु भनेको पवन भेटिनु हो । एकछिन कुरेँ अनलाइन आउला कि भनेर । आएन । हिजोको बाँकी काम सक्नु थियो । कम्युटर बन्द गरेँ र काम सक्नतिर लागेँ ।

दिउँसो नयाँ नम्बरबाट फोन आयो । कोही बोल्दैथियो– ‘म नवीन । भेटेर चिया पिउने कि कतै ?’

‘हुन्छ समय मिलाउनुहोस् ।’

‘३ बजेपछि भृकुटीमण्डपतिर ।’

मैले स्वीकृति जनाएँ ।

उसले भनेको समयमा भृकुटीमण्डपको एउटा क्याफेमा बसेँ र फोन गरेँ । नजिकै आइपुगेको रहेछ । तुरुन्त मेरो अगाडि झुल्कियो ।

आपसमा हात मिले । दुई कप कफी अर्डर भयो । केही व्यक्तिगत सोधखोज चले । काँडाघारीतिरको रहेछ ऊ । मेलम्ची खानेपानी आयोजनामा काम गर्ने । मैले पनि आफ्नाबारे बताएँ । आपसी चिनजान गर्दासम्म टेबलमा कफी आइसकेको थियो । मैले कफीको पहिलो चुस्की तान्दा उसले साहुजीलाई भन्यो– ‘यौटा एमाले दिनुस् न ।’

साहुजी अलमलियो । उसले हाँस्दै प्रष्ट्यायो– ‘सूर्य चुरोट मागेको ।’

उसको ठट्टा गर्ने शैली मन पर्‍यो  । रमाइलो मान्छे रहेछ ।

चुरोट सल्काउँदै बोल्यो– ‘भनेपछि पवन भेट्ने ?’

‘हजुर’ मुण्टो हल्लाएँ ।

‘हुन्छ । ढुक्क हुनुस् । म भेटाउँला तपाईंलाई ऊसँग ।’

‘पवन कहाँ छ त ?’

‘तेतै काँडाघारीतिर ।’

‘के गर्छ  त्यता ? पवनको बारे बताउनुस् न ।’ म अलि हतारिएँ ।     
            
‘एक वर्षअघि वैशाखको अन्तिम साता ।’ 

ऊ पूर्वस्मृतिमा फर्कियो– ‘मेरो घरसँगैको घरमा नयाँ परिवार बसाइ सरेर आए । एक अधबैंसे जोडी र ३३–३४ वर्षको युवा । २–३ दिनमा केहीपल्ट देखादेख मात्र चल्यो । आँखा जुध्दा हल्का मुस्काइन्थ्यो । सोधखोज कुराकानी केही भएन । छिमेकमा बस्न आएको नयाँ मान्छेलाई कतिञ्जेल बेवास्ता गर्नु ? एक सातापछि आफैंले बोलाएँ । छिमेकी भएर आएकोमा स्वागत गरेँ । आपसमा परिचय भयो । बालाजुबाट सरेर आएका रहेछन् । पोहोरको भुइँचालोले त्यहाँको घर भत्काएपछि यता सरेका रे । बूढाचाहिँ कुनै विदेशी निकायको माथिल्लै तहमा काम गर्ने रहेछन् । भन्थे– घरमा भन्दा बढी बाहिरै बास हुन्छ ।’ 

परिचयपछि आक्कलझुक्कल सँगै चिया खान थालियो । कैले मेरोमा कैले उनकोमा । उनी २–३ महिना छुट्टीमा थिए र यो अवसर मिलेको । भेटघाट गर्दै गर्दा उनको र मेरो चुरोट खाने (कु)लतले नजिक्यायो आपसमा । भेटघाट बाक्लियो चिया र चुरोट खानै पनि । 

यसरी दिनानुदिन नजिकिँदै थियौं । उनको बिदा सकियो । फेरि फिल्ड जान थाले । उताबाट फर्केपछि हरेक पटक सँगै चियाभेट हुन्थ्यो । कैले कसो कर्णालीका माछा बोकेर आउँथे– ‘चाख्नुस् है’ भन्दै । 

तीन महिनाजति अघि यौटा शुक्रबार साँझ मेरो घरमा बस्यौं हामी नजिकका २–४ जना साथी । केही बोतल ब्ल्याकलेबल फोडियो । अरु साथीहरु घर फर्केपछि हामी दुई मात्र हुँदा पारिवारिक कुरा निस्क्यो । 

त्यतिबेलै उनी आफ्नो परिवारका बारे यसरी खुलेथे– हाम्रो सानो परिवार । दुईजना बूढाबूढी र छोरा । श्रीमती बैङ्कबाट रिटायर्ड । म पनि अहिलेसम्म काम गर्दैनथेँ होला । तर छोराका निम्ति जीवनभर पुग्ने गरी सञ्चित गर्नुपर्ने बाध्यताले मात्र...!’ 

‘लौ किन त्यस्तो नि ? छोरालाई जीवनभर चाहिने यहाँले ब्यालेन्स गर्दिनुपर्छ त ?’ म बीचैमा बोलेँ । 

‘नवीनजी कुरा त्यस्तै छ । उसले काम गरेर आफूलाई पाल्न सक्दैन ।’  

‘हो र ? के गर्छन् साँच्चै हजुरको छोरा ?’  

‘खास केही गर्दैन । फाइन आर्ट सिक्छ त्यही गर्छ र त्यसैमा हराउँछ ।’ 

‘म उसलाई त्यसैमा रमाओस् र बाहिरी दुनियाँबाट टाढै होस् भन्ने चाहन्छु । मनुजबाबु मिश्रझैं क्या । आखिर यो दुनियाँसँग पहिल्यै टाढा भैसकेको मान्छे हो ।’ 
‘के भन्नु भा त्यस्तो ? बुझिएन नि !’ मेरो उत्सुकता बढ्यो । 

 ‘कुरा त्यस्तै छ नवीनजी !’ 

उनले कुराको पोयो खोले– ‘सायद २०५३ असारतिर हुनुपर्छ । म यौटा एनजीओमा काम गर्थें । त्यही संस्थाले पश्चिम नेपालको पहाड़ी जिल्लामा गरेको स्वास्थ्य शिविरबाट फर्कंदै थियौं । बाटोमा आउँदै गर्दा साँझपख ठूलै पानी पर्‍यो । खोलानाला उर्लेर आयो । सुर्खेततिर जाँदै थियौं सौतेनी नदीको भेलले रोक्यो । अनकण्टार खोला किनारामा रात बिताउनु पर्ने जस्तो अवस्थामा परियो । तैपनि पानीको सतह घटेमा जङ्घारबाट तर्न मिल्ने । त्यही क्षण पर्खेर बस्यौं । जिप रोकेर खोला किनारामा पानीको सतह घटे–नघटेको हेर्न थाल्यौं । यसरी बस्दा समुहका एकजनाले खोलाको किनारामा लडिरहेको युवक देखे । एकछिन हल्लाखल्ला भयो । सबैले थाहा पायौं, अचेत युवक लडिरहेको बारे । हामी सबैले मरिसकेको अनुमान गरेका थियौं । छेउमा गएर हेर्दा त हेरिनसक्नु थियो । शरीरभरि नीलडाम र टाउकोमा गहिरो चोट लागेको । म त हेर्न नसकेर टाढै बसेँ । सँगैका डा. टोलीले युवक यताउति चलाए । धड्कन छामे र केहीबेरमा युवक जीवित नै भएको यकिन गरे । अनि पानी छदाएर मुखबाट स्वास दिन थालेपछि मात्र हो रे केटो चलमलाएको । 

मध्यराततिर पानी रोकिएर खोला घटेपछि रातारात गाडीमा सुर्खेत गयौं । अचेत केटा साथमै थियो । बेवारिसे केटा कता छोड्नु भनेर काठमाडौंमै ल्याइयो । सबैको पहलमा थप उपचार गरियो । अलि बढी मैले नै हेरचाह गरेँ, अस्पतालमा पनि । होस आएपछि सोधखोज गर्‍यौं । आफ्नो घर, नाम, ठेगाना केही बताउन सकेन । डाक्टरहरुले टाउकोमा लागेको गहिरो चोटको कारण स्मृति हराएको बताए । 

बिहे गरेको ५–६ वर्षमा पनि हाम्रो बच्चा भएको थिएन । पटकपटकको चेकजाँचपछि हामी जोडीबाट बच्चा हुन सक्दैन भनेर डाक्टरले भनिसकेका । मातृत्वको अनुभव नगरेकी मेरी श्रीमतीले पनि ज्यादै प्रेमले उसको स्याहार गरिन । यो देखेर म उसलाई आफूले पाल्ने विचारमा पुगेँ । श्रीमती र अरु साथीहरुसँग सो प्रस्ताव गरेँ । सबै खुसी भए । म आफैंलाई पनि भगवान्ले प्रसाद दिएझैं लाग्यो । यौटा बेसहारा केटोलाई छोराको रुपमा अपनाउन पाउँदा । त्यहीँबाट हामीसँगै छ अहिले । पछि पनि उसलाई पुराना कुरा सोध्यो भने खाली टोलाउने गर्छ । आफैंमा हराउने कताकता अनन्तमा पुगेझैं । त्यसपछि हामीले यो विषय कहिल्यै कोट्याएनौं । उसले पुराना सबै कुरा बिर्सियो । हामीलाई उसको बारे केही थाहा छैन । त्यसैले सबै कुरा नयाँ ठाँउबाट सुरु भयो । हामी उसका बाआमा र ऊ हाम्रो छोरा । हामीले उसको नाम ‘भाग्य’ राखेका छौं । ऊ भाग्यले बाँचेर हाम्रो छोराको रुपमा हामीले पाएकोले । हामी जोडीले एकदमै माया गरेर हुर्काएका छौं । रिह्याब सेन्टरतिर र मनोवैज्ञानिकहरुको सम्पर्कमा छौं । उसको स्मृतिमा केही सुधार हुन्छ कि भनेर । र, उसलाई आफैंमा रम्न दिएका छौं । फाइन आर्ट सिकाएका छौं ऊ त्यसैमा मग्न छ । 
यौटा अनुरोध कृपया यो विषयमा ‘भाग्य’ सँग केही कुरा नगर्नुस् है नवीनजी ।’ 
‘हामीबीच जे कुरा सेयर भयो यो कहीँ जाँदैन ।’ 

  ‘उनी फेरि फिल्ड फर्के । म अबचाहिँ त्यो केटालाई नजिकबाट नियाल्न थालेको थिएँ । यहीबीचमा तपाईंको पुस्तक पढ्दैथिएँ । अन्तिमतिर पुग्दा जतिजति पाना पल्टायो उतिउति पुस्तकको पवन नै मेरो छिमेकी केटा भाग्य हो जस्तो लाग्न थाल्यो । यो कुरा अब न भाग्यले भन्नेछ वा न त ती छिमेकी जोडीले नै । त्यसैले पनि सीधा तपाईंसँग कुरा गर्न मन लाग्यो । उसलाई चिन्ने यौटै मात्र व्यक्ति तपाईं नै हो । र, पुस्तकमा ऊप्रतिको तपाईंको प्रेम देखेर सम्पर्क गरिहालेँ । भाग्य नै तपाईंको पवन भैदियोस् भन्ने कामनासहित ।’ 

नवीनले पवन मानेको ‘भाग्य’ बारे यति बोल्यो । 
उसको कुरा सुन्दै गर्दा फेरि त्यही पुराना कुरा दिमागमा घुमिरहेथे । मुनमुनलाई भेटेदेखि सौतेनी नदीतिरसम्मका घटना । मेरा आँखा भिजिसकेछन् । बोल्न खोजेँ । घाँटी क्याप्प भो । अड्किँदै बोलेँ– ‘जाउँ न त तपाईंको घर । पवन नै हो भने त म चिनिहाल्छु नि ।’ 

‘भोलि है ? आज अर्को काममा जानुछ । घर पुग्दा राति हुन्छ ।’ 
मन नलागीनलागी मुण्टो हल्लाएँ । 
‘फेरि १ राउन्ड कफी थपौं र छुटौं हुन्न ?’ उसैले प्रस्ताव ग¥यो । 

यतिबेलासम्म तीन कप खाइसकेका रहेछौं । तैपनि नाइँ भनिनँ । 
कफी खाइसकेर हिँड्न तरखर गर्दै हात मिलायो– ‘भोलि ११ बजे भेटौंला ।’
‘अवश्य पनि’ भन्दै म पनि उठेँ । 
एकमन पवन भेट्ने उत्साहमा खुसी थियो । अर्को मनमा शङ्का थियो उत्तिकै– त्यो भाग्य भन्ने केटा पवन नै हो भन्ने के ग्यारेन्टी ? 

जेहोस्  १७–१८ वर्षसम्म कुनै खबर नपाएको साथीबारे जान्ने हतारोमा छु । मलाई थाहा छ– आजको एकदिन बिताउन मात्रै पनि मलाई एक वर्ष बिताएझैं लामो लाग्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय