site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
घुमिफिरी सरकारी
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


सुदूर भविष्यको चिन्ता थिएन अथवा चेतना ? सायद उमेरले होला । भोलिको तनाव थिएन गोपालको टाउकोमा । थियो त केवल पढ्नुपर्छ । ०४६ सालमा गोपाल आफ्ना दाजुको कमिजको फेरो समाएर झापाबाट काठमाडौं झरे । 

दाइले रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा भर्ना गरिदिएछन् । के पढ्छस् ? सोधेनन् । सायद आवश्यक ठानेनन् । अङ्ग्रेजी, राजनीति शास्त्र र पत्रकारिता विषय छानिदिएछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कुन विषय कस्तो ? गोपाललाई उति धेरै ज्ञान थिएन । पढ्न थाले । प्रवीणता प्रमाणपत्र तह सकियो । स्नातक पढ्न थाले । दोस्रो वर्षमा इन्टर्नसिप गर्नुपथ्र्यो । ‘बुधबार’ साप्ताहिक पुगे । दुई महिना काम गर्दा उनले केही समाचार लेखे । त्यसममध्ये एउटा समाचार भने गोपाललाई अझै सम्झना छ । विषय राजनीति थियो । कुनै नेताले गरेको भाषणको समाचार थियो । नेता र समाचारको शीर्षक त उनको दिमागबाट पाखा लागिसकेछ । तर समाचारको ‘प्लेसमेन्ट’ भने बिर्सिएका छैनन् । पहिलो पृष्ठमै मुख्य समचार बनेर छापिएको थियो । बाइलाइन पनि थियो । तर प्रशिक्षार्थी पत्रकार लेखिएको थियो । प्रशिक्षार्थीकालमै मेन न्युज ? हो । तर कलेजको नम्बरका लागि गरेकाले हो अथवा किन त्यो बाइलाइनले ठूलो उत्साह भने दिएन उनलाई ।

गोपालले रहरले पत्रकारिता पढेका थिएनन् । अर्थ पत्रकार बन्ने लक्ष्य थिएन । तर जब स्नातक तह पुगे– दमन, शोषण, विकृति र विसङ्गतिबिरुद्ध बोल्नुपर्छ भन्ने सानैबाट चेतना भएका गोपाललाई लाग्न थाल्यो, पत्रकारितामार्फत् यो काम गर्न सकिने रहेछ ।  

Global Ime bank

कामको खोजी थियो । समाचारमार्फत् समाजका बेथिति चिर्ने रहर थियो । त्यही समय ‘कान्तिपुर’ दैनिक र ‘काठमान्डू’ पोस्टलगायत केही सञ्चार माध्यममा काम गरिरहेका ठूलो सङ्ख्याका पत्रकारलाई सूर्य पब्लिकेसनले जम्मा गरेर ‘श्री सगरमाथा’ दैनिक र ‘एभरेस्ट हेराल्ड’ प्रकाशन सुरु गर्‍यो । त्यसमा ट्रेनी जर्नालिस्टका रुपमा ‘श्री सगरमाथा’ पुगे गोपाल । १५ सय रुपैयाँ तलब थियो । 

‘श्री सगरमाथा’मा सम्पादक थिए, तीर्थ कोइराला । फिचर र उपत्यका पृष्ठका सम्पादक– रघु मैनाली ।

काम सुरु गरेको केही दिनमात्रै भएको थियो । रघुले गोपाललाई भने– तपाईं आज दिनभर पुतलीसडकको चोकमा गएर बस्नुस् । 

गोपाल : किन सर ? 

रघु : चोकको ट्राफिक लाइट हेर्नुस् । कसकसले बाटो क्रस गर्छन् । कसले ट्राफिक नियम पालना गर्छन्, कसले गर्दैनन् । आएर लेख्नुस् । 

त्यसै गरे गोपालले । अर्को दिनको पत्रिका हेर्दा, वाह् ! त्यो समाचार त एङ्कर न्युज छ । 

गोपाललाई चेतना भयो– समाचार कसरी खोज्ने रहेछ, कसरी लेख्ने रहेछ । सामाजिक विषयलाई कसरी समाचारमा रुपान्तरण गर्ने, उनले बुझे । त्यसबखत त्यो पत्रिका राम्रै चलिरहेको थियो । 

पत्रिकामा एमालेको लगानी थियो । विस्तारै त्यो समाचारकक्षमा देखिन थाल्यो । पार्टीमात्रै होइन, पार्टीभित्रका गुट–उपगुटको पनि प्रभाव देखिन थाल्यो । व्यवस्थापन फितलो भयो । अन्ततः पत्रिका बन्द भयो ।

त्यहाँ उनले सामाजिकसँगै राजनीतिक रिपोर्टिङ गरेका थिए । “पार्टी निकट पत्रिका भनेर चिनिएकाले एमाले नेताहरुले रिपोर्टिङमा सँगै लैजानुहुन्थ्यो,” गोपाल सुनाउँछन्, “माधव नेपालले आफ्नो गाडीमा राखेर कार्यक्रममा लैजानुभएको मलाई आज पनि याद छ ।”

झलनाथ खनाल सञ्चारमन्त्री भएका बेला गोपाल पुगे ‘रेडियो नेपाल’ । खगेन्द्र खत्री चिफ रिपोर्टर थिए । गोपाल रिपोर्टरका रुपमा नियुक्त भए । 

राजनीतिक नियुक्ति पाए पनि रेडियो नेपालमा काम गर्दा भने उनले त्यो वातावरणमा काम गर्नु परेन । अङ्ग्रेजी पनि आउने भएकाले उनलाई विदेश मामिला तथा अन्तरराष्ट्रिय सम्बन्धको समाचार लेख्न लगाइयो । विदेशी डेलिगेसन आउँदा गोपाल जान्थे । 

“रिपोर्टिङमा नियुक्ति पाए पनि मलाई घटना र विचारमा पनि काम दिइयो । म पहिलो पटक घटना र विचारमा समाचार पढेर गाडीमा घर फर्किदै थिएँ,” गोपाल सझिन्छन्, “घटना र विचार कार्यक्रम सुरु भयो ।

मैले समाचारहरु निकै छिटो पढेछु । हड्बडाएको सुनियो । आफैंलाई लाज लाग्यो । घर पुग्दा कोही तँ पनि रेडियोमा बोल्ने भनेर दङ्ग थिए भने कसैले किन त्यसरी आत्तिएको भने !”

६ महिना भएको थियो काम सुरु गरेको । सरकार परिवर्तन भयो । गोपालले पनि रेडियो छोडे ।

० ० ०

कसमस विश्वकर्माले प्रकाशन गर्न लागेका थिए– ‘पत्रिका सात दिने’ । गोपाल त्यहीँ पुगे । शिव गाउँले, अजयभद्र खनाललगायत पत्रकारहरुको टिम थियो ‘पत्रिका सात दिने’मा । ट्याब्लोइड पत्रिका थियो । खोजी स्टोरी दिने पत्रिकाको उद्देश्य थियो । 

पत्रिकाको पहिलो अङ्कमा कतिपयले अश्लील भन्ने त कतिपयले हिन्दू धर्मको मिथक मान्ने टुँडालको स्टोरीलाई कभर स्टोरी गर्ने सल्लाह भयो । स्टोरी लेख्ने जिम्मा आयो गोपाललाई । धर्मसँग जोडिएको विषय भएकाले मनमा कस्तो–कस्तो भइरहेको थियो । तर संस्कृतिविद् गोविन्द टन्डनसँग कुरा गरे । अरुलाई पनि भेटे । इतिहास खोजे । किन यौन क्रिडा झल्किने टुँडाल मन्दिरमा राखियो ! कारण खोजे । लेखे । छापियो । राम्रो प्रतिक्रिया आउला त ? संशय थियो । तर धेरैले भने गज्जब स्टोरी ! टन्डन स्वयम्ले पनि तारिफ गरे । 

‘पत्रिका सात दिने’कै अर्को प्रसङ्ग पनि सम्झन पुगे गोपाल, जसले उनमा पत्रकारितामा लागिरहन प्रोत्साहन गरेको रहेछ । पत्रकार महासङ्घ काठमाडौं जिल्लामा गोपाल बुढाथोकी अध्यक्ष थिए । सदस्य थिए, गोकुल बाँस्कोटा (हाल सञ्चारमन्त्री) । पत्रकार महासङ्घ काठमाडौंले वर्षको राम्रो स्टोरीलाई पुरस्कार दिने विज्ञापन निकालियो । गोपालले बिर्सिए कसले सुझायो, तर उनलाई भनेका थिए, “स्वास्थ्य भन्दा परिवार नियोजनमा जोड भन्ने तिम्रो स्टोरी गज्जब छ त, त्यो बुझाऊ न ।”

गोपालले निवेदनसहित कटिङ बुझाए । नभन्दै गोपालको स्टोरीले गोल्डमेडल पायो । एक तोला सुन र प्रमाणपत्र थियो । “त्यो स्टोरीले मलाई राम्रो लेख्न प्रेरित गर्‍यो । राम्रो लेखे पुरस्कार पनि पाइँदोरहेछ भन्ने भयो,” गोेपाल भन्छन्, “पछिल्ला केही महिना पारिश्रमिकको हिसाब भएन । तर त्यहाँ काम गर्ने वातावरण निकै राम्रो थियो । अफिसमै किचन थियो । काम सकेर त्यहीँ जे छ त्यही पकाएर खाएर घर जान्थ्यौं ।” 

० ० ०

कसमस नेपाल पत्रकार महासङ्को केन्द्रीय सदस्यमा उठे । नेपाल प्रज्ञा–प्रतिष्ठान निर्वाचन केन्द्र थियो । कसमससँगै उनको प्रचार गरिरहेका थिए गोपाल । नारायण वाग्ले भेट भए । 

“के छ गोपाल तिम्रो ?”

“ठीक छ दाइ ।”

“पत्रिका सात दिने बन्द भयो नि हैन ।”

“बन्द भयो । तर कसमस दाइले खोल्ने भन्नुभएको छ ।”

“यसो गर, तिमी भोलि मलाई भेट्न आऊ ।”

“कहाँ दाइ ।” 

“मेरो अफिसमा आऊ न, तीनकुने ।”

नारायणलाई भेट्न उनले बोलाएकै समयमा गोपाल कान्तिपुर पुगे ।

“एउटा निवेदन लेख त, स्ट्रिङ्गरका रुपमा काम गर्न पाउँ भनेर ।”

गोपाललाई पनि काम चाहिएको थियो । उनले निवेदन लेखे । ०५६ सालबाट गोपालले ‘कान्तिपुर’मा काम सुरु गरे । 

राप्रपाको समाचार लेख्न थाले । राप्रपा गुट–उपगुटमा विभाजित थियो । भित्री पाटो केलाएर लेखेका राप्रपाका केही समाचार पहिलो पृष्ठमा पनि छापिएको गोपालको स्मृतिमा ताजै छ । त्यहाँ उनले फिल्मको पनि रिपोर्टिङ गरे । तर अक्सर उनले त्यहाँ राजनीतिक रिपोर्टिङ नै गरे । “अङ्ग्रेजी पनि ठीकै रहेछ । विदेश मामिला र अन्तरराष्ट्रिय सम्बन्धको पनि समाचार लेख,” नारायणले भने । गोपालले एमाले र अदालतको पनि समाचार लेखे । 

जति समाचार लेख्यो, त्यति पैसा आउने गोपाल स्ट्रिङ्गर थिए । सिलिङ तोकिएको थिएन । रिपोर्टरको भन्दा धेरै पैसा थाप्थे । केही महिनापछि ‘कान्तिपुर’ले उप–सम्पादक माग्यो । उनले त्यसमा जान खोजे । तर त्यहीँका एक जना सिनियर पत्रकारले भने, “तिमी फर्म नभर ।”

“मेरो योग्यता पुग्छ, समाचार पनि लेख्न आउँछ, लेखिरहेको छु, किन नभरौं ?”

“नभर भने पछि नभर न ।”

त्यही समय गोपालले राष्ट्रिय समाचार समितिमा अधिकृत तहमा परीक्षा दिएका थिए । नाम पनि निस्कियो । त्यतै जाउँला भनेर जोड गरेनन् गोपालले । विडम्बना ! अन्तरवार्तामा उत्तीर्ण भएनन् । स्ट्रिङ्गरमै भए पनि काम गर्नुको विकल्प भएन ।

० ० ०

‘कान्तिपुर’मा १४ वर्ष काम गर्दा गोपाल दिल्ली रिपोर्टिङका दुई वर्षलाई आफ्नो पत्रकारिताको ‘गोल्डेन पिरियड’ मान्छन् । भारतीय संसद्, सांसद्, भारतीय नेता, मन्त्रीसँगको भेटघाट, अन्तरवार्ता र समाचार उनले थुप्रै लेखे । तिनै समाचार र अन्तरवार्ताले धेरैसामु गोपाल खनाल भनेर चिनायो ।

नेपालमा तत्कालीन सरकार–माओवादी द्वन्द्व शान्तिपूर्ण राजनीतिमा रुपान्तरण हुँदै गर्दा समय पनि त्यस्तै थियो । दिल्ली र काठमाडौंको संवाद बाक्लिएको त्यो समयमा दिल्लीमा बसेर रिपोर्टिङ गर्न पाउने उनी भाग्यमानी थिए । 

“नेपाल र भारतले सोलिडारिटी कमिटी बनाएका थिए । दुई देशका नेताहरुबीच भेटघाट भइरहन्थ्यो । दिल्ली र काठमाडौंको संवादको समाचारहरु कान्तिपुरमा त छापिन्थ्यो नै अरु पत्रिका तथा व्यक्तिहरुले पनि मेरो समाचार र लेखलाई उद्धृत गर्दै समाचार र आर्टिकल लेख्न थाले,” गोपाल भन्छन्, “सात पार्टी, सरकार, दिल्ली काठमाडौं सम्बन्ध, माओवादी र दिल्लीको आधिकारिक रिपोर्टिङ कसले गर्छ भन्दा गोपाल खनालले भन्ने भएको थियो । त्यो कान्तिपुर र मेरा लागि पनि राम्रो थियो । मैले कमाएको सम्पत्ति पनि त्यही नै हो ।”

जसरी गोपाल नेपालमा अन्तरवार्ता लिन नेताहरुका घर–घर जान्थे, भारतमा पनि त्यसैगरी नेता र मन्त्रीहरुका घर–घर चहारे । भारतीय पूर्वप्रधानमन्त्री इन्द्रकुमार (आईके) गुजरालको घरमै पुगेर अन्तरवार्ता गरे । आईकेले प्रचण्डको खुब प्रशंसा गरेका थिए । भर्खर सार्वजनिक भएका प्रचण्ड शान्ति प्रक्रियालाई अन्तिम रुप दिने चरणमा थिए । उनको धेरैले प्रशंसा गरिरहेका थिए । देशभित्र र बाहिर पनि । त्यसमा आईके पनि एक रहेछन् । 

“नेपालभित्र दुइटा देश छन् । एउटा मधेस हो, अर्को पहाड । आजसम्मका कुनै पनि शासकले यी दुइटा देश जोड्न सकेका थिएनन् । प्रचण्डले जोड्छन् भन्ने मेरो विश्वास छ,” आईकेले प्रचण्डको तारिफ गरेको गोपाल सम्झिन्छन्, “आईकेको निवासमा गएर लामो समय बसेर गरेको अन्तरवार्ता कान्तिपुरमा पठाएँ । त्यो पूरै अन्तरवार्ता त छापिएन, तर केही कुरा भने आएको छ । त्यो अन्तरवार्तापछि भारतले नेपालमा के चाहेको छ भनेर स्पष्ट भएको धेरैले बुझे ।”

सुस्ता र कालापानी मात्रै बाँकी हो अरु ९८ प्रतिशत सीमा समस्याको समाधान भैसक्यो भन्ने भारतीय दाबीको समाचार गोपालले रिपोर्टिङ गरेका हुन् । नेपालबाट सीमा समस्या समाधानका लागि गएको नेपाली टोलीलाई भारतीयले ‘तिमीहरु माओवादीको पुच्छर बनेर सहमति भाँड्न आएको, माओवादी दबाबमा काम गरेको’ आरोप लगाएको थियो । ९८ प्रतिशत सीमा समस्याको समाधान भइसकेको भारतको प्रस्तावमा नेपाली टोलीले हस्ताक्षर गर्न नमान्दा भारतले लगाएको त्यो आरोपको रिपोर्टिङ गोपालले नै गरेका हुन् । 

भारतले नेपाललाई कसरी हेर्छ ? गोप्य दस्तावेज पाउँदा गोपालले ‘कान्तिपुर’मा प्रकाशन गरे । त्यहीबेला उनले ‘दिल्ली डायरी’ कोलम लेखे । “त्यो धेरै पढिनेमध्येको एक कोलम थियो,” गोपाल भन्छन्, “आर्टिकल र कोलम धेरै आएकोले कतिले सोध्नुहुन्थ्यो– तपाईं कान्तिपुरमा लेख्नुहुन्छ जागिरचाहिँ कहाँ खानुहुन्छ ? धेरैले परराष्ट्र मन्त्रालयमा जागिर खान्छ भन्थे ।”

नारायण वाग्लेले ‘कान्तिपुर’ छोडे । सुधीर शर्मा प्रधानसम्पादक भए । दिल्लीमा रहेका गोपाललाई बोलाइयो । चिफ रिपोर्टरको जिम्मेवारी दिइयो । आफैंले लेखेका समाचारमा एकाध व्यक्ति ‘सत्य त यो भनेर’ समाचारको सत्यतामा प्रश्न गर्न पुस्तक नै बोकेर आउनेबाहेक  उनले खासै धम्की खप्नु परेन । तर चिफ रिपोर्टरका नाताले अरुका समाचारको बचाउ भने गर्नुपर्‍यो । “समाचार किन लेखेको भनेर घरमै हुल बाँधेर आउने कथित डनको भने दुई–तीन पटक सामना गर्नुपर्‍यो,” उनी भन्छन् “तर मैले उनीहरुलाई सम्झाएर पठाएको छु । आज यसलाई ठोक्नुपर्छ भनेर तयारीका साथ आएकालाई पनि समाचार त ठीकै रहेछ भन्ने बुझाएको छु ।”

० ० ० 

गोपाल दिल्लीबाट नेपाल आएपछि अनुभव गरे– भारतका भन्दा नेपालका पत्रिका धेरै व्यावसायिक । यद्यपि, भारतका अङ्ग्रेजी पत्रिकाको स्तर भने तुलनै गर्न नसकिने अवस्थामा रहेको उनी बताउँछन् । भारतका हिन्दी अखबार र टेलिभिजनचाहिँ निकै कमजोर रहेको गोपालको बुझाइ छ । 

“नेपालका राजनीतिक दल र नेताहरुबीच संवाद र सहकार्य हुन्छ । तर भारतमा दुई पार्टीका नेताहरु एउटै कार्यक्रममा संयोगले भेट भयो भने पनि त्यो त्यहाँका अखबारका लागि ब्यानर न्युज बन्छ,” गोपाल भन्छन्, “त्यहाँ पेडन्युज खुब चल्छ । समाचार कक्षमा कर्पोरेट हाउस हाबी छ । नाममात्रैका सम्पादक छन् त्यहाँ । तर हाम्रोमा व्यावसायिक उच्चता छ ।”

० ० ०

राजनीतिक अस्थिरता सकियो । मिसन पत्रकारिता पनि सकियो । देश सङ्घीयतामा गइसक्यो । अब देश आर्थिक विकासमा जानु छ । यस्तो अवस्थामा पत्रकारिताले विकास चरणबद्ध हुन्छ र यसका लागि समय लाग्छ भन्ने बुझ्नुपर्छ । तर अहिलेको पत्रकारिताले तुरुन्तै परिणाम खोजिरहेको र त्यसो हुन नसक्दा कुनै एक विषय र प्रसङ्गलाई सामान्यीकरण गरेर खेदो खन्ने गरेको गोपालको ठम्याइ छ । 

“एक/दुई नेता भ्रष्ट भए भन्दैमा सबै भ्रष्टाचारी भए भनेर भन्नु गलत हो । कुनै एउटा पत्रकारले आचारसंहिता बिरुद्ध गयो भने समग्र पत्रकारिताले नै बाटो बिरायो भन्न मिल्छ ?” उनी प्रश्न गर्छन्, “प्रिन्टबाट सञ्चार मल्टिमिडियामा गयो । डिजिटलाइज भएपछि प्रतिष्पर्धा उच्च भयो । प्रतिष्पर्धामा उत्रिनु परेपछि हतारमा सूचना दिँदा क्रस भेरिफिकेसनको अभावमा समग्र समाज नै मिसगाइडेड भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा सञ्चारमाध्यममा आएका खबर कति अतिरञ्जित थिए ? यसकै परिणाम हो ।”

० ० ०

‘कान्तिपुर’पछि गोपाल प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकार भए । चक्रपथ डटकम अनलाइनमा पुगे । अहिले उनी ‘गोरखापत्र’ दैनिकको सल्लाहकार सम्पादक छन् । 

“सरकारी लगानी रहेका सञ्चार माध्यमलाई सरकारको सञ्चारमाध्यम भनिन्थ्यो । तर अहिले हामीले न्यारेटिभ परिवर्तन गरेका छौं । सरकारको होइन राष्ट्रको सञ्चारमाध्यम भन्न थालेका छौं । सरकारी मुखपत्र होइन राष्ट्रको मुखपत्र भन्न थालेका छौं,” गोपाल परिवर्तको कुरा गर्छन्, “हामी मात्रै होइन सञ्चारमन्त्रीले पनि अहिले राष्ट्रको सञ्चार भन्नुहुन्छ ।”

यो भयो शब्दमा आएको परिवर्तन । तर उनी ‘गोरखापत्र’को लेखनमै परिवर्तन आउन थालेको दाबी गर्छन् । उनलाई विश्वास गर्ने हो भने ‘गोरखापत्र’ र ‘दि राइजिङ नेपाल’मा अहिले समाचार लेख्ने शैलीमा परिवर्तन आएको छ । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीका समाचार प्रथम पृष्ठमा छापिन छोडेका छन् । विषय र प्रसङ्ग नै त्यस्तै भए छापिन्छन्, अन्यथा ‘पोजिसन’ कै आधारमा तिनले प्रथम पृष्ठ ओगट्दैनन् । खोजी समाचार छापिन थालेका छन् । 

“गोरखापत्र र राइजिङ नेपालको इतिहासमै कहिले नगरेको काम हामीले सुरु गर्‍यौं । सरकारको गुण र दोषका आधारमा समाचार छाप्न सुरु गर्‍यौं । सरकारको आलोचना गरेका समाचार पनि अहिले प्रथम पृष्ठमा छापिन्छ,” गोपाल परिवर्तन ल्याएको दाबी गर्छन्, “सरकारी सञ्चारमा सेल्फ सेन्सरसिप लाग्छ भन्थे । मन्त्री र सांसद्को दबाब आउँछ भन्थे । केही गर्न पाइँदैन भन्थे । तर मैले नौलो अनुभव गरेको छु, गोरखापत्रमा आएको एक वर्ष भयो आजसम्म मलाई कुनै सरकार, कुनै मन्त्री, कुनै मन्त्रीले यो समाचार किन आयो अथवा आएन भनेर सोधेको छैन ।”

तस्बिर : सुनील प्रधान

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय