site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कति कमलेश्वर !
Sarbottam CementSarbottam Cement

मन्नू भण्डारी


कमलेश्वरजीसँग मेरो पहिलो भेट १९५७ मा इलाहावादमा आयोजित प्रगतिशील लेखक सङ्घको एउटा ठूलो कार्यक्रममा भएको थियो । त्यसबखत म कलकत्तामा बस्थेँ र लेखनमा बामे सर्दैथिएँ । रालकमल प्रकाशनबाट मेरो एउटा कथासङ्ग्रह छापिएको थियो, तर पनि म आफूलाई स्थापित वा चर्चा बटुलिसकेको लेखक भन्ने हिम्म गदैनथेँ । जब मलाई अमृत रायजीमार्फत् यस कार्यक्रममा सहभागी हुने निमन्त्रण मिल्यो तब म निकै हर्षित त भएँ नै साथमा चकित पनि भएँ । सोचेँ, जुनजुन लेखकलाई मैले पढ्दै आएँ, तिनीहरुसँग भेट गर्नेछु, तिनलाई सुन्नेछु र हेर्नेछु । राजेन्द्रले जब आफू पनि यो कार्यक्रममा भाग लिन जाने बताए, तब म उनको पछि लागिहालेँ । त्यहाँ मैले हजारीप्रसाद द्विवेदी र महादेवी वर्माको अविस्मरणीय भाषण सुन्न पाएँ । मोहन राकेश, कमलेश्वरजी, नामवरजी, फणीश्वरनाथ रेणुसँग भेटेर कुराकानी नै गरेँ । तर निकटता भने बन्न पुग्यो– कमलेश्वरजी, राकेशजी र पछि नामवरजीसँग ।

कमलेश्वरजी त्यसबखत इलाहावादमा बस्थे र यस कार्यक्रमको व्यवस्थापकको भूमिकामा थिए । उनले आफ्ना एकजना मित्र दीपाको घरमा मलाई बस्ने व्यवस्था मिलाइदिएको थिए । उनी कार्यक्रममा भूतले जसरी काम गरिरहेका थिए । कहिले रातको एक बजे त कहिले दुई बजे खाना खान आउँथे । दीपा उनको प्रतीक्षामा नसुती बस्थिन् र जब उनी आउँथे खाना तातो पारेर दिन्थिन् । कमलेश्वरजी प्रगतिशील सङ्घको कार्यक्रममा लागेका थिए भने दीपा उनको हेरचाहमा । उनी दीपालाई भन्थे– मन्नूको सुखसुविधामा ध्यान दिनु, उनले भनेको कुरा पुर्‍याइदिनु । ती तीन दिनमा मैले बुझेँ– दीपा कमलेश्वरजीको मित्रभन्दा ‘केही’ फरक र बढी नै थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कलकत्ता फर्किएपछि कमलेश्वरजी र राकेशजीसँग मेरो पत्रचार सुरु भयो । केही समयपछि कमलेश्वरजीले दीपासँग मिलेर ‘श्रमजीवी प्रकाशन’ खोले । उनले मसँग पुस्तक मागे । मैले ‘तीन निगाहों की एक तस्वीर’ नामको दोस्रो कथासङ्ग्रहको पाण्डुलिपि पठाइदिएँ भने राजेन्द्रले ‘कुलटा’ उपन्यासिका पठाए । दुवै पुस्तक उक्त प्रकाशनबाट छापियो । 

गर्मीको छुट्टिमा म अजमेर गएकी थिएँ । त्यहीँ कमलेश्वरजीको चिठी पाएँ । उनले दीपालाई मकहाँ पठाइदिएको उल्लेख गर्दै राजस्थानका तीन–चार सहरमा रहेका प्रमुख पुस्तक विक्रेतासँग भेट गराइदिन भनेका थिए । श्रमजीजी प्रकाशनका पुस्तकहरुको अधिक ग्राहक बनाउन मद्दत माग्दै उनले प्रकाशन चलाउन मित्रहरुको सहयोग बढी आवश्यक रहेको पनि उल्लेख गरेका थिए । उखरमाउलो गर्मीका कारण दीपालाई छालाको समस्या थियो, तर पनि उनी आइन् । उनलाई लिएर म जोधपुर र जयपुर गएँ– यो भन्दा बढी ठाउँमा लैजान सक्ने अवस्था थिएन । ती ठाउँमा सम्बद्ध पक्षसँग कुराकानी दीपाले नै गरेकी थिइन्, उनी श्रमजीवी प्रकाशनलाई अघि बढाउन कृतसङ्कल्पित थिएन । मेरो मनले भनिरहेको थियो– एउटा सहजीवनको पृष्ठभूमि तयार पार्न कति उत्साहित छिन् यी दीपा । यो कस्तो राम्रो सहआयोजन ! तर त्यस्तै करिब वर्षदिन–डेढ वर्षपछि मलाई कमलेश्वरजीको विवाहको निमन्त्रणापत्र प्राप्त भयो । उनी गायत्री सक्सेनासँग विवाह गर्दैथिए । म निकै चिन्तित र हैरान भएँ विवाहको कार्ड देखेर । कमलेश्वरजीले यो के गरेका ? किन गरेका यस्तो ? कसरी गर्न सकेका ? दीपालाई यतिखेर के भइरहेको होला ? त्यो समयसम्म कमलेश्वरजीसँग मेरो सम्बन्ध केवल पत्र    मा सीमित थियो । अनौपचारिक सम्बन्ध त्यस्तो हुन पाएको थिएन, त्यसैले म यस विषयमा कुनै प्रश्न उनलाई सोध्न सक्ने अवस्थामा थिइनँ । लामो समयपछि जब परिस्थिति खुल्दै गयो तब दीपा र गायत्री भाउजु दुवैका निम्ति म दुःखी थिएँ । म भन्न सक्दिनँ, यसबारे गायत्री भाउजुलाई केही थाहा थियो वा थिएन !

Global Ime bank

कमलेश्वरजीसँग मेरो दोस्रो भेट उनको दिल्लीस्थित नाई वालानको घरमा भएको थियो, जहाँ उनी गायत्री भाउजुसँग बस्थे । कलकत्ताबाट म एक्लै दिल्ली गएकी थिएँ । उनीसँग भेट्नु त थियो नै साथमा मेरो सम्पादनमा निस्कने ‘नई कहानियाँ’ का लागि कथा पनि माग्नु थियो । मैले उनलाई १५ दिनअघि नै चिठी लेख्दै आफू दिल्ली आउन लागेको र कथा तयार गर्न भनेकी थिएँ । म जिन्दगीमा पहिलो र अन्तिम पटक सम्पादनका जुटेकी थिएँ, त्यसैले मेरो लगनशीलता उच्च थियो । उनले दिएको ठेगानामा म पुगेँ । सुरुमा केही औपचारिक कुराकानीपछि मैले आफ्नो मागबारे उनलाई सम्झाएँ । उनले निश्चिन्त भावमा भने, ‘ठीक छ नि, भोलि लिऊ मेरो कथा ।’

‘लेखेका होलान् र भोलि देलान् यिनले ?’ उनको हाउभाउ हेर्दा कथा लेखेका छन् भन्ने लाग्दैनथ्यो ।

‘मजाक नगर्नुस् न कमलेश्वरजी, मैले तपाईंलाई धेरै दिन पहिला नै जानकारी दिँदै कथा लिन आउने बताएकी थिएँ...’ यसो भनिरहँदा मेरो अनुहारमा केही आवेग पनि मिसिएको थियो । 

मेरो ढाडमा थपथपाउँदै उनले भने, ‘मैले भनेँ नि, भोलि पक्का तिमीले मेरो कथा पाउने छौ ।’

उनले भुइँमा दरी ओछ्याए, कागज–कलम समाते र पेटको मुन्तिर तकिया राखेर उल्टो पल्टिए । 

‘हेर, म कथा लेख्न सुरु गर्छु, त्यसबेलासम्म तिमी गायत्रीसँग बसेर एक कप कफी पिउनु,’ उनी गायत्रीलाई कफी बनाउने आदेश दिँदै लेख्न थाले । 

हामीबीच पत्राचार हुँदा केही अनौपचारिक कुरा भए पनि दोस्रो पटकको भेटमा म उत्ति खुल्न सकिरहेकी थिइनँ । म उनलाई भेट्न गएकी थिएँ, उनी कथा लेख्न बसेका छन् । यसरी त के गफ हुनु र ! म बल्लतल्ल भान्छातिर लागेँ । म गायत्री भाउजुसँग पहिलो पटक भेटिरहेकी थिएँ । उनले नमस्ते गरिन् र कफी बनाउनतिर लागिन् । एक चुपचाप र उदास अनुहार । शङ्का लाग्यो मलाई– कतै यो उदासीमा दीपाको प्रसङ्ग त जोडिएको छैन ? म दिल्ली पुगेँ, कमलेश्वरजीले भाउजुसँग भेट गराउन उनलाई बाहिर पनि बोलाएनन् । सबथोक बडो असहज, असामान्य लागिरहेको थियो मलाई । लाग्यो, यसबारेमा कमलेश्वरजीसँग कुरा गर्नुपर्छ, तर घरमा सम्भव थिएन । कतै कफी हाउस जानुपथ्र्यो । त्यो त्यत्तिकै टर्‍यो । 

आधा घण्टापछि कमलेश्वरजीले बोलाए । बाहिर निस्किएर हेर्दा उनले निकै राम्रो अक्षरमा पौने पृष्ठ लेखेको देखाए । कतै काँटछाँट, कुनै केरकार थिएन । म हेरेको हेर्‍यै भएँ ।

‘हेर, सुरु गरेँ नि । अब भोलि पूरा गरेर साँझ जब हामी कफी हाउसमा भेट्ने छौं, त्यहीँ तिमीले कथा पाउने छौ । ल अब रिस फ्याँक र गफ गर्न थाल ।’ उनका कुराले म नहाँसी बस्न सकिनँ ।

दोस्रो दिन जब कमलेश्वरीजी र राकेशजीका साथ हामी कफी हाउमा भेट्यौं तब उनले कथा मलाई दिए । मैले त्यहीँ त्यसलाई खोलेँ, कथा पूरा त छ भनी बुझ्न ! सुरु पृष्ठ हिजै मैले हेरेकी थिएँ, त्यो दुरुस्तै थियो । म छक्क परेँ । हाँस्दै मैले अघिल्लो दिनको कहानी जब राकेशजीलाई सुनाउन थालेँ तब कमलेश्वरजीले भने, ‘हेर मन्नू, म कुनै मोहन राकेश त होइन, जसलाई केही लेख्न टाइपराइटर चाहियोस्..., कोठामा एसी पनि चाहियोस् ! ठूलो कुरो लेख्न पहाड नगई लेख्नै नसक्ने...अथवा तिम्रो राजेन्द्र यादव... कफीको कपमाथि कप घुट्क्याउँदै... चुरोट पिउँदै... प्रयास गरिरहने तर कलमबाट शब्द नै नझर्ने ! शब्द भए न झर्ने हो ! बस्, लेखनका नाममा यो कर्म यिनले गरिरहून्...।’

राकेशजी घरको छत नै उडाउने गरी हाँसे अनि कमलेश्वरजीले उनको ढाडमा एक धाप दिए । र, म सोचिरहेकी थिएँ कि कति सजिलो छ कमलेश्वरजीका निम्ति लेखन ! मैले आफ्नै आँखाले देखेकी थिएँ । कोही तामझाम छैन, बिनाकुनै काँटछाँट, परिवर्तन, उनी लेखिरहे । मेरा निम्ति यो कर्म चाहे अविश्वसनीय नै किन नहोस्, यथार्थ त यही नै थियो । यस्तै अर्को पनि उनीसँगको एउटा यादगार क्षण छ ।   

(भारतको उत्तरप्रदेशमा सन् १९३१ मा जन्मिएकी मन्नू भण्डारी प्रसिद्ध आख्यानकार हुन् । उनले लेखेका केही आख्यानमा चलचित्र पनि बनेका छन् । उनका चार उपन्यास र आठ कथासङ्ग्रह प्रकाशित छन् ।)     
   
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय