तिमी छोडेर जान्छौ
तिमी छोडेर जान्छौ
आफ्नो अज्ञात दबाब,
शान्त पोखरीको सतहमा
नाममात्रको उडान भर्दै
लुकेको श्याम वर्ण हावा–जलमयूरको प्वाँख,
प्रेम तिम्रो
मानौं हावामा तैरिँदै मसिनो जालो,
अब सुन हावाको शोकगीत
यो सिकाउने समय हो
र, तिमी सिकाइरहेकी छौ
बिनापीडा घोलिँदै जानु,
विचित्रको अशान्तपनमा म
भूमिको ओँठमा गोधूलीको चुम्बन छ, उदासी,
तिमीलाई सुकुमारिताका साथ सुताउनैका लागि
बादलहरूको तह बनाएर,
सिरानी बनाउँदिनँ, फेरि पनि
आश्चर्य छ कति रफ्तारले
उकासिएर आउँछौ तिमी
लताजस्तै जोडिएको, जब म समेट्छु
तिमीलाई आफ्नो काँढासहितको छातीमा ।
० ० ०
टेलिफोनमा कुराकानी
उचित भाडा
तटस्थ भाव क्षेत्र
घर धनी महिलाले शपथ लिइन्
उनी यस भवनमा बस्तिनन्
अब मैले आफ्नोबारेमा
स्वीकार गर्न बाँकी थियो
सचेत गर्दै मैले उनीसँग भनेँ–
‘म्याडम्, आउन–जानमा समय खेर फाल्नु
मलाई मनपर्दैन
पहिले नै भनौं म अफ्रिकी हुँ ।’
लम्बियो शून्यता
कुलीन शान्तिको भारले
भाँचियो कुराकानीको लहर
फेरि लिपिस्टिक रङ्गिएको आवाजका साथ
सुनौलो लामो चुरोटको बट्टाबाट
चुरोट निकाल्दाको आवाज सुनियो
लाग्यो, म फसेँ ।
‘कति कालो रङ्ग छ’ हो !
मैले गलत सुनेको हैन
‘तिमी हल्का कालो छौ कि निक्खर ?
एउटा ऐँठन फेरि अर्को ऐँठन
लुकामारीजस्तै सार्वजनिक कुराकानीमा
कुहिएको दुर्गन्ध फैलियो
रातो बुथ, रातो ‘बम’ र दुईतले रातो बस,
कालो अलकत्रा हटाउँदै– यही यथार्थ थियो
अभद्र शान्तिबाट लज्जित ।
म आहत अवाक्लाई सहज गर्नका खातिर
आफ्नो बोलीको जोडमा पृथकता ल्याउँदै बोलिन्–
‘तिमी गहिरो कालो होऊ वा हल्का ?’
फेरि उनले खुलेरै सोधिन्
‘अर्थात् तिमी निक्खर चकलेटी हौ
या दुधिया चकलेटी ?’
उनको आवाजमा डाक्टरी परीक्षणजस्तै
तटस्थता थियो
मानौं उनले आफ्नो आवाजमुनि
आफ्नो व्यक्तित्व दबाएकी हुन्
तत्काल हाम्रो मनका तारहरूमा तालमेल भयो ।
बुझ्न खोज्दै मैले भनेँ–
‘पश्चिमी अफ्रिकी सिपिया’
फेरि सम्झेर भनेँ– ‘पासपोर्टमा त यही दर्ता छ’
मौन कल्पनाको उडानमा
उनी त्यस रङ्गको खाका खिच्दै थिइन्
कि त्यसैबेला सत्य थाहा पाएर
रातो भयो उनको अनुहार र शैली
‘त्यो के हुन्छ ?’ हतास भएर उनले सोधिन्
‘थाहा छैन के हुन्छ यो ?’ –
‘सम्झिनुस्, गोरी केटीको कैलो कपाल’
‘मतलब कालो । के यही होइन ?’
‘पूरा त्यस्तै जस्तो हैन
अनुहारले गहिरो खैरो छु,
तर म्याडम बाँकी मेरो शरीर हेर्नुस्
मेरो हत्केला र मेरो पैताला सेतो छ
मानौं ‘परअक्साइड’ले सफा गरिएको होस्
‘हो ! मेरो बसाइको खराब तरिकाबाट
रगडिएका मेरा नितम्ब
पक्कै कागजस्तै कालो भएको छ’
यो अनुमान गरेँ,
उनले रिसिभर जोरले राखेको आवाज
मेरो कानमा सुनिने छ
मैले प्रार्थना गरेँ– ‘एक मिनेट म्याडम
के तपाईं मलाई आफैं हेर्न चाहनुहुन्न ?’
(नाइजेरियामा सन् १९३४ मा जन्मिएका सोयेन्काले १९८६ मा नोबेल पुरस्कार पाए । २०१७ मा उनले युरोप थियटर प्राइज पनि पाए । नोबेल पुरस्कार पाउने उनी पहिलो अफ्रिकी साहित्यकार हुन् । उनले कविताका साथै उपन्यास र नाटक पनि लेखेका छन् ।)