किस्पाङ (नुवाकोट) । माथि हेर्यो ढुङ्ग्यान डाँडो । तल आँखाले भ्याएसम्म ढुङ्गिलो जमिन । करिब २० वर्षअघिसम्म भूमेथानको परिचय ढँड्यान र बलोटे जमिनमा सीमित थियो ।
थाप्लोमा किस्पाङ पोखरी बोकेकाले उब्जाको संकट थिएन । आयस्ताले मात्रै गरिबी कहाँ पन्छाउँथ्यो र ! शिक्षाको पहारिलो घाम नलागेसम्म किस्पाङको आङको ठिही कहाँ हट्थ्यो र सजिलै !
पश्चिमोत्तर नुवाकोट, काहुले (किस्पाङ गाउँपालिका–३) को अवस्था २० वर्षअघिसम्म यस्तै थियो । गाउँलेहरूले अशिक्षाको चक्रब्यूह तोड्न सकेका थिएनन् । अशिक्षाकै कारण जग्गा–जमिन भए पनि गरिबीको गर्तमा धकेलिएका थिए ।
पञ्चायतको उत्तराद्र्धलाई सम्झँदै ऐँसेलुभूमे माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नन्दराम न्यौपाने भन्छन्, “दलितको बाहुल्य रहेको भूमेथानका बालबच्चाहरूले स्कुलको अनुहार देख्न पाएका थिएनन् । पिता–पुर्खाको पालादेखि नै निर्धन भाग लाग्दै आएकाले उनीहरूको भविष्यले बेस्सरी पिरोल्थ्यो !”
काहुलेको मात्रै होइन, साल्मे, भाल्चे, फिकुरी र मनकामनाको नियति पनि काहुलेको पृथक थिएन ।
जिल्लाका अन्यत्र भू–भागमा पञ्चायतको मध्यतिर नै फाट्टफुट्ट विद्यालय खुलेका थिए । त्यसको पिलपिले उज्यालो अन्यत्र पनि फिँजिएको थियो । काहुलेको अँध्यारो अझै सघन हुँदै थियो ।
नन्दरामले जिल्ला शिक्षा कार्यालयमा विद्यालय खोल्न निकै ताकेता गरेका थिए । तर, जति धामा गरे पनि कतैबाट केही हात लागेको थिएन । बालबच्चा हुँर्कंदै जाँदा पढ्न कहाँ पठाउने होला भन्ने चिन्ताको आगो दन्किइरहेकै थियो ।
२०४५ सालको अन्त्यतिर हुनुपर्छ, पश्चिम नुवाकोटमा कहलाएका जिसिङ (काजी) का भाइ मदनमान सिंह जिल्ला शिक्षा समितिका अध्यक्ष थिए ।
उनैले नन्दरामलाई भने, “तपाईंले निकै ताकेता गर्दै आउनुभएको छ । तपाईंकै क्षेत्रमा विद्यालयका दुईवटा कोटा पठाइदिएको छु, विद्यालय थपना गर्नूस् है !”
उनको अनुहारमा झुल्केघाम लाग्यो । तर केही समयपछि नै अनिश्चयको कालो बादलले छोपिहाल्यो ।
वरिपरि बलौटे पाखो भन्दा छैन । सम्म ठाउँमा कि झुरुप्प बस्ती छ, कि खर्क । कहाँ स्थापना गर्ने विद्यालय ?
मनकामना क्षेत्रले ठाउँ तय गरेर एउटा कोटा लगिहाल्यो । अर्को ‘अलपत्र’ थियो ।
नन्दरामले चारचौरास ठाउँ खोजे । कहीँ पाएनन् । तत्काल ठाउँ जुगाड नभए कोटा फिर्ता हुने भय थियो । मिल्दो जग्गा नभेटेर निराशा मात्रै हात लागेको थियो । उनले सोचे, आफ्नै जग्गामा विद्यालय ‘थपना’ गर्छु ।
“आफैंले पढ्न नपाएको चिन्ता छँदैथियो । बालबच्चाले पनि पढ्न नपाउने भए भन्ने चिन्ताले टोकस्न थाल्यो । खेत त फेरि जोड्न सकिन्थ्यो, विद्यालय कसरी जोड्नू,” उनी अहिले पनि त्यतिबेलाको क्षण सम्झन्छन् ।
गाउँको मध्य भागमा ४ रोपनीको धान खाने खेत थियो । बालबच्चाको मुख हेरेनन् । सिङ्गो भूमे थान, काहुलेको अनुहार हेरे । रोग, भोकलाई प्रारब्धको भागभोग ठानेर बेहोरिरहेका निमुखा र तिनका बालबच्चाको भविष्य हेरे ।
भोलि के–कसो होला भनेर सोच्दैनसोची उनले ऐँसेलुभूमे विद्यालयको नाममा बकसपत्र गरिदिए ।
“त्यतिबेला जग्गा दिने आँट नगरेको भए, कोटा त उम्कन्थ्यो नै विद्यालय नहुँदाको सकस पनि कायमै रहन्थ्यो,” त्यतिबेलाको क्षण सम्झिएर आफैंले आफैंलाई धन्यवाद दिन्छन् उनी ।
जसोतसो विद्यालय त स्थापना भयो । विद्यार्थी कहाँ पढाउने भन्ने अर्को समस्या आइलाग्यो । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने लौकिक कहावत् त्यहाँ पनि चरित्रार्थ भयो । गाउँले सबै मिलेर चित्रेगोठ, कटेरो ठड्याए । त्यहीँबाट सुरु गरे अक्षरारम्भ ।
चित्रेगोठले हिउँद–वर्षा र पूर्वतिरबाट ठोकिन आइपुग्ने त्रिशूलीको मुटु छेड्ने सिरेटो झेलिरहन सम्भव थिएन । गाउँका भद्रभलाद्मी भेला भए । जनश्रमदानबाट, आफ्नै बलबुतामा भवन उभ्याउने निधो गरे ।
२०४६ सालमा विद्यालयको सुरुआत भयो । तर, स्रोत नभएर झण्डै १२ वर्ष प्राथमिक विद्यालयकै अवस्थामा रह्यो ।
“बजेट नहँदा विद्यालयको भौतिक अवस्था सुधार भएन । शैक्षिक अवस्थामा आशातीत प्रगति भए पनि बाहिरबाट हेर्दा कक्षाकोठा थिएनन् । छिट्टै बढुवा गर्न सकिएन,” विद्यालयको स्तरोन्नति हुन नसक्नुको कारण उधिन्छन् उनी ।
२०५८ सालमा बल्ल निमावि भयो । “त्यतिबेला पनि ठूलै युद्ध जितिएजस्तो भान भएको थियो ।
गाउँलेहरूको उत्साहलाई व्यापकता प्रदान गर्दै, पुँजीकृत गर्दैै दोस्रो–तेस्रो वर्षमै माध्यामिक विद्यालय बनाउने लक्ष्य लिएका थिए । त्यहाँ पनि स्रोतको जुगाड हुन सकेन । विद्यालयको भौतिक प्रगति आशातीत हुन सकेन । शैक्षणिक र प्राज्ञिक सुधारले मात्रै पुगेन ।
“भवन नै नभए कहाँ पढाउने भन्ने प्रश्न टड्कारो भएर आयो,” नन्दराम निम्न माध्यामिकबाट माविमा बढुवा गर्दाको सङ्घर्षको एकएक फेहरिस्त सुनाउँछन् ।
माध्यामिक विद्यालय बनाउन २०६६ साल नै पर्खनुपर्यो ।
किस्पाङको पाखामा एकैपटक सात सूर्य उदाएझैं भयो । वर्षौंदेखिको सपना साकार भयो । गाउँको दैलामै माध्यामिक शिक्षालय खडा भयो । पढ्नकै लागि भनेर बालबच्चाले भीरपहरो छिचोल्नुपरेन । दूरदराजको गाउँ शिक्षाले सुगम तुल्यायो ।
विद्यालयलाई त माध्यामिक बनाइयो । पढाइलाई कसरी ‘माध्यामिक’ बनाउने ? ऐँसेलु भूमेमा पढेका विद्यार्थीलाई कसरी देश– दुनियाँसँगको प्रतिस्पर्धामा जित्ने बनाउने ? अतिरिक्त कार्यकलापमा पनि कसरी अब्बल, क्षमतावान् तुल्याउने ? पाठ्यक्रमले निर्धारण गरेको लक्ष्य, उद्देश्यअनुरूपको वैज्ञानिक शिक्षा कसरी दिने भन्ने चुनौती अद्यावधिक हुँदै आएको थियो ।
भौतिक पूर्वाधारसँग गाँसिएका समस्या किनारा लाग्नुको अझ परिस्कृत बन्दै थिए ।
नन्दरामले आफैं अगुवाइ गरे । समयसमयमा शिक्षक, अभिभावकहरूको मिटिङ, छलफल, भेला राखे । शिक्षक–अभिभावक, शिक्षक–विद्यार्थी बीचको दूरी मेट्ने कोसिस गरे । शिक्षकलाई पठन–प्रणाली, विषयवस्तुसँग अद्यावधिक राख्न भूमिका खेले । शिक्षक तालिम, सेवा–सुविधा, दक्षतामा जोड दिए । कक्षाकोठामा आइपरेका समस्याको पहिचान गर्ने र निराकरणका लागि पहलकदमी लिए ।
“आफू पढेलेखेको त थिइन । तर विद्यालयमा बरोबर आइरहने समस्यासँग परिचित थिए । विद्यार्थीको चाप बढ्दै गएपछि शिक्षकको अभाव हुन्थ्यो । अनुदानका लागि गाविस, राहत शिक्षका लागि शिक्षा कार्यालय धाउँथे । दरबन्दीकै लागि नधाएको पनि महिना हुँदैनथ्यो ।
भेटेजति दातृ निकाय र सहयोगी संघ–संस्थाका दैलो ढक्ढक्याउँथेँ । हारगुहार गर्थें । बिन्ती बिसाउँथे । शिक्षा कार्यालयले र सम्बन्धित निकाले पनि कुरा सुन्न कञ्जुस्याइँ गर्दैनथ्यो,” विद्यालयको अवस्था सुधार्न आफूले गरेको एकएक प्रयत्नको बेलीबिस्तार लगाउँछन् उनी ।
उनले गरेको मिहिनेतको बोट झाँगियो । लटरम्म फल लाग्यो । त्यसको लाभ नन्दराम एक्लैले उठाएनन् । काहुले र किस्पाङको सम्पत्ति भयो । बालबच्चाको भविष्य बन्यो । ऐँसेलुभूमेको आभा गाउँ–गाउँ फिँजारिँदै नुवाकोटव्यापी बनेको छ ।
२०६९ देखि उच्च मावितर्फको पनि पठनपाठन सुरु गरेको ऐँसेलुभूमेले २०७१ सालको एसएलसी नतिजामा सामुदायिकतर्फ जिल्लाका सबै विद्यालय उछिन्यो । त्यसपछि भने नन्दरामले विश्राम लिन खोजेका थिए । अगुवाइको जिम्मेवारी अरूकै काँधमा सुम्पिएर र आफू परै बसेर विद्यालयको प्रगतिको साक्षी बन्न मन लागेको थियो ।
तर समुदायको शिक्षाको निम्ति पसिना बगाउने बानी परेका नन्दराम जिम्मेवारीबाट सजिलै पन्छन कहाँ सक्थे र ! पाउँथे र !
समुदायले अग्रसरता देखाए सामूहिक विद्यालय पनि अब्बल हुन्छ भनेर उदाहरणीय बनिरहन आफैं प्रेरित भइरहे ।
२०७२ सालको विस्मयकारी भूकम्पले विद्यालय खण्डहर तुल्याएपछि उनले झनै गह्रौं भारी उचाल्नुपर्यो ।
“दुःखजिलो गरेर ठड्याएको विद्यालयमा भूकम्पको आँखा लाग्यो । श्रमदानमा ठड्याएका अधिकांश भवन खण्डहर बने । पुरानै चित्रेगोठ, टहरामा फर्कनुपर्ने अवस्था आइलाग्यो,” उनी भूकम्पको कहर शब्दमा समेट्न खोज्छन् ।
भूकम्पले विनाश मात्रै निम्त्याएन । विकासको बाटो पनि खोलिदियो । भूकम्पलगत्तै ऐँसेलुभूमे देशभर सञ्चालित २ सय २२ नमुना विद्यालयमा पर्यो ।
नमुना विद्यालय पाउनुका पनि आफ्नै दुःख छन् । कुल ६ सय ६६ जना विद्यार्थी अध्ययनरत रहेकाले कक्षागत विद्यार्थीको योग पुग्थ्यो । विद्यालय भू–क्षयलगायत प्राकृतिक प्रकोपको जोखिममा थिएन ।
तर, नमुना विद्यालय सञ्चालन गर्न न्यूनतम १० रोपनी जग्गा आवश्यक पथ्र्यो । विद्यालयको नाममा नन्दरामले नामसारी गरेर दिएको चार रोपनी जग्गाभन्दा थिएन । यसपटक पनि उनले ठूलो छाती देखाए । विद्यालयले तिर्न सक्नेभएपछि बुझ्नेगरी आफ्नो नाममा रहेको जग्गा नामसारी गरे ।
जग्गा र भौतिक, शैक्षिक पूर्वाधार विकासका लागि गरी उनले १५ लाख रुपैयाँ व्यक्तिगत खर्च गरेका छन् । ऋण स्वरूप उपलब्ध गराए पनि विद्यालयको स्रोत व्यवस्थापन भएपछि शोध भर्ना लिने बताउँछन् ।
त्यसबाहेक नुमना विद्यालय व्यवस्थापनको कार्यक्रम ल्याउन गर्नुपरेको धामा शब्दमा समेट्न दुरुह छ ।
अहिले देशभरका सामुदायिक विद्यालयका व्यवस्थापन समिति राजनीतिक दलका क्रिडास्थल बनेका छन् । अभिभावकसम्म पहुँच विस्तारका लागि सजिलो हुने र कद बढाउन सजिलो ठानेर नेतृत्व हत्याउन राजनीति दलबीच मारमुङ्ग्री चल्छ । तराईका सामुदायिक विद्यालयको व्यवस्थापन समितिको छनोटमा हिंसात्मक घटना भएका खबरहरू अखबारमा पढ्न पाइन्छ । अधिकांश ठाउँमा नेतृत्व छान्न चुनावै हुन्छ ।
त्यहीँ पर्तिर, किस्पाङ–२, सातदोबाटोको ज्ञानज्योति माविमा पनि दलीय सहमति नजुट्दा विद्यालय व्यवस्थापन समितिले अध्यक्ष पाएको छैन ।
तर ऐँसेलुभूमेको विद्यालय व्यवस्थापन समितिको नेतृत्व ३१ वर्षदेखि नन्दरामकै काँधमा छ । तदर्थ समिति बन्दा केही महिना सूर्यबहादुर वाइवा संयोजक बनेका थिए । त्यसपछि नन्दराम अबिराम छन् ।
“विद्यालय व्यवस्थापनको नयाँ नेतृत्व चुन्ने बेला भएपछि गाउँमा सर्वपक्षीय सहमति बन्छ । सबै दल, भद्रभलाद्मी एकमुख लागेर ‘तैं बन्नुपर्छ’ भन्छन् । समाजले दिएको जिम्मेवारी कसरी नाईंनास्ती गरूँ !” पुलकित हुँदै सुनाउँछन् ।
ऐँसेलुभूमे विद्यालयको प्रगतिको शृङ्खला रोकिएको छैन । सोमबार मात्रै भारतीय दूतावासको सहयोगमा साढे चार करोडको लागतमा बनेकोे १५ कोठे भवन उद्घाटन भयो ।
भूकम्पबाट विद्यालय भवन ढलेपछि नन्दरामको जाँगर ढलेको थिएन । लगन–शील धूलिसात भएको थिएन । भवन निर्माणमा सहयोग गर्न दातृ निकायको ढोका ढक्ढक्याइरहेका थिए ।
“के खोज्छस्... आँखा ! भनेझैँ पो भयो । शिक्षा विकास तथा समन्वय इकाइ आफैंले भारतीय दूतावासलाई प्रस्ताव पेस गरिदिएछ । प्रस्ताव स्वीकृत भयो । भूकम्पपश्चात् शैक्षिक क्षेत्र पुनःनिर्माणमा भारतीय अनुदान कार्यक्रममार्फत् ४ करोड ४७ लाख लागतमा ९ र ६ वटा कोठा भएको दुईवटा भवन र सुविधासम्पन्न शौचालय निर्माण भयो,” उनी खुसी हुँदै सुनाउँछन् ।
विद्यालयले समयको वेग पछ्याएको देखेकाले र हृदयङ्गम गरेकाले हुनुपर्छ सम्झौता मितिभन्दा एक महिनाअघि नै भवन निर्माण सम्पन्न भयो । अघिल्लो वर्षको मङ्सीर २७ गते निर्माण सम्झौता भएको थियो । यो वर्षको माघ २७ गते पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भवन उद्घाटन गरे ।
“भवन निर्माणको जिम्मा लिएको जोशी याङ्ग्रीले पनि हाम्रो गतिलाई बुझेजस्तो छ,” यसपटक नन्दराम मच्चिएरै हाँसे ।
नमुना विद्यालयका अतिरिक्त ऐँसेलुभूमेमा प्राविधिक शिक्षाअन्र्तगत ९ देखि १२ कक्षासम्म बाली विज्ञान पढाइ भइरहेको छ । प्रदेश सरकारको विद्यालय नर्स कार्यक्रम सञ्चालित छ । नर्स कार्यक्रमले विद्यार्थीको आकर्षण बढाएकै छ ।
चुनौतीका रूपमा विद्यालय छाड्ने दर छ । पठनपाठन कार्यकलापलाई समय सुहाउँदो बनाएर त्यसमा कमी ल्याउन विद्यालय लागि परेकै छ । विषयगत शिक्षकको मात्रा थप्ने र पढाइलाई परीक्षामुखी नभइ परिणाममुखी बनाउन उत्तिकै चनाखो छन् नन्दराम ।
“किस्पाङलाई शैक्षिक र पर्यटकीय हब बनाउने दीर्घकालीन योजना छ । ऐँसेलुभूमे यसैको आधार हो,” यति भनेर नन्दरामले कुराकानी बिट मारे ।