धेरै दिनदेखि सोचिरहेको थिएँ । यो ब्लग कसैले लेखिदेओस् । देशको बेथितिबारे अरू कसैले नै कलम डोबोस् । सुशासनका नाराभित्र कुशासनले परेड खेलेको अरूले पनि देखून् ।
प्रिय पाठक ! मैले किन यसो भनें भने निराश समाचार सुन्दासुन्दा पाठक आहत छन् । थप नैराश्यता अभिव्यञ्जित गरेर पाठकको मर्ममा किन बञ्चरो चलाऊँ ! अतिरिक्त मर्माहत किन बनाउँ ! यस्ता कुरूप र
विद्रूप घटना वर्णन गर्न मैले कैयौंपटक शब्दहरू गिजोलेको छु । फेरि गिजोलेर शब्दहरूलाई पनि आतंकित र भयभित किन तुल्याऊँ ?
यस्तैयस्तै सोचेर मैले यो ब्लग कैयौंपटक लेख्दा–लेख्दै डिलिट गरेँ । आफैंभित्र चिथोरिँए । मुर्मुरिएँ र कम्प्युटरको रिसाइकलबिनबाट पनि गलहत्याएँ र शान्त भएँ ।
अस्तिको दिन मात्रै कलङ्कीको अन्डरपासमा ज्यान गुमाएका मुन्ना चौधरी र राजेश चौधरीका शोकविह्वल प्रियजनसँग संयोगले नै भनौं भेट भयो । उनीहरूलाई चिनेजानेका आफन्तीसँग भलाकुसारी गरेँ । शिक्षण अस्पताल परिसर उनीहरूको आँसुले ओसिएको भान हुन्थ्यो ।
मृतकका आफन्तमध्ये कोही भर्खर काठमाडौं टेकेजस्ता देखिन्थे । उनीहरूलाई प्रत्येक मानिस नौला लाग्थे । सबै खुसी लाग्थे । दुःखको पहिरो आफूमाथि मात्रै खनिएजस्तो लाग्थ्यो । र त, उनीहरूका आँखाबाट आँसुको भल बगिरहन्थ्यो ।
मजबुरीको अर्को नाम थिए मुन्ना । उनको घाम ग्यारेजमा उदाउँथ्यो । ग्यारेजमै अस्ताउँथ्यो । घाम मात्रै होइन जून पनि त्यही उदाउँथ्यो । त्यहीँ अस्ताउँथ्यो ।
उनी ग्यारेज गएनन् र दुईचार पैसा कमाएनन् भने परिवारको घाम सदाका लागि अस्ताउँथ्यो ।
बुधबार (माघ २३ गते) मुन्नाको जीवन सदाका लागि अस्तायो । आफू मात्रै अस्ताएनन्, १९ वर्षका राजेशलाई पनि आफूसँगै लिएर गए ।
विदेश जाने, परिवारलाई मीठो मसिनो खुवाउने, जिन्दगीको ठेलालाई खुसीका साथ धकेल्ने राजेशले किशोरवयमै देखेका सपना थिए । कलङ्की अन्डरपासमै मृत भयो । स्वयम्भूतिरबाट आएको टिपरले मुन्ना र राजेशसँगै परिवारका सपनामाथि पनि घनछिनो चलायो ।
दुर्घटना दृश्य भयावह थियो । टिपरको गतिको तेज प्रहरीले पनि अनुमान गर्न सकेका छैनन् । दुर्घटनापछि आगलागी भएको कतिपय प्रहरीले पहिलोपल्ट देखेका थिए । आगलागीले पिच पनि पग्लिएको थियो ।
दुर्घटनाग्रस्त मोटरसाइकलको धातुका पाटपुर्जा मात्रै बाँकी थिए । जलेको ठुटोजस्तो मोटरसाइकल सडकको किनारपट्टि पल्टिएको थियो । रक्तमुच्छेल घाइतेहरू २० मिटरपर उछिट्टिएका थिए । ठक्कर दिएर कुलेलम ठोकेको थियो टिपर ।
दुर्घटनापछि फरार चालक अनील लामा शुक्रबार सिन्धुपाल्चोकबाट समातेर प्रहरीले फिर्ता त ल्यायो । मुन्ना र राजेश कहिल्यै फिर्ता आउँदैनन् । परिवारका सपना पनि सायदै तङ्ग्रिनेछन् । बरु वर्षौंसम्म उनीहरूका परिवारजनका आँखा सीमसार बनिरहनेछन् । सम्झनाको जुलुस उठिरहनेछ । छातीमा गाँठो परिरहनेछ ।
परिवारमा उनीहरू नै त थिए आसा–भरोसा !
टिपर साहूले मुन्ना र राजेशको परिवारलाई सात लाखको वचनबद्धता जनाएको छ । सहमतिमा दुवै पक्षको हस्ताक्षर पनि छ । तर रुपैयाँले पीडाको पूर्ताल कसरी हुन्छ ? जीवनको भरपाइ सम्भव छ र ?
मुन्ना र राजेशको वियोगको आँसु सरसर्ती पढेपछि मलाई विस्मृतिको गर्तमा धकेलिइसकेको पुरानो घटना ताजा भएर आयो । यस्तै घटना दुर्घटनाको कारक बन्न सक्ने, विदारक क्षण निम्त्याउन सक्ने र सपनाको छातीमाथि टिपर दौडिन सक्ने भयले उत्खनन गर्न मन लाग्यो ।
० ० ०
त्यसदिन पोखरासँग बिदाइको हात हल्लाउँदा पश्चिमको पहाडबाट घामले पनि बिदाइको हात हल्लाउँदै थियो । धूलाम्मे सडक नभएर होला साँझ ढल्किइसक्दा पनि पोखराको घाम पहारिलो नै थियो ।
गोधूलिमा त पोखरा झनै वयस्क देखिन्छ । चारैतिर हिमालको पहेंलपुर आभा फिँजारिएर वातावरणमा सुनको जलप लाग्छ ।
तर पोखराको सौन्दर्यमा आह्लादित भएर बसिरहने फुर्सद थिएन । काठमाडौं फर्किनै पर्थ्यो ।
साँझ ढल्किइसकेकाले गाडी पो पाइने हो कि होइन ? द्विविधा मनमा मडारिइरहेकै थियो ।
संयोग नै भनौं, महेन्द्र पुलको मुखैमा काठमाडौं जाने बस भेटियो । बस नै त भन्नुपर्ला बूढी भैंसीझै धकिरहेको थियो । स्टार्ट गर्नेबित्तिकै धुवाँको मुस्लो फाल्थ्यो ।
“पुग्ला त काठमाडौं ?” मैले सहचालकसँग संशय व्यक्त गरेँ ।
“अरे ! नम्बरी गाडी हो । सुबिस्ताले पुर्याउँछ । बरु बसिहाल्नूस् । अन्तिम गाडी हो,” उनले झोला समातेर तानूँलाझैं गरे ।
अन्तिम नै भनेपछि नगइ धर पनि त थिएन ।
विजयपुर खोला कट्दानकट्दै बसको गति मन्द हुँदै आयो ।
बसको गति जतिपटक मन्द हुन्थ्यो, त्यतिपटक सहचालक ओर्लिन्थे । बसमुनि पसेर कसकास पारेझैं गर्थे । केहीसमय रफ्तार बढेजस्तो हुन्थ्यो । निदान भए पनि ओखतिमूलो नपाएको बिरामीझैं बस घ्यारघ्यार गर्न थालिहाल्थ्यो ।
बस वृद्ध भए पनि चालक प्रौढ थिए । हारमान्नु देखिँदैनथे ।
नौबीसे आउन एक कोश बाँकी हुँदो हो, बस पूर्णरुपेण थला बस्यो । बसको हविगत देखेर चालक पनि पसिनापिच्छे भए । गलितम् आवाजमा भने, “तपाईंहरू यही झर्नूस् ।”
“उहाँहरू सबैलाई अर्को गाडीमा चढाएर पठा, पठा !”
चालकले सहचालकलाई आदेश त दिए । तर बिहानको ३ बजे कहाँ पाउनु बस ? पोखराबाट आएकाजति बस नौबीसेवरै रोकिँदा रहेछन् । चालकहरू आँखाको काँडा मारेर बिहानीपख मात्रै काठमाडौं लाग्दा रहेछन् ।
मध्यरातपछि त राजमार्ग पनि चकमन्न हुँदो रहेछ ! सवारीसाधनको चहलपहल उतिसारो नहुने ।
मसँगै उत्रिएका केही यात्रु निद्रा मारिरहेका बसभित्र लुसुक्क पसे । मेरो मनमा बस पाइने आश मरिसकेको थिएन । यताउति आँखा डुलाइरहेँ ।
पर, उत्तरपट्टि बत्ती बलेको देखियो । मकान कि दोकानको उज्यालो हो भन्ने द्विविधा कायमै थियो । हट्यो । चिया पसलको उज्यालो सडकतिर छरिएको रहेछ ।
रातभरि जागै रहने चियापसलमा टिपर चालकहरू खचाखच थिए । अनिदै बसेर चिया बेच्ने ढकाल बाजे उखान–टुक्कामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि माथ दिँदा रहेछन् । ग्राहकहरू बेलाबखत चिया सर्केलाजसरी खित्का छाड्थे ।
उज्यालो हुन अझै एक प्रहर बाँकी थियो । काठमाडौं टिप पुर्याएर फर्कनुपर्ने टिपर चालकहरू तातो चियाले ठिही भगाइरहेका थिए ।
चिया पसलमा तातात्तो चिया सुर्क्याउँदै थिए महादेवबेँसीकै शिव पौडेल । बूढानीलकण्ठ टिप पुर्याएर फर्किनुपर्ने हतारोले ओठ डाम्नेगरी चिया घुट्क्याइरहेका थिए ।
“कलङ्कीसम्म म पुर्याइदिन्छु, जानुहुन्छ ?,” उनले सोधिहाले ।
शिला खोजिरहेको थिएँ, शालिग्राम फेला पर्यो ।
उनकै पछि लागेँ । लुरुलुरु ।
मान्छे पिलन्धरे, पिलन्धरे । नाङ्लोजत्रो टिपरको स्टेरिङ समात्नेबित्तिकै उनमा के तागत आयो कुन्नी, गाडी बत्ताइहाले ।
“बिस्तारै चलाए हुन्न ?” उनको ‘रफ’ चलाइ देखेर मेरो आङ जिरिङ भयो । बेकार चढेछु जस्तो पनि लाग्यो ।
“कस्तो कुरा गर्नुहुन्छ तपाईं ? फर्किनु परेन ? सात नबज्दै थानकोट आइसक्नुपर्छ,” उनले अत्यास व्यक्त गरे ।
अझ बढाए टिपरको गति । टिपरको गतिभन्दा तेज धड्कियो मुटु । भयले कुँजिए ।
नागढुङ्गाको उकालोको अन्तिम घुम्तीमा विपरीत दिशाबाट लेन मिचेर आएको मोटरसाइकल झन्डै ठोक्कियो ।
“मा** ! मर्ने यस्तै हो, बुझ्नुभो !,” मुखको गाली र थुक एकैसाथै बाहिर हावामा हुत्याए र रिसाग्नि चिस्याए ।
उनी बेलाबखत टिपरको प्रशंसा गर्न छुटाउँदैनथे, “यो त फलामैफलामको साधन हो । ठोक्किए पनि केही हुँदैन । ठोक्किन आए सीधै यमराजकहाँ पुर्याइदिन्छ ।”
कुरा सुन्दा लाग्थ्यो– उनी टिपर चालक होइनन्, यमदूत हुन् । चालक अनुमति पत्र मान्छे मार्ने इजाजत पत्र हो ।
निःसन्देह मोटरसाइकल चालकले रफ चलाइरहेका थिए । त्योभन्दा कम थिएन टिपर चलाइ । तर पनि उनी वेपरवाह थिए । दायाँबायाँ, अगाडिपछाडिका सवारीसाधनलाई माखो बराबर गन्दैनथे । हान्ने राँगोझैं कहिले कता मुख जोत्न खोज्थे ? कहिले कता ? उनले जतिपटक गति बढाउँथे, त्यतिपटक मेरो मुटु भट्याकभट्याक उफ्रन्थ्यो । ब्रेक हान्न लगाएर त्यहीँ उत्रूँ हुन्थ्यो !
थानकोट आउन दस गजजति बाँकी भएपछि टिपर साइड लगाए । ज्याकेटको भित्री बगलीमा हात छिराएर ५०–५० को धमिला दुईवटा नोट झिके ।
“चुरोटसुरोट किन्ने अभिप्रायले होला ?,” मेरो सोझो मनले यही चितायो ।
चेकपोस्टसम्म टिपरको लामो ताँती थियो । चिसो बढेकाले चालकले खलाँतीले झैं सास छाडिरहेका थिए । बिहान नभइसकेकाले गन्न मुस्किल थियो । हामीभन्दा अगाडि अन्दाजी २०–२५ टिपर पक्कै थिए ।
लाइन खुलेपछि चालकले टिपरको गति बढाए । पाँच मिनेट पनि लागेन चेकपोस्ट पुग्न । दायाँबायाँका लेनबाट गाडी आवतजावत गरिरहेका थिए । रातो डिभाइडर राखेर टिपरका लागि बीचमा अलग्गै लेन तय गरिएको रहेछ । लेनको दायाँतर्फ दुईजना ट्राफिक खडेबाबाझैं ठिङ्ग उभिएका थिए ।
जाँचपासका लागि खटिएजस्तो देखिए पनि उनीहरूको ध्यान त्यता थिएन । बरु पल्याकपुलुक हेर्दै बहीदारलेझैं बहीखातामा केही टिपिरहेका थिए ।
पालोआएपछि चालकले अघि निकालको एउटा नोट पहिलो ट्रफिकको हातमाथि हात खप्ट्याएर खुसुक्क थमाइदिए । रुपैयाँ पाएपछि ऊ अर्को टिपरतिर सर्यो । अर्को अघि बढ्यो । उनको हातमा पनि त्यसैगरी ५० को नोट थमाइदिएर टिपरको गति अगाडि बढाए ।
किन थमाएका होलान् ५० को नोट ? मेरो मनमा खुल्दुली मडारिन थालेको थियो । तिनै चालकले जिज्ञासा मेटाइदिए, “के गर्नु हजुर ! साह्रै गाह्रो छ । ५० रुपैयाँ दिएपछि जाँचपड्ताल केही गर्दैनन् । लोडसोड केही हेर्दैनन् । पाएनन् भने अनेक सास्ती बेहोर्नुपर्छ । ठाउँकुठाउँ कागजपत्र मागरे हैरान पार्छन् । काम गरेर खाने जमानै रहेन !”
चालकले ५० रुपैयाँ घूस (रिसवत) बुझाउनुको पूरै कारण त बताएनन् । तर कुरैकुरामा थोरै खोले, “आज ढालाभन्द मुढीहात माथिसम्म बालुवा राखेर ल्याएको छु । धन्न देखेन ! कदाचित् देखेको भए ५० रुपैयाँले के मान्थे ? मैले मात्रै हो र हजुर, रोज तीन सय टिपर काठमाडौं भित्रन्छन्, ती सबैले सय–सय बुझाउँछन् ।
ए ! सय रुपैयाँ त काठमाडौं छिर्न घूस पो रहेछ ! सय रुपैयाँ बुझाएपछि ढालामाथि जति पनि माल–सामग्री राख्न छुट रहेछ ! जति गतिमा पनि टिपर हुइँक्याउन पाइने रहेछ ! गति अति भएपछि मुन्ना र राजेशको नियति जसको भागमा पनि पर्ने भयो !
थानकोट नाकाका ट्राफिकको भ्रष्टमतिको साक्षी बस्नुपर्दा मलाई ग्लानि भो । पेसा समाजको ‘वाचडग’ भए पनि यात्रीका रूपमा हात बाँधिनुपर्दा मन पिल्सियो पनि ।
काठमाडौं छिर्ने मुख्य नाकामा बस्ने घुस्याहा ट्राफिकले अहिलेसम्म कति रुपैयाँ कुम्ल्याए होलान् ? जनताको जिउधनको सुरक्षा गर्ने जिम्मा लिएका ट्राफिक प्रहरीको खराब आचरण, घुस्याहा चरित्रकै कारण कति नागरिकको जिउधन मासियो होला ? ५० रुपैयाँको नोटमा बिकेर कतिजनाको हत्याको मतियार बने होलान् ? दुर्घटना न्यूनीकरण गर्न बसेका आफैं कारक बने होलान् ?
जबजब काठमाडौैंमा टिपर आतङ्क समाचार बनेर छाउँछ मेरो मनमा यी प्रश्न टड्कारो बनेर आउँछ ।