यतिखेर
यसरी त कहिल्यै—
मभित्र फुलेकै थिएन कोही !
उदासी साँझहरू बोकेर आँखामा
चराझैं आफ्नै बैंश उडिरहेको एक टुक्रा आकाश हेरिरहन्थेँ
ओँठमा तृष्णाहरू साँचेर वर्षौंदेखि
पातपातमा झुल्दै आउने घामझैं पर्खिरहन्थेँ प्रेयसी वसन्त ।
—वातानुकूल थिएन कि मेरो हृदय ?
तुषारो खस्थ्यो—
दुबोजस्ता हरिया यौवनहरू मर्थे
घाम पोखिन्थ्यो—
फूलजस्ता सुन्दर सपनाहरू ओइलाउँथे ।
यसरी प्रत्येक साउनमा
रूखो र सुख्खा बाँचेर
कोही–कसैलाई अनुभूत नगरेको मैले
यतिखेर—
सन्ध्यामा प्रार्थनारत् हिमालझैं
चुपचापचुपचाप अग्लिरहेछ मभित्र कोही !
० ० ०
गाउँ
यसो त—
आफ्नै छायाँको
काँधमा हात राखेर पर्खिरहेको छ बूढो घर
र,
आमा सम्झिएर—
दम, सुगर र प्रेसरहरू छोराछोरीझैं भेट्न आउँछन् ।
गाउँबाट—
खोलाले पनि बसाइ स¥यो
गाउँबाट—
पहाडहरू पनि परदेश हिँडे
बतासले झैं छुँदै हिँड्ने
गाउँसँग अब कुनै, गाउँका गीतहरू छैनन् ।