मेरी सानी छोरी ११ वर्षकी भई । कहिले कहीँ नयाँ चीज देख्दा प्याट्ट भन्छे, ‘‘फस्र्ट टाइम इन माई लाइफ’’ । हामी हाँस्छौं, उडाउँछौं – ऊ बुझ्दिन । ऊ पनि हाँस्दी हो यति सामान्य कुरा हामीले नबुझेकोमा – तर ऊ केही भन्दिन । जीवन जटिल पनि छ र सरल पनि – त्यसैको परिणाम हो यो दोहोरो हँसाइ । जीवनको हिसाब बुझे झैँ लाग्छ अनि गर्दै जाँदा बिर्सिए झैँ लाग्छ ।
भन्छन् नि — ‘जिन्दगी छोटो छ’ । सुनिन्छ पनि सानैदेखि त्यही कुरा बारबार । आफूलाई लामो लाग्छ एक बिन्दुसम्म नपुगुञ्जेल र जब थाहा हुन्छ ‘जिन्दगी छोटो छ’ तब साँच्चीकै छोटो हुन्छ समय जीवनको । धेरैको यता समाउन खोज्दा उता चिप्लिने र उता समाउन खोज्दा यता । यही लुकामारीमा सकिन्छ जीवन । आफू सानो छँदा अरू ठूला मान्छेहरू हेरेर त्यस्तै ठूलो बन्न मन लाग्थ्यो । सानो हुँदाको समय पनि त्यस्तै लामो लाग्ने । कहिल्यै नबढ्नेजस्तो लाग्ने जिउ, कहिल्यै नसकिनेजस्तो लाग्ने पढाइ, कहिल्यै नटुंगिनेजस्तो लाग्ने गाउँको बसाइ । प्लेन चढेर हुइयँ हुँइकिन मन लाग्ने घरी घरी गाउँ छाडेर । मोटर बाटो नभएको गाउँमा एयरपोर्ट भएकाले पनि कल्पना गुड्नेभन्दा उड्ने नै हुने भए आकाशमा !
पहिलोपटक प्लेन चढेर काठमाडाैं खाल्टोमा छिरेको अस्तिजस्तै लाग्छ — पाङ्गा, कीर्तिपुरमा । ढोकाबाट भित्र छिरेपछि दाइले ट्वाक्क गर्दा बलेको बिजुली बत्तीको अर्कै उज्यालो (हाम्रो गाउँको लालटिनको भन्दा फरक झलमल्ल उज्यालो) र त्यो स्विचको आवाज अहिलेसम्म ताजा नै छ मन मस्तिष्कमा ।
पाँगाबाट नयाँ बजार जाने बाटोमा एउटा बैंक थियो । बैंकमा भएको फोन मेरो लागि अर्को नौलो विषय थियो । त्यस बाटोबाट वारपार गर्दा मेरो मनमा सलाईको बट्टामा धागो बाँधेर सानो छँदा गाउँमा फोन गरेर खेलेको झलझली याद आउथ्यो । कति सुनिन्थ्यो त्यो बट्टाबाट वा चिच्याएको आवाज नै हुन्थ्यो त्यो अथवा भ्रम मात्रै हुन्थ्यो अहिले उति परको धेरै याद भएन । तर, फोनबाट टाढा टाढासम्म पनि कसरी कुरा हुन्छ भन्ने चाहिँ पछिसम्म पनि घुसेन मेरो दिमागमा । अहिले पनि बेला बेलामा रन्थनिन्छ दिमाग कुरा हुँदा फोनमा । टाढा टाढा, अब त तार बिना अनुहार हेरेर पो हुन्छ कुरा – झनै अचम्म !
अलि पछि हो, घरमा श्यामश्वेत टीभी आयो । झ्यार..झ्यार.. टीभीमा आउने र मुस्किलले देखिने अनुहारहरू कसरी त्यो बाक्सामा छिरेर बस्छन् होला ? रेडियोको आश्चर्य नमेटिँदै फेरि अर्को चमत्कारले घेरेको पनि धेरै भएको छैन । त्यो मधुरो चित्र घन्टौँ हेर्दै अन्दाज गर्दै बुझ्ने कथाहरू र गरिने अचम्मको हिसाब अब छोडिसकेँ मैले । सके र पाएसम्म हिसाब नगरेर सुविधाहरूको उपभोग गर्ने निधो गरेँ मैले । नत्र त म पाखेका लागि अचम्म कति कति । हिसाब गर्दै जिन्दगी बित्ने डर !
सबै अस्ति जस्तै लाग्छ । समय थाहा नपाएरै बित्दो रहेछ । उँड्दाउँड्दै आनै गाउँ, आफ्नै देश छोडेर कहाँ कहाँ बिरानो ठाउँमा पो पुगिसकिएछ !
अस्ति यसै बसेर हिसाब गरेँ । यो हिसाब भन्ने पनि गजबको रहेछ – नगरी नहुने । समय बित्दै गएपछि हिसाब पनि धेरै गर्न मन लाग्ने, गर्नुपर्ने हिसाबको संख्या पनि धेरै हुने र हिसाब पनि धेरै बुझिने हुँदोरहेछ । अचेल त हिसाबमा आफ्नै गुरुभन्दा पोख्त भएजस्तो लाग्छ कहिले ! अनपढ आमाले औँला भाँचीभाँची गरेको हिसाब अहिले बुझियो — आमाले यो संसार छोडेर गएपछि । उनका काखको हिसाब, उनका आँखाको हिसाब, उनको मनको हिसाब, उनको पर्खाइको हिसाब त आफ्ना सन्तान ठूला हुँदै गएपछि झन्झन् छर्लङ्ग हुँदै आउन थाल्यो – यो हिसाबको नतिजा सुनाउन पाएको भए उहिले नमिल्ने आमाछोराको हिसाब अहिले मिलेको देखेर आमा मुसुक्क मुस्काउँथिन् होला कि मेरो कपालमात्रै सुम्सुम्याउँथिन् होला ?
म फेरि हिसाब लाउँछु । आमाका आँसुका हिसाब, रहरहरूका हिसाब, बाध्यताहरूका हिसाब त कति कति ! बाको इस्टकोटमा परेको प्वालको हिसाब, बाको निधारबाट चुहिएका पसिनाको हिसाब, बाको भरोसा र आधारको हिसाब पनि कति कति ! आफू विदेश गएपछि गाउँको हिसाब, गाडीमा चिल्ला सडकमा हिँडेपछि धूलो बाटोको हिसाब, टावर चढेपछि अग्लो रुखको हिसाब, समयले यताउता घुच्याउन थालेपछि बच्चामा गुच्चा खेल्दा हारेका र जितेका गुच्चाहरुको हिसाब र खोपी खेल्दा बुझाएका र गोजामा बजाउँदै हिँडेका सिक्काहरूको हिसाब पनि धेरै बुझियो – समयले सबै हिसाबमा पोख्त बनाउँदो रहेछ ।
यो हिसाब त कहिल्यै नसकिने पो रहेछ, अझै सिकिँदै छ — समयको, गतिको, अनुभूतिको, जीवनको र अन्य थुप्रै हिसाबहरू ।
जीवनको ठूलो हिस्सा सुत्नमा जान्छ । केही जागिरमा, केही पढाइमा, केही झगडामा, केही ईष्र्यामा, केही हिँड्दा बाटोमा जान्छ जीवन । केही रुनमा, केही पछुताउनमा, केही गुनासोहरूमा र केही कुण्ठाहरूमा जान्छ जीवन । अझ म जस्ताहरूको केही बारमा, गिलासमा र धुवाँमा जान्छ जीवन । यस्ता थुप्रै हिस्साहरूमा थोरै हिस्सामात्रै माया र खुसीको हुँदोरहेछ । यी चीजहरूको हिसाबकिताब मिलाउन नसकेर सुखको हिस्सा आफ्नो भागमा कम परेजस्तो लाग्ने, समय कम भएजस्तो लाग्ने या जीवन छोटो भएजस्तो लाग्ने पो हो कि ?
जन्मिएपछि हामी खुसी मनाउँछौँ । न्वारान, भात खुवाइ, व्रतबन्ध आदि आदि । जीवनको आधाभन्दा बढी हिस्सा जिउनको लागि तयारी गर्छौँ । पढ्ने, जागिर खोज्ने, पैसा कमाउने, बिहे गर्ने, बच्चाबच्ची जन्माउने, घर बनाउने, गाडी किन्ने र यस्तै यस्तै धेरै । जिउने तयारी गर्दागर्दै छोराछोरी टाढा हुन्छन् – पढ्न, जागिर खान, हामी जस्तै टाढिन्छन् । जीउले बिस्तारै साथ दिन छोड्छ, बल घट्छ, जाँगर मर्दै जान्छ । बाबुआमा, आफन्त, कतिपय साथीभाइ कहिल्यै नफर्किने गरिजान्छन्, छोडेर जान्छन् । कतिपय सम्बन्धहरू बिग्रन्छन् । हिसाब गर्न मन लाग्छ, हिसाब नमिलेजस्तो लाग्छ सुरुमा । अनि लाग्छ ‘जीवन छोटो छ’ ।
कहिले कही जीवनप्रतिको डर, मृत्युभय, केही डरलाग्दा रोगहरुले पनि मान्छेलाई ‘जीवन छोटो छ’ भन्ने बोध हुन्छ अलि छिटै । अन्यथा, त्यो सत्य महसुुस गर्न अर्थात् त्यो बुझ्ने बिन्दुसम्म पुग्न धेरै समय पनि लाग्न सक्छ । ‘म मर्छु’ भनेर चिन्ता गर्न हैन बाँच्न पनि यो तथ्य नबिर्सिएकै राम्रो हो । न बिर्सिँदा यो सत्य ‘जीवन छोटो’ भएको बुझ्न गाह्रो छैन, जीवन भोग्न सिकाउँछ यसले ।
मैले धेरै हिसाब गरेको देखेर मेरी पत्नी दिक्क मान्छिन् । उनको र मेरो हिसाब मिल्दैन धेरैपटक । उनी धेरै सोच्दिनन्, धेरै अनुमान गर्दिनन्, समय हुँदा भुसुक्क निदाउँछिन्, खाना भए खाइदिन्छिन् नत्र गुनासो पनि गर्दिनन् – सहज लिन्छिन् कुराहरुलाई । म भने कोणकोणबाट सोच्छु, अनुमान धेरै गर्छु, निदाउन समय लाग्छ, अलि मीठोमसिनो चाहिन्छ – उल्टोभन्दा हुन्छ उनको र मेरो व्यवहार । झगडा गर्ने म, मिलाउने उनी । रिसाउने म, सहने उनी । अल्छी म, जाँगरिली उनी । अनि कसरी मिलोस् त हिसाब ?
‘जिन्दगी त छोटो रहेछ’ – मैले कफी खाँदै पत्नीलाई सुनाएँ । उनी हाँसिन् र भनिन् ‘हिसाब गर्न न जानेर हो’ । मैले जीवन छोटो भएको थुप्रै उदाहरण दिएँ । थुप्रै कुरा गरेँ – उनको मन खाएन मेरो हिसाबले । उनले भनिन् — ‘हिसाब नम्बरमात्रै हो’ । एउटै छानोमुनि भए पनि उनी मभन्दा सुखी लाग्छ मलाई ।
म घोरिएँ । हुन पनि जीवन छोटो हुनेभन्दा हामीलाई त्यस्तो लाग्नेजस्तो लाग्यो । त्यत्रा वर्षहरू, महिनाहरू, हरेक वर्षका तीन सय पैँसट्ठी दिन, घन्टा, मिनेट र सेकेन्डहरू गन्ती गरेर नसकिने छन् । हामी जीवनको यात्रामा झैँ अरू हरेक ससाना यात्राहरू लक्ष्यमा मात्र केन्द्रित गरेर गर्छौँ । बाटोमा देखिने दृश्यहरू पनि उति नै सुन्दर हुन्छन् जति टुप्पोबाट हेर्दा । समय उत्ति नै महत्वपूर्ण हुन्छ, भेटिनेहरु उत्ति नै आत्मीय हुन्छन् । थकाइ मार्दाको क्षण उति नै प्यारो, सुनिने स्वरहरू उति नै मधुर हुन्छन् । बाटो छेउका कुनै सुन्दर फूलहरू अन्त कतै कहिल्यै नदेखेका हुन्छन्, फलहरू देखिन्छन् लटरम्म फलेका र अरू थुप्रै मन लोभ्याउने वस्तुहरू । हो ! उकालो थियो, प्यास थियो उक्लिँदाको दुःख थियो र पुग्ने हतारो पनि थियो । हामी त्यही हतारोमा आफूसँगैका असंख्य क्षणहरू जिउन बिर्सने रहेछौँ र पो छोटो लाग्दो रहेछ जीवन ।
जिउन जाने त सुखका, भोगाइका सुन्दर क्षणहरूको लमाइ नाप्न नसकिने लामो पो हुँदो रहेछ !
(हालः टिमिन्स, क्यानडा)