site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 मधेस र सिंहदरबारमा छाउपडी 

महिलाको महिनावारी बार्ने सन्दर्भमा मध्यपश्चिम र सुदूरपश्चिमको बढी चर्चा हुने गरे पनि देशका अरू भेगमा समेत यसले उत्तिकै जरो गाडेर बसेको छ । महिनावारी भएको बेलामा मध्यपश्चिम तथा सुदूरपश्चिममा छाउगोठमा बस्नुपर्दा निसासिएर, जंगली जनावरको आक्रमणमा परेर, यौन हिंसा, चिसो र यौन अंगमा हुने विभिन्न संक्रमणका कारण मृत्यृ भएको समाचारले कर्णाली र सुदूरपश्चिम प्रदेशलाई कलंकका रुपमा हेर्ने गरिएको छ । यसैको प्रतिशोध र ग्लानिका कारण दुवै प्रदेशका छाउ गोठहरु भटाभट भत्काइँदै छ । 

यस्ता विषयले मधेसी समुदायलाई कतै छोएको देखिँदैन । किनभने महिलाको मृत्यु नहुँदासम्म महिला हिंसामा कसैले ध्यान दिँदैन । मानव अधिकार हननको दृष्टिबाट हेर्ने हो भने मधेसमा पनि महिनावारीको समयमा महिलाहरुले विभिन्न किसिमका विभेदको सामना गर्दैआएको देखिन्छ । यस अवस्थामा छुन हुने र नहुने भनिएका निषेध र बन्देजहरू धेरै छन् । तर, यस्तो संस्कार पहाडी समुदाय र पश्चिम नेपालमा मात्र छ भन्ने ठोकुवा गरिन्छ र तराई मधेसमा यस्ता प्रथा नभएको तर्क दिइने गरेको छ । 

विस २०७२ चैत्र १ गते कपिलवस्तु जिल्लामा गरिएको जिल्ला स्तरीय अन्तक्र्रिया कार्यक्रममा महिनावारी सम्बन्धी मिथ्या धारणाका विषयमा भएको छलफलमा मधेसी दलका केही नेताले महिनावारीलाई अपवित्र साबित गर्ने कोसिस गरेका थिए । महिनावारीसम्बन्धी हामीले लगेका पोस्टरहरु च्यातिए र हामीलाई क्रिस्चियन भनियो । त्यति बेला हामीले मधेसका अन्य राजनीतिक समस्याका कारण छलफल अगाडि बढाउन सकेनौ । उनीहरूले त महिनावारी भएकी महिलाले घरमा बनाएका अचार छोएमा तत्काल कुहिने दाबीसमेत गरे । जिल्लाका नेतृत्वको अवस्था यस्तो छ भने गाउँको कस्तो होला ? प्रसंग जोड्नमात्र खोजेको यस्ता धेरै उदाहरण पाउन सकिन्छ ।

त्यस्तै  विसं २०७४ सालमा वातावरणीय कृषि तथा विकास केन्द्र (केड), सर्लाहीले गरेको अवस्था अध्ययन सर्वेक्षणमा महिला तथा किशोरीहरुको विविध सवालमध्ये केही प्रश्न महिनावारीको बारेमा सोधिएको थियो । महिनावारीको समयमा खाना बनाउने, पूजा गर्ने, व्यक्तिगत सरसफाइ, करेसाबारी, फलफूल, खाने कुरा, बीउबिजन राख्ने थन्काउने कुरामा बार्ने चलनका बारेमा प्रश्नहरु सोधिएका थिए । यीमध्ये धेरै कुराहरु किशोरी तथा महिलाले बार्ने गरेको पाइयो । ब्राह्मण जातिमा खाना पकाउन तथा खानेकुरा छुन नहुनेलगायत धेरै बार्ने चलन रहेको अध्ययनमा देखियो । अन्य जातिले सो समयमा पूजा तथा देवता कोठामा जान नमिल्ने, कपाल कोर्न नहुने, सिन्दूर लगाउन नहुने बारीमा बोटबिरुवा छुन नहुने, अन्न वा अन्य बालीका बीउबिजन छुन, रोप्न र टिप्न नपाइने रहेछ । यस्तै, अमिलो खाने कुरा खान नहुने, घरमा बनाएका अचारहरु छुन वर्जित गरिएको पनि अध्ययनमा देखिएको थियो ।

त्यस्तै, २०७६ साल पौष महिनामा बारामा गरेको घरभेट कार्यक्रम र स्थानीय सरोकारवालाहरुसँगको अन्तक्र्रियाबाट महिनावारीका समयमा महिला तथा किशोरीहरुले ११ किसिमका काम कुरा गर्न नपाउने थाहा पाइयो । कतिपय घरभेटको कार्यक्रम गर्दा महिनावारी भएका महिलाहरु भान्छाबाट अलग्गै बसेको पाइयो । देउता थानमा नपस्ने गरेको पनि बताए । उखुबारी पस्नसमेत वर्जित छ । यसलाई सम्मानित र मर्यादित माहिनावारी मानिदैन । यो पनि एउटा छाउगोठ हो मधेसमा देखिएको ।

सिंहदरबार भित्रको छाउगोठ

विसं २०७४ आश्विन ३० गते छैटौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा भएको अन्तक्र्रियामा राष्ट्रिय मानव अधिकार आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, कानुनविद्, विभिन्न धर्मका वरिष्ठ धर्मगुरुहरुबिच सम्मानित महिनावारीको धारणा बारे छलफल भएको थियो । त्यस क्रममा नीतिगत तहमा कार्यरत महिला कर्मचारीहरुसमेत सहभागी थिए । सिंहदरबारभित्र काम गर्ने कर्मचारीहरुले नै महिनावारी भएको बेला खानेकुरा नपकाउने र भान्सामा नजाने बताए ।

शिक्षा, स्वास्थ्य, सुरक्षा, आर्थिक उपार्जन, सूचनाको पहुँच र अधिकार पाउने ठाउँमा बसेका जानकार महिलाले समेत तिर्खा लागेका बेला एक गिलास पानी आफैँ सारेर खान पाउँदिनन् भने त्यो मुगु र अछामको छाउगोठको भन्दा केमात्र फरक भयो र ? यो त झन् बलियो पक्की छाउगोठ भयो जुन तुरुन्तै अलग्गै बनाउन र भत्काउन सकिँदैन ।

माटो र खरले बनेको छाउगोठ भत्काउन पनि सजिलो बनाउन पनि सजिलो । भत्किँदै गर्छ र बन्दै गर्छ । मनभित्रको छाउगोठ देशैभर बनेको छ हरेक जातिमा केही न केही संरचना बनेको छ । यद्यपि भत्काउन कठिन भए पनि असम्भव भने छैन । सम्मानित र मर्यादित महिनावारीका बारेमा निरन्तर अभियान नचलाई अर्को विकल्प छैन । यो काम सरकारले चाहेमा गर्न सक्छ तर समय लाग्छ ।

महिनावारी महिलाको जीवनको अपरिहार्य सत्य हो । यो पाँच दिन बग्ने एक पसर रगतमात्र होइन । अर्थात्, प्रजनन उमेरमा बग्ने रगतको सवालमात्रै होइन । सन्तान जन्माउने प्रयोजनमात्र पनि होइन । यो त जीवन र जगत्भरको सरोकारको विषय हो । तसर्थ सम्मानित र मर्यादित महिनावारी एक बृहत् धारणा हो । 

महिनावारीलाई मानव अधिकारको दृष्टिकोणबाट हेरिनुपर्छ । यसैले महिनावारीलाई गर्भधारणदेखि मृत्युसम्म सम्बन्धित सोच, धारणा र अभ्यासलाई मानव अधिकारको दृष्टिकोणले गहिरो विश्लेषण गरेर त्यसको अल्पकालीन र दीर्घकालीन असरहरुलाई सम्बोधन गर्नुपर्छ । महिनावारी हुने नहुने सबै व्यक्ति र समूहको अधिकार सुनिश्चित गर्दछ । 

सबै तह र वर्गका सरोकारवालालाई जिम्मेवार बनाउँदै महिनावारीलाई साझा मानव अधिकारको सवालका रुपमा हेर्नु पर्छ । महिनावारी भएका किशोरी, महिला र यौनिक अल्पसंख्यकहरु मर्यादापूर्वक जीउन पाउनुपर्ने मानव अधिकारको वकालतभित्र पर्नुपर्छ । मर्यादित महिनावारी प्याड, सरसफाइ, संरचनाभन्दा बृहत् धारणा र कार्य शैली हो जहाँ स्वास्थ्य, शिक्षा, खानेपानी सरसफाइ, वातावरण, सशक्तीकरण, शान्ति र विकास सँगसगै जाने अवस्थालाई स्वीकार्नुपर्छ ।

महिनावारी एउटा खाका हो जसले यस सम्बन्धमा रहेको गहिरो अन्धविश्वास, डर, त्रास, लाज, घीन, मौन र अपवित्रताको मान्यतालाई चिरफार गर्न, भत्काउन, हटाउन घरघर, टोलटोल, स्कुलस्कुल, समुहसमुह जहाँतँहीबाट महिनावारीको जैविक महत्त्वको बारेमा बाबुछोरी, आमाछोरा, दिदीभाइ सबैबीच वार्ता र बहस हुनु आवश्यक हुन्छ । मर्यादित महिनारीद्वारा हाम्रो वरपर भएका मिथ्या, भ्रम कुसंस्कार चिर्दै सशक्तीकरण गर्नु आवश्यक छ । 

देशैभरबाट महिनावारीमा निषेध र वर्जित गर्ने कुचलनको अन्त्यको लागि अभियान संचालन गर्न अब ढिलो गर्नु हुन्न । यो मर्यादित महिनावारी अभियानको सुरु भने काठमाडौंको सिंहदरबारबाट नै पो गर्ने हो कि ! 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  ०७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro