काठमाडौं । ‘ह्वाट्सएप, भाइबर र इमोजस्ता एपहरुबाट ठूलो धनराशिको पुरस्कार परेको भन्दै फोन वा एसएमएसबाट ठगी गरेको पाइएकाले यस्ता प्रलोभनमा नपर्न र सचेत रहन सूचित गरिन्छ,’ एनसेलले आफ्ना ग्राहकलाई पठाएको सन्देश थियो यो ।
काठमाडौं नयाँ वानेश्वरमा बस्दै आएकी श्रेया गुरुङ (नाम परिवर्तन) सामाजिक सञ्जाल ह्वाट्ससप नियमित चलाउँथिन् ।
त्यही क्रममा एकदिन उनलाई ह्वाट्सएपमा फोन आयो । फोनमा भनियो, ‘हेलो आइएम फ्रम युएस’ । फोन गर्ने व्यक्तिले श्रेयालाई करोडौंको चिठ्ठा परेको बताए ।
श्रेयाको भनाई उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘‘हजारौं नम्बरहरुबाट एक रोज्दा तपाईँको नम्बर परेको हो । तपाईँलाई बधाई छ ।’’
श्रेया सुरुमा अकमकमा परिन् । तर ती व्यक्तिले निरन्तर फोन गरिरहे । निरन्तर फोन गर्दै गएपछि श्रेया पनि कुराकानी गर्न थालिन् ।
विस्तारै भिडियो च्याट पनि सुरु भयो । ती व्याक्तिले सुन, मोबाइल ल्यापटप भारत पठाइदिने श्रेयालाई बताए ।
सकेसम्म आफू पनि भारत आउने र श्रेयालाई आफूसँगै अमेरिका लैजाने सपना पनि देखाए । अमेरिकाको सपनाले श्रेया लोभिँदै गइन् । ती व्यक्तिले भारतमा सामान पठाएको र त्यसका लागि भन्सार शुल्क लाग्ने भन्दै श्रेयालाई त्यो वापतको रकम तिर्न आग्रह गरे ।
भिडियोमै कुराकानी गरेकी श्रेया विश्वस्त थिइन् ।
श्रेयालाई एकजना नेपाली एजेन्टको नाममा रकम पठाउन भनियो । श्रेयाले पटक–पटक गरेर २१ लाख पठाइन् । उनी सामान लिन भारत पुगिन् । तर त्यहाँ न सामान थियो, न श्रेयालाई फोन गर्ने व्यक्ति नै ।
उनको मनमा डर उत्पन्न भयो । घरमा कसैलाई जानकारी नै नदिएर २१ लाख रकम पठाएकी श्रेया महानगरीय अपराध महाशाखा टेकु गुनासो लिएर पुगेपछि चाल पाइन् आफू ठगीएको । विराटनगर घर भएर काठमाडौंमा सरकारी जागिरे हुन् २७ वर्षीया जेनि थापा (नाम परिवर्तन) ।
सरकारी जागिरे जेनीलाई एक दिन भारतीय नम्बरबाट ‘इमो’मा कल आयो ।
हिन्दी भाषमा बोल्दै जेनीलाई भनियो,‘‘आपको ५० लाख भारतीय लौट्री पडी है । ओर सुन भि मिलेगा आपको ।’’
जेनि एकाएक विश्वस्त भइन् । त्यसबीचमा जेनी र हिन्दी बोल्ने व्यक्तिबीच ३ दिनसम्म कुराकानी भयो ।
जेनीलाई ५० लाख र सुनका लागि केही रकम कर लाग्ने बताइयो । उनी रकम तिर्न राजी भइन् ।
जेनीलाई रकम तिर्नका लागि एनआईसी एसिया, ग्लोबल आईएमई, हिमाल बैंकको खाता नम्बर दिइयो ।
जेनीले पटक–पटक गरेर १६ लाख पठाइन् । जेनीलाई रकम पठाएपछि चिट्ठा परेको सुन र रकम नेपालमै पाउने भनिएको थियो । तर जेनीले १६ लाख पठाइसकेपछि ती व्यक्तिले इमोमा कल गर्न छाडे ।
त्यसपछि जेनी पुगिन् अपराध महाशाखा । आफू ठगिएको जब प्रहरीबाट उनले जानकारी पाइन् उनी रुन थालिन् ।
यसबाहेक म्यासेन्जर, भाइबर, इमेलमार्फत् पनि कयौं व्यक्ति ठगिएका छन् । महाशाखामा दैनिक अनलाइनमार्फत् ठगिएको गुनासो आउने गरेका छन् ।
महाशाखाका एसएसपी सहकुल थापा भन्छन्, ‘‘अनलाइन ठगी ठूलो चुनौती बन्दै गएको छ । यसमा व्यक्ति स्वयम् सचेत रहन जरुरी छ । अनलाइनबाट ठगिएको रकम फिर्ता ल्याउन र अभियुक्तलाई कानुनी दायरामा ल्याउन निकै समस्या छ । किनभने ठग्ने गिरोह नेपालमा हुँदैन ।’’
एसएसपी थापा सामाजिक सञ्जालको प्रयोगमा सचेत रहन आग्रह गर्दै नचिनेको व्यक्तिलाई साथी नबनाउनसमेत सुझाव दिन्छन् ।
अघिल्लो सातामात्रै महाशाखाले अनलाइनमार्फ ठगी गर्ने पाँचजनालाई पक्राउ गरेको थियो ।
उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइन व्यवसायमार्फत ठगी गर्ने मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी शर्मिला कुमारी श्रेष्ठ र काठमाडौँका सुशील गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले २० लाख बढी ठगेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।