site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चार अन्तरिक्ष पर्यटक उत्तर र दक्षिण ध्रुवको कक्षमा परिक्रमा गरेर पृथ्वीमा फर्किए

काठमाडौं । आफ्नो निजी खर्चमा उत्तर र दक्षिण ध्रुवको कक्षमा परिक्रमा गरेर चार अन्तरिक्ष पर्यटक शुक्रबार पृथ्वीमा फर्किएका छन् । बिटक्विन लगानीकर्ता चुन वाङले आफू र अन्य तीनजनाको लागि स्पेसएक्सको ड्रागन क्याप्सूल चार्टर गरेर उक्त टुर आयोजना गरेका थिए ।

उक्त स्पेसएक्सको ड्रागन क्याप्सूलमा ध्रुवीय बरफ र समुद्रको किनारका दृश्यहरू ३६० डिग्रीमा देखाउने गुम्बज आकारको झ्याल लगाइएको थियो । वाङले साढे ३ दिने  यात्राको लागत कति थियो भन्नेबारे बताउन चाहेनन् ।

गएको सोमबार राति नासाको केनेडी स्पेस सेन्टरबाट उडेका यी चारैजना दक्षिण क्यालिफोर्नियाको तटनजिकै फर्किएका थिए । ध्रुवहरूमाथिबाट पृथ्वी परिक्रमा गर्ने यो पहिलो मानव अन्तरिक्ष यात्रा हो । साथै, ५० वर्षमा पहिलोपटक प्रशान्त महासागरमा अन्तरिक्षयान अवतरण गरेको घटना हो ।

चीनमा जन्मेका तर अहिले माल्टाका नागरिक वाङले नर्वेका चलचित्र निर्माता जानिके मिकेलसन, जर्मन रोबोटिक्स शोधकर्ता राबेया रोगे र अस्ट्रेलियाली पोलार गाइड एरिक फिलिप्सलाई अन्तरिक्ष यात्राका लागि निमन्त्रणा गरेका थिए । समाचारका अनुसार यात्रामा सबैले अविस्मरणीय दृश्यहरू अनुभव गरेको एबीसी न्युजले उल्लेख गरेको छ ।

कक्षबाट हेर्दै गर्दा रोगेले भने, “यो अद्भुत छ किनभने यो अर्कै प्रकारको मरुभूमि जस्तो छ, अन्तरहीन रूपमा फैलिएको छ ।̎ यसलाई वाङले एक्स (ट्विटर)मा पोस्ट गरेको भिडियोमा देखिन्छ । मिकेलसनले क्याप्सूलमा धेरै क्यामेरा उपकरणहरू लिएर आएकी थिइन् र यात्राको अधिकांश समय उनले फोटो र भिडियो खिच्न बिताइन् ।

वाङका अनुसार कक्षमा पुगेपछि चारैजनालाई अन्तरिक्ष यात्राको कारणले शारीरिक असजिलो (स्पेस मोसन सिकनेस) भएको थियो । तर, दोस्रो दिन उठेपछि सबैलाई राम्रो लाग्यो र उनीहरूले दक्षिण ध्रुवमाथिको झ्याल खोल्न सफल भए ।

यात्राका क्रममा २७० माइल (४३० किलोमिटर) माथिबाट ध्रुवहरूको दस्तावेजीकरण गर्नेबाहेक वाङ र उनको टोलीले अन्तरिक्षमा पहिलोपटक चिकित्सा एक्स–रे र अन्य दुई दर्जन वैज्ञानिक प्रयोगहरू सम्पन्न गरेका थिए । उनीहरूले आफ्नो यात्राको नाम “फ्राम २̎ राखेका थिए । “फ्राम २̎ एक शताब्दी अगाडि ध्रुवहरूमा अन्वेषकहरू लैजाने नर्वेली जहाजको नाम थिए । सो जहाजको डेकको केही भाग पनि उनीहरूसँग अन्तरिक्षमा पठाइएको थियो ।

स्पेसएक्सले सुरक्षाको हिसाबले यो उडानदेखि प्रशान्त महासागरमा अवतरण गर्ने निर्णय गरेको बताएको छ । कम्पनीले सो अन्तरिक्ष यानको केही अंशहरू समुद्रमा खसे पनि सुरक्षित हुने बताएको छ ।

प्रशान्त महासागरमा अन्तरिक्षबाट फर्कने अन्तिम व्यक्तिहरू १९७५ को अपोलो–सोयुज मिसनका तीन नासा अन्तरिक्ष यात्री थिए ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro