भावी नेता जन्माउने नर्सरीका रूपमा हेरिने विद्यार्थी संगठनमा क्रियाशील युवाले विश्वविद्यालयका प्राध्यापकहरू सँग आँखामा आँखा जुधाएर बौद्धिक विमर्श गर्ने ल्याकत राख्छन् कि राख्दैनन् ? यो आज मूल प्रश्न बनेको छ। यो प्रश्न अहं बन्नुका कारण छन् । हाम्रा विश्वविद्यालयहरूले उत्पादन गरेको ज्ञान, जनशक्ति र विश्वविद्यालयको साखमाथि उठेका प्रश्न अब छोपेर छोपिने स्थिति रहेन । राज्यका संयन्त्रहरूले एक वा अनेक तबरले विश्वविद्यालय र विद्यालयमाथि नियन्त्रण गरिराखेका छन् । यस्तो परिवेशमा मूक दर्शक विद्यार्थी नेता र तिनको भिड निर्माण गर्नु राजनीतिक पार्टीले शैक्षिक विषयमा चासो छैन भनेर जनतार भावी पुस्तालाई दिएको घुमाउरो सन्देश हो ।
गत निर्वाचनकालागि कार्यगत एकतापछि पार्टी एकीकरण नै गरेका तत्कालीन माओवादी र एमालेका विद्यार्थी संगठनबीच पनि एकता पछि भर्खरै ‘जम्बो’ कन्द्रीय समिति गठन भएको छ । लोकतान्त्रिक विचारधारा बोक्ने युवा विद्यार्थी हुनुको नाताले हामी हिँडेकै प्रजातन्त्रको बाटोमा आइपुगेकाले उनीहरूलाई थप प्रोत्साहित गर्न र यस व्यवस्थामै टिकाइराख्न पनि शुभकामना दिइनुपर्छ । उसो त फरक विचारको अस्तित्व पनि सहजै स्वीकार्ने हाम्रो दर्शन नै पनि हो ।
अब आफ्नै संगठनतर्फ फर्कौं । नेपाल विद्यार्थी संघको कन्द्रीय समिति रिक्त छ । नेविसंघ गठनको विषयमा नेतृत्वबीच मतभेद भएकै कारण पार्टी भित्रै विवाद बढेको खबर सार्वजनिक भएका छन् । फरक कित्तामा रहेका दुई संगठन एक भइसक्दा एउटै पार्टीभित्र नेताहरूको मनभिन्नताले नेविसंघ अनिर्णयको बन्दी बनिरहनु सुहाउँदो हुँदैन । नबनाइयोस् !
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ गते गर्ने भनिसकेको छ । यद्यपित्यो कति प्रभावकारी हुनेछ भन्ने आशंका भने कायम नै छ । त्रिभुवन विश्वविद्यालयले मुख्यगरी कसको लागि स्ववियु निर्वाचन गर्ने लक्ष्य राखेको हो ? त्यसको स्पष्ट व्याख्या जरुरी भएको छ ।
स्ववियु निर्वाचनको आयतनका बारेमा पनि छलफल गर्नुपर्ने भएको छ । स्ववियुको अनिवार्यता के कति हो भन्नेबारे संगठनहरू, क्याम्पस, अभिभावकहरूबीचको त्रिपक्षीय बहसको थालनी गर्नुपर्ने अवस्था छ ।
सानो उदाहरण हेरौँ, गुणात्मक विषय छोड्ने हो भने पनि संख्यात्मक हिसाबमा पछिल्लो समय कति क्याम्पसमा निर्वाचन भयो ? अझै, कुनै क्याम्पसमा अदालतको आदेश माथि टेकेर निर्वाचन गराउनु परेको थियो ! बाँकी क्याम्पसमा किन निर्वाचन भएन ? यो रोजाइ थियो या बाध्यता ? यही प्रवृत्तिको पुनरावृत्ति हुने हो र विद्यार्थी संगठनहरूको मौन कायमै रहने हो भने एउटा प्रश्न उठ्छ –स्ववियुका वास्तविक सरोकारवालाको को हुन् ?
नेपालका ११ वटा विश्वविद्यालय र ४ वटा प्रतिष्ठानहरू मध्ये त्रिभुवन विश्वविद्यालयले मात्र निर्वाचन घोषणा गरेको छ । बाँकी संस्थाहरूमा कहिले र कुन आकारमा स्ववियु निर्वाचन हुनेछ ? निर्वाचनको एक रुपताबारे किन नियामक निकायले कुनै ठोस प्रस्ताव अगाडि बढाएको छैन ? कि स्ववियु कहीँ भए पनि हुने र कहीँ नभए पनि हुने संस्था हो ? त्यसो हो भने नेपालका उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीप्रति शिक्षा मन्त्रालय स्वयंले विभेद गरेको ठहरिनेछ ।
विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराएको २०७४ सालको तथ्यांक अनुसार ३ लाख ६१ हजार ०७७ विद्यार्थी उच्च शिक्षामा भर्ना भएका थिए । तीमध्ये सामुदायिक क्याम्पसमा १ लाख १० हजार ८९५, आंगिक क्याम्पसमा १ लाख २१ हजार ७७२, निजी क्याम्पसमा १ लाख २८ हजार ४१० विद्यार्थी भर्ना भए । त्रिभुवन विश्वविद्यालयमा मात्रै ७८ प्रतिशत विद्यार्थी भर्ना भएका थिए । त्रिविअन्तर्गत सामुदायिक क्याम्पसमा ३८.६८, अंगिक क्याम्पसमा ३५.८९ र निजीमा २५.४३ प्रतिशत विद्यार्थी भर्ना भएका थिए ।
यसरी हेर्दा त्रिविबाहेकका २१.२२ प्रतिशत विद्यार्थीको प्रतिनिधि मूलक संस्था स्ववियुको निर्वाचनबारे सम्बन्धित विश्वविद्यालय प्रशासनको धारणा के छ ? (अपवादले चुनाव गर्ने पनि गरेका छन् ) । त्रिवि अन्तर्गत पनि निजी क्याम्पसमा रहेका विद्यार्थीलाई उनीहरूको प्रतिनिधिमुलक संस्था निर्माण गर्नबाट किन वञ्चित गरिएको हो ? सामुदायिक क्याम्पसमा पनि किन सबैमा हुँदैन स्ववियुको निर्वाचन ? घोषणा गरिएका आंगिक क्याम्पसहरूका हकमा पनि निर्वाचन नभएको र अदालतसमेत गुहारेको चर्चा माथि गरिएको छ ।
प्रस्ताव :
नेपालमा पछिल्लो शिक्षानीति २०७६ समेत आइसकेको छ । यसका बिषयमा पनि सघन बहस जरुरी छ । विद्यार्थी संगठनहरूलाई कम फुर्सद भएस्ववियु जीवित रहेको अवस्थामा यसमाथि थप छलफल हुनसक्थ्यो कि भनेर आशा गर्ने ठाउँ हुन्छ । उच्च शिक्षा अध्ययन गरिरहेका मेधावी विद्यार्थी त्रिविमा मात्र सीमित छैनन् । संख्या थोरै भए पनि काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालयका केही संकायहरूको नतिजा प्रतिस्पर्धी मानिन्छ । त्रिविको पनि निजी क्याम्पसहरूको गुणस्तर तुलनात्मक रूपमा राम्रो रहेको छ । त्यसैले, स्ववियुको दायरा फराकिलो पारेर, सबै विश्वविद्यालय र समग्र विद्यार्थीे विचार अभिव्यक्तिको स्वतन्त्रता, संगठित हुनपाउने अधिकार, नेतृत्व विकास गर्ने अवसरको रक्षागर्न सबैतिर स्ववियु निर्वाचन गरौँ ।
अब स्वाभाविक प्रश्न उठ्छ, आखिर किन आवश्यक छ स्ववियु ? किन राजनीति छिराउने जताततै ? त्रिवि ध्वस्त गरेर अझै पुगेन ? के नै गरेको छ र स्ववियुले ? आदिइत्यादि ।
यी प्रश्नहरुको उत्तर सही वा गलत भनेर, रेजा चिन्ह लगाए जसरी दिन मिल्दैन । गलतभएका कुरा गलत नै हुन् । केही अभ्यास हुनुपर्ने जस्तो लोकतान्त्रिक मान्यता अनुरूप नभएका पनि होलान् । जस्ता दल त्यस्तै भातृ संगठन ! त्यसैको परावर्तन भएको पनि सत्य हो । तर, पनि सम्पूर्ण सुधारको बाटो बाँकी नै छ । एक से एक मेधावी, विज्ञान प्रविधिसँग हुर्केको पुस्ता हाम्रो अगाडि छ । निर्वाचनका विसंगत पक्षहरू अन्त्य गर्न नवीन अभ्यास गर्न सकिन्छ । कक्षा कोठा वा घरमै बसेर पनि आफ्नो मत प्रकट गर्न सकिन्छ । त्यसकारण अभ्यासमा भएका त्रुटिलाई हेरेर सिंगो पद्धतिलाई दुत्कारेर मात्रै समस्याको समाधान हुन सक्दैन । अभ्यासमा भएका कमजोरी सच्याउँदै र थप परिष्कृत हुने संकल्प आजको आवश्यकता हो ।
अन्त्यमा,
लोकतन्त्रको दायरा फराकिलो बनाउन, केही उन्नत मतदान प्रक्रियाको अवलम्बन गर्दै समग्र उच्च शिक्षा अध्ययन गरेको सिंगो युवा पुस्तालाई राजनीतिको मूलधारमा ल्याउन सकेमात्र विद्यार्थी आन्दोलन मजबुत हुनेछ । विश्वविद्यालय जीवन्त बन्नेछन् । राजनीतिक दलको ‘क्याचमेन्ट’को आयतन ठूलो हुनेछ । प्रविधि र ज्ञानको बेजोड समिश्रण हुँदा सिंगो मुलुकले उत्कृष्ट नेतृत्व प्राप्त गर्नुका साथै ‘क्रिटिकल समूह’को उदय हुनेछ । विद्यार्थी चेतनालाई निमोठिदिने हो भने फगत दासहरू नेतृत्वमा आउने र तिनैको ‘म्युजिकल चेयर’को भूमरीमा सिंगो मुलुक घुमिरहनेछ ।
(नेविसंघसँग सम्बद्ध)