काठमाडौं । विभागीय क्लब एपीएफले आजबाट सुरु न्यु डायमन्ड खुला महिला भलिबल प्रतियोगितामा विजय सुरुवात गरेको छ ।
पोखराको टप्स माविमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एपीएफले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा एपीएफले पहिलो सेट २५–११ ले जितेको हो । दोस्रो सेटमा २५–१० जित निकालेको एपीएफले तेस्रो सेट २५–६ ले जित्यो । एपीएफबाट निरुता ठगुन्नाले डेब्युसमेत गरिन् ।
समूह ‘ए’मा रहेको एपीएफल दोस्रो खेल पारा माउन्टसँग खेल्नेछ । समूह ‘ए’ मा एपीएफसहित टप्स मावि त्रिभुवन आर्मी र पारा माउन्ट छ । समूह ‘बी’मा आयो न्यु डायमन्ड स्पोर्टस् क्लबसहित ढोरपाटन स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब छन् ।
प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ पुरस्कार पाउँदा तेस्रो हुनेले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ पाउने आयोजकले बताएको छ ।
सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ तथा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।
तस्बिर : सुनील प्रधान/बाह्रखरी