site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 सभापतिहरूको अग्नि परीक्षा ! 

एउटा लोककथाबाट सुरु गरौँ । एकादेशमा एक जना बुद्धिमान् राजा थिए । उनी न्याय गर्न सिपालु थिए । उनको दरबारमा न्याय खोज्न आउनेहरू हारे पनि जिते पनि सन्तुष्ट भएर फर्कन्थे । 

एक दिन राजा समक्ष एउटा अनौठो मुद्दा आइपुग्यो । एक जना शिशुका आमा भएको दाबी गर्दै दुई महिलाहरू राजासँग इन्साफ माग्न आए । दुवैले शिशु आफ्नो सन्तान भएको दाबा गरे । तीमध्ये एक जना शिशुकी जन्म दिने आमा थिइन् भने अर्की सौतेनी आमा । राजालाई निर्णय गर्न कठिन भयो । 

एकछिन घोरिएर विचार गरेपछि राजाले भने – यो बालक तिमीहरू दुवैको सन्तान रहेछ । त्यसैले यसलाई चिरेर आधा आधा पारेर लिनू । राजाको फैसला सुनेर भारदारहरू आश्चर्यमा परे । त्यस्ता बुद्धिमान् राजाले यस्तो क्रूर फैसला गर्लान् भन्ने उनीहरूले कहिल्यै सोचेका पनि थिएनन् । 

राजाको निर्णय सुनेपछि शिशुकी साँच्चैकी आमाले भनिछन् – महाराज, त्यस बालकलाई आधा आधा नगरियोस् । बरु म आफ्नो दाबी फिर्ता लिएर सजाय भोग्न तयार छु । बालक उसैलाई दिइयोस् ।

अनि राजाले अर्की महिलालाई झुटो दाबी गरेकोमा सजाय दिएर बालकलाई जन्म दिने आमालाई दिने निर्णय सुनाएछन् । 

यो लोककथा नेपाली कांग्रेसका नेताहरूले पनि पक्कै सुनेका होलान् । 

पार्टी केन्द्रीय समितिको पछिल्लो बैठकले एकपक्षीयरूपमा अर्को वर्षको फागुन ७ मा महाधिवेशन गर्नेलगायत केही निर्णयहरू गरेको छ । तिनमा महाधिवेशन बोलाउनेबाहेक अरू निर्णय सबैजसो नेपाली कांग्रेसको विधानको भावनाविपरीत छ । यसैले अवैध पनि छ । 

केन्द्रीय समितिमा पार्टी सभापति शेरबहादुर पक्षको बहुमत छ । अर्को पक्ष अल्पमतमा छ । गुटलाई जोगाएमात्र राजनीतिक भविष्य जोगिने ठानेर हुनुपर्छ कांग्रेसका सबै प्रभावशाली नेता गुट उपगुटमा विभाजित छन् । सभापति देउवापछि वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको गुट स्पष्ट देखापरेको छ । 

देउवाले बहुमतले पेल्न थालेपछि अर्को पक्षले बैठकै बहिष्कार गर्दैआएका थिए । उनीहरूको बहिष्कारबीच केन्द्रीय समितिले महाधिवेशनलगायतका निर्णयहरू गरेको हो ।
केन्द्रीय समितिको बैठक बहिष्कार गरेका नेताहरूलाई निर्णय स्वीकार गर्न अप्ठेरो लाग्नु स्वाभाविकै हो । 

त्यसमाथि विधानको धारा निलम्बन गर्नेजस्ता ‘अवैध र अलोकतान्त्रिक’ निर्णय स्वीकार नगर्नु अस्वाभाविक र अनुचित होइन । तर, असन्तुष्ट पक्षका नेताले बैठकमा बसेर विधानविपरीतको निर्णयमा असहमति प्रकट गर्ने लोकतान्त्रिक विधि र प्रक्रिया अपाउनुको साँटो बैठकै बहिष्कार गरेर बहुमत पक्षलाई गलत निर्णय गर्ने सजिलो अवसर दियो । 

बहुमतको निर्णयका कमजोरी र बदनियतलाई त्यतिबेलै उजागर गरेको भए अहिले सभापति भेला बेलाउँदा अर्को पक्षले विरोध गर्ने नैतिक वैधता गुमाउने थियो । भागबन्डाको मोलमोलाइ गर्नुको साटो असन्तुष्ट पक्षले विभागमा सभापतिलाई विवेक प्रयोग गर्न दिएर महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको भए अहिले रणनीतिकरूपमा पनि सभापति देउवाको पक्ष कमजोर हुनेथियो ।

सञ्चार माध्यममा सार्वजनिक भएका सभापतिहरूको प्रारम्भिक प्रतिक्रियाबाट उनीहरू पनि आफ्नो विवेक प्रयोग गर्नुको साटो गुटका नेताहरूकै पछाडि लाग्न थालेको देखिएको छ । यसले नेपाली कांग्रेसलाई पुनः विभाजनतर्फ धकेल्ने जोखिम बढेको छ । सभापतिहरूले पनि आफ्ना गुटका नेताको जुँगाको लडाइँलाई आफ्नो प्रतिष्ठाको प्रश्न बनाउने हो भने पार्टीको बचेखुचेको साख र संगठन ध्वस्त हुनसक्छ । 

माथिको कथामा फर्कौँ । शेरबहादुर देउवा कथाकी सौतेनी आमाजस्तै हुन् । आफ्नो स्वार्थ पूरा भए पार्टी फुटाउन पनि देउवा हिचकिचाउँदैनन् । पार्टीरूपी शिशु बचाउन महाधिवेशनमा गएर न्याय माग्नुको विकल्प छैन । त्यस अवस्थामा केन्द्रीय समितिले तोकेको समयमा महाधिवेशन गर्न सहमत नहुँदा महाधिवेशनै नभएर पार्टीको वैधानिक अस्तित्व समाप्त हुने अवस्था उत्पन्न हुनसक्छ । विवाद चर्कँदै गयो भने रुख र चारतारा ‘फ्रिज’ हुनसक्छ । के सभापतिहरू आफ्ना गुटका नेताहरूको बुद्धिहीनताको समर्थन गरेर पार्टीलाई त्यस अवस्था लैजान तयार भएका हुन् ?

अर्को एउटा कथाकै सम्झना गरौँ । एकादेशमा कुनै बाउनका दुई भाइ छोराले कठिन तपस्या गरेछन् । उनीहरूको तपबाट खुसी भएर पितामह ब्रह्मा प्रकट भएर दाजुलाई वर माग्न भनेछन् । दाजुको नियत बिग्रेछ । आफूभन्दा पछि भाइले ठूलो वर माग्ला भनेर उसले भनेछ – प्रभु, भाइले जे वर माग्छ मलाई त्यसको दोब्बर फल मिलोस् । ‘तथास्तु’ भनेर ब्रह्मा भाइलाई वर माग भन्न पुगे । भाइले दाजुको वार्तालाप सुनिरहेको रहेछ । उसलाई रिस उठ्यो । अनि भनेछ – पितामह, मेरो एउटा आँखा फुटोस् । ब्रह्मा त तथास्तु भनेर अलप भए । दाजुका दुवै आँखा फुटे । भाइले पनि कठिन तपस्याको फल एउटा आँखा गुमाउने मूर्खता हुन पुग्यो । 

महाधिवेशन भयो भने देउवाले कब्जा गर्न सक्छन् भनेर पार्टी नै सिध्याउने कि पार्टी बचाएर कब्जा गर्न नदिन सकेसम्म प्रयास गर्ने ? सभापतिहरू कथाका ब्राह्मण पुत्र प्रवृत्तिका केन्द्रका नेताजस्ता नहोऊन् । 

र अन्त्यमा,
पञ्चतन्त्रको एउटा श्लोक ‘‘सर्वनाशे समुत्पन्ने अर्धं त्यजति पण्डितः । अर्धेन कुरुते कार्यं सर्वनाशो हि दुःसहः । ’’ 
  
    
  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro