
जनकपुर । पुरानो भुक्तानी माग्दै सांसदहरूले चल्न नदिने भएपछि बिहीबार दिउँसो १ बजे आह्वान गरिएको प्रदेशसभा बैठक अन्ततः स्थगित भएको छ । प्रदेशसभा सचिवालयले सूचना टाँसेरै बैठक स्थगन भएको जनाएको हो ।
गत आर्थिक वर्षमा सम्पन्न खुद्रा योजनाको बजेट भुक्तानी माग्दै सत्तापक्ष दलकै सांसदले लगातार सदन अवरुद्ध गराउँदै आएका छन् । यसपटकको संसदको अवरोध तेस्रोपटक हो । गत सोमबार डेढ महिनापछि बोलाइएको बैठक पनि चल्न नदिएपछि मंगलबार बैठक बोलाइएको थियो । तर, रकम निकासा सम्बन्धमा भरपर्दो जवाफ दिन मुख्यमन्त्री सदनमा उपस्थित नभएको भन्दै उक्त बैठक पनि चल्न दिइएन । त्यसपछि बिहीबारका लागि बोलाइएको बैठक अन्तिम समयमा सचिवालयले सूचना टाँस गरेरै स्थगन गरेको हो ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सभामुख सरोजकुमार यादव काम विशेषले बाहिर निस्किनुपरेको हुँदा बिहीबारको बैठक सूचना टाँसेर स्थगन भएको बताए । ‘सदनमा सांसदहरूको चित्त नबुझेको विषय उठाएर अवरुद्ध गर्न पाउँछन् । उहाँहरूको भावनालाई सरकारले सम्बोधन गर्न सक्नुपर्छ त्यो छुट्टै कुरा हो,’ यादवले बाह्रखरीसँग भने, ‘बिहीबारको बैठक भने सभामुखजीको व्यस्तताकै कारण स्थगन गरिएको हो ।’ उनका अनुसार अर्को बैठक पुस २४ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।
फाइल तस्बिर