काठमाडौं । सर्लाहीको एक कुनामा गुन्जिरहने आवाज, दुई महिनाअघि सम्पन्न रियालिटी शो ‘लोक स्टार’ मार्फत हिमाल, पहाडमा पनि गुन्जियो । तराई मूलका रविराज साहले जब हिमालदेखि पहाडसम्मका लोकगीत गाउन थाले तब उनको परिचय झनै फराकिलो बन्यो ।
साहका लागि ‘लोक स्टार’ एक मौकासँगै चुनौती पनि थियो । जुन क्षेत्र र परिवेशमा साह हुर्किए त्यहाँको लोक गीत भनेको मैथिली र भोजपुरी हो । तर यो चुनौतीलाई साहले राम्रो अवसरका रूपमा लिए । उनी ‘लोक स्टार’को टप ६ सम्म पर्न सफल बने । हुन त लोक स्टारको टाइटल एक जनाले मात्रै पाउँछ र टप ६ बाट बाहिरिनु पनि हार्नु नै सरह मानिन्छ ।
तर हँसिलो अनि हार नमान्ने स्वभावका रवि भने यसलाई हार होइन सांगीतिक यात्रामा पाएको पहिलो सफलता र थप जिम्मेवारी मान्छन् । “टप ६ बाट बाहिरिएका उनलाई ‘लोक स्टार’ ले परिचयसँगै थुपै अवसरको ढोका पनि खोलिदियो । प्रदेश २ सरकारले उनलाई हालै सम्मानसँगै पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ । साथै उनी हालै भिजिट मधेसका सांस्कृतिक दूतमा पनि नियुक्त भएका छन् ।
०००
गीत गाउने बच्चैदेखिको रहर । लुकीलुकी ब्यान्ड र विवाहमा गाउन जान्थे । घरमा आएपछि हरेक दिन बुबाको कुटाइ उनका लागि सामान्य भइसकेको थियो । कक्षा ७ पढ्दादेखि नै उनी विवाह, गाँउघरमा हुने सानोतिनो कार्यक्रममा गाउन थालिसकेका थिए । सुरुमा एक छाक मीठो खान पाइन्छ भन्ने आशामा गाउन थालेका थिए । तर विस्तारै उनको डिमान्ड बढ्न थाल्यो र त्यहीअनुसार २०० बाट ४००, ४०० बाट ६०० रुपैयाँ पनि ।
त्यसपछि पढाइमा कम गीत–संगीतमा बढी ध्यान जान थाल्यो । यता अञ्जानमै रविको आवाज निखारिँदै गयो । उता किसानी गरी छोरालाई डाक्टर बनाउने बाबुको सपना धमिलिँदै थियो । छोराको संगीत र साथीहरूसँगको झुकाव बढ्न थालेपछि काठमाडौं पठाएर पढाउने निर्णय लिए रविका बुवाले । तर काठमाडौं कहिल्यै नआएका उनका बुबालाई के थाहा काठमाडौं भनेको सपनाको सहर । जहाँ रविले देखेको सपना पूरा गर्ने राम्रो ठाउँ बन्यो ।
०००
एसएलसी पछिको पढाइका लागि रवि काठमाडौं आए । तर डाक्टर, इन्जिनियर बन्न तय भएको काठमाडौं यात्रा गायनको बाटोतर्फ मोडियो । काठमाडौंमा उनले व्यवास्थापन रोजे । गाउँघर हुँदा ब्यान्डबाजाको साथ सीमित व्यक्तिबीच गुन्जिरहने उनको आवाज विस्तारै आफ्नो कक्षाका साथीहरू र कलेजका हरेक कार्यक्रममा गुन्जिन थाले ।
गायक उदितनारायण झालाई आइडल मान्ने उनी हरेक कार्यक्रममा गीत गाउने मौका पाउनेबित्तिकै ‘माया नै माया छ, तिम्रो नाउँमा’ गाइहाल्थे । त कहिले ‘सुनकै चुरा नसके नि’ ।
उदितनारायणले आफूलाई गायनमै करियर बनाउन प्रेरणा मिलेको बताउँदै भन्छन्, “उहाँले शब्दलाई यसरी मिठासपूर्ण उच्चारण गर्नुहुन्छ कि गीतको भाव हरेकले बुझेर डुब्नुहुन्छ ।”
यसमै भविष्य बनाउने लक्ष्य साथ २०६६ मा श्रुति–संगीत विद्यालयमा औपचारिक रूपमा पहिलोपटक संगीत सिक्न थाले ।
०००
२०६७ सालमा रेडियो नेपालमा स्वर परीक्षणका लागि विज्ञापन बज्यो । जुनियर उदितनारायण बन्ने हुटहुटीले उनलाई त्यहाँ जान मन लाग्यो । उनले स्वर परीक्षणमा आफ्नै रचना रहेको एक गीत र अरूका २ गीत (संगीतकार दीपक शर्मा र घनश्यामप्रेमीको रचनामा तयार भएका गीत) गाए र पास पनि भए ।
रेडियो नेपालले संगीतमा उनका लागि बाटो खोलिदियो । तर उनको वर्ण, लवज र भाषाले काठमाडौंमै बसेर करियर बनाउन त्यति आत्मबल दिएन । “मैले यहाँ मेरो सेक्युरिटी हेरिनँ सायद मेरो अनुहारले होला । मैले के सोचें भने म भोजपुरी, मैथिलीमा गाउँछु । नेपालीभन्दा पनि ठूलो क्षेत्र भोजपुरी पनि छ । मेरा लागि मुम्बई नै ठीक गन्तव्य हुने छ भन्ने लाग्यो,” उनले थपे, “फेरि म उदितनारायणको ठूलो फ्यान । उदितनारायणले जस्तै रेडियो नेपालबाट स्वर परीक्षा पास गरी भारत जानुपर्छ भन्ने लाग्यो ।”
त्यसपछि उनी गायक बन्छु भन्ने सपना बुनेर सन् २०११ मा मुम्बाई हान्निए । तर सजिलो कहाँ थियो र ? पुनः फर्किए । उनको सांगीतिक भोक अझै मेटिएको थिएन । फेरि सन् २०१५ मा मुम्बाई गए । योपटक भने उनी गायक बन्ने सपना लिएर नभई शास्त्रीय संगीत सिक्न गएका थिए ।
भारत बसाइका क्रममा उनले सानोतिनो कार्यक्रममा गाउने मौका पाएका थिए । तर त्यसबाट उनले नामभन्दा पनि केही दाम मात्रै पाउँथे । जसले बिरानो देशमा बिहान–बेलुकीको छाक टार्न पुग्ने मात्रै थियो ।
उनले टी–सिरजका लागि पनि भोजपुरी, मैथिली भाषाबाट गीत गाउने मौका पाए । “मुम्बाईमा ओत लाग्न छानो मात्रै भए पनि ठूलो कुरा हो ।” उनको यो वाक्यले त्यहाँको संघर्षको स्तरलाई प्रस्ट पारिदिन्छ । तर कहिल्यै पनि म्युजिक भिडियो निर्देशक, गायकहरूको घरघर गएर अवसरका लागि गुहारेनन् । तर मुम्बाईले उनलाई मिहिनेत गर्न भने सिकाएको छ ।
मुम्बाईबाट लोकस्टारको यात्रा
मुम्बाईमा संगीत अध्ययन गरिहेका उनलाई एकदिन नरहरि प्रेमीले फोन गरी लोकस्टार हुन लागेको सुनाए । नेपाल फर्किने उनका लागि यो राम्रो अवसर थियो । लोकगीत भनेको दोहोरी–गीतहरू मात्रै हुन भन्ने धारणा उनमा थियो । आधुनिक गीत र पाश्र्व गायनमा रुचि राख्ने उनलाई लोक गीत भनेपछि केही अक्मकिए । कुराकानीकै क्रममा प्रश्न तेर्साइहाले, “सर लोकस्टार त लोक गीत होला, मेरो त फिल्मी जनरा हो । लोकगीत मलाई थाहै छैन त्यो पनि दोहोरी म कहाँ गाउनु र ?”
तर नरहरिले उनलाई सम्झाए । उनी तयार भए । अनि आफ्नै परिचय बनाउने धोको पालेर फर्किए । गाउन सक्छु भन्ने आत्मविश्वास त थियो तर टप ६ सम्मै पुग्छ होला भन्ने पटक्कै थिएन ।
एक त लोकगीत उनको जनरा थिएन । अर्को उनले प्रतियोगितामा आफ्नो मूलको मात्रै नभई हिमाल, पहाडको पनि लोकगीत गाउनुपर्ने थियो । तर एक गायकले सबै गीत गाउन सक्नुपर्छ भन्ने कुरामा उनी विश्वास गर्छन् ।
उनले पहिलो गीत आफ्नै मूलको भोजपुरी गाए । तर त्यसमा उनले आफू नेपाली हुँ भन्ने परिचय दिन दौरा–सुरुवाल र ढाका टोपी लगाए । तराईमा मैथिली, भोजपुरी र हिन्दी हाबी छ । लोकस्टारको यात्रा तय गर्नु उनका लागि सजिलो थिएन । कहिल्यै नसुनेको गीत, आउँथ्यो । भोलि ब्यान्डसँग प्रस्तुति गर्नुपर्ने तर शब्द कण्ठ गर्नै बाँकी । शब्द सम्झन रातभरि गीत सुन्दै, पढ्दै बसेका दिन ताजै छन् । तर पनि कतिपटक उनी स्टेजमा शब्दै बिर्सिन्थे । उनी उदितनारायणपछि संगीत क्षेत्रमा जुनियर उदितनारायणको परिचय बनाउन चाहन्छन्, रविराज साहकै नाममा ।
तस्बिरहरु : सुनील प्रधान/बाह्रखरी