
जनकपुर । दुई साताअघि धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा परी घाइते भएकाहरुको उपचारमा संघीय सरकारको गृह मन्त्रालयले हस्तक्षेप गरेको आरोप लागेको छ ।
प्रदेशसभाका नेकपा सांसद शत्रुधन महतोले एक प्रहरी निरीक्षकसमेत तीन जनाको ज्यान जानेगरी भएको विस्फोटमा घाइते भएकाहरुको उपचारमा गृहले हस्तक्षेप गरेको आरोप लगाएका हुन् ।
“गत मंसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा इलाका प्रहरी कार्यालय नजिकै बम विस्फोट भयो । प्रहरी निरीक्षक अमिर दहालसमेत तीनजनाको मृत्यु भयो । सोही घटनामा घाइते भइ उपचारमा रहेकामध्ये एकजनाको खुट्टा काट्नुपर्ने चिकित्सकले सुझाएका हुन् । तर, गृह मन्त्रालयले तत्काल खुट्टा नकाट्नू भन्ने निर्देशन दिएको मलाई खबर आएको छ,” सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, “खुट्टा काटेर पनि ज्यान जोगिन्छ भने चिकित्सकको सुझावअनुसार गर्नुपर्ने हो तर यो घटनामा गृहले किन रोक्दैछ ?”
कस्तो छ घाइतेको अवस्था ?
प्रहरी निरीक्षकसमेत तीनजनाको ज्यान लिनेगरी दुई साताअघि धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटनमा अन्य ६ जना घाइते भएका थिए । तीमध्ये दुईजनाको उपचार अझै जारी छ ।
गत मंसिर २७ गते शुक्रबार मध्यराति क्षिरेश्वरनाथ नगरपालिका –५ स्थित महेन्द्रनगर बजार नजिकै स्थानीय औषधी व्यवसायीको घरमा अज्ञात समूहले राखिदिएको बम विस्फोट भयो ।
उक्त विस्फोटनमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज इन्सपेक्टर अमिरकुमार दाहाल, घरधनीसमेत रहेका औषधी व्यवसायी राजेश साह र उनका २३ वर्षीय छोरा आनन्द साहको मृत्यु भएको थियो ।
राजेश र उनका छोरा आनन्दको घटनास्थलमै तथा दाहालको उपचारको क्रममा शनिबार बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
घटनामा मृतक राजेशका बुवा भिखारी साह, उनका अर्का छोरा १३ वर्षीय प्रकाश, १९ वर्षीया छोरी अञ्जली, प्रहरी जवान रिझनाथ महतो र स्थानीय अकबर राईन तथा उनकी श्रीमति बमको छर्रा लागेर घाइते भएका थिए ।
टाउकोमा समान्य छर्रा लागेर घाइते भएका भिखारी साह, प्रहरी जवान रिझनाथ, अकबर र उनकी श्रीमतिको उपचार सम्भव भयो र उनीहरु घर फर्के । भिखारी र रिझनाथको उपचार धरानमा तथा अकबर र उनकी श्रीमतिको उपचार घटनास्थल नजिकै रहेको जानकी मेडिकल शिक्षण अस्पतालमा उपचार गरियो ।
जनकपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले गम्भिर घाइते भन्दै यहाँभन्दा स्तरीय अस्पतालमा उपचार गराउन सल्लाह दिएपछि प्रकाश, अञ्जली, भिखारी र रिझनाथलाई थप उपचारको लागि धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।
भिखारी र रिझनाथ उपचारपछि घर फर्केका छन् । प्रकाश र अञ्जलीको उपचार त्यहाँपनि सम्भव नभएपछि काठमाडौंस्थित शिक्षण अस्पतालमा लगेर भर्ना गरिएको छ ।
दुवैको खुट्टामै बमको छर्रा लागेको छ । अञ्जलीको केही लामो उपचारपछि निको हुने भनिए पनि प्रकाशको खुट्टा नै काट्नुपर्ने अवस्था रहेको आफन्तले जनायो ।