site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार ! उखु किसानको आँसु लाग्ला
SkywellSkywell

काठमाडौं । रामविलास महतो साठी वर्षको उमेरमै कपाल फूलेर सेतै देखिन्छन् । अनुहार छत्तीस मुजा परेको छ । धपेडी र तापले दृष्टि धमिल्लिइसक्यो । हातगोडा उखेतोले छियाछिया तुल्याएको छ । त्योभन्दा बढ्दा तड्पाएका छन्, चिनी मिलका साहूले !

महतोले यो उमेरसम्म काठमाडौैं टेकेका थिएनन् । टेकुन् पनि किन ? काठमाडौं ओहोर–दोहोर गरिरहनुपर्ने सुकिला-मुकिलामा पर्दैनन् उनी । पसिनाको कुलेसो बगाएर हातमुख जोड्ने पिँधका किसान न परे !

राज्यसत्ताको उपल्लो थलोमा पाइलै नराखेका महतो पन्ध्र दिनदेखि काठमाडौंमा भौंतारिइरहेका छन् । पट्पटी फुटेका पैताला लिएर उनी माइतीघर र थापाथली गरिरहेका छन् । सरकारको रूपरङ्ग हेर्न उनी काठमाडौं आएका होइनन् । न उनको काठमाडौंसँग कुनै विशेष साइनो नै छ ।

KFC Island Ad
NIC Asia

तीन वर्षदेखि चिनी उद्योगीले भुक्तानी नदिएपछि पुसे ठिहिरोमा महतो माइतीघरमा धर्ना बस्न अभिशप्त छन् । साहूको पीडाले थलिएर गुहार माग्न सिंहदरबार आइपुगेका हुन् ।

“यो उमेरसम्म मैले प्रधानमन्त्री देखेको छैन । मन्त्री कस्ता हुन्छन् मलाई थाहा छैन । घरखेत गुम्न लाग्यो, साहूसँग पैसा उठाइदिन्छन् कि भनेर आएको हजुर !,” सोमबार अपराह्न माइतीघरमा बाह्रखरीसँग कुराकानीको आरम्भमै भक्कानिए उनी ।

Royal Enfield Island Ad

बरहथवाबाट दक्षिण भारतीय सीमावर्ती इलाका सिसौटियामा  ६ दशक हिउँदसम्म आइपुग्दा यतिविघ्न दुःख झेलेका थिएनन् उनले । साहू यतिविघ्न निर्दयी हुन्छ र यतिसम्म पीर–मर्का नबुझ्ने हुन्छ भन्ने उनले कल्पना गरेका थिएनन् । व्यवसायमा तल्लीन चिनी साहूको कपटपूर्ण हृदय महतोले ठम्याउन सक्ने कुरा पनि त भएन ।

दस नङ्ग्रा खियाएर, रगत पसिना बगाएर र रातदिन एकै बनाएर उत्पादन गरेको उखुको भुक्तानी तीन वर्षदेखि नपाउँदा उनको बिल्लिबाठ भएको छ ।

एकातिर ऋणको ब्याज बढ्दो छ । अर्कोतिर यो तुषारे हिउँद कसरी कटाउने ? शीतलहरको त्राशदी कसरी छिचोल्ने ? बालबच्चालाई ठिहीबाट कसरी जोगाउने ? मन ठण्डीले भन्दा ज्यादा उखुसँग गाँसिएको पीडाले खाएको छ । 

महतोले आफ्नो दस कट्ठा र साहूको एक बिघा गरी डेढ बिघामा उखु खेती गर्दै आएका छन् ।

तर, तीन वर्षदेखि तीन लाखभन्दा बढी भुक्तानी साहूले खाइदिँदा उनको परिवार उठ्नै नसक्ने गरी थलिएको छ । महतो सडकमा आइपुगेका छन् ।

“ज्याला मजदुरी गरेर पेट पाल्ने गरिब, निमुखा परिवार । तीन लाख डुब्दा के हाल होला ? तपाईं नै अनुमान गर्नुस्,” उनी बिलौना गर्छन् । तीन वर्षदेखि उनले भारतीय सीमावर्ती क्षेत्र धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण चिनी मिललाई उखु बुझाउँदै आएका थिए ।

सुरुमा गाउँलेले मालिक सज्जन छ । पैसा समयमा दिन्छ । सुर्ता मान्नु पर्दैन भने । सोझा महतो गाउँलेको विश्वासमा परे । साहूको भर परे ।

ऋण काढेर उखु लगाएका थिए । ऋण नै काढेर उखु काटे । खुर्किए । सयकडा ३० ब्याज काढेर ऋण लिएर गाडी भाडा तिरेर मिलसम्म पुर्‍याए । साहूले भोलिपर्सि भन्दै टार्न थाले । उखुको भुक्तानी नै दिएनन् । 

“उखु बुझाउन जाँदा एकपटक साहूको अनुहार देखेको हुँ । त्यसपछि कार्यालयमा भुक्तानी लिन गयो, जहिल्यै कर्मचारीले भोलि आउनु भन्दै टारे मात्रै, भुक्तानी दिएनन्,” मलीन अनुहार लगाउँदै उनी पीडा सुनाउँछन् ।

अघिल्लो वर्षको भुक्तानी पाउने आशमा उनले २०७३, २०७४ र २०७५ साल गरी लगातार तीन वर्ष उसैलाई उखु सुम्पिए । अहँ, भुक्तानी पाएनन् ।

“पहिला वीरगञ्ज, रौतहटका सुगर मिललाई उखु दिन्थ्यौैं । उखु तौलनेबित्तिकै माल अनुसारको मोल पाउँथ्यौं । तर, सरकारको आड पाएका राकेश अग्रवालले हामीलाई जिउँदै मरेतुल्य बनाइदिए,” उनी द्रवित देखिन्छन् ।

वर्षौंदेखि उखु किसानी गर्दै आएका तराई–मधेसका किसान चिनी मिलको सिन्डिकेटबाट झन् बढी प्रताडित छन् । सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी मिलले कुनै पनि किसानको वक्यौता राखेको छैन । उखु बुझाउनेबित्तिकै भुक्तानी दिन्छ ।

तर, त्यहाँबाट दक्षिण बढेपछि महालक्ष्मी र अन्नपूर्ण चिनी मिलको एकाधिकार छ । अरू कसैले किसानबाट उखु उठाउन पाउँदैन । उखु काट्ने बेला हुँदा नहुँदै उखु मालिक एक ठाउँमा बसेर क्षेत्र तोक्छन् ।

अहिले सर्लाहीका किसान त्यसैको मारमा परेका छन् । महतोले थाहा पाएसम्म यी दुई मिलले मात्रै १४ सयभन्दा बढी किसानको भन्डै ७१ करोड बक्यौता बाँकी छ ।

अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड भुक्तानी नदिएपछि सयजना किसान माइतीघरमा धर्ना बस्न आएका छन् । र, पैसा नलिई नफर्कने बताउँछन् ।

‘छोरीको बिहे गर्न पनि पाइनँ’

११ जनाको परिवारको मूली हुन् रामविलास । घरमा हुर्किएकी छोरी छिन् । मगनीका लागि मानिस धाएका धायै छन् ।

तर, उखु मालिक पैसा खाएर बेपत्ता भएपछि उनी अहिले मरेतुल्य छन् । पैसा नहुँदा छोरीको बिहे नै नहुने हो कि भन्ने चिन्ता उत्तिकै छ ।

“दुई लाख ऋणको ब्याज बढेको बढ्यै छ । डेढ बिघामा लगाएको उखु सुकेर जाला भन्ने चिन्ता उस्तै छ । सरकार ‘निर्घिणी’ बनेपछि किसानले पाउनुनपाउनु दुःख पाए,” उनी सिंहदरबारतिर फर्किएर धारे हात लगाउँछन् ।

७ हजार ऋण काढेर उनी काठमाडौं आएका थिए । हिजोसम्म त्यति पैसाले धानेको थियो । आज बेखर्ची भएका छन् । कुन रुपैयाँले घर फर्कने हो त्यो पनि टुङ्गो छैन । हिजोदेखि पेटमा अन्न परेको रहेनछ ! ओठमुख सुकेर प्याक्प्याक्ती भएको छ ।

हिजो साहू भेटिन्छ कि भनेर उनी थापाथली, त्रिपुरेश्वर पनि धाए । उखु किसान मारेर त्यतैतिर बङ्गला ठड्याएको छ भन्ने थाहा पाएकाले बेलुकी अबेरसम्म माइतीघर, थापाथली ओहोरदोहोर गरिरहे । तर साहू राकेश अग्रवाल फेला पार्न सकेनन् ।

उसो त धनकौल गाउँपालिकामा रहेको चिनी मिलको अफिसमा पनि उनी नपुगेका होइनन् । त्यहाँ रहेका कारिन्दाहरूले धम्क्याए ।

उनी सुनाउँछन्, “हामीले कसैको एक पैसा बाँकी राखेका छैनौं । ‘जान्ने हुन्छौ ?’ भन्दै धम्क्याए । मैले उखु बुझाउन जाँदा कम्पनीले दिएको चिर्कटो (कागजको टुक्रा) पनि देखाएँ । त्यहाँ भुक्तानी दिन बाँकी बक्यौता थियो । उल्टै कर्मचारीले च्यातौंला झैँ गरे,” उनी भावुक हुन्छन् ।

माइती घरमै आन्दोलन गर्नुपर्छ भन्ने पनि थाहा थिएन उनी लगायत बक्यौता नपाएका किसानहरूलाई ।

माइतीघरको बाटो मन्त्री र देशका उपल्ला तहका मानिसहरू ओहोरदोहोर गरेको देखेपछि सुन्छन् कि बनेर छातीमा पीडा टाँसेर बसेका छन् ।

“तर अहिलेसम्म सरकारबाट बोलाओट भएको छैन । सरकारलाई देहातबाट आएको मान्छे भेट्ने फुर्सद पनि नहोला । तर, राकेशलाई पक्रिएर पैसा उठाइदिए पुग्छ, हैन भने सरकारलाई किसानको आँसु लाग्छ !,” उनी पुर्परोमा हात राख्छन् ।

हाम्रो पैसा त दिएन दिएन सरकारले दिएको अनुदान पनि खायो

छेवैमा थिए, सिसौटियाकै महेन्द्र महतो र बलारा–७ का राजकुमार झा । उनीहरू दुवैको पनि तीन–तीन लाख बक्यौता छ ।

नगदे, हातहातै पैसा पाउने बाली भनेर लगाएको उखुले नै उठिबास लगाउने हो कि भन्ने भयले दुवैलाई गाँजेको छ ।

महतोको तीन वर्षअघि उखु लगाउन भनेर लिएको एक लाख ऋणको ब्याज बढ्दाबढ्दा दुई लाख नाघिसक्यो । पैसा उठाउन साहूकहाँ धाउँदाधाउँदा पैतालै फाटिसक्यो । जहान–परिवारको पेटमा मीठो मसिनो पारौंला भनेर उखु खेतीमा पसिना बगाएका उनी अहिले उठ्ती (बक्यौता) लिन धाउँदाधाउँदै गलित छन् ।

“दुई वर्ष त जसोतसो उठाएको थिएँ । पोहोरदेखि वास्तै गर्न छाड्यो । कर्मचारीले धम्क्याउन थाले । हैरान भएपछि सरकारसँग गुहार माग्न आएका हौं,” उनी यत्ति भन्न सक्छन् ।
दस जनाको परिवार उनीमै आश्रित छ । त्योभन्दा चर्को ऋणको ब्याजले थिचेको छ ।

“ज्याला मजदुरी गरेको पैसाले खानलगाउन त पुग्दैन, वर्षको ३० हजार ब्याज कसरी बुझाउनू !,” उनी निरुपाय देखिन्छन् ।

महेन्द्र सुनाउँछन् । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ । तर, मिलले किसानबाट प्रतिक्विन्टल ४ सय ३५ दिने सर्तमा उखु उठाएको छ । सरकारले अनुदान दिने भनेको प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसासमेत चिनी उद्योगीले आफ्नै खल्तीमा राखेका छन् ।

“हाम्रो रुपैयाँ त खाए खाए । सरकारले दिएको अनुदान पनि उद्योगीले क्वाप्लाक्कै पार्दा पनि सरकार मूक दर्शक बनेको छ,” उनी आपत्ति प्रकट गर्छन् ।

महेन्द्र भन्छन्, चिनी उद्योगीका शोषणका रूप अनेक छन् । उखु बुझाउन जाँदा उद्योगीले जरा नछिमली, टुप्पो (उखेतो) पूरा नकाटी ल्याएको भन्दै थप २० प्रतिशत कटौती गर्छन् ।

“सरकार, उद्योगीआदि मिलेर किसानलाई मर्नु न बाँच्नु तुल्याएका छन्,” त्यसपछि उनको गला अवरुद्ध हुन्छ । एक शब्द पनि बोल्न सक्दैनन् ।

चिसो ठिहिरोमा शीताम्य सडकमा धर्ना बस्न उनीहरूलाई कुनै रहर थिएन । सत्तासीनहरूले ‘आन्दोलनको युग सकिएको’ घोषणा गरे पनि उनीहरूलाई थाहा छ, आन्दोलन नगरी सरकारको कानमा बतास लाग्दैन । माग सुनुवाइ हुँदैन ।  किसान बर्सेनि शोषण गर्ने उद्योगीलाई कारबाही पनि हुँदैन ।

माइतीघरमा धर्ना बसेका उखुको भुक्तानी नपाएका पीडितहरू भन्छन्, “कृषकहरूले आत्महत्या गर्नुपर्ने परिस्थिति बन्दैछ, सरकार छिटो आँखा उघार !” तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro