अमेरिकाको वासिङटनदेखि क्यानडाको टोरन्टोसम्म अनि नेदरल्यान्डसको आमस्टर्डमदेखि जर्मनीको बर्लिनसम्म पुगेका नेपालीले भारतको विरोध गर्दै राष्ट्रवादका नाममा हिजोआज फेरि आगो ओकली रहेका छन् । यसअघि २०७२ मा भारतले लगाएको नाकबन्दीको विरोधमा पनि विदेशमा रहेका नेपालीले यसरी नै सडकदेखि भारतीय दूतावास सामु प्लेकार्ड बोक्दै भाषण ठोक्दै नेपाली हुुनुको परिचय दिएका थिए ।
विशेष गरेर युरोप अमेरिका छिरेका राजनीति ग्रस्त नेपालीले बेलाबखत यसरी नै चटक देखाउने गरका छन् । यस्ता चटके विरोधमा पसिना बगाउने परिश्रमी नेपालीभन्दा विदेशमा बसेर पनि आफूलाई कुनै दल या संगठनको नेता भन्न रुचाउनेहरू सामेल हुने गर्छन् । उनीहरुको यस्तो चटकले दिल्ली दरबारलाई के कति दबाब पुगेको छ त्यो यस्ता कार्यमा संलग्नले नै जान्लान् तर थोरै भए पनि नेपाललाई चिन्ने या नचिन्ने विदेशी माझ भने यसले अवश्य सकारात्मक सन्देश दिएको छैन । विदेशमा गरिने यस्तो विरोधले देशलाई फाइदा गर्दैन ।
यो कूटनीतिक माध्यबाट राजनीतिक तहले हल गर्नुपर्ने विषय हो । देशभित्र रहेका नेपालीले भारत र नेपाल दुवैतर्फका शासकलाई दबाब दिने हेतुले गर्ने दबाबमूलक कार्यक्रम गर्नु प्रशंसनिय नै हुन्छ । यसैले शान्तिपूर्ण रुपमा नेपालमै गरिने यस्ता कार्यक्रमले अर्थ र महत्त्व राख्न सक्छ । तर, विदेशी भूमिमा नेपाल छिमेकीबाटै अतिक्रमित भएको, नाकाबन्दीको सामना गरिराखेको भन्दै सार्वजनिक स्थलमा प्लेकार्ड बोकेर विरोध प्रदर्शन हुँदा यसले दुई देशबीच द्वन्द्व भइरहेको सन्देश प्रवाह हुन्छ ।
यस्तो सन्देश प्रवाह हुँदा पर्यटनमा प्रत्यक्ष असर पर्छ । दश वर्षे सशस्त्र द्वन्द्वको धङधङीको असर पर्यटनमा अझै बाँकी रहेको अवस्थामा सिडनी, न्यु योर्क र क्यानाडामा रहेका दिल्ली दूतावास घेरेको देख्ने साधारण विदेशीले नेपालको वर्तमान अवस्थाका बारेमा कस्तो सोच्लान् ? तिनको बुझाइ नेपालमा द्वन्द्व अझै कायम छ भन्ने नै हुन्छ । यसको सिधा असर नेपाल भ्रमण वर्ष, २०२० मा पर्नेछ । नेपालको समग्र पर्यटनमा पर्नेछ । यस्ता क्रियाकलापलृ कति परिमाणमा असर गरेको छ त्यसको लेखाजोखा नगरिएको भए अब गर्नु जरुरी छ ।
भ्रमण वर्षकै पूर्वसन्ध्यामा विदेशमा गरिने यस्ता विरोधका प्रचारमूलक कार्यक्रमले पर्यटकमा दुबिधा र आशंका बढाउन सक्छ । छिमेकीसँग सीमा विवादको सामना गरिराखेको विदेशमा प्रचार गरेर पर्यटन वर्षसफल हुन सक्तैन । विदेशीले भारत र पाकिस्तानकै स्तरको विवाद नेपालसँग पनि रहेको ठाने भने त्यसले कस्तो असर गर्छ पर्यटनमा ? कुनै युरोपियन या अमेरिकी पाकिस्तान भ्रमणमा जानु पूर्व उसले कति पटक सोचेर जान्छ होला ? अफगानिस्तान घुम्न जाने अवसर हामीलाई नै मिल्यो भने सजिलै जान तयार हुन्छौं होला ? गम्भीर भएर सोचौँ ।
नेपाललाई कति विदेशीले भौगोलिक रुपमा पाकिस्तान र अफगानिस्तानको छिमेकी देशका रुपमा चिनेका हुन्छन् । तसर्थ, विदेशमा नेता बन्ने लहडमा जथाभावी नेपाली राजनीतिक संस्कारको नक्कल नगरौँ । यसले देशलाई घाटा पारिराखेको हुनसक्छ । रमाइलोका लागि भएर घुम्न आउने पर्यटकले थोरै पनि असुरक्षित महसुस गरे न आउनेछ न आएर पनि मन फुकाएर खर्च गर्नेछ । मनोरञ्जन गर्न र घुम्न आउने पर्यटक मानसिकरुपमा त्रसित भएर पक्कै आउन चाहँदैन ।
पर्यटक कसैले बोलाउँदैमा आउदैनन् । साथै जसरी भूकम्पको त्रासका कारण नेपालको पर्यटन २०७२ — ७३ मा तहसनहस भएको थियो । सामान्य पर्यटक ढुक्क भएर आउन नसकिरहेको अवस्थामा विदेशमा देखाइने यस्ता तमासाले गतिलो सन्देश दिँदैनन् ।
अर्को महत्त्वपूर्ण पक्ष, गैरआवासीय भारतीय र भारतमै बसिरहेका भारतीयसमेत नेपाल घुम्न जान्छन् । यस्ता गतिविधिले तिनलाई तर्साउनेछ । नेपालमा आउने पर्यटकको ठूलो हिस्सा अहिले पनि भारतीय नै छ । नेपालको जनस्तरबाट नै भारतको चर्को विरोध गरिएको सन्देश प्रवाह भयो भने सर्वसाधारण भारतीयले समेत सुरक्षा नहुने ठानेर नेपाल घुम्ने योजना रद्द गर्नेछन् । पर्यटकले आफू जाने ठाउँ कति सुरक्षित छ भन्नेमा पहिले विचार गर्छ । यस्ता क्रियाकलापको समाचार नेपाली मिडिया भन्दा विदेशका सञ्चार माध्यमले दिन थाले भने नेपालको पर्यटन धेरै प्रभावित हुन सक्छ ।
देश देशबीचको यस्तो समस्या नारा र प्लेकार्ड बोक्दैमा समाधान हुने भए भारतीय र पाकिस्तानीले पनि दबाबका लागि भन्दै एकअर्काका दूतावास घेर्न पुग्थे होलान् । के हामीले कहिल्यै नेपालस्थित भारतीय दूतावास सामु पाकिस्तानी नागरिकले विरोधको नारा लगाएको देखेका छौँ ? यो कूटनीतिक माध्यमबाट हल गर्ने समस्या हो प्ले कार्ड बाकेर सडकमा कुर्लिएर हैन । अनि चीन र अमेरिकाबीच त्यति ठूलो व्यापार समस्या छ तर कुनै चिनियाँ वा अमेरिकी प्लेकार्ड बोकेर दूतावास घेर्न गएका छन् ?
बरु विरोध गर्ने समयमा ८ — १० जना विदेशीलाई नेपालको सांस्कृतिक, प्राकृतिक सुन्दरताका बारेमा सन्देश प्रवाह गरेर नेपाल जान उत्साहित गराइयो भने नेपालीकोे अनुरोध सम्झेर तत्काल नभए पनि भविष्यमा विदेश भ्रमण गर्ने योजना बनाउँदा नेपाललाई एकपटक अवश्य सम्झिनेछन् । त्यसबाट पो झल्कन्छ वास्तविक देशप्रेम ।
अहिलेको २१ औं शताब्दीमा कसैको विरोध या समर्थनले राष्ट्रको आधार निर्धारण हुन सक्तैन । अब नेपालीले विरोधबाट होइन देशमा समृद्धि, सुशासन र विकास भएमात्र राष्ट्र कसिलो हुनसक्छ । समृद्ध मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता बलियो छ त ।
अर्को सानो प्रसंग । विश्वभर व्यापार विस्तार गरेका भारतीयले पनि भावनामा बहेर या अरु कुनै कारणमा नेपालीलाई विदेशमा अविश्वास गरी काम दिन छाडे भने कस्तो असर पर्ला ? युरोप अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका देशमा जाने साधारण नेपालीमध्ये अधिकांशले सुरुका दिनमा काम पाउने मूलतः भारतीयले सञ्चालन गरेको व्यवसायमा नै हो ।
यसको मूल कारण भाषा, सीप र दक्षताको अभाव हुनु हो भने भारतीयसँग संस्कार, संस्कृति मिल्नु पनि हो । यस्तो अवस्थामा केही नेपालीको राजनीतिक दुस्साहसका कारण सामान्य भारतीयले आफनो बदनाम भएको ठाने भने सोझासाझा कामको खोजीमा भाैँतारिएका नेपालीले काम पाउने स्रोतमा अवश्य घट्छ ।
नेता बनेर खानेलाई त विरोधबाट लाभै होला तर श्रम गरेर गुजारा गर्ने र केही कमाउछु भन्नेको रोजीरोटीमा अवश्य असर पर्नेछ । त्यस्ता देशमा नेपालीहरुको व्यवसाय भारतीयको तुलनामा अति नगण्य मात्रामा छ । प्लेकार्ड बोकेर दूतावासमा नारा लगाउन जानु पहिले व्यावहारिक पक्षको पनि मूल्यांकन गर्नु जरुरी छ । जतासुकै राजनीति गर्न खोज्दा नतिजा उल्टो आउन सक्छ ।
देशभक्त बन्न कसैको विरोध गरिराख्नु पर्दैन । युरोप र अमेरिकाको समृद्धिको पाठ सिकेर देशलाई थोरैमात्र पनि टेवा दिन सके पुग्छ । नेता बन्ने मोहमा विदेशमा देशको छवि नबिगारौँ ।