
जनकपुर । आफू वैदेशिक रोजगारमा रहँदा पटक-पटक गरी पठाइदिएको रकम फिर्ता नगरेको भन्दै धनुषामा एक वयस्कले आफ्नै भाइबुहारीको हत्या गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका -२१, कुर्था निवासी ४५ वर्षीय श्रीप्रसाद पजियारले ३८ वर्षीया रानीदेवी पजियारलाई धारिलो खुकुरी प्रहारगरी हत्या गरेका हुन् । बुधबार दिउँसो रानीको टाउको, नाक र बायाँ हातको तीनवटा औंला काटेर भागेका थिए । आफ्नै जेठाजुको आक्रमणमा परेकी रानीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले पजियारलाई पक्राउ गरेको छ ।
बुधबार राति करिब ९ बजे जनकपुस्थित रेलवे ट्रयाकबाट पक्राउ परेका पजियारले अभियोग स्वीकार गरेका छन् । चार वर्षअघिसम्म वैदेशिक रोजगारमा रहेको बेला आफूले विभिन्न मितिमा गरी करिब तीन लाख रुपैयाँ भाइबुहारी रानीलाई पठाइदिएको र अहिले पुनः विदेश जानुपर्ने भएपछि उक्त रकम माग्दा आलटाल गरेपछि झोंकमा दबिया (खुकुरी) ले काटेर मारेको स्वीकारेको जिल्ला प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।
जनकपुरधाम -२१ बस्ने रानी जेठाजुलाई दिन पैसाकै जोहोमा धनुषाको बडहरीस्थित दिदीको घरमा गएकी थिइन् । उनका जेठाजु श्रीप्रसादका सालाका साढुदाई पनि त्यहीँ बस्छन् । बुधबार रानीले बडहरीमा दिदीसँग पैसा मागेर दिने आश्वासन दिएको र त्यहाँ पनि उपाय नलागेपछि जनकपुरबाटै खुकुरी किनेर बडहरी पुगेका श्रीप्रसादले बस्ती नजिकै बोलाएर रानीमाथि आक्रमण गरेको प्रहरीले जनायो ।
"नयाँ एसपीसाब जिल्लामा आएको केही घण्टामै दिउँसै महिलाको हत्या भएको खबर आएपछि हामी निकै गम्भीर भएका थियौं", प्रहरी निरिक्षक रामकुमार यादवले बाह्रखरीसँग भने, "आक्रमणपछि घाइते रानीले स्थानीय चौकीका असईसाबलाई आक्रमण गर्ने व्यक्तिबारे जानकारी दिइसकेकी थिइन् । सोही आधारमा पछ्याउँदै जाँदा अपराधीलाई जनकपुरको रेलवे ट्रयाकबाट पक्राउ गर्न सफल भयौं ।"
दुई छोरा र दुई छोरीकी आमा रानीका श्रीमान् मिश्रीप्रसाद पजियार पनि वैदेशिक रोजगारकै सिलसिलामा मलेसियामा छन् । घटनापछि उनकी छोरीले दिएको जाहेरी आधारमा श्रीप्रसादमाथि अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाइएको एसपी बस्नेतले जानकारी दिए ।