
जनकपुर । एक हप्तादेखि सुरु भएको शीतलहरले मध्यपूर्वी तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि लाग्ने हुस्सु र अपराह्नतिर चल्ने हावाले यो भेगमा जाडो बढेको नेपाल रेडक्रस सोसाइटी जनकपुर शाखाका सभापति रामनरेश सिंह बताउँछन् ।
“गत आइतबारदेखि एकाएक मौसम चिसिएको छ । दिनभर पर्ने शीतलहरले एकासी चिसो बढेपछि बजारमा चहलपहल घटेको छ,” सिंहले बाह्रखरीसँग भने । शीतलहर पर्ने तर दिनभर घाम नलाग्ने हुँदा मौसम कष्टकर बनेको हो । शीतलहरको कारण बढेको अत्यधिक चिसोले घर बाहिर निस्किन, खेतमा काम गर्न तथा कार्यालय र विद्यालय जानसमेत संकटको सामना गर्नुपरिरहेको सिंहले बताए ।
जनकपुरस्थित जल तथा मौसम पूर्वानुमान शाखाको अनुसार शनिबार बिहान जनकपुरको तापक्रम ९ डिग्रिसेल्सियसमा झरेको छ । यो तापक्रम अन्य भेगको लागि समान्य भएपनि दिनभर घाम नलाग्ने तराईको लागि कष्टकर रहेको चिकित्सकहरु बताउँछन् ।
शीतलहरसँगै दिनभरजसो लागिरहने हुस्सुको कारण सडकमा सवारीसाधन गुडाउन समेत समस्या छ । बाक्लो हुस्सुले सडकमा नजिकैको वस्तुसमेत देख्न कठिनाइ हुँदा दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीका सइ शैलेन्द्र ठाकुरले बताए । यस्तो मौसममा हुस्सुले भिजिविलिटी घट्नुका साथै हात कठ्यांग्रिएर सवारी अनियन्त्रित भइ दुर्घटना हुने सम्भावना बढेको उनको भनाइ हो ।
आवश्यक भिजिविलिटी नभएकै कारण काठमाडौं–जनकपुर विमानसेवा समेत प्रभावित भएको छ । यती एयरका कर्मचारी मिथिलेश यादवका अनुसार प्रतिकुल मौसमले आवश्यक भिजिविलिटी नपुगेकै कारण दिनहुँ अनियमित उडान भइरहेको छ ।
चिसो बढेलगत्तै जनकपुरस्थित प्रादेशिक अस्पतालमा बिरामीको संख्या ह्वातै बढेको छ । एक हप्तायता खासगरी बालबालिकामा चिसोकै कारण लाग्ने पखाला, निमोनिया, दम तथा रुघाखोकी बिरामीको चाप बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवले बताए ।
चेतनामुलक अभियानमा रेडक्रस
हरेक वर्ष नियमित झैं आइपर्ने यस्तो प्रतिकुल मौसमबाट जोगिन विद्यालय तथा समुदायस्तरीय जनचेतनाको अभियानमा जोड दिएको नेपाल रेडक्रस सोसाइटी जनकपुर शाखाका सभापति सिंहले बताए । “यस्तो मौसममा घरभित्र आगो ताप्न बाल्ने घुरले आगलागी हुने, धुँवाले निस्सासिएर बिरामी पर्ने, दमको रोगी बढ्ने, आवश्यक न्यानो कपडा नलगाउँदा रुघा, निमोनिया र बच्चाहरुमा पखाला लाग्ने जस्ता स्वभाविक समस्या आउने गर्छ,” सिंहले भने, “यी समस्याहरु आउने जानकारी हुँदाहुँदै हरेक वर्ष हुने मानवीय क्षति न्युनिकरण गर्न पूर्व सचेतना कार्यक्रममा हामीले फोकस गरेका छौं ।”
शीतलहर पर्न सुरु भएको बेला फेसबुके राहत वितरणकर्ताहरुले समस्या समाधान गर्नुको साटो थप समस्या निम्तियाउने गरेको उनको अनुभव छ । “समान्य चिसो बढ्यो कि तराईमा कम्बल वितरण अभियानले गति लिएको सामाजिक सञ्जालहरुमा देखिन थाल्छ,” उनले भने, “तर, तिनीहरुले मनपरी ढंगले राहत वितरण कार्यलाई कतिले कमाइखाने भाँडोको रुपमा प्रयोग गर्छन् कतिले फोटो खिचाएर सामाजिक सञ्जालको भित्ता सजाउँछन् । तर, वास्तविक पीडितहरुले राहत पाएकै हुँदैन ।”
शीतलहरलाई बहाना बनाएर आफ्नै गोजी भर्ने प्रवृति कर्मचारीदेखि जनप्रतिनिधिमा पनि व्याप्त देखिन्छ । राहत सामग्री खरिद गर्दा जनहितको लागि संचित गरिएको कोषको रकम विधि पु¥याएरै खर्च गर्न सहज हुँदा उनीहरुको ध्यान यसतर्फ केन्द्रित हुनेगरेको हो । यतिबेला वडा कार्यालय, पालिकाको कार्यालय, प्रदेश सांसद, प्रदेशका मन्त्री, संघीय सांसद र मन्त्री तथा विभिन्न सामाजिक संघसंस्थाहरुले आ–आफ्नै तालमा राहत बाँड्ने तयारी गरिरहेका छन् ।
गत वर्ष कम्बल पाएकै परिवारलाई यस वर्षपनि अर्को कम्बल दिनुको कुनै अर्थ नहुने उल्लेख गर्दै सिंहले थपे, “जिल्लामा विपद् व्यवस्थापन समिति छ । रेडक्रस छ । यी निकायहरुसँग अनिवार्य समन्वयगरी राहतका सामग्री वितरण भएर समानुपातिक रुपमा सबै पीडितले राहत पाउने वातावरण बन्न सक्छ । तर, सबैले आफुखुशी वितरण गर्दा कहीँ दोहोरो सामग्री पुग्छ भने कतै राहत नै पुगेको हुँदैन ।”
राहत वितरणमा ध्यान केन्द्रित गर्नुभन्दा पनि पूर्व सचेतना र आत्मनिर्भर बनाउने कार्यमा सरोकारवालाहरु गम्भिर हुनुपर्ने सिंहको भनाइ छ । राहत मात्रै बाँडेर समस्या समाधान नहुने बताउँदै उनले वर्षेनी नियमित रुपमा आउने बाढी, शीतलहर, आगलागी जस्ता घटनाको सम्भावना घटाउने तथा जोखिममा रहेका समुदायलाई आफै सामना गर्न सक्ने तथा त्यसको प्रभावबाट बच्न सक्ने किसिमको भरपर्दो योजना ल्याउन राज्य चुकिरहेको जिकिर गरे ।