काठमाडौं । समय सधैं सोचेजस्तो कहाँ हुन्छ र ! नसोचेको घटना पनि झेल्नै पर्छ, जतिसुकै कष्टकर किन नहोस् । हो, अहिले यस्तै कष्ट झेलिरहेका छन्, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी । डेँगुको डरलाग्दो संक्रमणसँग जोगिएर आएका उनी आफ्नै घरको आँगनकै डिलबाट लडेर उठ्नै नसक्ने अवस्थामा छन् ।
घरमा काम गर्ने महिलाकी ७ वर्षीय छोरी लड्न लागेको देखेपछि जोगाउन जाँदा आफैं १४–१५ फिट अग्लो पर्खालबाट तल पुगे । “धन्न बाँचें । अहिले सम्झँदा त कहाली लाग्छ,” रायमाझी भन्छन्, “म घाइते भए पनि बालिकालाई जोगाएँ । त्यसमा भने खुसी छु ।”
लड्नेबित्तिकै त उनलाई ठूलो चोटको अनुभवै भएन । बच्चा जोगाएँ भन्ने मात्र भयो । तर, अहिले उनलाई आफैं कसरी जोगिएछु भन्ने लाग्छ । बेडमै आराम गरिरहेका उनलाई भेट्न वनस्थलीस्थित निवास पुग्नेहरू घटनाबाट बाँच्नु ठूलो भाग्य मान्छन् । सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा सबैले घटनास्थल हेरेपछिको उस्तै प्रतिक्रिया दिए ।
“भाग्य ठूलो रहेछ, बाँच्नलाई लेखेको रहेछ भनेर सभापति जीले पनि भन्नुभयो । अरू साथीहरू पनि म लडेको ठाउँ हेरेपछि त्यही भन्नुहुन्छ,” रायमाझीले सुनाए ।
अस्पताल पुगेपछि डाक्टरहरूले जुन कुरा भने रायमाझी झसङ्ग भए ।
ढाडमा जहाँ चोट लागेको छ त्यहाँभन्दा थोरै मात्र तल चोट लागेको हुन्थ्यो भने पुनः क्रियाशील जीवन सम्भव नहुनसक्थ्यो । उनलाई त्यस क्षण लाग्यो, “मान्छेको जीवन त आखिर के नै रहेछ र ! क्षणभरमै जे पनि हुनसक्ने ।” यो घटना नभएको भए सायद अर्को ठूलो घटना पो हुन्थ्यो कि ! उनले आफूले आफैंलाई सम्झाएका रहेछन् ।
डेँगुले गलाएको त्यो क्षण
कात्तिक २७ गते धरान उपमहानगरपालिकामा मनोनयन दर्ता थियो । त्यसैका लागि त्यहाँ पुगे रमेशजंग । घर फर्कँदै गर्दा एकाएक ज्वरो आएजस्तो भयो । विराटनगरमै परीक्षण गर्दा प्लेटलेट कम देखियो । उनी उपचारका लागि लगत्तै काठमाडौं हानिए । बीपी स्मृति अस्पतालले पत्ता लगायो उनलाई त डेँगुको संक्रण पो भएछ ।
१० दिन अस्पतालमै बसेर फर्किए उनी । डाक्टरको सुझाव थियो, केही दिन आराम गर्नु । १७ दिन उनलाई डेँगुले थला पार्यो ।
घर फर्केको पाँच दिनसम्म त जसोतसो चिकित्सकको सल्लाह माने । कार्यकर्तासँग निक्कै भिजेका र सक्रिय राजनीतिज्ञ रायमाझीको मन घरमै मात्र बसिरहन मानेन । घर फर्केको पाँच दिनपछि अर्थात् मंसिर १३ गते शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा सहभागी हुन निस्किए । घर बस्दा–बस्दा दिक्क भइसकेका रायमाझीले बैठकपछि बानेश्वर पुगेर साथीभाइ भेटे । विकास निर्माणसँग सम्बन्धित काममा फलोअप गर्नुपर्ने ठाउँमा पुगे । घर फर्किए ।
बिरामी भएर घरमै आराम गरिहँदा पनि उनको मन कहाँ घरमा बस्थ्यो र ? घर र अस्पताल बस्दाको अनुभव सुनाउँदै उनले भने, “सक्रिय राजनीतिमा रहेको मान्छे । अस्पताल र घरमा बस्दा त सजाय दिएजस्तो हुने रहेछ ।” बाहिर निस्केको मौकामा उनले थाँती रहेका काम के भइरहेका छन् अपडेट लिए फर्किए ।
कसरी बाँचे भन्ने लाग्छ अहिले
साँझ घर पुग्दै गर्दा थाहा पाए, पत्नी सुनिता थापाकी माइली आमा बिरामी भएर आर्मी अस्पतालमा उपचार हुँदै छ । जनताको काम भनेसी कुदिहाल्ने स्वभावका रायमाझीको मन पत्नीलाई मात्र अस्पताल पठाउन मानेन । उनी आफैं अस्पताल जान तम्सिए । दुई दिनपछि गृहजिल्ला विराटनगर जानुपर्ने भएकाले पनि उनी भेटिहाल्न चाहन्थे ।
टिकट लिइसकेका थिए विराटनगरका लागि । उनी पत्नीसँगै अस्पताल जाने भए । पती पत्नी सल्लाह हुँदै थियो । छेउमै खेल्दै आइपुगिन् घरमा एक वर्षदेखि काम गर्दै आएकी चौधरी थरकी महिलाकी ७ वर्षीय छोरी सोनु । सोनु रायमाझीका लागि आफ्नै छोरीजस्तै मायालु थिइन् ।
त्यही बीचमा पत्नी थापाले सोधिन्, “सोनु तिमी पनि अस्पताल जान्छौं ?” बाहिर जाने भनेपछि बच्चालाई के चाहिन्छ र । तत्कालै हुन्छ भनिन् ।
रायमाझी र सोनु आँगनमा निस्किए । सुनितालाई पर्खँदै थिए रमेश । फुच्ची सोनु त घर छेउको डिलमा पुगिसकिछन् । लड्न लागेको देखेपछि उनलाई जोगाउन कुदे रमेशजंग ।
बालिकालाई त जोगाए । तर, आफ्नै भने जोगिन सकेनन्, गम्भीर घाइते बन्न पुगे । “सोनु डिलबाट झर्न लागेको देखेपछि दौडँदा मेरा जुत्ता चिप्लिएर तल खसें । १४–१५ फिट होला । ढुँगैढुँगामा गएर बजारिएँ । पकडेका कारण उसलाई केही भएन,” रायमाझीले घटना हुँदाको क्षण सम्झिए । तत्कालै उनलाई बीपी स्मृति अस्पताल पुर्याइयो । टिचिङ अस्पतालबाट चिकित्सकको टिम आएर हेर्यो । घाउ सफा भयो । सिटिस्कयान र एमआरआई नभएपछि उनलाई अर्को अस्पताल लैजाने तयारी भयो ।
रायमाझीले निजी होइन सरकारी अस्पताल टिचिङ नै जाने बताए । ३ दिन टिचिङ अस्पतालको आईसीयूमै राखेर उपचार भयो । पछि अर्थोपेडिक वाडमा सारियो । टाउकोमा सात टाँका लगाइएको छ । दायाँ हात र करङ भाँचिएपछि फलाम राखेर प्लास्टर गरिएको छ । शरीरभरि चोटै चोट छ । ढाडमा समेत समस्या हुँदा बेडबाट उठ्न सक्दैनन् ।
“डेँगु लाग्दा त उठ्न मिल्थ्यो । शौचालय जान मिल्थ्यो । अहिले त शौचालय जान पनि बन्द छ । पूरै बेडमा छु,” उनले बेडमा मात्र बस्नुपर्दा नमज्जा लागिरहेको सुनाए । तर, पत्नी सुनिताको साथले उनको घाउमा मलमको काम गरेको छ । पतिको हेरचाहमा कुनै कमी हुन दिएकी छैनन् सुनिताले ।
४–५ हप्ता अझै आराम गर्नुपर्ने चिकित्सकले सुझाएको उनले सुनाए ।
नआउ भन्दा भेट्न गाडी रिजर्भ गरेरै आए
मानिसले समस्यामा पर्दा नै आफ्नो र पराई थाहा हुने हो । घाइते भएपछि उनले आफूप्रति जनताको प्रेम पनि देख्न पाए । “गाउँबाट यति मान्छे ओइरिए । धेरैलाई त मैले रोकेँ । कति मान्छे त रोक्छ भनेर थाहा नदिएरै आए,” रायमाझीले भने, “कोही मह लिएर आए । कोही दबाई हुन्छ भनेर बेसार र मह लिएर आएका छन् । कसैले सिन्दुरे र मह ल्याएका छन् । जनताले मलाई माया गरे ।” गाउँलेको मायाले थप जिम्मेवारीबोध गराएको उनले सुनाए ।
उनलाई अहिले आफ्नोभन्दा पनि आफूलाई माया गर्नेहरूको बढी चिन्ता लाग्ने गरेको सुनाए । नआउभन्दा भन्दै गाउँबाट महिलाहरूको टोली गाडी रिजर्भ गरेरै आएछ उनलाई भेट्न । राति हिँडेर बिहान भेटेर टोली फर्किएछ । रातभर चलाएको चालकले दिनभर गाडी चलाउँदा केही हुने पो हो कि भन्ने चिन्ताले आफूलाई निद्रै नपरेको रायमाझीले सुनाए ।
गाडी सकुशल पुगेको थाहा पाएपछि मात्र लामो श्वास फेरेको उनले बताए । “गाउँको मान्छेको माया देख्दा आफूले केही गरेको रहेछु जस्तो लाग्छ,” रायमाझीले कुराकानी बिट मार्दै भने, “कतिबेला बेडबाट छुट्कारा पाउँछु र जनताकोबीचमा जाउँजाउँ भइरहेको छ ।”