
जनकपुर । कर्तव्य निर्वाहको क्रममा आफ्नो इन्चार्ज गुमाउँदाको पीडा नायव प्रहरी निरीक्षक रामपदार्थ साहलाई थामिनसक्नु छ ।
इन्चार्ज अमिरकुमार दाहालसमेत इलाका प्रहरी कार्यालय महेन्द्रनगर (धनुषा) मा २१ जना थिए । शुक्रबार मध्यराति कार्यालय नजिकै स्थानीयको घरमा अज्ञात समूहले राखेको बम विष्फोट हुँदा दाहालसमेत स्थानीय थप दुई जनाको मृत्यु भयो ।
घटनाको शोकमा पुरै जिल्ला डुबेको छ । महेन्द्रनगर बजारमा सन्नाटा छाएको छ । मृतक राजेश साहको घरमा शनिबार दिनभर रुवाबासी छ । ४५ वर्षीय राजेश र उनको बिँडो सम्हाल्न तयार हुँदै गरेका २३ वर्षीय छोरा आनन्दको एकैसाथ मृत्यु भएको घटनाले परिवार नै उजाड भएको छ । घटनाको शोकमा शनिबार टोलभर चुलो बलेन ।
यता, घटनास्थल नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पनि त्यस्तै सन्नाटा छ । प्रहरीको हातमा बन्दुक त छ तर, कार्यालय प्रमुख गुमाएको पीडा र शोकले ग्रस्त उनीहरुको आत्मविश्वास कमजोर परेको छ ।
‘साब (दाहाल) सँग करिब एक वर्ष सँगै काम गर्ने मौका पाएँ । सेवाग्राहीले सानोभन्दा सानो काम लिएर आउँदा तुरुन्त सुनुवाइ गर्ने र सकेसम्म निर्दोषले सजाय पाउनु हुन्न भन्ने सोचाइ भएको उहाँजस्तो व्यक्तित्व यो संसारमा थोरै होलान्’ इलाका प्रहरी कार्यालयका नायव प्रहरी निरिक्षक रामपदार्थ साहले यतिकुरा बाह्रखरीसँग भन्दैगर्दा भक्कानो छोडे । त्यसपछि १५ मिनेटसम्म उनी बोल्न सक्ने अवस्थामा फर्किन सकेनन् ।
स्थानीय युवा व्यवसायीहरु कार्यालयमा आउँछन्, ‘सर कहाँ हुनुहुन्छ ?’ भनेर सोध्छन् र त्यहाँका सुरक्षाकर्मी र ती युवाहरु सँगै रुन थाल्छन् । करिब एक घण्टासम्म त्यहाँ बस्दा कयौं त्यस्ता युवाहरु भेटिए । कतिले त सर...सर... भन्दै आफ्नै छाति पिट्न थालेपछि प्रहरी जवानहरुले सम्हाल्नु परेको थियो ।
बाहिर मूलगेट अगाडि सेन्ट्रीमा खटेका जवानसँग बन्दुक छ तर अनुहार डराएको र मनोबल गिरेको प्रष्टै देख्न सकिन्छ । एक प्रहरी निरीक्षक, दुई नायव प्रहरी निरीक्षक, तीन सहायक प्रहरी निरीक्षक, आठ हवल्दार र सात जवानगरी २१ जनाको टोली उक्त कार्यालयमा थियो ।
घटनापछि शनिबारै जिल्ला प्रहरी कार्यालयबाट एक जना नायव प्रहरी निरिक्षकको कमाण्डमा थप १० जनाको टोली इलाका प्रहरी कार्यालयमा पठाइएको छ । तर, अझै हात काम्न नछोडेको प्रहरी नायव निरिक्षक साह बताउँछन् ।
अघिल्लो वर्ष मंसिर महिनाकै १२ गते दाहाल इलाका प्रहरी कार्यालय महेन्द्रनगरको इन्चार्जको रुपमा हाजिर भएका थिए । त्यसअघिसम्म उनी इलाका प्रहरी कार्यालय, धनुषाधाममा इन्चार्जकै रुपमा काम गरेका थिए । इन्स्पेक्टरको फुली पाएपछि यसरी इन्चार्ज भएर काम गरेको उनले यी दुई इलाका प्रहरी कार्यालयमा मात्रै हो ।
२०५५ सालमा असईको रुपमा नेपाल प्रहरीको जागिर पाएका दाहाल दुईवर्ष अघिमात्रै इन्स्पेक्टरमा बढुवा भएका थिए । केही महिनासम्म डिएसपीको कमाण्डमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा इन्सपेक्टरको रुपमा काम गरेका दाहाल त्यसपछि धनुषाधामहुँदै महेन्द्रनगर आइपुगेका थिए ।
प्रनानि साहका अनुसार दुई महिनाअघि मात्रै दाहालकी श्रीमती एकमात्र छोरा (८ वर्षीय) लाई साथै लिएर उनलाई भेट्न महेन्द्रनगर आएकी थिइन् । करिब एक हप्तासम्म सँगै बसेर फर्केको बताउँदै साहले आँखा पुछ्दै भने, “अब काठमाडौंमै भेट्ने भनेर म्याडम जानुभएको थियो !”