काठमाडौं । पछिल्लो समय बालबालिकाको हातमा विभिन्न ग्याजेट्स छन् । किताब-कापीमा अभ्यस्त हुनुपर्ने सिकारु पुस्ता मोबाइल, ट्याबमा बरालिँदा अधिकांश अभिभावकलाई टाउको दुखाइ बनेको छ । यसले दिमागको मौलिक र प्राकृतिक विकास त मासिँदैन भन्ने चिन्ता पनि बढ्दो छ ।
पोखरा लिटरेचर फेस्टिभलको दोस्रो दिन (शनिबार)को पहिलो सत्रमा यहीबारे विमर्श भयो । छलफलको विषय थियो- ‘बालकालिकाको हातमा मोबाइल कि पुस्तक ?’
बहसमा थिए, मनोविद् करुणा कुँवर, बाल स्याहार–बाल शिक्षामा बहस गर्दै आएका इन्जिनियर वसन्त गौतम र कथाकार बिना थिङ् तामाङ । बहसलाई सहजीकरण गरेका थिए, बालसाहित्यकार भवसागर घिमिरेले ।
बहसमा भाग लिँदै मनोविद् करुणा कुँवरले बालबालिकाको वैयक्तिक विकासमा ग्याजेट्स बाधक बन्दै गएको औंल्याइन् ।
र, यो कोकिनजत्तिकै घातक हुने उनको अनुभव थियो । भनिन्- “अभिभावकहरू आफ्नो सजिलोका लागि सह्यारसुसार, रेखदेख गर्न छाडेर कलिला बालबालिकाका हातमा मोबाइललगायत ग्याजेट्स थमाउन थालेका छन् । बिस्तारै त्यो एडिक्सनमा परिणत हुँदैछ । उनीहरूको शिर्जनशीलता, कौतूहलतामा ह्रास ल्याउँदैछ ।”
बढ्दो ग्याजेट्स (मोबाइल, ट्याब, ल्यापटप, डेक्सटपआदि)को प्रयोगले घरघरमा नयाँनयाँ समस्या देखिन थालेको पनि उनको अनुभ छ । इन्टरनेट लतकै कारण प्रयोगकर्ताहरू कालान्तरमा गएर एन्जाइटी र डिप्रेसनको सिबियर बिरामी- हुनेतर्फ पनि उनले सचेत गराइन् ।
सूचना र प्रविधिको फैलावटका कारण बालबालिका, किशोरकिशोरीलाई ग्याजेट्सबाट अक्षुण्ण राख्न नसकेता पनि उनीहरूलाई कति घण्टा मोबाइलमा व्यस्त रहन दिने भन्ने कुरामाचाहिँ अभिभावक सचेत हुनुपर्ने र सावधानी अपनाउनुपर्नेमा उनको जोड थियो ।
“हामीले इन्टरनेट, मोबाइल अनुशासनमा पनि ध्यान दिनुपर्ने बेला आएको छ । बालबालिकाले मोबाइलको के हेरिरहेको छ ? के खोजिरहेको छ ? कति घण्टा समय बिताउँछ ? यसबाट के सिकिरहेको छ भन्ने कुरामा सचेत हुनुपर्छ र समय समयमा निरीक्षण गर्नुपर्छ,” उनले थपिन् ।
किशोरकिशोरीमा त मोबाइल, सामाजिक सञ्जालको झन् ठूलो असर परिरहेको उनको अनुभव छ ।
“बालबालिकाको समस्या अभिभावकले भन्ने गरेका छन् र थाहा हुन्छ । किशोरकिशोरीको समस्या त अभिभावकले लुकाएर राखेका छन् । घर–परिवार बाहिर आउन पाएको छैन । त्यहाँ झ्न ठूूलो समस्या छ । साइबर अपराधका घटना बढ्दो छ । कतिपय समस्याको डायग्नोसिस (निदान) नै हुन बाँकी छ । समस्याको पहिचान पनि हुन बाँकी छ । अतः यसलाई न्यूनीकरण गर्न पनि ग्याजेट्समा नियन्त्रण र सन्तुलन कायम गर्नैपर्छ,” उनले भनिन् ।
उनले बालबालिका, किशोरकिशोरीलाई मोबाइलबाट टाढा राख्न अभिभावकले पनि मोबाइलमा खर्चने समय कटौती गर्नुपर्ने बताइन् ।
“कतिपय अभिभावक नयाँनयाँ मोबाइल, ग्याजेट्स घर भित्र्याउँदा गर्व गर्छन् । त्यसको अन्त्य गर्नुपर्छ । ग्याजेट्स फेर्ने बानी पनि फेर्नुपर्छ । अभिभावकले ग्याजेट्स अनुशासन पालना गरे, बालबालिकाले पनि त्यसको सिको गर्छन्,” उनले भनिन् ।
उनले स–साना बालबालिकालाई तुरुन्तै मोबाइलबाट अलग गर्नुपर्ने टड्कारो आवश्यकता रहेको पनि बताइन् ।
“बालबालिकासँगै अभिभावकले आफ्नो पनि मनिटरिङ गर्नुपर्यो । लत छुटाउन प्रयोगमा कटौती गर्नुपर्यो । बालबालिकालाई मोबाइलाबाट छुटाउनुहोस्, ४ दिन गाह्रो हुन्छ । रक्सीको लत छुटाएजस्तो पनि हुनसक्छ । त्यस्ता लक्षण देखिन सक्छन् । तर ४ दिनपछि सजिलो हुँदै आउँछ । लत छुट्छ,” उनले उपाय पनि सुझाइन् ।
बालस्याहारबारे विमर्श गर्दै आएका वसन्त गौतमले पनि ग्याजेट्स बालबालिकाको जीवनबाट अलग गराउनु पर्ने तर्क गरे ।
अन्य मुलुकको उदाहरण सुनाउँदै गौतमले भने, “जापान प्रविधिमा हामीभन्दा निकै अगाडि छ । विश्वमा चल्तीमा आएका कतिपय प्रविधिको सुरूआत जापानबाटै हुन्छ । अधिकांश ग्याजेट्स त्यहीँ बन्छन् पनि । तर जापानी बालबालिकाको हातचाहिँ पुग्न पाउँदैनन् । ग्याजेट्सभन्दा पुस्तकमै जोड दिएका छन् ।”
पुस्तकलाई पठनीय र सिकाइमैत्री बनाउनु लागिपरेकैले जापानी बालबालिका ग्याजेट्सबाट पर रहेको उनको अनुभव पनि छ ।
उनले शिक्षामा पनि जापानकै उदाहरण जोडे । प्राथमिक तहका बालबालिकालाई किताबी शिक्षामा भन्दा व्यवहारिक शिक्षा, वनजङ्गल देखाउने, प्रकृतिसँग चिनापर्ची गराउने, स्कुल, बाटोघाटो सरसफाइ गराउनेजस्ता काममा लगाएर बोझिलो शिक्षाबाट बाहिर राखेको सन्दर्भ राखे ।
रचनात्मक बाल शिक्षामा जोड दिँदा उनीहरूका पछिल्ला छिमलका बालबालिका ग्याजेट्समा नझुम्मिएको उनको अनुभव छ ।
छलफलमा सहभागी अर्की वक्ता बिना थिङले पछिल्लो समय समाज एक्लो पनको सिकार भइरहेको बताइन् । प्रत्येक दुई घरमध्ये एक घरको सदस्य रोजगारीका लागि विदेश गइरहेको अवस्था वर्णन गर्दै पारिवारिक विखण्डन र विभाजनको सोझो असर बालबालिकाको वृद्धि-विकासमा परेको बताइन् ।
“आजका बालबालिका एक्लै हुर्कन बाध्य छन् । हिजोजस्तो कथा-कुथुङ्ग्री, लोरी सुन्दै हुर्कने समय रहेन । त्यसरी सुनाउन हजुरबुबा, हजुरआमा साथमा हुनुहुन्न । यसको असर बालबालिको वृद्धि-विकासमा परिरहेको छ,” उनले भनिन् ।
बालबालिका सह्यार्ने, रेखदेख गर्ने मान्छे नहुँदा आमाहरू मोबाइल जिम्मा लगाउन बाध्य भएको उनको अनुभूति छ ।