site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 शोकमा डुब्यो धनुषा, अपराधी खोज्दै प्रहरी

तस्बिर : मृतक राजेशकी आमा (बीच) घटनापछि बिलौना गर्दै ।


जनकपुर । शुक्रबार मध्यराति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका -५ महेन्द्रनगरमा भएको बम विष्फोट घटनाले पूरै धनुषा जिल्ला शोकमा डुबेको छ । 

घटनामा इलाका प्रहरी कार्यालय महेन्द्रनगर (धनुषा) का इन्चार्ज प्रहरी निरीक्षक ४५ वर्षीय अमिरकुमार दाहाल, स्थानीय औषधि व्यवसायी ४७ वर्षीय राजेश साह र उनका २३ वर्षीय छोरा आनन्दको मृत्यु भएको छ । 

राजेश बाबु-छोराको घटनास्थलमै र दाहालको उपचारको क्रममा शनिबार बिहान करिब सात बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

घटनामा परेका अन्य तीन जनाको अवस्था गम्भीर छ । मृतक राजेशका छोरा १३ वर्षीय प्रकाश, १९ वर्षीया छोरी अन्जली र प्रहरी जवान रिझनाथ महतोको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, महेन्द्रनगरका नायब प्रहरी निरीक्षक रामपदार्थ साहले जानकारी दिए । उनीहरु तीनैजना उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना छन् । मृतक राजेश र आनन्दको शव जनकपुरस्थित प्रादेशिक अस्पताल र दाहालको शव धरानस्थित प्रतिष्ठानमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कसरी भयो घटना ?

शुक्रबार राति करिब सावा ११ बजे राजेशकी श्रीमति अञ्जु ओछ्यानबाट उठेर घर बाहिर रहेको शौचालय गइन् । उनले बाहिरको ढोका खोल्दा ह्यान्डलमा एउटा झोला झुन्ड्याइएको थियो । उनले वास्ता नगरी फर्केर ओछ्यानमा पुगिन् । लगत्तै राजेश पनि शौचालय गए । उनले पनि झोलालाई नछोइकनै ढोका खोले र फर्केर बन्द पनि गरिदिए । कोठामा आएपछि श्रीमतिसँग त्यो झोलाको बारेमा कुरा गरे । शंका लाग्यो र छोरा आनन्दलाई उठायो । छोराले विष्फोटक पदार्थ हुनसक्ने आशंका गरे ।

“राति सुत्न जाने बेलासम्म कुनै झोलासोला नभएको ठाउँमा मध्यराति बाहिरबाटै आएर कसैले झोला झुन्ड्याएको हुन सक्ने स्पष्ट भइसकेपछि हामी सबै डरायौं,” मृतक राजेशकी श्रीमति अञ्जुले बाह्रखरीसँग भनिन्, “छोरी र अर्को छोरालाई पनि उठाएर हामी सुरक्षित हुन बाहिर निस्क्यौं । सबै बालबच्चालाई लिएर चोकमा औषधी पसल रहेको घरमा पुगेर प्रहरीलाई खबर गर्ने सल्लाह भयो ।”

बम झुन्ड्याइएको ढोका विष्फोटपछि 

अञ्जुको अनुसार राजेश र उनका छोरा आनन्द नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेरै घटनाबारे जानकारी गराए । भर्खरै मोबाइल ड्यूटीबाट फर्केर कार्यालय पुगेका इन्सपेक्टर दाहाल आफूसमेत पाँच जनाको टोली लिएर घटनास्थल पुगे । 

राजेश र उनको परिवार पनि त्यहाँ पुग्यो । दाहालले ढोकामा झुन्ड्याइएको झोलामा कुनै प्रकारको तार वा अन्य वस्तु जडान भए नभएको हेरे । नजिक पुगेपछि पुरानो कुकर रहेको र त्यो डराउनका राखेको हुन सक्ने बताए । त्यो झोला हटाउन पुगेका दाहालसँगै राजेश र उनका छोराछोरी पनि वरीपरी थिए । त्यहीँबेला विष्फोट भयो । राजेश र उनका छोरा आनन्दको घटनास्थलमै मृत्यु भयो । 
करिब आधा शरीर जलेको दाहालको पेटमा छर्रा लागेर बनेको प्वालबाट ह्वाल्ह्वाल्ती रगत बग्न थाल्यो । “बम विष्फोट भएको जानकारी पाउने बित्तिकै म त्यहाँ पुगेको हुँ,” नायब प्रहरी निरीक्षक साहले भने, “घटनामा को-को परे भनेर हेर्न गएको त इन्सपेक्टरसाब आफँै पनि उठ्नै नसक्ने अवस्थामा पुगिसक्नुभएको रहेछ । उठाएर गाडीमा हाल्न खोजेँ उहाँको कम्मरमा दुखेको हुनुपर्छ, कम्मरमुनि हात हाल्दिनुस् भन्नुभयो । उहाँको मुखबाट मैले सुनेको अन्तिम वाक्य त्यो नै हो ।” नायब प्रहरी निरीक्षक साहले बाह्रखरीसँग घटनाबारे पूरै बोल्नै नसकी भक्कानो छाडे । उनीसमेत इलाका प्रहरी कार्यालयका सबै जनशक्ति विक्षिप्त बनेका छन् । 

यता, राजेशकी श्रीमति अञ्जु बेहोस् छन् । उनका बाबु भिखारी साह र वृद्ध आमाको पनि होस् हराएको छ । राजेशका दुई छोराछोरी उपचारको क्रममा धरानमै छन् । घर, आँगन र वरीपरी ठूलो भिड लागेको छ । छिमेकी घर भएका नगर प्रमुख योगेन्द्र पजियार निशब्द छन् । 

के गर्दैछ प्रहरी ?

प्रहरीले घटनाको कारण अझै खोतल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका अपराध अनुसन्धान टोलीले तीन जना शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर छानबीन गरिरहेको र घटनाको सुक्ष्म अध्ययन तथा अपराधीलाई नियन्त्रणमा लिन प्रहरी निरिक्षक उमाशंकर साहको कमाण्डमा सात सदस्यीय विशेष टोली गठन गरेको प्रवक्ता कार्कीले जानकारी दिए । 

“घटना अनुसन्धानमा प्रहरी निकै सक्रिय छ,” कार्कीले भने, “अहिलेको अहिले नहोला तर, अपराधीलाई कारवाहीको दायरामा ल्याउन वेर लाग्दैन । हामी हरेक कोणबाट अनुसन्धानमा जुटिसकेका छौं ।”

यसैबीच, मृतक दाहालको शव धरानबाट सोझै काठमाडौं लगिने तयारी भएको छ । हेलिकोप्टरमार्फत उनको शव काठमाडौं लगेर परिवारजनलाई जिम्मा लगाउने तयारी भइरहेको कार्कीले बताए । 

उनका अनुसार दाहालको शवको पोष्टमार्टम गरेपछि धरानबाटै काठमाडौं लगिने तयारी भएको छ । 

घटनाबारे जिज्ञासा मेट्न घर बाहिर लागेको स्थानीयको भिड 


अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने बताएका छन् । 

घटनामा परी एकै परिवारका बाबु-छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना आततायी भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत उक्त घटनाले आफू स्तब्ध भएको जनाएका छन् । “यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु”, फेसबुकमार्फत उनले भनेका छन् । 

“धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरमा गए राति भएको विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ, मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदनाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ”, गृहमन्त्री थापाले नेका छन् ।

मृतक राजेशकी श्रीमति अञ्जु

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro