site stats
बाह्रखरी :: Baahrakhari
विचार
इथियोपियाको ‘मिराकल’ र नेपाल

चमत्कारी विकासको गतिमा अघि बढिरहेको इथियोपियालाई हिजोआज अफ्रिकाको “न्यु चाइना” भन्न थालिएको छ । विश्व रंगमञ्चमा चीनको प्रभाव बढेजसरी नै बढदो प्रतिव्यक्ति आय, द्रूततर गतिमा घटदो गरिबी, भौतिक पूर्वाधारको विकास र उत्पादनमूलक उद्योगको वृद्धिसँगै निर्यातको बढ्दो आयतनले इथियोपियाको अर्थतन्त्रले सिगो अफ्रिकामा नै प्रभाव पार्न थालिसकेको छ । करिब डेढ दशकअघि सम्म विश्वकै कमजोर आर्थिक अवस्था भएको देशको रुपमा चिनिएको इथियोपियाले यस्तो चमत्कार कसरी गर्न सक्यो ? 

भौगोलिक बनोटको दृष्टिले नेपालजस्तै भूपरिवेष्ठित यस देशले नेपालले जस्तै राजनीतिक अस्थिरताको सामना पनि गरेको थियो । जनताको जीविकोपार्जन पनि निर्वाहमुखी कृषिमा नै आधारित थियो । तर, आज इथियोपियामा परिवर्तन भइसकेको छ ।  छिमेकी देश इरिट्रियासँगको लामो द्वन्द्व व्यवस्थापन गरी शान्ति र समृद्धिको मार्गमा अगाडि बढेको भन्दै राष्ट्रपति अबि अहमेदलाई त नोबेल शान्ति पुरस्कारले समेत सम्मान गरिँदै छ ।  सन् २००० सम्म ५० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहेको इथियोपियामा अहिले यो संख्या ३१ प्रतिशतमा झरेको छ । अनि विश्वमै चाइना र म्यानमारपछि अति छिटो गतिमा विकास गर्ने देशहरुको सूचीमा तेस्रो स्थानमा रहेको विश्व बैंकको तथ्यांकमा उल्लेख छ । यो सबै परिवर्तन करिब पन्ध्र वर्षमै कसरी सम्भव भयो ? यो तीव्र परिवर्तनको गति लिन नेतृत्वको इच्छाशक्ति र त्यागको भूमिका त छ नै सँगै लक्ष्य प्राप्तिका निम्ति योजना कार्यन्वयनमा अपनाएको कार्यशैली र इमानदारीको उत्तिकै भूमिका छ ।

गरिब राष्ट्र इथियोपियाले आफ्नै देशको राष्ट्रिय ढुकुटीको प्रयोग गरेरमात्र यो चमत्कारी विकासको गति समातेकोे होइन । यसको मुख्य आधार इथियोपियाले आर्जन गरेको विदेशी लगानीकर्ता र दातृ निकायको बिश्वास नै हो । वैदेशिक लगानीका लागि लगानीकर्ताबीच विभिन्न परियोजनामा प्रतिस्पर्धा नै छ । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अन्तर्गत  चीन, टर्की र भारतले धेरै लगानी गर्दै आएका छन् । त्यस्तै युरोपियन युनियन, विश्व बैंक र अन्य सानाठूला संस्थाको अनुदान पनि उत्तिकै भित्रिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लगानीले वृद्धि भएको छ भने अन्य देशका लगानीकर्ता पनि आकर्षित भइरहेका छन् ।  देशको स्थिर आर्थिक नीति, लगानी मैत्री कर प्रणाली, उत्पादनशील उद्योगमा गरिएको लगानीको उचित प्रतिफल लगानीकर्ताले लिन सक्नु नै यसको मुख्य कारण भएको जिमा विश्वविद्यालयकी शोधकर्ता सेफयु हाइलुले ‘फरेन डाइरेक्ट इनभेस्टमेन्ट आउटलुक इन इथियोपिया’ भन्ने खोजमूलक  आलेखमा पुष्टि गरेकी छन् । उनले थपेकी छन् – ‘‘इरेट्रिया, सोमालिया, केन्या, र सुडानबाट घेरिएको इथियोपियालाई लगानीकर्ताले बजार विस्तारको रणनीतिक दृष्टीकोणले पनि हेर्ने गरेको पाइन्छ । यसको रहस्य हो ठूला देशका लगानीकर्ताले उत्पादन गर्ने ठूलो परिमाणका उत्पादनको बजार खोज्न टाढा जानु नपर्ने र छिमेकी देशमै खपत हुन सक्नु । लगानीकर्ताले नाफा र घाटाको हिसाब गरेर नीतिदेखि सम्भावना हेरेरमात्र लगानी गर्छन् ।’’ 

इथियोपियाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई उत्पादनमुखी उद्योगमा आकर्षित गर्न देशमा ठूलाठूला औधोगिक पार्क नै निर्माण गरेको छ भने उत्पादित वस्तुलाई देशभित्र र बाहिरको बजारसम्म पुर्याउन यातायात सुविधा बाधक नबनोस् भनेर बृहत् रुपमा सडक सञ्जाल विस्तार गरेको छ । यसकारण पनि विदेशी लगानीकर्ताले उत्पादित वस्तुको बजारको निम्ति जोखिम धेरै कम भएको महसुस गर्ने गरेका छन् ।  (तिलहुन सेग्य, ‘इथियोपिया एट्रयाक्टस् एफडीआई, अल अफ्रिका डट कम, २०१८, ३१ मे) । 

अब के तीन तिरबाट भारत र उत्तरतर्फ चीनले घेरेको नेपालले पनि चीन र भारतमा माग हुने वस्तुको उत्पादन गर्ने ठूला उद्योग खोल्न सहजै विदेशी लगानी भित्र्याउन सक्तैन थियो ? अर्ब अर्ब जनसंख्या भएका, हरेक दृिष्टकोणले विश्वको नजर पर्ने दुई देशबीचको नेपाल लागु औषध र तस्करको ‘ट्रान्जिट प्वाइन्ट’ को सट्टा लगानीको केन्द्र बन्न सक्तैन थिथ्यो ? अवश्य सक्थ्यो । तर यसका निति चाहिन्छ नेतृत्वको इमान्दारी अनि नीति निर्माणमा पारदर्शीता र आधुनिकता । इथियोपियाले त्यो गर्न सक्यो ।   

लगानीमात्र भित्र्याएर इथियोपियाले यो चमत्कार गरेको हो त ? होइन, देशभित्रको जनशक्तिको सक्दो प्रयोग र रोजगार सिर्जनामा उत्तिकै गम्भीरता साथ लागेको छ यो देश । नेपालको जस्तो काम गर्न सक्ने जनशक्ति विदेशिएको भए अवश्य लगानीकर्ता पनि लगानी गर्न तयार हुँदैनथे । बीबीसीका थोमस लेवटनले मार्च १८ २०१९ मा तयार पारेको रिपोर्टमा भनेका छन् – “ काम गर्न सक्ने जनशक्ति देशमा भित्रिएका मेगा उद्योग देखेर उत्साहित भएका छन्, साथै सरकारले बनाएको बैंकिङ, फाइनान्स, शिक्षा र सूचनापविधि सम्बन्धी प्रभावकारी नीतिले इथियोपियालीहरूमा स्वदेशमै केही गर्ने जोस जगाएको छ । पविधिमैत्री विकास र संभावना नै संभावनाको ढोका खोलिएको इथियोपियामा अब त मूर्खमात्र भोकै बस्नपर्छ भन्ने मान्यतासमेत विकास भइसकेको छ ।” हो इथियोपियालीले भोकसँग लड्नु परेको बिर्सनलायक विगत भने छ । 

उद्योग र पूर्वाधारमा लगानी गर्न विदेशीलाई बोलाउँदा इथियोपियाले जनतालाई सुरुका दिनमा देशमा परिवर्तन हुँदैछ भन्ने सन्देश दिन खानेपानी, ढलमा सुधार र ग्रामीण भेगमा विशेष गरेर खाद्य सुरक्षाजस्तो कार्यक्रमलाई उच्च प्रथामिकतामा राखेर काम गरेको थियो । भोकसँग लडिरहेका कैयौं इथियोपियालीलाई खाद्य सुरक्षाको कार्यक्रमले मद्दतमात्र दिएन उत्साह पनि सञ्चार गर्यो ।

यस्ता कार्यक्रम यस देशले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, इयुलगायतका दातृ निकायको सहयोगबाट सञ्चालन गरेको थियो । गोष्ठी र सेमिनार गराएर अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पैसा सकाएको भए सहयोग जनताको घरदैलोसम्म पुग्ने थिएन र इथियोपियाले यति छिटो परिवर्तनको दौडमा आफूलाई दौडाउने आधार बनाउन सक्दैन थियो ।

अझ महत्त्वपूर्ण कुरा त विश्व बैंकको सहयोगमा रोजगार विकासको कार्यक्रम नै बृहत्रुपमा अघि बढाएको छ । त्यसअन्तर्गत ग्रामीण क्षेत्रका अदक्ष जनशक्तिलाई प्रत्यक्ष सहभागी गराएर सीप सिकाउने र साना तथा मध्यम खालका उत्पादनमुखी काममा लगाएर उत्पादनमा वृद्धि तथा जनताको आम्दानीको स्रोतको विकास गर्दै आएको छ । परिणामस्वरुप दातृ संस्थाहरुको सहयोग प्रत्यक्षरुपमा लक्षित वर्गसम्म पुग्न सकेको छ । नेपालमा जस्तो गोष्ठी तालिम भनेर गरिबका लागि आएको अनुदान फजुल खर्च गरेर टाठाबाठाले लुट्ने परम्पराको न्यूनीकरण भएको छ । 

गरिब देशमा दातृ निकायले विभिन्न स्वार्थ राखेर सहयोग गर्ने गरेका हुन्छन् तर त्यसको सदुपयोग कसरी गर्ने भन्ने राज्यको नीति, काम कारबाही र व्यवस्थापनमा निर्भर रहन्छ । यसलाई इथियोपियाले सहीरुपमा प्रयोग गर्दै आएको छ । कम्तीमा नेपालले इथियोपियाले जत्तिको जनताको आधारभूत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा काम गर्न सहयोगी संस्थालाई नियमन, अनुगमन गर्दै अभिप्रेरित गराउन सक्नुपर्छ । गैरसरकारी संस्थाका सञ्चालकले पनि तारे होटलको सेमिनारले जनताको चुल्होमा चामल पाक्दैन, सीप र दक्षता बढ्दैन भन्ने बुझ्दा बुझ्दै पनि गलत तस्बिर र तथ्यांका देखाएर लुट्ने काम गर्न छोड्नुपर्छ ।

तेस्रो पक्ष, कृषिमा निर्बाहमुखीबाट व्यवसायमुखीतर्फ अघि बढि सकेको छ इथियोपिया ।  ग्रामीण भेगको कृषिको विकासका निम्ति अहिले बजार विस्तार र निर्यातमा केन्द्रित भएको छ । नेपालजस्तै यो देशको जनसंख्याको ठूलो हिस्सा पनि कृषिमा आधारित भएर जीवनयापन गरिरहेको थियो । तर, निर्बाहमुखी कृषिलाई आधुनिकतातर्फ उन्मुख गराइसकेको छ । कृषिको उत्पादन र अन्य उत्पादनमूलक उद्योगबाट उत्पादित बस्तुले ढुवानीको समस्या बेहोर्न नपरोस् भनेर व्यापक सडक सञ्जाल विस्तारमा लगानी गरेको छ ।

नेपालमा जस्तो कृषि फार्ममा उत्पादन भएका वस्तु बजार नपाएर कुहिएर जाने र सडकको अभावमा ढुवानीको समस्या बेहोर्न पर्ने विवशताबाट मुक्त हुँदैछ । राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय सडक सञ्जाल विस्तारलाई समेत तीव्र गतिमा अघि बढाएको छ । यसले गर्दा मेगा प्रोजेक्टहरुमा लगानी गर्न ढुवानी सहजताका कारण पनि लगानीकर्ता उत्साहित भएको पाइन्छ । द्विपक्षीय तथा बहुपक्षीय लगानी संरक्षण सुनिश्चिततासम्बन्धी सम्झौता (विप्पा, मिगा) कागजीरुपमा नभई व्यावहारिकरुपमा कार्यान्वयन गर्न सकेकाले नै आज इथियोपिया विश्वका ठूला लगानीकर्ताको केन्द्र बन्दै गएको हो । इथियोपियाली उत्साहित छन् । नेतृत्व उच्च महत्त्वाकांक्षाका साथ अघि बढिरहेको छ । 

आजभन्दा सात दशकअघि नै आधुनिक विकासको जग हालेर विश्व रंगमञ्चमा पहिलो शक्ति हुन लागेको चीनसँग सिक्ने भन्दै जनतालाई भ्रममा राख्नुभन्दा नेपालजस्तै अवस्थामा रहेको इथियोपियाले डेढ दशकमा गरेको कायापलटबाट नेपालले सिक्नुपर्छ । हामीसँग मिल्दोजुल्दो अवस्थामा रहेको इथियोपियाले कस्तो कार्यशैली अपनाएको छ र कसरी काम गरेको छ भन्ने मनन गरे पुग्छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  १३:२९
प्रतिक्रिया दिनुहोस्