लिम्पीयाधुराको काखबाट बग्न सुरु गर्नेे महाकाली नदी अविरामरूपमा नेपाल र भारतलाई छुट्याउने महत्त्वपूर्ण रेखा बनेर सँधै प्रवाहित भइरहेकी छ । निक्कै टाढाको यात्रामा जानु परेझैँ दौडिरहेकी नदीको गतिको दृश्य सुन्दर देखिन्छ । तर, उसको यो वेग सबै क्रृतु र याममा एकैनासको हुँदैन । मान्छेमा हुने सबै संवेदना बोकेर हिँडेझै प्रत्येक याममा फरक फरक अनुहार लिएर प्रकट हुनु यो नदीको विशेषता हो । त्यसैले वर्षाको याममा बहाव बढी भएपछि मुटु नै छेड्ने गरी आक्रामक भएर हुत्तिइरहन्छे भने हिउँदमा केही शान्त भएर बगिरहन्छे ।
नेपाल र भारतका सिमानामा बग्ने यो नदीको आकार दार्चुलादेखि कञ्चनपुर पुगुन्जेल स्थानैपिच्छे फरकफरक छ । नेपालको दार्चुलाबाट भारतको धार्चुला एकै मिनटमा पुग्न सकिने माध्यम हो त्यसमाथि बनेको साँघुरो झुलुंगे पुल । नेपाल र भारत दुवै देशको यति नजिकैको अवस्थिति मैले देखेको पहिलो पटक हो । हेर्दा एकप्रकारको रोमांचकता अनुभूति गराइरहन्छ यस दृश्यले ।
दुवै देशको सिमानामा खुकुला गेटहरु निर्माण गरिएका छन् । बेलुका सातबजेदेखि बिहान सातबजेसम्म गेट बन्द गरिने कडा नियम छ । यो समय नाघिसकेपछि गेटबाट यात्रुलाई ओहोरदोहेर गर्न अनुमति दिँदैनन् । त्यसैले बेलुका सात बज्न आँट्दा गेट पार गर्न पैदल यात्रु तथा भरियाका गन्तव्यमा पुग्न खोजिरहेका दगुराइ कुनै प्रतिस्पर्धाभन्दा कम देखिँदैनन् ।
हिउँदको मौसममा शान्त र सौम्य र सुन्दर बनेर बगिरहेकी नदी, वर्षाको समयमा पत्यारै नलाग्ने गरी हुत्तिरहेको देख्दा लाग्छ – ऊभित्र रहेका बोझ, रिस र शक्ति एकै पटक प्रर्दशन गर्ने मौसम हो यो । यी सब प्रदर्शन गरिहँदा कतिले उसको रौद्ररूपको सिकार हुनुपर्छ भन्नेबारे सोच्दिन ऊ सायद । केही समयपछि पुनः आफूलाई शान्त पार्छे र बगिरहन्छे ।
महाकाली नदी वरपरका बासिन्दालाई नदीको गड्गडाहट सुन्दै सुत्ने बानी परिसकेको छ । तर, नयाँका लागि भने यसले निन्द्रामा अवरोध पार्ने रहेछ । ठूलाठूला चट्टानलाई छेड्दै बीचबाट कसरी फाटेकी होला यो नदी !
विसं २०७० सालको दार्चुलाको विनाशकारी बाढीका नमेटिने डोब यहाँ अहिले पनि देखिन्छन् । उराठलाग्ने सिरेटाहरुबीच लम्पसार परेका दयनीय अवस्था सन्चो नहुने खतका रुपमा महाकालीले चट्टानझै बनाइदिएर गएकी छे । तर मानवीय संवेदनासँग कुनै सरोकार नराख्दै आफू मजाले बगिरहेको भान हुन्छ । महाकाली नदीले दिएको दुःखबाट आफ्ना आफन्त, घरबारी, बाँच्ने आधारहरु देख्न नसकिरहेका आँखा अहिलेसम्म ओभानो हुन सकिरहेका छैनन् । कति मानिसका दैनिकी धान्न आवश्यक खेतहरु वालुवामा परिणत भएर बेपत्ता भए । उनीहरु हातमुख जोर्न पनि गारो अवस्थाबाट गुज्रिरहेका सजीव कथाहरु यहाँ सुन्न र देख्न पाइन्छ । धेरैले परिवारका सदस्य सँधैका लागि गुमाए । यी सब दार्चुलाका पीडाहरु थिए भने धार्चुलाका पनि “दर्दहरु” ।
धार्चुला र दार्चुला सीमाको अवस्थिति ठ्याक्कै उस्तै भए पनि महाकाली नदीको रोषलाई थेग्न सक्ने बलिया बाँधहरु भारत सरकारले धार्चुलामा निर्माण गरेका कारण यस नदीले दार्चुलालाई दिने पीडा धार्चुलाको भन्दा बढी हुन्छ । त्यसैले एक मिनटमा वारपार गर्न सकिने धार्चुलामा महाकालीले यति ताण्डव मचाउन पाउँदिन । आफू पूर्ववत् अवतारमा फर्के पनि उसको चपेटामा परेका मानिसभने ऊजस्तै पुनः उही रूपमा फर्कन सक्तैनन् ।
यो नदी यसैगरी बग्दैबग्दै बैतडी पुग्छे । यहाँ झनै डरलाग्ने चट्टानका काखबाट बगिरहेकी देखिन्छे । त्यसैले यसको परिवर्तित स्वरुपमा बगेकी छे । यहाँ पनि लगभग सानो झोलुंगे पुललाई साक्षी राख्दै सदियौंदेखि जुलाघाट र झुलाघाटबीच सौहार्दपूर्ण सम्बन्धमा गाँस्न मद्दत पुर्याइरहेकी छे । जुलाघाट र झुलाघाटबीचका विशाल चट्टानमा खेल्न पाउँछे तर दार्चुलाको जस्तो ताण्डव मचाउन उसलाई यहाँका चट्टानले अनुमति दिएका छैनन् ।
चट्टानका मध्यभागमा सीमित रहेर अगााडि गइरहेकी देखिन्छे । त्यसैले यस्को सास्ती बैतडीका बासिन्दाले खेप्न परेको छैन । यहाँ पनि दुवै देशलाई दार्चुलामा जस्तै झोलुंगे पुलले जोडेको छ । नदीमाथि बनेका यी पुलहरुले नेपाल र भारतबीच कतिपय साइनो गाँस्नमा सहायता गरेका छन् । वारिपारि विवाह गर्ने, शिक्षा आर्जन गर्न भारतको पिथौरागढ जान सहज बनाउने काम महाकाली नदीमाथि बनेको झोलुंगेले गरेको छ । सुगौली सन्धिले यहाँ कुनै फरक परेको छैन भन्ने प्रमाण दुवै देशबीचका आपसी सम्बन्धले देखाइरहेको छ ।
सुदूरपश्चिमका अन्य पहाडी भेगभन्दा बैतडीका बासिन्दा धेरै पहिलेदेखि नै भारतका निकतवर्ती स्थानमा गएर शिक्षा आर्जन गर्ने गरेका थिए । यहाँको वारिपारिका बासिन्दाको बलिया सम्बन्ध खुकुला पुलले मजबुत बनाएको हो । लाग्छ, यी स्थान जुम्ल्याहा हुन् । त्यसैले नामका पहिला अक्षरमात्र फरक छन् बैतडीमा ‘जु’ र ‘झु’ अनि दार्चुलामा ‘दा’ र ‘धा’ । तर देशको अर्थिक, सामाजिक, शैक्षिक अवस्था हेर्दा भने दुवै स्थानका मानिसको जीवनस्तरबाट फरक देखिन्छ । जुलाघाटको वारिबाट भारतीय बाटोमाससाना लिलिपुट अवतारमा देखिने जीप फ्याट्फुट्ट हुइँकिइरहेका देखिन्छन् । भिरैभिरको पहाडमा दौडिएका गाडी तल खसेको खण्डमा आधा सासमै महाकालीले निल्छे होला !
महाकालीको यो वेगवान् रूप तल तराईमा झर्दा कञ्चनपुरको ब्रम्हदेवमा परिणत भएको छ । ब्रम्हदेवबाट देखिने महाकाली नदीको स्वरूपले मन असहज बनाउँछ । महाकाली नदी र टनकपुर शब्द कुनै समयमा नेपालको राजनीतिका परिवेशमा निक्कै सुनिने शब्द थियो । यहाँ प्राकृतिकरूपमा बहिरहेको नदीको बहावलाई सानो कुलालाई अन्तै मोडेसरह नदीको बाटोनै मोडेर भारतले आफूतर्फ लगेको छ ।
ब्रम्हदेवमा महाकाली नदीमाथि बनाइएका बाँधबाट भारतले प्रशस्त फाइदा लिइरहेको देखिन्छ । नेपाली नेतृत्वको लाचारीपना होस् वा स्वार्थ जेसुकै भए पनि यो नदी टनकपुरमा आइपुगेपछि खुसी देखिँदैन । यहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले नेपालीप्रति गर्ने हेपाहा व्यवहारले नेपाल र नेपाली भूमीप्रति उनिहरूको रवैया सकारात्मक छैन भन्ने दर्शाइरहेको हुन्छ ।
ऊ अझै अगााडि बढ्छे । यो नदी पारिका नेपाली गाउँहरू दोधारा चाँदनीका र वारिका गाउँलाई वर्षामा आफ्नो ताण्डवको सिकार बनाउनु यसको नियम जस्तै भएको छ । यसले निम्त्याउने बर्बादीहरु प्रत्येक वर्ष दोहोरिरहन्छन् । मसिनो धर्सो बनेर न्याउरो मुख लगाएर नेपालका गाउँमा अलिअलि छिरिरहेकी हाम्री महाकाली नदी भारतमा शाारदा बनेर बगिरहेको देख्नपर्छ ।
हिउँदमा खेतीमा सिंचाइका लागि आवश्यक पानी नै नपाउने गरी यसलाई आफ्नै गतिमा अघि बढ्न दिइँदैन । किनभने भारतले सबै आवश्यक पानी आफुतर्फ पानी तानिदिन्छ । तर, वर्षाको समयमा भने प्रचण्ड भेलसहित नेपालमै पठाइन्छ । जसका कारण यसको रौद्र स्वरूपले कतिका जीवन र जिउने आधार एकै झोँकमा खत्र्याकखुत्रुक हुन्छन् । महाकालीले कञ्चनपुरमा आफ्ना नजिकका गाउँबस्ती उजाड बालुवामा परिणत गरेर छाडिदिन्छे । घरखेत सबै निमेषमै समाप्त हुन्छन् । यसलाई रोक्ने स्थायी उपाय यहाँको प्रमुख आवश्यकता हो ।
महाकाली नदी अविरल रुपमा बगिरहेकी छे र गंगामा गएर मिसिन्छे । यहाँ मिसिनुपूर्व आफ्नो छाप भिन्नै प्रकारले छाड्दै गएकी हुन्छे । नेपालका लागि यो ज्यादै महत्वपूर्ण नदी हो । तर, यसको उपयोगलाई त परै जाओस् यसले निम्त्याउने जोखिमलाई समेत नेपालले कम गर्न सकेकोे छैन । खेतीमा आकाशे पानीमा निर्भर हाम्रो मुलुकले सिंचाइका लागि समेत उपयोगमा ल्याउन सकिरहेको छैन । सायद केही फरक पर्र्दैन महाकालीलाई । त्यसैले त यो नदी सधैँ अविरल बगिरहेकी छे ।
(स्थानीय भाषिकामा जस्तै नदीलाई स्त्री लिंगी क्रियापदको एक वचन प्रयोग गरिएको छ ।)