चितवन । पश्चिम चितवनको मेघौलीमा पांँचसय बिघा क्षेत्रफलमा बन्न लागेको राइनो पार्कको शिलान्यास गरिएको छ ।
पर्यटनमा विविधता ल्याउन र त्यसको प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले प्रदेश सरकारको पहलमा राइनो पार्क निर्माण हुन लागेको हो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पार्कको मंगलबार शिलान्यास गरे । भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ चितवनको मेघौलीमा करिब २३ करोडको लगानीमा राइनो पार्क निर्माण हुने भएको हो ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशको योजना अन्तर्गत मेघौलीको पर्यापर्यटन र जैविक विविधिता झल्किने गरी राइनो पार्कको निर्माण गर्न लागिएको बताए । प्रदेश सरकारको पहलमा यस वर्ष ३ करोड लगानीमा गैंडाको मूर्ति बनाइने उनले जानकारी दिए । प्रदेश ३ का १० वटा उत्कृष्ट पर्यटकीय गन्तव्य मध्ये मेघौली पहिलो गन्तव्य बनेको बताउंँदै उनले स्थानीय सरकारले पनि पर्यटन विकासका लागि लगानी गर्नुपर्ने बताए । चितवन पर्यापर्यटन, जलपर्यटन र धार्मिक पर्यटनको सम्भावनाको जिल्ला भएको बताउंँदै उनले नयांँ अवधारणा अनुसार एकीकृत पर्यटन विकास गर्नुपर्ने बताए । देशलाई समृद्ध तर्फ अघि लैजान कृषि र पर्यटनमा अधिकतम लगानी गर्नुपर्ने उनको भनाइ छ ।
प्रदेश सांसद कृष्ण भूर्तेलले प्रदेश सरकारको योजना अन्तर्गत चारवटा सामुदायिक वन मिलाएर करिब ५ सय बिघा क्षेत्रफलमा राइनो पार्क बनाइन लागिएको जानकारी दिए । उनका अनुसार यस ३० फिट अग्लो मूर्तिभित्र रेष्टुरन्ट निर्माण गरिनेछ । देशमै पर्यटनमा अलग पहिचान दिने उद्देश्यले यो अवधारणा ल्याइएको उनले बताए ।
उक्त योजनाअनुसार राइनोपार्कमा पर्यटन सूचना केन्द्र, जैविक विविधता अध्ययन केन्द्र, भ्यू टावर, चिल्डेन पार्क लगायतका संरचना निर्माण गरिनेछ । यसका लागि डीपीआरको काम पूरा भइसकेको छ । यसका लागि गत वर्ष प्रदेश नम्बर ३ को भौतिक तथा योजना मन्त्रालयले यसका लागि ५० लाख खर्च छुट्याइएको थियो । यसका लागि संघ र स्थानीय सरकारसंँग थप बजेटको माग गरिने भूर्तेलले बताए ।
उनका अनुसार पर्यटकले जंगलसफारीको अनुभव रहनेगरी १० फिटको अग्लो फलामे पुलबाट वन्यजन्तु अवलोकन गर्न सक्नेछन् । सो अवसरमा बोल्दै भरतपुर महानगरपालिका पर्यटन समितिका सल्लाहकार विश्व सुवेदीले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै महानगरले ३२ वटा कार्यातालिका सार्वजनिक गरिएको बताए । जसअनुसार भरतपुर महानगरपालिकामा मात्रै २७ वटा पर्यटकीय गन्तव्य छनोट गरिएको छ ।