विदेश बस्नुको पीडा पनि गजबको छ । कतै भनौ आफैँले रोजेको बाटो न भनौं पोल्छ आफैँलाई घरीघरी । कतै झुक्किएर केही खुस्किहाल्यो भने एकथरी मायाले भन्छन् - “यतै आउनुहोस्, मिलेर बसौंला।" यतिसम्म त ठीकै छ । आफूलाई पनि लाग्छ माया गर्नेहरू पनि छन् । कोही सहानुभूति देखाउँछन् । अर्कोथरी प्याच्च भन्छन् देश छोडेको ठूलै अपराध हो झैँ गरी । दश दिनसम्म रन्थन्याउँछ दिमाग । लाग्छ “त्यतिसम्म नभने पनि त हुने” । तर अरूलाई रोक्न पनि त नसकिने !
“हाम्रो गाउँको विदेशमा बस्नेहरूले चिन्ता नगरे हुन्छ” – गाउँ सम्झेर लेखेको एउटा कवितामा मैले नचिनेको गाउँले भाइले फेसबुकमा लेखे । एक मनले लाग्यो, नचिनेको यसरी हेप्ने मान्छेलाई - “अनफ्रेन्ड” गरिदिऊँ । केही नगरेर ठट्टाको शैलीमा सोधेँ - “माया गर्न त पाइएला नि?” उनले निर्धक्क लेखे - “त्यो त ठीक छ” । आफूभित्रको आक्रोश त्यही अलिकति भए पनि दिएको सान्त्वनाले पखालेँ । हरे ! आफ्नो गाउँको माया गर्न पनि पो नपाइने स्थितिमा पुगिएछ । आफूप्रति दया गरौँ या त्यो नमीठो अभिव्यक्ति दिनेप्रति ?
आज बिहानै उठेँ, हात मुख धोएँ । पत्नी अफिस जाने तयारी, छोरी स्कुल जाने । सबैतिर हतार थियो, आफूले पनि टप्प हतारहतार चारो टिपेर लागेँ कलेजतिर । बाटोमा गाउँ सम्झिएँ । किन भन्नुहोला बाटोमा केही राम्रो देखे पनि सम्झिइन्छ र नराम्रो केही देखे पनि सम्झिइन्छ गाउँ । चिल्लो, राम्रो बाटो देखे – आहा आफ्नो गाउँमा यस्तै भैदिए हुने भन्ने लाग्छ । नराम्रो केही देख्दा पनि गाउँ सम्झिन्छ । देश छोडेर जानेहरू धेरै सायद देशको मायै मारेर जानेमा गनिन्छन् । विडम्बना सबैभन्दा धेरै देश सम्झने, माया गर्नेहरू सायद उनीहरू नै हुन्छन् ।
भेटघाट हुन्छ साथीहरूसँग, कुराकानी हुन्छ कलेजमा । उनीहरू आफ्ना कुरा गर्दै हाँस्दै गर्छन् । म कहिले बुझेर हाँस्छु र कहिले नबुझेर हाँस्छु । हरेक पटक हाँस्दा गाउँ सम्झिन्छु ।
क्यानडामा आएपछि सुरुका काममा जाँदाका दिनहरू सम्झिएँ । आफूले बोल्दा अरूले नबुझ्ने, अरूले बोल्दा आफूले नबुझ्ने त कति कति । त्यो बेला एक्लै टेबुलमा बसेर खाँदा के के सम्झिएँ के के । कहिले आमा सम्झिएँ, कहिले घर, कहिले साथीहरू, कहिले गाउँ । मैले नसम्झिएको सायद केही थिएन त्यति बेला । कल्पना गर्थेँ, टेबुलभर चिनेका आफ्नै साथीहरू भइदिए गफ गर्दै खानुको मजा बेग्लै हुन्थ्यो होला । त्यस्ता कतिपय चिजहरू त विदेशिँदा सबै उतै छुटेछन् । अहिले किस्ता किस्तामा सम्झनामा आइरहन्छन् ।
मेरा बा दस वर्ष जति यता आएर बस्नु भो । दुई वर्ष आमासँगै हुनुहुन्थ्यो र आमा बितेपछि एक्लै । अहिले ९४ वर्षको पुग्नु भो र दुई वर्षदेखि नेपालमै बसिरहनु भएको छ । गुनगुनाई रहनुहुन्थ्यो के के कोठामा । म जिस्किएर भन्थें - “के बरबराउनु हुन्छ एक्लै एक्लै?” उहाँको सरल जबाफ हुन्थ्यो - “ त्यसै कुरा गर्छु क्या भित्तासँग ” बूढो हुनु भो त्यसैले होला भनेर सोच्थें म । के भन्नुहुन्थ्यो, कसलाई सम्झेर कुरा हुन्थ्यो, कस्तो लाग्थ्यो – मैले कहिल्यै बुझ्ने प्रयत्न गरिन । बरु बूढो भएर बरबराएको भनेर टारिदिन्थेँ ।
पहिले गाउँमा छँदा घरमा मान्छे आएको त्यति मन पर्दैनथ्यो बालाई । मान्छे धेरै आउँदा, खाना खुवाउनु पर्दा वा यस्तै केही कुरामा आमाबाको झगडा नै पर्थ्यो । यता आएपछि भने घरमा मान्छे बोलाउँदा बा औधी खुसी हुने । कसैको घरमा खानामा बोलाउँदा पनि त्यस्तै खुसी । कहिले काहिँ हामीलाई मात्रै बोलाएको ठाउँमा हामीमात्र गएर राति घरमा आउँदा ठुस्स परेको बाको अनुहार हेर्न लायक हुन्थ्यो केही बेर । बच्चाजस्तै गर्नुहुन्थ्यो । झर्कोफर्को चल्थ्यो -“ बुढा रिसाएछन् आज” भनेर हामी अर्कोतिर लाग्थ्यौँ ।
घरमा कोही आउँदा होस् या बाहिर जाँदा होस् बाको हतार हेर्न लायक हुन्थ्यो । पहिल्यै तयार । निस्किँदा पहिल्यै जुत्ता लाएर बाहिर र कोही आउँदा घरमै बैठक कोठामा तयार । भेट हुन पाएको छैन कहिले कहिलेका र कहाँ कहाँका कुराको सुरु । अरूले बुझेका छन् कि छैनन्, वास्ता गरेका छन् कि छैनन् बालाई केही मतलब हुँदैनथ्यो । साथीहरू बुझे पनि नबुझे पनि बालाई खुसी बनाउन सुनि दिन्थे बाका कुरा । धेरै पटक त सम्झाउनुपर्थ्यो बालाई कुरा छोट्याउन ।
अहिले भने बल्ल थाहा हुन थालेको छ मलाई बाका ती बानीहरूको रहस्य । हामी अहिले क्यानाडाको एउटा सानो सहरमा छौँ । हामीबाहेक अर्को एउटामात्र नेपाली परिवार छ यहाँ । बोल्न पुग्दैन । बोलिरहन मन लाग्छ । कहिले काहीँ रातिसम्म कुरा गरेको गर्यै गर्दा भोलिपल्ट काममा जानुपर्ने पत्नी अप्ठ्यारो मानीमानी कुरा गरेको देख्दा लाग्छ – अब बाजस्तै भएछु म । झन् सानी छोरीले घरी घरी बाजस्तै लाग्नेगरी बूढो भएको भनेर सम्झाई रहन्छे । बाजस्तै लाग्दा आफूले फेरि गाउँ सम्झिन्छु ।
उता बस्नेहरूले के देख्छन् कुन्नि गाउँमा, कति सम्झिन्छन् होला गाउँ कुन्नि यता पानी पर्दा पनि गाउँको याद आउँछ, घाम लाग्दा पनि । भोकै बस्दा पनि गाउँको याद आउँछ, टन्न अघाउँदा पनि । उठ्दा, सुत्दा पनि सम्झिन्छ र हिँड्दा, उभिँदा पनि सम्झिन्छ ।
अधिकांश हामी विदेशिएकाहरु बिहान एकपटक इन्टरनेटमा नेपाल चाहर्छौं । बिहान पत्रिकामा, फेस बुक, टुईटरमा र साँझ यु टुब, फोन, म्यासेन्जरमा । छोराछोरीको अनुहार हेर्यो, त्यही गाउँ आउँछ । आफ्नो पाक्दै गरेको उमेर हेर्यो - त्यही गाउँ । बाबुआमा र आफन्त सम्झियो, त्यही गाउँ । हरेक घटना, हरेक याद संस्मरण, हरेक सपना कल्पना उतै जोडिएका छन् । कहिले त लाग्छ सबैभन्दा धेरै जीवनका अनगिन्ती मीठा क्षणहरूबाट वञ्चित हुने हामी विदेशिएका नै हौँ, अझ मानसिक सुखमा । बूढो हुँदै जाँदा मान्छेहरूको चाउरिएको अनुहारमा पनि कल्पनै कल्पनाले गाउँको नक्सा नै पो बन्दो हो कि ! अक्कलझुक्कल देखिने बूढा जापानीहरूको चाउरिएको अनुहार हेरेर म यस्तै सम्झिन्छु कहिले कहीँ ।
अस्ति भर्खर एकजना दाई (काकाको छोरा) ४० वर्षपछि घर फर्किनु भएछ भारतबाट । भतिजोले फेस बुकमा फोटो राख्यो । अत्यन्त खुसी लाग्यो । उहाँ फर्किने गरेर आउनु भयो या नफर्किने गरेर – केही थाहा छैन । हामी सानो छँदा हिँडेका ती दाइ । अन्तिम साससम्म छोरो पर्खिएर केही नलागेपछि बिदा भएकी उनकी आमा र यति लामो समयपछि घर फर्किँदा उनको अनुहारमा बनेका चाउरीहरू मेरो दिमागमा घरीघरी आए । दाइको अनुहारमा मैले गाउँको नक्सा, आमाको आकृति र फर्किन नसकेका अनगिन्ती बाधाहरू देखेँ – त्यसभित्र सिङ्गो आफैँलाई पनि देखेँ ।
छोड्न सजिलो छ गाउँ । सजिलै तान्छन् बहिरका रङ्गीन कल्पनाले । तर, बिर्सन अत्यन्त गाह्रो पनि छ । मलाई केही आफन्तहरू फर्केर आउने सल्लाह दिन्छन् । राम्रो लाग्छ – सकेदेखि त मैले चाहेको पनि त्यही हो । तर, उनीहरू आफैँ रुकुमको सुन्दर गाउँ चौरजहारी, अहिले त नगरपालिका भइसकेको छ, छोडेर कोही नेपालगन्जमा त कोही काठमाडौंमा बस्छन् । त्यहाँबाट गाउँ फर्किने उनीहरूको सोच मेरोभन्दा कमजोर छ । मेरो जति पनि उनीहरूको गाउँ फर्किने सम्भावना देख्दिन म त । मजस्तै उनीहरू पनि गाउँ सम्झिँला हुन् । मात्र १९, २० को फरक होला । मेरो अनुहारमा भोलि गाउँको गाढा नक्सा बन्दा उनीहरूकोमा पनि त्यस्तै तर अलि मधुरो नक्सा त पक्कै बन्नेछ भन्ने मलाई लाग्छ ।
कुरा गाउँ छोड्नु, देश छोड्नुको मात्रै भन्दा खण्डित भएर बाँच्नुको हो । सीमा भित्रै बसौँ या बाहिर - थलो छोडेर बस्नुको पीडा उस्तै हुन्छ । रहरहरू पछ्याउँदा पछ्याउँदै, सपनाहरू सजाउँदा सजाउँदै, अवसरहरू खोज्दा खोज्दै फर्किन गाह्रो हुने गरेर पाइलाहरूले दूरी नापेको थाहै नहुने रहेछ । टुक्रा टुक्रामा खण्डित अनुभूतिहरूले घचघच्याएपछि झल्याँस्स हुने । पखेटा नहालेको भए उडेर माथिमाथि जोखिमको उडान भन्दा तलकै बामे सराइमा पो वास्तविक सुख हुन्थ्यो कि ? कमसेकम आमाले भेट्ने दूरीमा त भइन्थ्यो । माटोको स्पर्श त रहिरहन्थ्यो !
उँडी नसकेकालाई त अझै सोच्ने समय छ !
(टिमिन्स, क्यानडा)