site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
अमेरिकामा मेरो पहिलो जागिर: एक अविस्मरणीय अनुभव 

नेपालबाट अमेरिका आएको भर्खरै ६ साता पुगेको थियो । यो सन् २०१३ साल हिउँदको कुरा थियो । 

म बोस्टनको ब्राइटन एभेनुन्युतिर साथी अनिल (नाम परिवर्तन) सँगै काम खोज्ने सिलसिलामा भौंतारिइरहेको थिऍ । साथी मभन्दा दुई महिनाअघि मात्र अमेरिका आएको थियो ।  

सँगै हिँड्दै गर्दा अनिलले भन्यो - "राम, मैले आजकल गरिरहेको काम त दोस्रो हो नि, थाहा छ तिमीलाई ?  पहिलो काम त नसकेर सुरु गरेको केही दिनमै छाडिदिऍ ।" उसले भन्यो - "यतातिर काम टन्नै पाइन्छ  । आत्तिनु पर्दैन ।"

KFC Island Ad
NIC Asia

त्यसो त अमेरिका आएको केहीदिनमै मैले पनि एउटा ग्रोसरी पसलमा काम नपाएको होइन ।  तर, यो कुरा मैले अनिलबाट लुकाएको थिऍ । त्यस ग्रोसरी पसलको मालिकले तेस्रो दिनमै मलाई कामबाट निकालिदिएको थियो । सायद, उसले अनुमान लगाइसकेको थियो मैले क्यास रजिस्टर र लोटरी मेसिन उसले सोचेजस्तो छिटो र राम्रोसँग सिक्न सक्तिन । "तपाईँ भोलिदेखि काममा नआउनुस् । अहिले नयाँ कामदार हायर नगर्ने विचार गरेँ मैले" - उसले भनेको थियो । 

वास्तवमा अमेरिका आउनुअघि अनिल र मबीच हुने गरेका महत्त्वाकांक्षी कुराकानीले अहिले भने हामीलाई एक अर्कादेखि खुलेर नबोल्ने बनाएको थियो । अर्थात्, हामी दुई कामबाट हायर र फायर भएका कुरा एक अर्कालाई सजिलै भन्दैनथ्यौँ ।  

Royal Enfield Island Ad

अहिले म कामको खोजीमा थिऍ । घरबाट ल्याएको पैसा पनि सकिँदै थियो ।    

"यसमा ट्राई मार्ने हो त?" हिँड्दै गर्दा छेवैको रेस्टुराँतिर देखाउदै अनिलले भन्यो । त्यो इन्डियन रेस्टुराँ थियो । "अघि मैले काम गरेर छाडें भनेको ठाउँ यही हो नि," -ढोकाको छेवैमा पुगेपछि अनिलले कुरा खोल्यो ।   

"ए, काम चाहिँ कति समय गर्यौ त यहाँ ?" मैले सोधें । "चार दिन," उसले उत्तर दियो । केहीबेर हामी त्यो रेस्टुरेन्टको ढोकानिर अलमलिएजस्तो गरेर उभिईरहेका थियौं ।     

यत्तिकैमा अनिलले मलाई ढोकाबाट भित्र धकेलिदियो । र आफुचाहिँ बाहिरै अलि पल्तिर बस्यो, भित्रबाट नदेखिने गरेर ।  

"आर यु हायरिंग?" एक्कासी काउन्टर अगाडी पुग्नासाथ काउन्टरभित्रै प्रखुल्ल मुद्रामा उभिइरहेको मानिसलाई मैले सोधें । उसले मलाई अगाडीको खाली कुर्सीतिर संकेत गर्यो ।    

म कुर्सीमा गएर बसें ।  

कसैले मलाई एक कप चिया ल्याइदियो । यो चिया मेरो लागि काम पाउने शुभसंकेत थियो ।     

केहीबेरमा त्यो मानिसले मलाई काउन्टर पछाडि बोलायो । सेतो कमिज, कालो पाइण्ट, कालै जुत्ता र टाई लगाएको ऊ भलादमी देखिन्थ्यो । पक्कै पनी म्यानेजर या मालिक हुनुपर्छ, मैले अनुमान लगाऍ । मैले छोटकरीमा आफ्नो परिचय दिऍ । उसले घरमा के काम गर्नुहुन्थ्यो भनेर सोध्यो ।  

घरमा जतिसुकै र जुनसुकै काम गरेपनि अमेरिका आएपछि त्यसको दम्भ देखाएर काम छैन भन्ने कुरा मैले अमेरिका आइसकेका नेपाली दाजुभाईबाट पटक पटक सुनेको थिऍ  । अमेरिका आएर नेपालमा यस्तो थिऍ र उस्तो थिए भनी घमण्ड गर्नु बेक्कार हो, उनीहरू भन्थे । 

"नेपालमा मैले खेतीपाती गर्थें । तरकारी उत्पादन गर्थें," मैले भनें, "रेस्टुरेन्टको काम र खेतीपातीको काम दुबैको लागि कडा मेहनत गर्नु पर्छ नि होइन?" मैले आफुलाई रेस्टुरेन्टमा काम पाउनका लागि योग्य सावित गर्न खोज्दै थिऍ ।  

त्यसपछि ऊ खुसी देखियो र मलाई भोलिदेखि नै काममा आउन भन्यो । "गुड, भोलिदेखि सेतो कमिज, कालो जुत्ता र कालो पाइण्ट लगाएर काममा आउनु ।" यति भनेर ऊ काउन्टरभित्रै छिर्यो । उसलाई धन्यवाद दिदैं म त्यहाँबाट बाहिरिऍ ।  

मैले साथी अनिललाई फोन गरेँ । उसले मलाई हार्वार्ड याभेन्यु नजिकैको ट्रेन स्टेसननिर कुरिरहेको रहेछ । मैले रेस्टुरेन्टमा काम मिलेको कुरा सुनाऍ । त्यसपछि मैले अनिललाई उसको त्यहाँ काम गर्दाको अनुभव सोधें । "ओहो कुरै नगरम," उसले भन्यो, "काम गर्न गारो भएको बेलामा त कति पटक बाथरुम गऍ गऍ । र ऐना हेर्दै रोऍ ।" उसले 'ऐना हेर्दै रोऍ' भन्दा म बेस्सरी हासें ।  

भोलिपल्ट म काममा हाजिर भऍ  ।  

रेस्टुरेन्टको मालिकले मलाई केहीबेर काउण्टरको छेवैमा उभिएर अरुले कसरी काम गर्छन् त्यो हेर्न भन्यो । उनीहरूले पाहुनाको सत्कार गरेको, खानाको अर्डर लिएको, टेबलमा खाना पुर्याएको, खाइसकेका प्लेटहरू उठाएको र टेबल सफा गरेको सबै ध्यान दिएर हेरें ।    

केहीबेरमा रेस्टुरेन्ट मालिकले मलाई काउण्टरको पछाडी बोलायो, र भन्यो, "तिमीले लगाएको यो छ नि, यो सेतो कमिज भएन । यो त निक्खर सेतो हुनुपर्छ ।" म पश्चात्ताप मानेझैं गरेर उभिरहे, टाउको झुकाउँदै । "अनि यी जुत्ता पनि कालो लगाउनु पर्छ, बुझ्यौ? यसले प्रोफेसनल देखाउँछ," उसले अगाडी थप्यो ।    
ऊ मसंग कुरा गर्दै गर्दा एक वेटरले मलाई एक जोर पुराना जुत्ता ल्याइदियो । "ल तिम्रा जुत्ता फुकाल अनि यी चाहिँ लगाऊ," उसले भन्यो । जुत्ता फेर्दै गर्दा मैले अरुको खुट्टाको जुत्ता लगाउनु हुन्न भन्ने प्रचलित नेपाली विस्वास सम्झिएं ।  

 

अब म काउण्टरतिरै लागेँ ।  

टेबल सफा गर्ने बेला भएको रहेछ । मभन्दा उमेरले धेरै कान्छो देखिने बंगाली वेटरले मलाई जुठा प्लेट र अन्य भाँडा कसरी ट्रेमा मिलाएर राख्ने भनी सिकायो । केहीबेर म दुई हात पछाडि बाँध्दै चुपचाप् उसले गरेको हेरिरहेँ । त्यसपछि ऊ प्लेट, गिलाँस र कपहरूले भरिएको ट्रे लिएर उभ्भियो र अरु दुई टेबलतिर संकेत गर्दै त्यहाँबाट हिंड्यो ।  

पहिलो टेबलमा एक दुई प्लेट र गिलाँस मात्र थिए ।  

प्लेट र गिलाँसहरू दोस्रो टेबलमा भने अलि बढी नै थिए । मैले झन्नै सानो-तिनो नान्ग्लो आकारको ट्रेलाई आफ्ना हत्केलामा अड्याऍ र सबभन्दा पहिला चारवटा ठुला प्लेटहरूलाई एकमाथी अर्को गरी खप्ट्याऍ  । अनि ती माथी साना प्लेटहरू मिलाएर राखेँ । पानीका तीनवटा खाली गिलाँस प्लेटका वरिपरि राखेँ । एउटा गिलाँसमा आधा पानी थियो । हत्केलाको ट्रे अलिक माथी उठाउँदा थोरै असन्तुलित भयो । जब म त्यहाँबाट हिंड्न थालें, ट्रे पुरै असन्तुलित भयो र मैले मिलाएर राखेका जम्मै प्लेट र गिलाँस गर्ल्यामगुर्लुम भुँईमा खसे, र फुटे ।  

एक्कासी आएको आवाजले छेवैको टेबलमा खाँदै गरेकी महिला झस्किएर चिच्याई । त्यसपछि केहीबेर त्यहाँ सन्नाटा छायो । मैले वरिपरि हेरें । सबैले मैलाई हेरिरहेका थिए । मैले काउण्टरको मालिकलाई हेरें । उसले हँसिलो मुद्रामा सिधै मलाई हेरिरहेको थियो ।  

एक किसिमको अपराधबोधले म रित्तो ट्रे लिएर केहीबेर ठिङ्ग ऊभिरहेँ । मेरो वरिपरि सबै कुरा घुमिरहेजस्तो लाग्यो । केहीबेर त के गर्ने भन्ने मेसो नपाउँदा मैले फुटेका काँचका टुक्रा नाङ्गो हातैले टिप्न थालें । काउन्टरबाट म्यानेजर चाहिँले मलाई हिन्दीमा चिच्यायो । अनि तुरुन्तै काँचका टुक्रा टिप्न बन्द गरें  । केहीबेरमै त्यो बंगाली वेटर ब्रूम र डस्टप्यान लिएर आयो र भुइँ सफा गर्न थाल्यो ।  

तेस्रो दिनमा पनि यस्तै अर्को घटना घट्यो । रेस्टुरेन्ट गेस्टहरूले भरिएको थियो । व्यस्तताले कामदारहरूबीच एक किसिमको भागदौड जस्तै चलेको थियो । काउण्टरको छेऊबाट आउँदै गर्दा मैले लिएको ट्रेले काउण्टरमाथि बलिरहेका बत्तिका झुत्ताहरूलाई  हिर्कायो । बत्तीहरू टर्ल्यांग-टुर्लुङ्ग गर्दै एक अर्कामा ठोक्किए । कस्सो फ़ुटेनन् । यस पटक भने रेस्टुरेन्टको मालिक मेरो काननिरै आयो र भन्यो, "अब पनि यस्तो गल्ती गरिस् भने तँलाई म कामबाट फायर गर्छु । लागेको खर्च तेरो पे चेकबाट कटाउछु, बुझिस?" 

रेस्टुरेन्ट आउने बित्तिकैको मेरो पहिलो काम ढोकाछेउको शिशा र ट्वाइलेटको ऐना सफा गर्ने हुन्न्थ्यो । त्यसपछि न्याप्किनलाई फुलको आकारमा फोल्डिङ्ग गरेर टेबलमा राख्नुपर्थ्यो र अचारका कप भर्नुपर्दथ्यो । ट्वाइलेटको ऐना सफा गर्ने बेलामा भने म अनिललाई सम्झन्थें । ऊ ऐना हेर्दै रोएको सम्झन्थें ।      

त्यो रेस्टुरेन्टमा काम गर्ने एकजना नेपाली पनी थिए जो बेला बेलामा मलाई आफ्ना अमेरिकी अनुभव सुनाउँदथे  । आफुले नेपालमा गरेको वा गर्दै आएको काम  बिर्सन सकियो भने मात्र यहाँको काम रमाएर गर्न सकिन्छ भन्दथे । "हुन त मानिसहरू अमेरिकामा जिवन शून्यबाट सुरु हुञ्छ भन्छन, तर मेरो बिचारमा अमेरिकामा जीवन शून्यबाट होइन, माईनसबाट सुरु हुन्छ," एकपटक उनले भने । म उनीतिर हेर्दै वाल्ल परें । "साँच्चै भनेको, पहिल्यै जानेको-भोगेको कुरा बिर्सुनुपरेपछि लाईफ माइनसबाट सुरु गरेको भएन त?" उनले थपे ।  

त्यसपछि त्यहाँ त्यही बंगाली वेटर थियो जो टुटेफुटेको अंग्रेजीमा कुरा गर्दथ्यो । त्यसो त कतिपय कस्टुमरले मैले बोलेको पनी बुझ्दैनथे । त्यो बंगाली वेटरसंग मेरो दिनहुँजस्तो झगडा परिरहन्थ्यो । कारण ऊ मलाई काउण्टरबाट रेस्टुरेन्ट मालिक र म्यानेजरले सुन्ने गरेर काम गराउँथ्यो हिन्दीमा । "भाईसाब, त्यो टेबल सफा गर र मेरो पछि आइज । तल गएर अचारको बाल्टी ल्याउनु छ," उसले भन्थ्यो । तर कुनै अमेरिकी कस्टुमरले उसंग केही नयाँ कुरा सोध्यो भने ऊ खुसुक्क म छेउ आउंथ्यो र त्यतातिर जान अनुरोध गर्दथ्यो ।    

यसभन्दा बढी त ऊ टेबल सफा गर्ने बेलामा ट्वाइलेटभित्र छिर्दथ्यो र काम फत्ते भएपछी मात्र निस्कन्थ्यो । राती करीब एघार बजेतिर भुँई सफा गर्ने बेलामा भने ऊ खाना खान बस्दथ्यो । "कामचोर," म एक्लै फुस्फुसाउँथें ।   

तै पनि कहिलेकाहीं भने उ मसंग मिजासिलो ब्यवहार गर्दथ्यो । राती एघार बजे कामबाट निस्केपछि सडक पेटीमा हिंड्दै गर्दा कुनै कुनाबाट उसले मलाई बोलाउँथ्यो, "चुरोट खाने?" त्यसपछि उसले रेस्टुरेन्टबाट ल्याएको एउटा फ्रुटी पनी मलाई दिन्थ्यो ।    

एकपटक राति काम सकिएपछि झोला बोकेर निस्कन लाग्दा रेस्टुरेन्टको म्यानेजरले उसलाई रोक्यो । र उसको झोलाबाट एक एक गरी दहीका कप, लालमोहन, कुल्फी, र लेमोनेड निकाल्यो र टेबलमा फिँजायो । त्यो पनि रेस्टुरेन्टमा काम गर्ने सबैले देख्ने गरेर । 

केहीबेरपछी आत्मग्लानी र शरमले हायलकायल भएको त्यो बंगाली वेटरले वरिपरि सबैतिर हेर्यो र डाँको छोडेर रुन थाल्यो । त्यस दिनदेखि भने उसले मलाई कहिल्यै अरुको अगाडी यसो गर उसो गर भनेन ।             

(यो लेख मेरो अप्रकाशित संस्मरणको असम्पादित अंश हो ।)

लेखकका बारेमा: 

रामचन्द्र के.सी.ले पेस युनिभर्सिटी, न्यु-योर्कबाट पुस्तक 'प्रकाशन'मा एम. एस. र त्रिभुवन युनिभर्सिटी, काठमाडौँबाट अंग्रेजी साहित्यमा 'एम. ए.' गरेका छन् । उनका प्रमुख प्रकाशित कृतिहरू फ्रान्ज काफ्काको 'दि मेटामोर्फोसिस'को नेपाली अनुवाद 'रूपान्तरण' र नेपाली द्वन्द्व कथाहरूको अंग्रेजी अनुवाद 'रेबल' रहेका छन् । 

LinkedIn: https://www.linkedin.com/in/ramckhatri/

Twitter: @KcChandraram 
 
          
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro