
जनकपुर । आइतबार साँझ जनकपुरको जानकी मन्दिर परिसरमा काल्पनिक राम र सीताको वैवाहिक कार्यक्रम सुरू भएको छ ।
नेपाल सरकारका उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादव, प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, प्रदेशका सबै मन्त्री, सांसदहरु तथा भारत, उत्तराखण्ड सरकारका संस्कृति राज्यमन्त्री घनानन्द गोंगडिया, मानव धर्म बेलायतकी प्रमुख दिपिका बाइजी र भारतका प्रसिद्ध अध्यात्मिक चिन्तक डा. जयप्रकाश अग्रवाललगायत अयोध्याबाट आएका विशिष्टि साधुसन्त एवं धार्मिक अगुवाहरुसँगै हजारौं श्रद्धालु मन्दिर परिसरमा उपस्थित छन् । जानकी मन्दिर परिसरमा बनाइएको मण्डपमा वैवाहिक कार्यक्रम सुरू भएको हो ।
मैथिली संस्कृति अनुसार भइरहेको यो वैवाहिक कार्यक्रम रातभर चल्नेछ । यस अघि आइतबारै अपरान्ह रंगभूमि मैदानमा हजारौं श्रद्धालुको उपस्थितिबीच सीता र रामको डोलाबीच स्वयंर समारोह सम्पन्न गरिएको थियो ।
तिर्थयात्री थेग्न हम्मे
त्रेताकालिन राम र सीताको विवाहलाई सम्झना स्वरुप हरेक वर्ष मनाइँदै आएको विवाह महोत्सव अवसरमा जनकपुरमा मानवसागर ओर्लिएको छ ।
मुलुकका विभिन्न जिल्लाका साथै भारतका विभिन्न प्रान्त र केही अन्य मुलुकबाट समेत आएका तिर्थालुको भिडलाई जनकपुरले थाम्न गाह्रो परिरहेको स्थानीयले बताएका छन् । पार्किङ, खानेपानी र सौचालयको अभावले तिर्थालुलाई निकै असहज भइरहेको जनकपुर, पिराडी चोकका विजय यादव बताउँछन् ।
‘चार दिन अगावैदेखि जनकपुरमा तिर्थालु आउने क्रम सुरु भयो आज (आइतबार) अबेर साँझसम्म चारैतिरबाट तिर्थयात्री चढेको गाडी आउँदैछ’ यादवले बाह्रखरीसँग भने, ‘सबै प्रवेशद्वारमा सुरक्षाकर्मीको संख्या त थपिएको छ तर, सवारी पार्किङको अभावले अलपत्र परेका छन् तिर्थालुहरु ।’ त्यस्तै, खान, बस्न र सौचका लागि समेत निकै समस्या रहेको उनको भनाइ छ ।
नेपाल पर्यटन वर्ष २०२० का प्रदेश संयोजक मनिष झाले पछिल्लो चार दिनमा मात्रै कम्तीमा सात लाख तिर्थालु जनकपुर प्रवेश गरेको दावी गरे । केही जानकी मन्दिर दर्शन गरेर फर्किए पनि रामजानकी वैवाहिक कार्यक्रम हेर्न भनेर आइतबार साँझ कम्तीमा पाँच लाख यात्रु जनकपुर नगर क्षेत्रमा रहेको उनको भनाइ छ ।
अतिथि ठग्ने होटल सञ्चालक पक्राउ
समान्य व्यवस्थापन भएको गेस्ट हाउसमा ठूलो होटलको जस्तो शुल्क असुलेर महोत्सवमा आउने यात्रुलाई ठगेको भन्दै जनकपुरका एक होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
रामानन्द चोकस्थित होटल सिटि प्यालेसमा एउटा कोठा एक रात प्रयोग गरेवापत साढे पाँच हजार रुपैयाँसम्म असुलेको उजुरी आएपछि प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल आफै पुगेर होटल सञ्चालक नरेश चौधरीलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए । चौधरीले राजश्व पनि अपचलन गरेको हुनसक्ने आशंका व्यक्त गर्दै प्रजिअ कणेलले उनीविरुद्ध ठगी मुद्दा लाग्ने बताए ।