site stats
बाह्रखरी :: Baahrakhari
देश
माग सम्बोधन नभएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थी पुनः सडकमा 

चितवन । अतिरिक्त शुल्क समायोजन गर्न मेडिकल कलेजहरु सहमत भए पनि शुल्क फिर्ता र समायोजन दुबै हुनुपर्ने भन्दै चितवन मेडिकल कलेज (सीएमसी) का विद्यार्थीहरु पुनः आन्दोलित भएका छन् । 

मंगलबार मध्यरातमा भएको सहमतिले विद्यार्थीहरुको सबै माग सम्बोधन नभएको भन्दै उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन् । सहमतिको विरोधमा उनीहरुले बुधबार दिउँसो चितवन मेडिकल कलेज शिक्षण अस्पातल अगाडि प्रदर्शन गरे ।

Argakhachi Cement Island Ad

सरकार र मेडिकल कलेज सञ्‍चालकहरुबीचको वार्तामा भएको दुई बुँदे सहमति आफूहरुलाई कुनै हालतमा मान्य नहुने उनिहरुको भनाई थियो । मेडिकल कलेजहरुले ०७२ देखि नै विद्यार्थीहरुबाट अतिरिक्त शुल्क उठाउदै आएकोले चार बर्षको नै शुल्क फिर्ता वा समायोजन हुनु पर्ने उनीहरुको माग  छ । तर सरकार र कलेज सञ्‍चालकबीचको वार्ताले भने २ बर्षको मात्र रकम समायोजन गर्ने निर्णय गरेको थियो  ।

"हिजो राति २ बुँदे सहमति भएको रहेछ । वार्तामा शिक्षा मन्त्री ज्यु पनि हुनुहुन्थ्यो र चार बर्षदेखि अवैध रुपमा शुल्क उठाएको त उहाँलाई थाहा थियो होला नि", चिकित्सा शिक्षा संर्घषकी सदस्य मान्यता थापाले भनिन्,  "अनी थाहा हुँदाहुँदै दुई वर्षको मात्र समायोजन गर्ने भनेर सहमति गर्ने ?"

 मेडिकल कलेजहरुले चार बर्षको फिर्ता गर्न मानेनन् भन्दैमा विद्यार्थीको विपक्षमा निर्णय गर्न सहमत हुने भन्दै उनले आक्रोश पोखिन् ।

चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस र बीडीएसको शुल्क मात्र समायोजन गर्ने विषयमा आफूहरुलाई मान्य नहुने उनले बताइन् । एमबीबीएस र बीडीएस बाहेक अन्य संकायहरुसँग उठाएको अतिरिक्त शुल्क पनि फिर्ता गर्नुपर्ने विद्यार्थीहरुको माग छ । 

उनीहरुले मंगलबार रातिको निर्णय कुनै पनि हालतमा मान्य नहुने बताएका छन्। आन्दोलनरत विद्यार्थीहरुले यो विषयलाई आलटाल नगर्न सरकारलाई चेतावनी समेत दिए । 

प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  १८:२०
प्रतिक्रिया दिनुहोस्