
जनकपुर । जनकपुरधाम, रामानन्द चोकस्थित रेवासी कुटीको जग्गा बिक्री तथा मठ, मन्दिरलाई लोपगरी व्यावसायिक संरचना निर्माण गर्ने अमर पजियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ ।
आयोगको केन्द्रीय कार्यालयले भूमिसुधार तथा मालपोत कार्यालय, धनुषालाई पत्र लेख्दै रेवासी कुटीको मठ, मन्दिरको अवस्था र जग्गाको स्पष्ट विवरण मागेको हो । मठका महन्त परमेश्वर दास वैष्णवसँग मिलेमतोगरी अमर पजियारले जग्गा हिनामिना गरेको उजुरी आएपछि आयोगले छानबिन प्रक्रिया थालेको मालपोतलाई लेखिएको पत्रमा उल्लेख छ ।
“रेवासी कुटीका महन्त परमेश्वर दासले उक्त कुटी मातहतको १८ विगाहा जग्गा बिक्रीवितरण गरेको र जनकपुरधाम –१६, कपिलेश्वरस्थित तीन विगाहा जग्गा त्यही वडामा बस्ने विक्रम पजियारसँग बिक्री गरेको तथा अमर पजियारसँग मिलेर अन्य जग्गाहरु पनि बिक्री वितरण गरिरहेको उजुरी आएको छ,” आयोगले लेखेको पत्रमा भनिएको छ, “अमर पजियारले रामानन्द चोक नजिक रहेको रेवासी कुट्टीको जग्गा कब्जामा लिएर व्यवसायिक सटर बनाइ मन्दिरलाई समेत लोप गरेको भन्ने विषयमा वास्तविकता के कसो भएको हो ?”
आयोगका नापी अधिकृत नवराज सुवेदीले जारी गरेको पत्रले अविलम्ब आयोगको कार्यालयमा जवाफ पठाउन धनुषास्थित मालपोत कार्यालयलाई लिखित निर्देशन दिएको छ ।
सम्भवतः मुलुककै सबैभन्दा बढी गुठी जग्गा भएको सहर जनकपुर हो । यहाँ कुनै पनि सरकारी संरचना निर्माण गर्न जग्गा अभावको समस्या देखाइन्छ । यतिबेला प्रदेश २ सरकारको सचिवालय पनि जग्गा खोजीकै क्रममा तत्काललाई जनकपुर चुरोट कारखानाको परिसरमा आश्रय लिइरहेको छ । प्रादेशिक अस्पताल र राजर्षीजनक विश्वविद्यालयको क्षेत्र विस्तार गर्न पनि जग्गा अभाव भन्ने समस्या नै तेर्सिइरहेको छ । तर, गुठीको विगहौ खाली जग्गामा दिनदहाडै निजी संरचना ठडिइरहँदा नियमनकारी निकाय मौन छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो सक्रियताले स्थानीयमा सार्वजनिक जग्गा तथा मठ, मन्दिरको संरक्षण हुने आशा भने पलाएको छ । तर, आयोगको सक्रियता पनि कुनै प्रभावमा परी सिथिल हुने हो कि भन्ने आशंका कायमै रहेको जनकपुरका अगुवा युवा धिरेन्द्रबहादुर सिंंहको भनाइ छ ।