site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मठको जग्गामा भू–माफियाको रजाइँ

कुटीको मन्दिर छोपेर निर्माण गरिएको व्यवसायिक संरचना । तस्बिरः सुरेश यादव/बाह्रखरी 


जनकपुर । सडकमार्गबाट जनकपुर आइपुग्ने जोकोहीलाई जानकी मन्दिर पुग्न रामानन्द चोक पुग्नैपर्ने हुन्छ । रामानन्द चोकदेखि जानकी मन्दिर जाने बाटोको दुवै छेउमा पर्ने अधिकांस क्षेत्र मठ, मन्दिर तथा विभिन्न कुटीहरुले सजिएको छ । कलात्मक शैलीमा निर्माण गरिएका ती मन्दिर, ऐतिहासिक पोखरी तथा तलाउ र कुटीहरुको बगैंचा भने अहिले सडकमा हिँड्नेले हेर्न सक्दैन । कारण हो, धार्मिक तथा पौराणिक महत्वको धरोहरमाथि भू–माफिया हावी हुनु ।

रामानन्द चोकदेखि करिब दुईसय मिटर दुरीमा पर्छ जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहको घर । नगरप्रमुख साहको घरको साँधमै जोडिएको छ रेवासी कुटी । करिब आठ कट्ठा क्षेत्रफलमा रहेको उक्त कुटीमा दशकौँअघि निर्माण गरिएको कलात्मक मन्दिर छ, वरीपरी ठूलो बगैंचा छ । अहिले न त्यो कलात्मक मन्दिरको सुन्दरता देखिन्छ न बगैंचामा कुनै फूल ।

दिनभर जग्गा खरिदबिक्री सम्बन्धी मोलमोलाइ भइरहने मन्दिर भवनको अधिकांस भाग जग्गा कारोबारीको बैठक तथा आराम कक्षको रुपमा प्रयोग भइरहेको छ । उक्त भागमा एसी जडान गरी ‘लक्जरियस’ कार्यालय बनाइएको छ भने भगवानको मुर्ति राखिएको भाग जीर्ण छ । सडक छेउमा २५ वटा सटर (पसल कोठा) निर्माण गरी भाडा लगाइएको छ । बगैंचा क्षेत्रमा तिनै व्यवसायीहरुले गोदामको रुपमा प्रयोग गरिरहेको छ । 

महन्त बन्ने दाउमा जग्गा कारोबारी

जनकपुरधाम –१६, कपिलेश्वर निवासी अन्दाजी ४५ वर्षीय अमर पजियार पूर्व प्रधानपञ्च विक्रम पजियारका छोरा हुन् । तीन छोराका बाबु अमर पेशाले जग्गा कारोबारी हुन् । पछिल्लो स्थानीय निर्वाचनमा जनकपुरको मेयर पदमा चुनाव लड्न उनले राजपासँग टिकट थाप्न निकै दौडधुप गरे । टिकटकै लागि २५ लाख रुपैयाँसम्म खर्च गर्न पनि तयार भए, तर पार्टीका पुराना नेता भन्दै लालकिशोर साह (वर्तमान मेयर) ले टिकट पाउने निश्चित भएपछि उनी राजनीतिमा निष्क्रिय भए । त्यसअघि चुनावी प्रचारकै क्रममा उनलाई तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उनको गाउँमै पुगेर फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका थिए । 

तिनै अमर पजियार रेवासी कुटीका महन्त परमेश्वर दासका उतराधिकारी बनेका छन् । दिनभर जग्गा कारोबारमा व्यस्त रहने अमर महन्तको पगरी ‘पदवी’ प्राप्त गर्न कानुनी प्रक्रिया पूरा गरिसकेको बताइएको छ ।

महन्त परमेश्वर दासलाई ‘संरक्षक’ देखाइएको सबै जग्गाको मालपोत कागजातमा उनले आफ्नो नाम लेखाइसकेका छन् । उनको भनाइअनुसार महन्त दास केही वर्षदेखि भारतमै बस्न थालेका छन् । कहिलेकाहीँ जनकपुर आउँदा आफुलाई नै मन्दिर तथा स्वामित्वमा रहेका जग्गाहरुको देखभाल गर्ने जिम्मा तोक्ने गरेको पजियारको दाबी छ । उनले आफुलाई महन्त दासको चेलाको रुपमा प्रस्तुत गरे पनि सोअनुसारको पहिरन र पूजापाठमा संलग्नता भने देखिँदैन । 

मन्दिरका एक पुराना पुजारीका अनुसार महन्त दासलाई आर्थिक प्रभाव र दबाबमा पारेर अमर पजियारले जनकपुर छोड्न बाध्य बनाएका रहेछन् । “अदालत र मालपोत त उहाँ (अमर) को हातमै छ,” आफ्नो नाम नलेखिदिने शर्तमा ती पूजारीले बाह्रखरीसँग भने, “सिरहा अदालतमा मुद्दा दिएर महन्तजीको नाउँमा रहेको जग्गा आफ्नो नाउँमा चढाएको सुन्दैछु ।”

४६ वर्षदेखि मन्दिरमा निरन्तर पूजापाठ गर्दै आएको आफु आज पनि सेवककै रुपमा कायम रहेको उल्लेख गर्दै उनले हिजो आएकाले महन्तको उतराधिकारी भएको दाबी गर्दै श्रीसम्पत्ति चलाउन थालेपछि दुःख लागेको बताए ।  दिउसोको समयमा मात्र मन्दिर आउने अमरले मन्दिरभित्रै एसीसहितको भीआईपी कोठा प्रयोग गरिरहेको उनले बताए । 

बाहिर सडक हिँड्ने सर्वसधारणले सडकछेउकै मन्दिर पत्ता लगाउन गाह्रो छ । निजी संरचनाजस्तै पसलै पसलले ढाकिएको मन्दिर परिसरभित्र पुग्दा पनि मन्दिर हो कि निजी घर भनि छुट्याउन गाह्रो पर्छ ।  मन्दिरमा एक भारतीय नागरिकलाई मासिक छ हजार रुपैयाँ तलब दिनेगरी पूजारी नियुक्त गरिएको छ । पुराना पूजारीले महन्तको स्वभाव नै नभएकासँग मर्ने बेलामा के तलब लिनु भन्दै दुई छाक खानाको भरमा भगवानको सेवामा लागेको बताए । 

उनका अनुसार मासिक दुईलाख रुपैयाँ सटर भाडा असुल्ने पजियारले नै मन्दिरको पूजापाठका लागि आवश्यक सामग्रीको जोहो गर्छन् ।  पजियारले भने आफु महन्त वा उतराधिकारी बनिनसकेको बताए पनि मन्दिरको सम्पत्ति आफ्नो रेखदेखमा रहेको स्वीकारे ।

“म परमेश्वर बाबाको चेला हुँ । अहिले नै उहाँको उतराधिकारी दाबी गर्दिनँ तर उहाँले मलाई जिम्मा दिने सम्भावना छ,” पजियारले बाह्रखरीसँग भने । 

मन्दिरको अधिनमा कपिलेश्वरमा रहेको सात बिगाहा जमिन आफु जन्मिनु अगावै बिक्री भइसकेको दाबी गर्ने उनले भंगाहामा रहेको अर्को पाँच बिगाहा जग्गा पनि लुकाउन खोजे । 

मन्दिरको अधिनमा अब रामानन्द द्वारनजिकको जग्गामात्रै बाँकी छ त ? बाह्रखरीको जिज्ञासामा उनले भने, “मलाइ त त्यस्तै लाग्छ ।”

स्रोतका अनुसार कपिलेश्वरको जग्गा मोहीको कागजात तयार गरी पजियारले नै बिक्री गरेका छन् । महोत्तरीस्थित भंगहा नगरपालिकामा रहेको पाँच बिगाहा जग्गा पनि उनैले मनखप (बहाल) लगाएका छन् । त्यहाँबाट आउने तथा सटर भाडावापत प्राप्त हुने आम्दानीको हिसाब किताब पारदर्शी हुनुपर्ने भन्दै स्थानीयले मन्दिरलाई मन्दिरजस्तो देखिनेगरी व्यावसायिक संरचना हटाउन माग गरेका छन् । तर, जनप्रतिनिधि, अदालत र स्थानीय प्रशासनमा राम्रो पहुँच बनाएका अमर विरुद्ध खुलेर कसैले बोल्न सक्ने अवस्था देखिँदैन । 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  ०८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro