ललितपुर । बर्खामा ढिलासम्म पनि ननिदाउने ललितपुरको मंगलबजार ६ नबज्दै झमक्क अँध्यारो हुने हिँउद लागेसँगै आठ बजे नै सुनसान हुन थाल्छ । तर केही दिनयता भने मंगलबजारको वातावरण केही फेरिएको छ ।
कात्तिक तेस्रो हप्तामा बढ्दै गइरहेको चिसोसँगै मंगलबजारको चहलपहल पनि बढ्न थालेको छ । अरुबेला कफिसप वरिपरि देखिने युवाहरुको भिड आजकल मंगलबजारको कात्तिक डबली वरिपरि भुम्मिएको हुन्छ । अँध्यारो र चिसोले छोपेसँगै युवा, वयस्क र बच्चाहरुको भिड कात्तिक डबलीलाई गालो पारी घेरेर बसेका हुन्छन् ।
यो हो, देशकै सबैभन्दा लामो नाच ‘कात्तिक नाच’ हेर्नेको भिड । कुनैदिन एक महिना चल्ने यो नाच अहिले छोटिएर १२ दिन देखाउन थालिएको छ ।
कात्तिक १५ गते सुदामा प्याँखबाट यो वर्षको कात्तिक नाच सुरु भएको हो । आज (आइतबार) यस नाचको १० औँ र यो १२ दिनकै सबैभन्दा विशेष नाच ‘नृसिंह (नर+सिंह) अवतार’ (हिरण्याक्ष वध) को दिन हो ।
अरु दिन ७ बजेदेखि १० बजेसम्म चल्ने भए पनि आज भने मध्यरातसम्म यो नाच जारी रहन्छ । पोङ्खा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरु साताभर देखाइने क्रममा आजको नृसिंह अवतार भने मध्यरातसम्म प्रस्तुत गरिन्छ ।
विष्णुपुराणमा आधारित भएर देखाइने यो नाचमा भगवान विष्णुको १२ अवतारमध्ये एक विशेष अवतार हो नृसिंह अवतार । दानव हिरण्यकश्यपुलाई वध गरी असत्यतामाथि जित हासिल गर्ने कथा नै आजको कात्तिक नाचमा प्रस्तुत गरिने जानकारहरु बताउँछन् ।
राजा सिद्धिनरसिंह मल्लको शिक्षा गुरु हरिवंश उपाध्याय र दिक्षा गुरु विष्णुनाथ उपाध्याय यस नाचका मुख्य पात्र बनेर नाच्दै आइरहेका छन् । अहिलेसम्म पनि यी दुई गुरुका सन्तति नै यस नाचका मुख्यपात्रको रुपमा प्रस्तुत हुँदै आइरहेका छन् ।
अर्थात् शिक्षा गुरुको सन्तति कृष्ण मन्दिरको पुजारीहरु नृसिंह अवतारमा हुन्छन् भने दिक्षा गुरुका सन्तति तलेजुका पुजारीहरु हुन्, जो मुर्छित हिरण्यकश्यपुलाई तान्त्रिक विधिमार्फत् ब्युँझाउने काम गर्छन् ।
कात्तिक नाचलाई तान्त्रिक विधिको नाचको रुपमा पनि लिइन्छ । यसको अर्थ प्रष्ट तब हुन्छ जब नृसिंह नाचको दौरान साँच्चै नै हिरण्यकश्यपुको अवतारमा रहेका व्यतिmलाई नृसिंहको अवतारमा रहेका व्यक्तिले छोएर मुर्छित पारिदिन्छन् ।
पछिल्लो २० वर्षदेखि हिरण्यकश्यपुको अवतारमा यो अनुभव गर्दै आइरहेका कात्तिक नाचका कलाकार हुन् किरण चित्रकार । उनी यो नाचका कलाकार, प्रशिक्षक र कात्तिक नाच सुधार समितिका अध्यक्ष पनि हुन् ।
उनी २०५५ सालदेखि हरेक वर्ष हिरण्यकश्यपुको अवतारमा नाच प्रस्तुत गर्दै आइरहेका छन् । बाजे यहि नाचमा संलग्न भएका कारण बाजेपछिको जिम्मेवारी उनको काँधले बोक्दै आइरहेको छ । उनी २०४८ सालदेखि कात्तिक नाचका विभिन्न पात्रको अवतारमा नाचमा संलग्न हुँदै आइरहेका थिए ।
तर बाजेको निधनपछि २०५५ सालदेखि भने उनी बाजेले प्रस्तुत गर्दै आइरहेको हिरण्यकश्यपुको अवतारमा नाच प्रस्ततु गर्न थाले । कात्तिक नाचको यो नृसिंह नाच तान्त्रिक शक्तिमा आधारित छ । यहि कुरा प्रस्ट पार्दै चित्रकार भन्छन्, “यो नाच प्रस्तुत गरिरहँदा, हिरण्यकश्यपुको अवतार प्रस्तुत गरिरहँदा साँच्चै मुर्छा पर्छु र मलाई तान्त्रिक विधि प्रयोग गरी ब्युँझाइन्छ । कात्तिक नाचकै अरु पात्रमा नाच्दा एक कलाकारको हिसाबमा डबलीमा गयो, नाच प्रस्तुत गर्यो– सकिन्थ्यो । केही नीति नियममा बस्नु पर्दैन । तर यो नाचको वराह अवतार र नृसिंह अवतारमा हुने पात्रहरुले आ–आफ्नो अवतार अनुसार नीतिनियम र पूजामा बस्नुर्छ ।”
उनले हिरण्यकश्यपु दैत्य भएर नाच्छु होला भनेर सोचेका थिएनन् तर आफ्ना हजुरबुवाले उठाउँदै आइरहेको जिम्मेवारी र ऐतिहासिक नाचको विशेष पात्र हुने मौका गुमाउन चाहेनन् ।
यो दिनको सुरुवात उनको अरु दिनभन्दा अलग हुन्छ । उनी बिहानै उठी नृत्यकर्म गरी नङ काटी नुहाएर शुध्द हुन्छन् । त्यसपछि उनी पाटनको सौगलस्थित नाट्येश्वरको मन्दिरमा पूजा गर्न जान्छन् र आशीर्वाद लिन्छन् । यो दिन नाच नसकेसम्म उनले अन्न ग्रहण गर्नुु हुँदैन । तर पानी भने पिउन मिल्छ ।
पछि घरमा गुठीयारहरुसँगै बसेर भोज ग्रहण गर्छन् । यी तीनै गुठियारहरु हुन्, जसले नाचको दौरान मुर्छा पर्दा उनलाई घरसम्म ल्याइपुर्याउँछन् । नाच प्रस्तुत गर्ने समय भएपछि उनी घरबाटै नाचको पहिरन र श्रृङ्गार गरी पुनः नाट्येश्वर मन्दिरमा गई पूजा गर्छन् र मंगलबजारको डबलीमा प्रस्तुतिका लागि पुग्छन् ।
त्यहाँ मुकुट लगाएर नाच प्रस्तुत गर्न तयार हुन्छन् । त्यसपछि नृसिंहले उनलाई मुर्छित पारी विजय हासिल गरेको संकेत गरेपछि उनको मुर्छित शरीरलाई डबलीको पछाडि पुँः ब्याछे भन्ने चोकमा लगेर तलेजुका पुजारीहरुले पाटनको मंगहिटी (ढुङ्गेधारा)को पानी ल्याई मन्त्र उचारण गरी त्यो पानी पिलाएर ब्युँझाइन्छ ।
तर, उनी पूर्णरुपमा ब्युँझिसकेका हुँदैनन् । त्यसपछि उनलाई गुठीका सदस्यहरुले घर लग्छन् र त्यो अवतारको लुगा फुकालेर परिवारबाट सगुन लिएपछि मात्र पुनः होसमा आउने उनले बताए । “शरीरमा शक्ति नै हुँदैन । सगुन भनेकै मैले काललाई जितेर नयाँ जीवन पाएको खुशियालीमा दिएको हो,” उनले थपे । अरु पात्रमा पहिलेदेखि नै नाच्दै आइरहेका उनले धेरै वर्षपछि यो पात्रमा प्रस्तुत हुनुपर्ने भएको थियो ।
यो बताइरँहदा उनी विगततर्फ फर्कंदै पहिलो पटक हिरण्यकश्यपुको अवतारमा प्रस्तुत हुनुपर्ने क्षण सम्झन्छन् । “मैले गर्नैपर्ने बाध्यता थियो, त्यसैले सबैले भनेपछि मैले हुन्छ त भने । तर हुन्छ भनिसकेपछि मनमा भने डर पैदा भयो । किनभने केही नभएको व्यक्ति नाच्दानाच्दै बेहोस हुनुपर्ने भएकोले डर लाग्नु स्वभाविक थियो ।”
चित्रकारले हिरण्यकश्यपुकै अवतारमा नाच्न थालेको लामो समय भैसकेको छ । तर आजसम्म पनि हरेक पटक नाच्नु अघि उनको मनमा केही डर भने हुन्छ नै ।
अहिले उनी यो नाचका प्रशिक्षकका रुपमा पनि सक्रिय छन् । यहि कारण उनी प्रस्तुति दिनुअघि प्रशिक्षणमा बस्दैनन् । किनभने हरेक वर्ष यहि नाच प्रस्तुत गर्दै आइरहेका हुनाले पहिलो पटक जस्तो सिक्न जरुरी छैन ।
उनी मुर्छा पर्दा सहयोगका लागि आउने उनको गुठीका सदस्यहरु पछिल्लो केही समयदेखि त्यति सक्रियरुपमा नलागेकोमा उनी दुखेसो पोख्छन् । “यो अवतारमा मुर्छा पर्नुपर्ने भएकोले आफू पनि पछि त्यो अवतारमा बस्नुपर्ने डरले हो या आर्थिक अभावका कारण पूर्ण भोजको व्यवस्था गर्न नसकेर हो, उहाँहरु नआउनु भएको धेरै वर्ष भैसक्यो,” उनले भने ।
यो चित्रकारहरुको ‘नुवाग्वो’ गुठी हो र हिरण्यकश्यपु बन्ने पनि त्यहि गुठीका चित्रकारहरु नै हुन् । अहिले गुठीकै केही सदस्य र साथीहरुले यो परम्परा अघि बढाउँदै आएका छन् ।
चित्रकार कात्तिक नाचको कलाकार भएको लगभग २८ वर्ष भैसकेको छ । यो लामो अन्तरालमा उनी नाचमा र प्रशिक्षणमा पोख्त भैसकेका छन् ।
कात्तिक नाच भन्नेबितिकै उनको पहिलो पटक नाच प्रस्तुतिको क्षण स्मरणमा सधैं ताजा हुने उनी बताउँछन् । पहिलो पटक कृष्णगणको ५ जनाको समूहमा उनले जयको भूमिका निभाएका थिए । त्यो ५ जनाको समूहमा नाच्दा पनि उनी यति लजाएका थिए की लाजले पसिनापसिना त भए नै, त्यो नाच अवधिभरि उनले शिर निहुराएरै नाचे ।
उनी अब अर्को वर्षदेखि आफ्नो भतिजलाई पनि हिरण्यकश्यपुको नाच सिकाउने सोचमा छन् । “कुन परिस्थितिमा के हुन्छ भन्न सकिँदैन । जसरी हजुरबुवा बित्दा अक्समात १५ दिनको तयारीमा म यो अवतारमा प्रस्तुत हुनुपर्यो, अर्को व्यक्तिले पनि यहि परिस्थितिबाट गुज्रिनु नपरोस् भन्ने मेरो चाहना छ । मेरै गुठीकै भएकोले अधिकारले पनि उसले पाउने हो ।”