
जनकपुर । रौतहटको राजपुर बमकाण्डका अभियुक्त अफताव आलम आफैंले बनाउन लगाएको बम विष्फोट हुँदा घाइते भएकालाई नजिकको इँटाभट्टामा जिउँदै जलाएर मारेको जाहेरी दिनेलाई सम्पत्तिको प्रलोभन देखाएर प्रभावमा पार्ने प्रयास थालेको आरोप लगाइएको छ ।
आलम पक्राउ परेको तीन सातापछि जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेको छ । उनलाई पक्राउ गर्ने प्रमुख आधार रौतहट, सरुअठाका ओसी अख्तरकी आमा रोक्साना खातुन र त्रिलोकीप्रताप सिंहका बाबु नारायण सिंह राजपुतको जाहेरी हो । ओसी र त्रिलोकीप्रतापको हत्या गरेको भन्दै आलमसहित उनका भाई तथा सहयोगी गरी पाँचजनाविरुद्ध १२ वर्षअघि रोक्साना र नारायणले जाहेरी दिएका थिए ।
आलमविरुद्ध जाहेरी दिने रोक्साना स्वजातीय भएर पनि न्यायमा गैर मुस्लिमको प्रभाव र समर्थनमा लागेको भन्दै उनलाई जाहेरी फिर्ता लिन बारम्बार दबाब परिरहेको थियो । नमानेपछि घटनाको चार वर्षपछि उनको पनि हत्या गरिएको रोक्सानाका सम्धी तथा मृतक ओसीका ससुरा समसुल मियाँले प्रहरी समक्ष बयान दिएका छन् । रोक्सानाको हत्यापछि ओसी हत्यासम्बन्धी मुद्दामा आलमविरुद्ध मियाँले नै अग्रसरता देखाइरहेका छन् ।
घटनाको १२ वर्षपछि आलम पक्राउ परेका छन् । उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सरकारी वकिल कार्यालय अदालतमा बहस गरिरहेको छ । ओसीका ससुरा मियाँले आलम पक्राउ परिसक्दा पनि निरन्तर विभिन्न सञ्चारमाध्यम तथा अधिकारवादी संघसंस्थाहरुलाई गुहार लाउँदै पीडक आलमलाई जसरी पनि सजाय हुनुपर्ने पैरवी गरिरहेका छन् ।
यसैबीच अचानक घटनालाई अर्को मोड दिने प्रयास भएको खबर बाहिर आएको छ ।
ओसीलाई जिउँदै जलाएर बेपत्ता पारेको घटनाको प्रत्यक्षदर्शीको रुपमा १२ वर्षदेखि प्रहरीलगायत न्यायिक निकायसमक्ष निरन्तर बोलिरहेका मियाँकी छोरी एवं मृतक ओसीकी पत्नी अमना खातुनको एउटा निवेदनले घटना मोड्ने प्रयास भएको जानकारहरु बताउँछन् ।
आलम विरुद्ध थुनछेक मुद्दामा अदालतमा बहस चलिरहेको बेला अचानक अमनाले प्रहरीमा निवेदन दिएकी हुन् । निवेदनमा भनिएको छ, ‘ओसी वैदेशिक रोजगारीमा थिए । उताबाट अहिलेसम्म फर्केकै छैनन् ।’
छोरीले यस्तो निवेदन प्रहरी कार्यालयमा लिएर पुग्दा मियाँ चुप लागेका छन् । ओसीलाई आलमका भाई अफताबलगायत व्यक्तिले घरबाटै बोलाएर लगेको र बम विष्फोटको आवाज आउँदा पनि नफर्केपछि खोज्दै जाँदा आफ्नै आँखा अगाडि भट्टीमा हालेको बयान मियाँले दिएका छन् । अहिले छोरीको निवेदनको पक्षमा बोल्न मियाँसँग कुनै आधार छैन । तर, आलम पक्षको दबाव र प्रलोभन आएपछि आफू चुप लागेको नाम प्रकाशन नगर्ने शर्तमा घटनासँग सम्बन्धित एकजनाले बाह्रखरीसँग सकारेका छन् ।
मियाँसँगै निरन्तर १२ वर्षदेखि ओसी तथा त्रिलोकीको न्यायका लागि सक्रिय सक्रिय श्रोतले अमनालाई पाँच लाख रुपैयाँ नगद तथा पाँच कट्ठा जग्गा दिने शर्तमा गलत निवेदन दिने सहमति भएको दाबी गरेका छन् ।
आलम घटनामा थुनछेक सम्बन्धी मुद्दामा जाहेरवालातर्फबाट बहस सकिएको छ भने आलमको पक्षबाट आइतबारदेखि बहस सुरू हुनेछ । आलमले आफ्नो तर्फबाट बहस गर्न २७ जना अधिवक्ता नियुक्ति गरेको स्रोतको दाबी छ ।