
जनकपुर । रामेछापकी सञ्चारकर्मी मञ्जु उप्रेती शनिबार निकै उत्साही मुद्रामा जनकपुरमा भेटिइन् । सहकर्मी सृजना बस्नेतसँगै शुक्रबार यहाँ आइपुगेकी उप्रेती १७ वर्ष अघिको जनकपुर आउने योजना सफल भएकोमा भन्दा छठ पर्वमा प्रत्यक्ष सहभागी हुने अवसर पाएकोमा बढी उत्साही भएको सुनाइन् ।
“जनकपुरको छठ छापा तथा श्रव्य–दृश्यमा पढ्ने तथा हेर्ने गर्थें । अस्ताउँदो सूर्यको पूजा गर्ने कस्तो पर्व होला भन्ने लाग्थ्यो,” उप्रेतीले बाह्रखरीसँग भनिन्, “हिजोदेखि आफैँ यो पर्वमा प्रत्यक्ष सहभागी भइरहेकी छु, मन हलुको र रमाइलो भइरहेको छ ।” खासगरी लगातार तीन दिनसम्म उपवास बस्नुपर्ने यो पर्वको महिमा तथा प्रसादको रुपमा कृषि उपज वस्तुको महत्व बढाउने यो पर्वप्रति अझ बढी आस्था बढेको उनले सुनाइन् ।
उप्रेतीसँगै रामेछापको मन्थलीबाट आएकी बस्नेतले बोलीचालीमा छठी मइयाको व्रत भनिए पनि सूर्य भगवानको पूजा हुने गरेको जानकारी पाउँदा नौलो लागेको अनुभव साटिन् । “छठी मइया भनेर उच्चारण हुँदा देवीको पूजा हुने लाग्थ्यो, यहाँ त सूर्यदेवको पो पूजा भइरहेको छ,” उनले थपिन्, “देवीको पूजा भनेर प्रचलित यो पर्वमा देवको पूजा किन हुन्छ भनेर अझै प्रष्टिन सकेको छुइन ।”
तर, स्थानीयबाट सूर्यसँगै जलको पनि पूजा हुने हुँदा जललाई देवीको रुपमा मानिएको जानकारी उनले पाएकी रहिछन् । मकवानपुरका रमेश पौडेलले बाहिरबाट सुनेको भन्दा स्वयं घुमेर हेर्दा जनकपुर तथा यहाँका बासिन्दामा फरकपन पाएका छन् । जनकपुर हेर्न पहिलादेखि मन लागेपनि छठकै अवसर पारेर यहाँ आइपुगेका उनले भने, “जनकपुरमा धेरै मच्छर भएको, अत्यन्तै फोहोर र स्थानीयमा पहाडी समुदायप्रति गलत व्यवहार रहेको सुनेको थिएँ । आफैँ यहाँ आइपुग्दा सोचेको भन्दा सफा सहर देख्न पाएको तथा जनकपुरबासीमा सद्भावपूर्ण व्यवहारको अनुभूति भयो ।”
मिथिलाञ्चल क्षेत्रमा लोक पर्वको रुपमा मनाइने छठ केही वर्षयता काठमाडौंलगायत केही पहाडी जिल्लामा समेत उक्लिन थालेको छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा मनाइने छठ पर्वप्रतिको आकर्षण भने अहिले पनि त्यस्तै छ । यसवर्ष छठ पर्व हेर्न भनेर जनकपुरमा पहिलेको तुलना कम्तीमा तीन गुणा आन्तरिक पर्यटक बढेको नेपाल भ्रमण वर्ष २०२० प्रदेश २ का संयोजक मनिष झा बताउँछन् ।
जनकपुरको छठ हेर्नकै लागि यसअघि पनि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरे पनि यसवर्ष खासगरी पहाडी जिल्लाबाट आउनेको संख्यामा निकै वृद्धि भएको उनको भनाइ हो । छठको बेला जनकपुरको होटलमा बास बस्ने पर्यटकको विश्लेषण गर्दा यस्तो देखिएको उनी बताउँछन् ।
बिहीबार नहायखाय गरी शुभारम्भ भएको छठ पर्वको तेस्रो दिन शनिबार (आज) अस्ताउँदो सूर्यलाई अर्घ दिइने तयारी सम्पन्न भएको छ । आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा छठ पर्व सम्पन्न हुनेछ । कृषि उपज सामाग्रीहरु प्रधान रहेको यो पर्वमा सूर्य (अग्नीदेव) तथा जल (छठी मइया) को पूजा गरिन्छ । सूर्यको ताप र जलको सिंचाइबाट सृष्टि परिचालन भइरहेको सन्दर्भमा यो पर्वको महत्व जनविविकासँग जोडिएको संस्कृतिविद्हरु बताउँछन् ।
जनकपुरस्थित गंगासागर घाटमा शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिन सजाएर राखिएको पूजा सामग्री । तस्बिरः सुरेश–बाह्रखरी