
रौतहट । प्रतिनिधिसभाका निलम्बित सांसद अफताव आलमको थुनछेक बहस छठपछि मात्र सुरु हुने भएको छ । प्रथम संविधानसभाको पूर्वसन्ध्यामा बम बनाउने क्रममा भएको विष्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इँटा पोल्ने भट्टीमा झोंसेको अभियोगमा पक्राउ परेका आलम १७ दिनदेखि जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा छन् ।
गत असोज २६ गते रौतहटस्थित गृहनगर राजपुरबाट गौर आउने क्रममा इद्रिस गेटबाट पक्राउ परेका पूर्वमन्त्रीसमेत रहेका आलमलाई अनुसन्धानको लागि जिल्ला अदालतबाट तेस्रो पटक म्याद थप गरिएको हो । घटना अनुसन्धानको लागि सुरुमा सात दिनको म्याद पाएको जिल्ला प्रहरी कार्यालयले दोस्रो पटक पाँच दिन र तेस्रो पटक थप आठ दिनको म्याद पाएको छ ।
घटना अनुसन्धानको लागि तेस्रो पटक थपिएको म्याद अगामी शुक्रबार सकिँदैछ । तर, शुक्रबारपछि छठ पर्वको लागि आइतबारसम्म बिदा हुने भएको हुँदा शुक्रबारै एक पटक फेरी म्याद थपकै लागि उनलाई अदालत लग्ने तयारीमा जिल्ला प्रहरी कार्यालय रहेको एक अनुसन्धान अधिकृतले जानकारी दिए ।
रौतहट जिल्ला प्रहरी कार्यालय मुद्दा अनुसन्धान शाखाका इन्चार्ज इन्स्पेक्टर पप्पु नायकका अनुसार घटनामा आलमको संलग्नता पुष्टी गर्ने प्रमाण जुट्दै छ ।
घटनामा गम्भीर घाइते भएर पनि आलम निकट भएकै आधारमा भारतको विहार पुगेर उपचार गराइ ज्यान जोगाउन सफल सफी अहमदले पनि उनीविरुद्ध जाहेरी दिएका छन् । चुनावको दिन विष्फोट गराएर बुथ कब्जा गर्न आलमले बिहारका करिब एक दर्जन युवालाई बम बनाउने काममा लगाएका थिए ।
बम बनाउने कार्यमा उनीहरुलाई नै सघाउन सर्लाही गोरैताका सफी अहमद, रौतहट सरुअठाका पिन्टु (त्रिलोकप्रताप) सिंह र ओसी अख्तरलगायत युवालाई खटाइएको थियो । सिंह र अख्तरलगायत बमको छर्रा लागेर घाइते भएका भारतीय युवाहरुलाईसमेत प्राथमिक उपचारको नाममा बेहोस पार्ने औषधी दिएर ट्रयाक्टरको ट्रलीमा हालेर इँटा भट्टामा बालिएको भट्टीमा जिउँदै हालिदिएको आरोप पीडित परिवारहरुको छ ।
घटनामा परी आन्द्रासमेत बाहिर निस्किसकेको अवस्थामा भारतको बिहारस्थित मोतिहारीमा उपचार गराएपछि ज्यान जोगिएको सफी अहमद आलम पक्राउ पर्नुअघिसम्म उनी विरुद्ध बोल्न हिम्मत गर्न सकेका थिएनन् । आलमलाई प्रहरीले नियन्त्रणमा लिए लगत्तै उनी आफै जिल्ला प्रहरी कार्यालय रौतहट पुगेर जाहेरी दिएको प्रहरीले जनाएको छ । अहमदलाई मुद्दाको किनारा नलागुञ्जेल उनकै अनुरोधमा प्रहरीले सुरक्षित स्थानमा राखेको मुद्दा अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बाह्रखरीलाई जानकारी दिए ।