काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) को निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) असोज २७ गते आईसीसीको निलम्बनबाट फुकुवा भयो । त्यसको भोलिपल्ट नै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले टिमको कप्तानीबाट राजीनामा दिए । उनको राजीनामाको विषयलाई लिएर सर्वत्र चर्चा चल्यो । १० वर्षे कप्तानीको जिम्मेवारी सफलताका साथ निभाएका पारसलाई धेरै समर्थक र क्रिकेट विज्ञहरुले अझै केही समयसम्म राष्ट्रिय टोलीको जिम्मेवारीमा रहन आग्रह गरे । बिहीबार पूर्व कप्तान पारस खड्काको ३२ औँ जन्मदिन परेको थियो । पारसलाई नेपाली राष्ट्रिय टोलीको कप्तानीमा फर्कन आग्रह गर्दै धरै क्रिकेट प्रेमीले जन्मदिनको शुभकामना दिए ।
यति मात्र होइन, पारसलाई आईसीसीले पनि जन्मदिनको शुभकामना दियो । आईसीसीले आफ्नो अफिसियल फेसबुक तथा ट्विटर अकाउन्टबाट शुभकामना दिएको थियो । आईसीसीले बिहीबार दिउँसो २ः४५ बजे उनलाई शुभकामना दिएको थियो । ‘नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन, नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय टि–ट्वान्टी क्रिकेटमा शतक । नेपालको पहिलो र एकमात्र एकदिवसीय क्रिकेटमा शतक’ भन्दै आईसीसीले जन्मदिनको शुभकामना दिएको थियो ।
तर, नेपाली क्रिकेटको सर्वाेच निकाय क्यानले भने पारसको जन्मदिनको शुभकामना साँझ ७ः०० बजे दियो । शुभकामनामा लेखिएको थियो, “देशको सबैभन्दा प्रसिद्ध क्रिकेटरलाई जन्मदिनको बधाई । एक साँचो नेता जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याए ।” यति मात्र लेखिएको पोष्टमा समर्थकहरुले कमेन्ट गर्दै सर्वत्र आलोचना गरे । सर्वत्र आलोचनाको केही समयपछि पोष्टमा ‘वन्स अगेन ह्याप्पी बथ्रडे’ भनेर थपियो ।
त्यसै पोष्टलाई आफ्नो वालमा सेयर गर्दै क्रिकेट समर्थक क्षितिज दुलालले क्यानले गर्दा नै पारसले राजीनामा दिनुपरेको लेखेका थिए । उनको पोष्टमा थियो, “क्यानको निलम्बन फुकुवा हुनासाथ पारसले राजीनामा दिनुको केही अर्थ थियो जस्तो लाग्थ्यो, आज यो पोष्टले पक्कै केही छ भनिरहेको जस्तो लागिरहेको छ ।” अर्का समर्थक मदन रत्न न्यौपानेले पनि क्यानप्रति आक्रोश पोख्दै लेखेका छन्, “आईसीसीले विस गरिसकेपछि क्यानले विस गर्न बाध्य भयो । हामी पारसलाई माया गर्छाैं, क्यान पहिचान उनकै कारणले छ ।”
यस प्रकारको आलोचनामात्र होइन, क्यानको अफिसियल पेजमा लेखेको विसको पनि धरै समर्थकले खिल्ली उडाउनसम्म भ्याए । एक समर्थक विपिन अधिकारीले लेखेका थिए, ‘किन यति चाँडो पोष्ट गरेको ? भोलि बिहान गरेको भए हुने । विस गरेपछि सेलिब्रेसनमा जान पाइन्छ भनेर होला ।” यतिमात्र होइन, धेरै कमेन्टमा ‘ढिलो आयो कडा आयो’ भन्ने शब्दलाई सबैले प्रयोग गरेका छन् । यता ‘पारस खड्का समर्थक समूह’मा पनि क्यानको आलोचना भएको छ । सुमन खातीले लेखेका छन् क्यानको अध्यक्ष चतुरबहादर चन्दविरुद्ध, “यदि तपाई नेपाली क्रिकेटलाई माया र समर्थन गर्नुहुन्छ भने पारस खड्काले क्यानको निलम्बन फुकुवाको भोलिपल्ट राजीनामा किन दिए भन्ने रहष्य खुलाइ दिनुहोस् ।”
यता क्यानले भने यस विषयमा बेग्लै प्रतिकृया दिएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, “क्यानको अफिसियल पेजमा भएका विगतका पोष्टहरुको पनि आलोचना छ । पारसको जन्मदिनको पनि आलोचना भएको छ । चार वर्ष लामो समय क्यानको पेज कसले चलाइरहेको छ भन्ने खोजीमा थियौं । हामीले भर्खरमात्र पेजलाई आफ्नै निगरानीमा ल्याएका छौं । ट्विटर अझैँ बाँकी छ,” प्याकुरेलले बाह्रखरीसँग भने । उनले पारसको जन्मदिनको शुभकामना भने क्यानले नै पोष्ट गरको बताए । उनले पारसको जन्मदिनको शुभकामना ढिलो पोष्ट हुनुमा त्यस्तो केही कारण नभएको बताएका छन् । फेसबुक मात्र क्यानको निगरानीमा आएको र क्यानका अन्य सामाजिक सञ्जालहरुलाई निगरानीमा लिने प्रयास भैरहेको बताएका छन् ।
नेपाली टोलीलाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खलेका पारसले सन् २००२ मा युएईमा भएको यू–१५ प्रतियोगिता खेलेका थिए । २००५ मा उनी यू–१९ टोलीको उपकप्तान भएका थिए । पारसले २२ वर्षको उमेरमा नै कप्तानीको जिम्मेवारी पाएका थिए । पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल खेलमार्फत् नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन् । पारसले नेपालका लागि ६ एकदिवसीय खेल खेलेका छन् भने २७ टि–ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् । उनी नेपाली क्रिकेट टोलीका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी पनि हुन् । त्यस्तै उनले २ फर्स्ट क्लास, ४० लिस्ट ए र ५० टी–ट्वान्टी खेलेका छन् ।