
जनकपुर । जनकपुरका एक निर्माण व्यवसायीले उधारोमा लिएको डिजेलको पैसा लिन घरमै बोलाएर साहुको हत्या गरेका छन् ।
जनकपुरधाम-१ निवासी ४१ वर्षीय मनोज साहलाई बुधबार बिहान जनकपुरधाम-१४ स्थित मुजेलियामा गोली हानी हत्या भएको हो । मुजेलिया निवासी निर्माण व्यवसायी शंकर भन्ने पंकज चौधरीले साहलाई उधारो रहेको पैसा लिन बोलाएर आफ्नै घरमा दिनदहाडै गोली हानी हत्या गरेको घटनाको प्रत्यक्षदर्शी अमित साहले जानकारी दिए ।
"आज बिहान म र मनोजसँगै थियौं, मनोजले उधारो रहेको पैसा माग्दै पंकजसँग फोनमा कुरा गर्यो । फोनमा पनि समान्य विवाद भएको थियो । फेरि पंकजले पैसा लिन मनोजलाई घरमै बोलाएपछि असुरक्षाकै कारण मलाई पनि जान कर गर्यो । म बच्चाहरूलाई स्कुल पुर्याएर मनोजसँगै पंकजको घरमा पुग्यौं सुरुमा त्यहाँ पनि दुवैजनाबीच भनाभन भयो र कुरैकुराबीच पंकजले मनोजलाई पेस्तोल भिडाइदियो । मैले मजाक गरेको सोचे लगत्तै गोली फायर भयो म अक्क नबक्क भएँ ।"
एकछिन केही नफुरेको बताउने अमित होसमा आउनेबित्तिकै नजिकै रहेको मुजेलिया प्रहरी चौकी पुगेर प्रहरी बोलाए । प्रहरी आइपुग्दा मनोज ढलिरहेका थिए । पंकज छिमेकीको घरमा गएर लुकिसकेका थए ।
एम्बुलेन्सलाई बोलाएर प्रहरीले पंकजलाई घेरा हालेर नियन्त्रणमा लियो । यता, जनकपुर प्रादेशिक अस्पतालमा पुग्न नपाउँदै मनोजको मृत्यु भएको खबर आयो ।
घटनास्थलबाट गोली फायर भएको होममेड पेस्तोल, त्यसमा प्रयोग हुने १९ राउन्ड गोली तथा अर्को एकथान नलकटुवा पेस्तोल तथा त्यसमा प्रयोग हुने तीन राउन्ड गोली प्रहरीले बरामद गरेको छ ।
पंकजविरुद्ध मनोजका बाबू जीवछ साहले बुधबारै जिल्ला प्रहरी कार्यालयमा ज्यान सम्बन्धी कसुर अन्तर्गत जाहेरी दिएका छन् । पंकजलाई ज्यान सम्बन्धी कसुर तथा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा कारवाही हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामेश्वर खनालले बताए ।