site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आलम प्रकरणः ‘छोरालाई ज्युँदै इँटाभट्टामा हाले’ 

बम विष्फोटनमा परी ज्यान गुमाउने पिन्टुको तस्बिर लिएर आफ्नै आँगनमा उभिएका आमा कमलादेवी र बाबु नारायण । तस्बिरः सुरेश यादव/बाह्रखरी


रौतहट । पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा चुनावी प्रचार प्रसारको काममा खटेका छोरा बमकाण्डमा परेपछि विक्षिप्त भएका नारायण सिंह राजपुत अझै न्याय पाउने भरोसा गर्न सकिरहेका छैनन् ।  आफ्नो गाउँ नजिकै बमको छर्रा लागेर समान्य घाइते भएका उनका छोरा पिन्टु भन्ने त्रिलोकप्रताप सिंहलाई निलम्बित सांसद अफताव आलमको निर्देशनमा जिउँदै जलाएर बेपत्ता पारिएको उनीहरुको आरोप छ । 

२०६४ चैत २७ गते भएको उक्त घटनामा संलग्न अभियोगमा करिब १२ वर्ष पुग्न लाग्दा गत असोज २६ गते आलमलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान जारी छ । घटनामा उनको संलग्नता पुष्टि भए जिल्ला अदालतले तत्काल उनलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने आदेश गर्न सक्छ ।  अहिलेसम्म प्रहरीले फेला पारेको सबुत प्रमाणको आधारमा घटनामा उनको संलग्नता पुष्टि भइरहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतको दाबी छ । तर, पीडित परिवार अझै न्याय पाउने विषयमा ढुक्क हुन सकिरहेका छैनन् । 

“यतिका दिनसम्म प्रहरी, प्रशासन र अदालतलाई समेत प्रभावमा पारेर घटनाको ढाकछोप गर्न सक्षम भएका आलमलाई जोगाउन अहिले पनि ठूलो शक्ति लागिरहेको सुनिन्छ,” बमकाण्डमा २६ वर्षीय छोरा गुमाउने नारायण सिंहले बाह्रखरीसँग भने, “धन्यवाद अहिलेका रौतहट प्रहरी प्रमुखलाई दिन्छु जो कुनै लोभलालच र करकापमा नपरी अन्याय गर्नेलाई कानुनको दायरामा ल्याउन अग्रसरता देखाउनुभयो । तर, अदालतलाई माथिबाटै प्रभावमा पारेर उम्काउने खेल भइ नै रहेको सुनिरहेको छु ।”

आँखै अगाडि पिन्टुलाई जिउँदै इँटाभट्टाको चिमनीमा झोँसेको देख्नेले घटनाको भोलिपल्टै आफुलाई सुनाएको दर्दनाक खबर सम्झिदै सिंह भावनामा बग्न थाल्छन् । 

“आलम र उनका सहयोगीहरुलाई अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएको खबर नसुनेसम्म म आरामसँग बस्न सक्दिन,” उनी भन्छन्, “दुर्घटनावश घाइते भइसकेपछि पनि मेरो छोरालाई घर पुर्याइदिएको भए म आफैँले उपचार गराएर पनि जोगाउँथे । तर, घोर अमानवीय चरित्र देखाएर आलमले अन्यायको पराकाष्ठा नाघे । यस्ता अपराधीलाई अहिले पनि कारवाही भएन भने अदालतबाट पनि जनताको विश्वास उठ्छ ।”

छोरा मारिएको खबर प्राप्त भए पनि शव प्राप्त नभएको र आरोपितको तर्फबाट पिन्टु उक्त घटनामा नरहेको जिकिरलाई आधार बनाएर सिंहले अन्तिम संस्कारको बारेमा पुरोहितलाई सोधेपछि १२ वर्षसम्म पर्खिनुपर्ने सुझाएका थिए ।  सोही १२ वर्ष पर्खिने क्रममै आलमलाई प्रहरीले पक्राउ गरेको बताउँदै उनले थपे, “मैले प्रतिज्ञा पनि गरेको थिएँ, न्याय नपाएसम्म छोराको अन्तिम संस्कार गर्दिनँ बरु आफै मरेर जान्छु ।”

सिंहको भनाइमा घटनाको संक्षिप्त विवरणः

२०६४ चैत १८ गते अफताव आलमका भाइ महताव र उनका सहयोग शेख भदै मेरो छोरा पिन्टुलाई खोज्दै मेरो घरमा आए । महताव ढोका बाहिरै उभिए, भदै आँगनमा आएर पिन्टुलाई चुनावी प्रचारप्रसार अभियानमा जान कर गरे ।  मैले त्यतिखेर पनि आलमको कर्तुतवारे शेख भदैको सामुनेमै छोरालाई सम्झाउने प्रयास गरें तर नयाँ उमेरका पिन्टुले गम्भिरतापुर्वक बुझ्न सकेन  । त्यसअघिको चुनावहरुमा पनि आलम र उनका सहयोगीहरुले पाँच सात जनाको हत्या नगरेको चुनावै छैन । 

पिन्टु सीतामढीमा बिए पढ्न गएको थियो । आलमले सहयोगमार्फत फोन गर्न लगाएर चुनावमा आउनुपर्ने भनेको रहेछ । सुरुमा पिन्टुले पनि गलत काम गरे प्रहरीको फन्दामा पर्न सक्ने भनेर पन्छिन खोज्यो । तर, आलमले प्रधानमन्त्री, गृहमन्त्रीदेखि प्रहरी प्रमुखसमेत आफ्नो प्रभावको दायरामा रहेको जिकिर गर्दै केही भए सम्पूर्ण जिम्मेवारी लिने शर्तमा पिन्टुलाई आउनैपर्ने कर गरेको थियो । 

त्यसबेला मैले रोकेर चुनावी प्रचारमा छोरालाई सहभागी हुन नदिनै सकिनँ । गैर मुस्लिम युवावर्गमा पिन्टुको प्रभाव राम्रो भएकै आधारमा पनि चुनावको बेला उसलाई जसरी पनि बोलाउन आलम आफैले पहल गरेका थिए । 

चैत १८ गते अफताव र शेख भदैसँग घरबाट निस्केको पिन्टुले चुनावको दिनसम्म खाने बस्ने सबै व्यवस्था आलमकै घरमा रहेको भनेको थियो । त्यसबीचमा फर्केर आउन सकेको थिएन । २७ गते साँझ कुनै वस्तु विष्फोट भएको आवाज पाँचकोषको दुरीमा चारैतिर फैलिएको छ । विष्फोट कहाँ भयो भन्ने यकिन जानकारी नआए पनि छोरा बाहिरै रहेकोमा मसमेत परिवारका सबै सदस्य भयभित भयौं । तर, पनि रातभर बाहिर निस्किने हिम्मत भएन । 

अघिल्लो साँझ सुनिएको आवाज राजपुरमा भएको बम विष्फोटको रहेको भोलिपल्ट बिहानै खबर फैलियो । पिन्टु राजपुरमै बसेर चुनावी अभियानमा सक्रिय रहेको सोचेर झन डर लाग्यो । बिहानै हस्याङ्फस्याङ गर्दै राजपुरतर्फ हिँडे । बाटोमा ओसी अख्तरको घर पर्छ । ओसी २७ गते बिहान पिन्टुहरुसँगै आलमकै चुनावी अभियानमा गएको र साँझ भएको बम विष्फोटमा परी मृत्यु भएको खबरले उसको घरमा रुवाबासी भइरहेको थियो । 

मेरो डेगको रफ्तार झन् बढ्यो । म राजपुर गाउँ नजिक पुग्दा नपुग्दै पिन्टुलाई राति नै जिउँदै इँटाभट्टामा जलाइदिएको सुनेँ । मन भारी भयो । गाउँमा छिर्न लाग्दा आलमका समर्थकहरुले घेरा हाले ।  गाउँमा पस्नै दिएन । पिन्टु हिजै घर फर्किसकेको भनेर गाउँमा पस्न अवरोध गरे । मतदान सुरु भइसकेको थियो । म घर फर्कें । मेरो घरमा पनि रुवाबासी सुरु भयो । सात दिनसम्म होस् आएन । 

प्रत्यक्षदर्शीले जानकारी दिएअनुसार गोठघरमा भारतबाट आएका २०–२२ जनाको समूहले बम बनाइरहेका थिए । सोही क्रममा दुर्घटनावश बम विष्फोट भएको हो । विष्फोट हुँदा बाहिर उभिरहेको पिन्टुको तिघ्रामा बमको छर्रा लागेको थियो । उसलाई समान्य उपचार गर्दा पनि निको हुनसक्थ्यो । तर, चुनावको अन्तिम तयारी पूरा भइसकेको बेला घटनाको पुष्टि गर्ने कुनै प्रमाण बाँकी रहन नदिने योजना अनुरुप सबै घाइतेलाई प्राथमिक उपचारको नाममा स्लाइनपानीको बोतलमा विष घोलेर सबैलाई बेहोस पारियो र ट्रयाक्टरमा हालेर सबैलाई इँटा पकाउन बालिएको भट्टीमा झोंसिएर बेपत्ता पारियो । 

त्यसपछि के भयो ? 

नारायण सिंह भन्छन्, “होस्मा आएपछि जिल्ला प्रहरी कार्यालय पुगेर आलमसमेत घटनामा अगुवाको भूमिका खेल्नेहरु स्थानीय महताव आलम, शेख भदै, मोविन आलम र शेख सराजुल विरुद्ध म र ओसीकी आमा रुक्साना खातुनले संयुक्त रुपमा किटानी जाहेरी दियौं । प्रहरीले प्रमाण खोज्दै मुद्दा दर्ता गर्न मानेन ।” 
त्यसपछि गाउँका सामाजिक अगुवाहरुलाई न्यायको लागि गुहारे पनि कसैले नसुनेपछि अर्को हप्ता काठमाडौं पुगेको उनी बताउँछन् । 

काठमाडौंमा रहेको राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र नेपाल बार एशोसिएशनबीच छलफल भएपछि घटनास्थलको अनुगमन गर्न टोली गठन गरियो । सोही टोलीसँगै उनीहरुकै गाडीमा सिंह र खातुन पनि गाउँ फर्के । उक्त टोली घटनास्थल पुग्दा आलमका समर्थकहरुको ठूलो अवरोध सामना गर्नुपरेको सिंह बताउँछन् । 
“गाउँमा कसैलाई थाहा नदिई हामी सोझै घटना भएको स्थानमा गयौं । विष्फोट भएको गोठ घर र आसपासको अवस्थाले घटनाको पुष्टि भयो तर, आलमका समर्थकहरुले हात हालाहालकै अवस्थामा उत्रिदिएपछि हामी गौर फर्कियौं,” उनले भने ।

मानव अधिकारवादीहरुको टोलीले घटना भएको ठहर गर्दै सुक्ष्म अनुसन्धानको लागि पहल गर्‍यो । उनीहरुकै दबावमा इँटाभट्टाको चिमनीभित्रको माटो जाँच गर्ने वातावरण बन्यो । तर, प्रहरीले घटना लुकाउन फेरि अर्कै भट्टाको माटो परीक्षणका लागि पठाइदिएको आरोप सिंहको छ । 

“प्रहरीले सुरुदेखि नै घटना लुकाउन तल्लिन थियो । मानवअधिकारवादीहरुको टोलीले दबाव दिएपछि देखाउनलाई अनुसन्धान गरेपनि आलमलाई जोगाउन हदैसम्मको चाकरी गर्‍यो,” सिंह भन्छन् ।

सिंह र खातुनले संयुक्त रुपमै वैशाख ९ गते हुलाकमार्फत पठाएको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय रौतहटले वैशाख १८ गते दर्ता गर्‍यो । तर, फितलो अनुसन्धानको भरमा औपचारिकता पूरा गर्न मात्रै सरकारी वकिल कार्यालयमा पेस गरेको अनुसन्धान प्रतिवेदन फिर्ता भयो । सरकारी वकिल कार्यालयले कुनै प्रमाण नभएको भन्दै मुद्दा चलाउन आवश्यक नरहेको भनिदियो । फेरि सरकारी वकिल कार्यालयले पनि औपचारिकता पुरा गर्न तत्कालिन पुनरावेदन सरकारी वकिल कार्यालयलाई जानकारी गरायो र त्यहाँ पनि जिल्लाकै निर्णयलाई सदर गरिदियो ।

यो बीचमा सिंह र खातुन दुवैलाई मुद्दा अगाडि नबढाउन निरन्तर दबाव आइरहेको थियो । खातुनलाई स्वजाति भएको नाताले बढी दबाव थियो । तर, दुवैमध्ये कोही छोराको निर्मम हत्या घटनाको सम्झौता गर्न तयार भएनन् । कुनै उपाय नलागेपछि २०६७ माघ ९ गते गते रुक्सानालाई माइतबाट घर फर्किरहेको बेला अपराह्न करिब चार बजेको समयमा गाउँ नजिकै गोली हानी हत्या गरियो । उक्त घटनामा पनि हालसम्म कसैलाई कारवाही भएको छैन । 

रुक्सानाको हत्या भएपछि नारायण सिंहले फेरि मानव अधिकारवादीहरुको सहयोगमा सर्वोच्च अदालत पुगे । सर्वोच्चले आलमसमेत अभियुक्तहरुलाई नियन्त्रणमा लिएर मुद्दाको अनुसन्धान गर्न निर्देशनात्मक फैसला सुनायो । तर, जिल्ला प्रहरी कार्यालयले फेरि पनि चासो देखाएन । अन्त्यमा प्रहरी विरुद्ध सर्वोच्चको मानहानी मुद्दा चलाएपछि यतिबेला कारवाही प्रक्रिया अघि बढेको सिंह बताउँछन् । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  ०७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro