केही दिनदेखि दिमागमा एउटा प्रश्न घुमिराखेको छ – ‘‘महिलाको शक्ति के शारीरिक सौन्दर्यमा निर्भर हुन्छ ?’’ अनेकौं तर्क, वितर्कले मानसपटलमा डेरा जमाएर बसेका छन् । तिनैलाई कलमबाट पोख्ने प्रयास गर्दैछु । प्रश्न सुन्दा सामान्य लाग्न सक्छ तर गम्भीर भएर सोच्ने हो भने यस प्रश्नले अनुसन्धानात्मक उत्तर खोजेको छ ।
सर्वप्रथम शक्तिको कुरा गरौँ । किनभने संसारमा सबैभन्दा प्रिय तत्त्व नै शक्ति हो । शक्तिले नै मानिसलाई खुसी एवम् सन्तुष्टि प्रदान गर्छ । शक्तिका धेरै रूपहरु छन्ः आर्थिक, धार्मिक, संस्कृतिक, शैक्षिक, सामाजिक, पारिवारिक, शारीरिक र यस्तै धेरै नै । रह्यो महिला शक्तिको विषय । आभारी छौँ हामी एक्काइसौं शताब्दीका महिला ती पूर्वज महिला स्वतन्त्रता अभियन्ताप्रति जसको लडाइँ र संघर्षको फलस्वरूप आज हामी यस अवस्थामा आइपुगेका छौँ ।
हाम्रा हजुरआमा र हाम्रो पुस्ताबीचको असमानता अथवा भनौँ प्रगति र स्वतन्त्रता हेर्दा नै थाहा हुन्छ महिलाको अवस्थामा उल्लेखनीय सुधार आएको धेरै भएकै छैन । हजुरआमाको पुस्ता चरम पितृसत्तात्मक व्यवस्थाबाट ग्रसित थियो । पितृसत्ताले पनि सत्ता र स्वार्थको लागि आफ्नो एकल पक्षमा शक्तिको प्रयोग गरेको थियो महिलालाई बन्दी बनाएर । तर, अवस्था बिल्कुलै फेरिइसकेको छ अहिले । किनभने, हामी महिलाहरुले पनि स्वतन्त्रतापूर्वक बाँच्न पाउने एवम अन्य आवश्यकता परिपूर्ति गर्न पाउने शक्ति प्राप्त गरेका छौँ । शक्ति एउटा यस्तो हतियार हो जसको प्रयोगबाट मानिस सन्तुष्टि प्राप्त गर्न चाहन्छ ।
एउटै व्यक्ति एउटै समयमा धेरै शक्तिको मालिक हुन सक्छ । वर्तमान परिप्रेक्ष्यमा मुख्यतया मानिस राजनीतिक र आर्थिकरुपमा शक्तिशाली छ भने अन्य शक्तिहरू पनि ऊसँग गुरुत्वाकर्षणजस्तै तानिएर आउँछन् । फ्रान्सेली लेखक मिसेल फुकोका अनुसार ‘‘शक्तिले नै सत्यको निर्धारण गर्छ ।’’ अर्थात्, सत्यको परिभाषा शक्तिको माध्यमबाट गरिन्छ । उपनिवेशकालतिर युरोपियनहरू शक्तिशाली थिए । फलस्वरूप सुन्दरताको परिभाषामा उनीहरूको छालाको गोरो रंग पर्न गयो । अफ्रिकी र एसियाली पनि सकी नसकी छाला गोरो बनाउने कृत्रिम वस्तुको प्रयोग गर्न थाले ।
हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख गरिएअनुसार नेपालको तराई भूभागमा पर्ने जनकपुरमा जन्मिएकी सीता शारीरिकरुपमा अत्यन्तै सुन्दर र आकर्षक थिइन् । तराईका मानिसहरू भौगोलिक कारणले गर्दा कालो वर्णका हुन्छन्, सीता पनि अपवाद थिइनन् होला । काली हुँदा पनि उनी राम्री थिइन् । यसर्थ, सुन्दरताको सूचक भौगोलिक स्थान, जातजातिअनुसार फरकफरक हुन्छन् । अफ्रिकामा ओँठ जति ठूलो भयो त्यति नै सुन्दर । चीनमा आँखा साना भए सुन्दर । तर, उपनिवेशवाद र पछि विश्वव्यापीकरणले गर्दा सुन्दरताको सूचकमा पनि पश्चिमी प्रभाव परेको छ । यो भिन्न पाटो हो । यहाँ उठाउन खोजेको विषय वर्तमान अवस्थामा राजनीतिक, आर्थिक एवं शैक्षिक तीन महत्त्वपूर्ण पक्षबाट शक्तिशाली हुँदाहँुदै पनि महिलाको शारीरिक सुन्दरतालाई किन समाजले प्राथमिकतामा राख्छ ?
के साँच्चिकै महिलाको शारीरिक सुन्दरता यी तीन शक्तिभन्दा पनि उत्कृष्ट छ त ? एउटी महिला शारीरिकरूपमा सुन्दर छिन् या भनौ सौन्दर्यका सबै सूचचांकहरूमा पर्छिन् तर उनीसँग माथिका तीन विशेष शक्तिहरु छैनन् भनेपछि समाजले के उनलाई प्राथमिकता दिन्छ त ? आजको परिप्रेक्ष्यमा अशिक्षित, गरिब र राजनीतिक पहुँच नभएकी महिला पक्कै पनि कसैको रोजाइमा पर्दिनन् । र अर्कोतिर एउटी महिला यी तीन विशेष शक्तिले भरिपूर्ण हँुदाहँुदै हाम्रो समाज उनमा शारीरिक सुन्दरता किन खोज्छ त ? शारीरिक सुन्दरता भोग गर्ने तत्त्व हो भने भोग गर्ने व्यक्तिको मात्रै सरोकारको विषयवस्तु हुनुपर्ने ।
यहाँ त प्रायः मानिसहरू महिलाको सुन्दरताको पारखी भएर बसेका हुन्छन् । मेरै उदाहरण दिनुपर्दा म क्याम्पसमा प्राध्यापकको रुपमा जान्छु । पढाउनु मेरो दायित्व हो । त्यहाँ मजस्ता अरु प्राध्यापक पनि हुनुहुन्छ । भेट हुँदा हामी नमस्कार आदानप्रदान गर्छौं । नमस्कार गरेको हात तल झारिनसक्दै कतिपयको टिप्पणी आइहाल्छ– ‘‘कति धेरै मोटाउनु भएछ म्याम‘ त ?’’
म सोच्छु के मोटाउनु शारीरिक कुरुपता हो? बरु यो कसैको स्वास्थ्यसँग जोडिएको विषय हो । मोटाउनु र दुब्लाउनु रहर अथवा बाध्यता हुनसक्छ । कुनै महिला आफ्नो मोटो शरीर मै फुर्तिलो अनुभव गर्न सक्छन् । कुनै महिलाले केही विशेष औषधि सेवन गर्नाले या कुनै शारीरिक बाध्यताका कारणले मोटाएको हुनसक्छ । साथीभाइबीच कुराकानीका क्रममा प्रसंगवश कसैको शरीरलाई लिएर प्रतिक्रिया र सुझाव दिइन्छ भने त्यो सान्दर्भिक पनि हुन्छ । तर, भेट हुन पाएको छैन फ्याट्ट प्रतिक्रिया दिने व्यक्तिले चाहिँ महिलाको शरीरलाई वस्तुको रुपमा मूल्यांकन गरिरहेको हुन्छ । यो टिप्पणी त्यहाँमात्र होइन, अन्यत्र पनि मैले भोगिरहेको हुन्छु । त्यहाँको उदाहरण किन दिएको हो भने क्याम्पस भनेको प्राज्ञिक थलो हो । त्यहाँ त शैक्षिक गतिविधि बारे चर्चा परिचर्चा हुनुपर्ने । तर, अफसोच, त्यहाँ पनि मैले उही मोटाएको बारेमा नै प्रतिक्रियाको भार झेल्नुपर्छ जुन अन्य क्षेत्रका मानिसबाट खेप्ने गर्छु ।
म घरबाट निस्कँदा ताजा मनःस्थितिमा निस्किएको हुन्छु, मज्जाले फुर्तिसाथ कक्षा लिन्छु । तर, जब हजुर त मोटाउनु भएछ, व्यायाम गर्नुपर्यो, कम खानुपर्यो, बिहान बिहान दौडिनुपर्यो जस्ता निःशुल्क सुझाव र विनाप्रसंगका टिप्पणी सुन्छु – आफू त एकदमै पो मोटाएछु कि जस्तो लाग्छ । होइन भने मेरो शरीरको वजनले मलाई अरु केही काम गर्नलाई बाधा पुर्याएको भने छैन । यत्ति हो, कहिलेकाहीँ बजारमा देखेर मन पराएको लुगा ठीक हुँदैन र निराश भइन्छ केहीबेरसम्म । यो समस्या त दुब्लोलाई पनि छ, अग्लोलाई पनि छ, होचोलाई पनि छ । सबैजना सबै कुराले परिपूर्ण कहाँ हुन्छन् र ?
सौन्दर्य प्रतियोगिताहरुमा महिलाको मोटाइ, उचाइ, संरचना, कपाल, हातगोडा, वर्णलगायतका धेरै शीर्षक समावेश गरिएका हुन्छन् । हिँडाइ, बोलाइ, हसाइ, उठाइ, बसाइलगायत सम्पूर्ण क्रियाकलाप पनि मूल्यांकन गरिन्छ । त्यो त सुन्दरी प्रतियोगीका लागि बनाइएका नियम हुन् । तर, एउटा महिला प्राध्यापक, इन्जिनियर, डक्टर, शिक्षक, व्यापारी, राजनीतिज्ञ, अर्थशास्त्रीजस्ता विभिन्न पेसामा आबद्ध महिला पनि पुँजीवादी समाजको सुन्दरी प्रतियोगिताको जस्तो कसीमा उभिरहनु पर्ने नै हो त ? उनीहरूको योग्यता, क्षमता, व्यक्तित्व एवं योगदान आफैँमा सशक्त छँदैछ त ।
विद्यार्थीकालमा उत्तरपुस्तिकामा न महिला या पुरुष भनेर कतै लेखिएको हुन्छ, न त फोटो नै टासिएको हुन्छ, सो पनि निष्पक्ष नै हुन्छ । तर, समाजले चाहिँ किन शारीरिक सुन्दरता खोज्छ त? म एउटा जागिरे महिला भएको हुनाले म आफूलाई शक्तिशाली मान्छु । तर, के म शारीरिकरूपमा पनि सुन्दर देखिनु नै पर्छ त ?
म सोच्छु, मेरो शरीरको बारेमा चासो राख्नुपर्ने मानिस मेरो पति एकजना हुन सक्नुहुन्छ तर उहाँ कहिल्यै आफ्नो चाहना र निर्णय ममाथि थोपर्नुहुन्न । अब अन्य मानिसहरू जसलाई मेरो शारीरिक सौन्दर्यको कुनै सरोकार नै नहुनुपर्ने हो । उनीहरू किन यति धेरै चिन्तित छन् त? के हाम्रो समाजका मानिसहरू महिलालाई अझै पनि उपभोग्य वस्तु नै सम्झिरहेका हुन्छन् त ? उनीहरूको आँखाको तृप्तिका लागि एउटा महिला सुन्दर देखिनुपर्छ ? शैक्षिक योग्यताले प्रवेश गरेको ठाउँमा पनि महिलाले अझै शारीरिक सुन्दरताको परीक्षा दिइरहनु पर्ने नै हो ? प्रश्न निकै गम्भीर छ ।
अचेल बलात्कारका समाचार निकै आउँछन् । बलात्कारका समाचार अचेल बढेको होला । सामान्य मानिसको संचारप्रतिको पहुँचले गर्दा तर यो समस्या त पहिले पनि थियो, अहिले पनि छ । यस्ता आपराधिक घटना किन र कसरी घट्न जान्छन् भनेर अध्ययन गर्ने हो भने प्रमुख कारण भनेको पुरुषले महिलालाई उपभोगको वस्तु ठान्नु र आफूलाई पुरुषमात्रै भएकैले महिलाभन्दा शक्तिशाली ठान्नु हो । पितृसत्तात्मक समाजले पुरुषलाई बलवान र महिलालाई निस्क्रिय हुनुपर्ने लैंगिक दायित्व दिएकाले हाम्रो सोचाइ नै ग्रसित छ ।
यसर्थ, अहिलेको एक्काइसौं शताब्दीका महिलाहरु एकतर्फ महिला स्वतन्त्रता उपयोग गरेर शैक्षिक, आर्थिक, राजनीतिक एवं सामाजिकरुपले शक्तिशाली भएका छौँ भने अफशोच छ अर्कोतर्फ यही समाजको उपभोग्य वस्तुका रूपमा पनि कहीँ न कतै प्रयोग पनि भइरहेको आभास हुन्छ । जबसम्म हामी यस कुराको विरोध गर्दैनौ तबसम्म समाजले महिलालाई उपभोगको वस्तुकै रुपमा हेर्छ र बलात्कारजस्ता नकारात्मक आपराधिक घटना हुन्छन् ।
अमेरिकी लेखक जुडिथ बट्लरले भनेकी छन् – हामीले कुनैपनि व्यवहार जब दोहोयार्एर गर्छौँ त्यो हाम्रो बानी हुनजान्छ । सो बानी संस्थागत भयो भने विचारको जन्म हुन्छ । समाज परिवर्तन गर्ने नै विचारमा परिवर्तन ल्याएर हो र विचारलाई हाम्रो आचरणले प्रभाव पार्छ । त्यसकारण परिवर्तित सन्दर्भमा पुरातन विचार बदल्न सक्यौँ भनेमात्र स्वस्थ समाज निर्माण हुन्छ । महिलाको शारीरिक आवरणको सुन्दरतामा कुनै शक्ति नखोजौँ, महिलाको सक्षमतामा स्वस्थ समाज निर्माण गरौँ ।