‘‘छोरा छैनन्, यिनको सम्पत्ति कस्ले खाने होला? ’’
छोरा हुने छिमेकीले मौका पाउँदा कुरा काटेर मजा लिने या झगडा पर्दा यसो भन्ने सामान्य चलन अझै छँदैछ हाम्रो समाजमा । अझ धेरै भए त ‘अपुतो’सम्म भन्न भ्याउँछन् छोरीमात्रै हुनेहरूलाई । अलि मेहनत गरेको देखे, राम्रो गरेको देखे भने डाहाले खिसी उडाउँदै भन्छन् – ‘कोरीको जीउ प्यारो, अपुतोको धन प्यारो ।’
छोरीमात्र हुने बाबुआमाको कानमा घरीघरी बिझाउँछ यही प्रश्न हाम्रो समाजमा । एकथरी बाबुआमा छोरा नभएको हीनताबोधले पीडा महसुस गर्छन् । वर्षौदेखि समाज र संस्कारको नाममा गरिने विभिन्न कुरीतिको वशमा परेर उनीहरू त्यसो गर्छन् । अर्कोथरी छोरीप्रतिको सामाजिक सोच र हेर्ने प्रवृत्तिका कारण दुखित हुन्छन् । एक्काइसौं शताब्दीको यस घडीमा पढेलेखेका र आफूलाई विद्वान् ठान्नेहरुबाटै देखिने छोरीप्रतिको विभेद भने अझै ठूलो चिन्ताको विषय हो ।
‘‘हाम्रा हाकिमहरू छोरा पाउन नसक्ने नपुंसक !’’
बाइस वर्ष जति पहिले म काम गर्ने कार्यालयमा एकजना हामीसँगै काम गर्ने कर्मचारीले भनेको वाक्य हो यो । हामी लगभग सात जना जति अधिकृत सबै एक या दुई छोरीका बाबु थियौँ । हामीलाई नै इङ्गित गरेर उनले यो विशेषण भिराए । हामी हाँस्यौँमात्रै । अरू त के नै गर्न सकिन्थ्यो र !
एक दिन उनै काठमाडौँका रैथाने, जो आफूलाई सम्भ्रान्त परिवारको सम्झिन्थे, हस्याङ्गफस्याङ्ग गर्दै ढिलो अफिस आए र आउनको कारण फटाफट बताउन थाले । मलाई रिसको पारो धेरै चढ्यो । मैले नराम्रोसँग हकारेपछि अर्कोतिर लागे उनी । मेरो रिस उनी ढिलो आएको या पहिले लगाएको विशेषणको कारण थिएन बरु उनको अत्यन्त लज्जास्पद सोचमा उठेको थियो । उनले भने – ‘‘आज श्रीमतीको भिडियो एक्सरे गरेको छोरी रहेछ, मैले त फाल्न लगाएँ’’ । फेरि थपे, – ‘‘साला ! छोरी राखेर के गर्नु !’’ पहिले नै एउटा छोरा भएको मान्छेको यो दोस्रो बच्चाको कुरा हुँदै थियो । मलाई यस घटनाले अहिले पनि दुखी बनाउँछ बेलाबेलामा । ती बिचराको सोच सम्झिएर दया लाग्छ ।
म छोरा विरोधी हैन । मलाई छोरा एकदम मन पर्छ । आफूजस्तै अनुहार भएको, मेरै नक्कल गर्दै हिँड्ने ‘भकुल्ले’ छोरा होओस् भन्ने मेरो चाहना पनि थियो । नामसम्म सोचिसकेको थिएँ मैले । त्यही समाज र संस्कारमै हुर्किएको म अरूभन्दा धेरै फरक हुने कुरा पनि थिएन । तर, आफ्नै सन्तानमा भेद गर्ने सोच भने कहिल्यै आएन या बुझ्दै गएपछि हराउँदै गयो । छोरा भएन, मान्छेका सबै चाहना पूरा पनि हुँदैनन् । तर त्यस कुराले मेरो जीवनमा केही फरक परेकोजस्तो मलाई लाग्दैन । मेरा अहिले तीन छोरी छन् । स्वस्थ छन्, मेहनती छन्, आफ्नो पहिचान बुझेका छन् । म धेरै भाग्यमानी सम्झन्छु आफूलाई ।
छोरी नै नचाहने, छोरी भनेपछि घृणा गर्ने या हेला गर्ने, अथवा गर्भमै हत्या गर्ने, छोरी भएको कारणले हेप्ने या हेपिने यी सबै अशिक्षित नबुझेका, थाहा नपाएका या अज्ञानीहरूको हकमा एकछिनलाई ठीकै होला भन्ने मान्ने हो भने पनि शिक्षित समाजमा यस्तो देखिनुको गुह्य अझै मेरो दिमागमा पसेको छैन ।
अहिले विदेश बसेको लगभग १८, १९ वर्ष भयो । मभन्दा पहिले विदेश लागेका र कोही मभन्दा पछि आएकाहरु पनि धेरैनै छन् यता । भेटघाट हुन्छ, कुराकानी हुन्छ । यता पनि आक्कलझुक्कल कोही कोही छोरा हुनेहरूको रबाफ देखिई हाल्छ । अनायासै फुस्किने विभेद थाहा पाएपछि कोही लज्जित हुन्छन् र पछि मिलाएर बोल्छन्, कोहीलाई त्यो विभेदको लज्जा महसुस पनि हुँदैन ।
केही समयअघिको घटना हो । राजनीतिक पार्टीको एकजना जिल्ला स्तरको नेता जो मेरो पुरानो साथी पनि हुन्ले अशोभनीय टिप्पणी गरे मेरो फेसबुकमा । यो गर्मी याममा छोरीहरूसँग नायग्राफल्स घुम्न गइयो । उनीहरूले आफूलाई मन पर्ने लुगा लाएर गएका थिए । फेसबुकमा फोटोमा ‘तीघ्रा नदेखाएको भए हुन्थ्यो’ भन्ने ती तथाकथित नेताको टिप्पणी थियो । म छक्क परेँ । उनको नियत के थियो मैले बुझिन र बुझ्न चाहिन पनि । जहाँसम्म अश्लीलताको कुरा हो, त्यो विशुद्ध दृष्टिकोण हो । केटाले छाती देखाएर हिँड्दा श्लील हुने या छोटो कट्टु लाउँदा हुने र केटीले जीउ ढाक्नुपर्ने भन्ने सोच या दृष्टि कसैको हुनसक्छ । तर, कसैलाई आफ्नो मनको लुगा लाउने भरपूर स्वतन्त्रता हुन्छ र त्यसमा अरूले हस्तक्षेप गर्ने कमसेकम अहिले हामी बसेको देशमा हुँदैन ।
छोरी भएकै आधारमा बन्देज लाउने, फरक हिसाबले हेर्ने, हेप्ने कारणले नै हामी पछि परेका हौँ भन्न मलाई थोरै पनि हिचकिचाहट लाग्दैन । नर्वेमा लगभग डेढ वर्ष बस्ने सौभाग्य मिल्यो र त्यस क्रममा त्यहाँका महिलाहरूको सुदृढ अवस्था देख्दा मलाई त डाहा नै लाग्थ्यो । गरुङ्गो र गाह्रो काम पुरुषहरूले गर्नुपर्ने त्यस ठाउँमा झुक्केर पत्नीलाई केही सामान बोकाए पनि थाहा पाएपछि कसैले देख्यो कि भनेर यताउता हेरिन्थ्यो । हामी विकासका, समृद्धिका कुरा गर्छौँ । हामी धर्मका, देवीका कुरा गर्छौँ तर घरमा छोरीलाई हेप्छाँै । कहिल्यै बुझेनौ विकासको आधार छोरीहरू हुन् भन्ने ।
आज एकाबिहानै दसैँको झल्को आयो । विदेशमा दसैँ के तिहार के ! त्यो पनि अहिले हामी बसेको ठाउँमा दुई परिवारमात्र छौँ नेपाली । चाडबाडमा मन अत्यन्त बिथोलिन्छ यता । घर सम्झिन्छ, परिवार सम्झिन्छ । उडेर एकैपटकमा गाउँ पुग्न मन लाग्छ । स्मृति तुफान भएर मडारिन थाल्छन् मस्तिष्कमा । सामाजिक सञ्जालले झन् सम्झाउँछन् – फोटा जो राख्छन् मान्छेहरूले सम्झाउने गरी ।
पुरानो टीका लाएको फोटो राखेँ फेसबुकको भित्तामा । शुभकामना आदानप्रदान भयो साथीभाइ र आफन्तहरूसँग । एकजना मित्रले ‘छ्यास्स लेखे, ‘‘सबै राम्रो रहेछ, छोरा भएको भए अझ राम्रो हुन्थ्यो !’’ । एकछिन घोरिएँ । अर्थ लाउन खोजेँ तर केही भेटिन ।
मैले यहाँ यो विषय ती साथीलाई मेरो ‘अझ राम्रो भएको’ देखाउन, छोरी र छोरा दाँजेर छोरी छोराभन्दा फरक हुन्छन् भनी आफूलाई ठूलो बनाउन या म खुसी छु भनेर पुष्टि गर्न उठाएको हैन ।
मैले लड्दा दुख्छ भनेर थाहा पाएँ र जोगिन थालेँ लड्नबाट । आगोले पोल्यो रातो देखेर छुन खोज्दा, बच्न थालेँ आगोबाट । ‘क’ सिकेँ, लेख्न थालेँ, क बाट कमल । ठूलो हुँदै गएँ, बुझ्न थालेँ । प्रेम गर्न थालेँ । छोरीहरू जन्मिए, प्रेम फुल्दो रहेछ भनेर जाने । मलाई मायाको साँचो अर्थ के हो तीनै ससाना छोरीले सिकाए । तिनकै औँला समातेर हिँड्दा खुसी चिनेँ मैले । थाहा छैन छोरा भएको भए मैले फरक के सिक्थेँ, मेरो जीवन कसरी फरक र अझ राम्रो हुन्थ्यो यसभन्दा । तर, मलाई एउटा कुरा पक्का के थाहा छ भने मैले जे प्राप्त गरेको छु अहिलेसम्म, त्यसभन्दा अरू अट्ने गुञ्जायस् नै देख्दिन म त ! मेरो पोल्टो तीनै छोरीहरूले खुसीले भरिदिएका छन् ।
किन सिक्दैनन् अरु छोरीहरुबाट केही ? आमा छन्, दिदीबहिनी छन्, पत्नी, छोरीहरु छन् – म त माया नै माया देख्छु सबैतिर । घृणा कसरी सिक्छन् मान्छेहरु र पोख्छन् घरीघरी छोरीहरूप्रति ?
म भने धेरै जान्ने भएको छु अचेल । हरेक पटक केही न केही सिकाउँछन् मेरा छोरीहरु । तर, सबैभन्दा ठूलो सिकाइ उनीहरु मेरो जीवनमा आएपछि ‘छोरी’को महत्त्व बुझ्नु हो । म पहिलेभन्दा लाखाैं गुणा बढी छोरी चाहन्छु अब !
(हालः टिमिन्स, क्यानडा)