site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छोरो भेट्न पनि ‘अपराधी लोग्‍ने’ को स्वीकृति चाहिने !

“उज्ज्वल दाइ ! मैले छोरो भेट्न पाइनँ ! आफ्नो छोरो भेट्न पनि ‘अपराधी लोग्ने’को स्वीकृति चाहिने रे !”

कीर्तिपुरको मौसम घमाइलो छ । पाहुनाको स्वागत सत्कार गर्न दिनरात नभनी खटिएको काठमाडौंको साँध जोडिएकाले हुनुपर्छ कीर्तिपुरको आकाश पनि धुवाँधूलो मुक्त छ ।

ठीक उल्टो छ, कीर्तिपुर अस्पतालको दृष्य । दसैं सकिएको छैन । तर कीर्तिपुर अस्पतालमा मानिसहरूको चलहपहल ह्वात्तै बढेको छ । डक्टरहरूको आउजाउ बढेसँगै आर्तहरूको क्रन्दन, चित्कार पनि बढेको छ ।

पारिवारिक जमघट र मेलमिलापको पर्वमा पनि तेजाव आक्रमण विरुद्धका सामाजिक अभियन्ता उज्ज्वलविक्रम थापाले एकदिन विश्राम पाएका छैनन् । कीर्तिपुर अस्पताल ओहोर–दोहोर गरिरहन्छन् ।

वीरगञ्जकी १४ वर्षीया अबोध किशोरी मुस्कान खातुन तेजाबको जलनमा छटपटाइरहेकाले उनको मन कीर्तिपुर पुगेर पीडामा अन्तरघुलित नभएसम्म शान्त हुँदैन ।

बिहीबार पनि उज्ज्वल यही मेसोमा कीर्तिपुर अस्पताल पुगेका थिए ।

उज्ज्वल आइपुग्नु अगावै गत जेठ १ गते कालोपुलमा आफ्नै ‘लोग्ने’बाट तेजाब आक्रमणमा परी मृत्युको मुखबाट उम्किएर आएकी जेनी भुजेल (वर्ष २०) आइपुगेकी रहिछन् । 

पहिले तेजाबसँग र अहिले कानुनी लडाइँ लडिरहेकी जेनीले गुनासो गरिहालिन्– “दाइ ! प्रहरी लिएर जाँदा पनि छोराको अनुहारसम्म हेर्न पाइनँ ।”

तेजाबले जलेका घाउहरूमा मल्हमपट्टी गरिरहेका उज्ज्वल केही बेर त असमञ्जसमा पनि परे । चार महिनादेखि जेनीको अवस्था नियालिरहेका जेनीको सुध्रँदो हालत देखेर तत्कालै उनको अनुहारको भावभङ्गिमा बदलियो । भने, “तेजाबको जलनबाट बाँचेर जीवन त देख्न पाइस् । छोरो देख्न नपाउलिस् त !”

“ओखलढुङ्गाबाट जन्मदर्ताको प्रमाणपत्र झिकाएपछि बच्चा नदिई धरै छैन । बच्चाको पहिलो हकदार आमा हुन्छिन्, बुझिस् !,” उनले थपे ।

त्यसपछि जेनीको अनुहारको अँध्यारो केही फाट्यो ।


 

० ० ०

यो समय जेनीहरूको विद्रूप र विदारक कथाको साक्षी बसेको छ । जो कसैको स्वार्थपूर्ति नगरिँदा र कसैको कलुषित प्रेम नस्वीकारिदिँदा तेजाबको जलन सहन बाध्य छन् । जिउँदै जल्न विवश छन् । जीवनभर ‘मृत्यु’ सहन अभिशप्त छन् ।

जेनीको कथा पनि ६ वर्षअघिबाट सुरू हुन्छ । जतिबेला जेनी किशोरवयमा टेकेकी मात्रै थिइन् ।

भर्खर १३ पुगेर १४ मा टेकेकी मात्रै थिइन् । ९ कक्षामा पढ्थिन् । 

तिनताका पनि जेनीको बसाइ कालोपुलमै थियो । आमाले सानोतिनो चियापसल खोलेकी थिइन् । जीवन गुजाराको माध्यम भन्नु त्यही चिया–चमेना पसल थियो ।

काभ्रे, फूलबारीका विष्णु भुजेलको भेट त्यहीँ भयो । भेट पनि के भन्नु ? विष्णु चियापसलमा बरोबर आइराख्थे, जेनी बिहानबेलुका पसलमै हुन्थिन् ।

दुईचारपटक त आक्कलझुक्कल भेट भयो । त्यसपछि विष्णु नियमितजसो जेनीको चियापसल धाउन थाले ।

आउजाउ बाक्लिन गएपछि जेनीले विष्णुलाई दाइ भनेर सम्बोधन गर्न थालिन् । तर विष्णु दाइ सम्बोधनबाट हमेसा तर्किन्थे । तर जेनीले विष्णुको तर्काइको अनुमानसम्म गर्न सकिनन् ।

त्यस्तै  ७–८ महिनापछि जुना भन्ने पात्र बीचमा आइन् । जुना जेनीको सखा पनि थिइन् । 

जेनीलाई फकाउन थालिन्, “हेर, विष्णुले तिमीलाई कत्ति मन पराउँछ । तिमी ऊसँग बिहे गर !”

“दाइसँग पनि बिहे गर्छन् र !,” जुनाको प्रस्ताव सुनेर जेनी सुरूमा त तीन छक परिन् । बिहे के हो ? किन गरिन्छ ? बिहे भनेको के हो ? यावत् प्रश्नले केटौले दिमाग रन्थन्याउन थाल्यो ।

उनले पन्छाउन खोजिन्, “ह्या ! गर्दिन म बिहेसिहे !”

उनले बिहेको प्रस्ताव नकारे पनि वास्तवमा उनलाई बिहे केहो ? थाहै थिएन !

उनले प्रस्ताव त पन्छाइन् तर विष्णु कहाँ पन्छिन्थे र ! उनले जसरी पनि बिहे गर्ने तानाबाना बुनिसकेका रहेछन् । भर्खर १५ टेकेकी जेनीलाई मोटरसाइकलमा राखेर आफ्नो उद्देश्यतिर लिएर हिँडे ।

कता लगिँदैछु ? मेरो बाटो कता मोडिन्छ ? आफूमाथि के आइलाग्दै छ ? जेनी विलकुल भावशून्य थिइन् ।

उनी सीधै ओखलढुङ्गा पु¥याइन् । सिन्दूर–पोते त्यतै भयो ।

लगन–पोते गरेको घटना जेनीलाई खासै सम्झना छैन । विस्मृतिमा धकेलिइसक्यो सायद । त्यतिबेलाको एउटा क्षणचाहिँ उनलाई थाहा रहेछ–

विष्णुले सिउँदोमा सिन्दूर हालिदिन लाग्दै थिए । जेनीले भनिन्, “ह्या दाइ ! तपाईंले लगाइदिनु पर्दैन के ! म आफैं लगाउँछु !”

संवादले पनि प्रष्ट्याउँछ, उनी कति केटौले थिइन् ।

ओखलढुङ्गा पुग्नेबित्तिकै विष्णुको असलियत थाहा भयो जेनीलाई । विष्णु मध्यपानको लती थिए । बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म मदिरामा लिप्त हुन्थे । मदिराका मातमा घरमा रँडाको

नमच्चाएको र हातपात नगरेको दिनै हुँदैनथ्यो ।

किशोरवयमै ‘रक्स्याहा’को फन्दामा पो परिछन् उनी । 

“तै पनि सुध्रिएलान् कि ! भनेर केही वर्ष धैर्य पनि गरेँ । अहँ सुध्रिएनन्,” जेनी ती विदारक दिन सम्झिन्छन् ।

मध्यपानको लतमा मात्र थिएनन् विष्णु । शङ्कालु र सन्काहा पनि उत्तिकै थिए । जेनीलाई बाहिरफेर हिँडेको पनि देखिसहँदैनथे । बाटैमा कुटपीट गर्थे ।

हैरान भएर घर छोड्ने निधोमा पुगिन् । तर पेटमा हुर्कंदै गरेको बच्चा बाधक भइदियो ।

बच्चा जन्मिएपछि पनि विष्णुको मति सुध्रिएन । जीवनको थप दुर्गति नहोस् भनेर उनी सुटुक्क बनेपा झरिन् ।

विष्णुसँगको सम्बन्धले घरपरिवार टाढिइसकेका थिए । त्यसबीचमा परिवारले फिर्ता ल्याउने प्रयास पनि नगरेका होइनन् । तर विष्णुसँगको ‘अवैध’ विवाह बाधक बन्यो ।

पन्ध्र महिनाको शिशु च्यापेर ओखलढुङ्गा छाडेपछि उनी बनेपा, चारदोबाटोमा डेरा लिएर बसिन् । आफ्नो र बच्चाको रखवारी गर्न थालिन् ।

बनेपा आएपछि पठनपाठनसँग आफूलाई जोडिन् । छुटेको विद्यालय पुनः गाँसियो । बिहान स्कुल जान्थिन्, दिउँसो बच्चा हेर्थिन् । सानोतिनो काम पनि गर्थिन् ।

दुईचार महिना भएको हुँदो हो, विष्णुले जेनीलाई फोन गरे । त्यतिबेला उनले भनेका थिए, “म सुध्रिइसकेँ । पहिलाको व्यवहार दोहोर्‍याउन्न । सँगै बसौं ।”

जेनीको किशोर मन तुरुन्तै फर्कियो । राजी भइन् उनी ।

जेनीको मन बदलिए पनि विष्णुको स्वभाव बदलिएको थिएन । पूर्ववत् लत छाडेका थिएनन् । बनेपा आएपछि झन् ठूलो ‘रक्स्याहा’ बने ।

रातविरात मदिरा खाएर होहल्ला गर्न थालेपछि घरभेटीले निकालिदियो । चार ठाउँमा डेरा सर्नुपर्‍यो ।

“उसको यातनाले बच्चा जन्मिनेबित्तिकै छाडेर हिँडौंजस्तो भएको थियो । तर, आमाको मायाले मलाई बाँध्यो,” उनी ती ताडनाका दिन सम्झिन्छिन् ।

यातना–ताडनाले शरीर होइन, जीवन नै थिलोथिलो भइसकेपछि उनले पुनः छुट्टिएरै बस्ने निधो गरिन् । बनेपा पनि छाडिन् ।

शिुशु भर्खर दुई वर्षका लागेका थिए । उनी आमाकै शरण परिन् । गत भदौदेखि जेनीले सहकारीमा बजार प्रवद्र्धकको काम थालेकी थिइन् । 

जेनीले विष्णुको नजिक पर्न छाडे पनि विष्णुले जेनीको पिछा गर्न छाडेका थिएनन् । पछ्याउँदै जाँदा जेनीको काम गर्ने सहकारी पत्ता लगाए ।

चैतको पहिलो सातातिर हुनुपर्छ, विष्णुले जेनी काम गर्ने असनको जनमत सहकारीमा फोन गरेर सञ्चालकलाई भनिदिए– “जेनीलाई किन काममा राखेको ? पैसा खाएर भागी भने को जिम्मेवार हुन्छ ?”

अपरिचित पुरुषको आवाजले सहकारी सञ्चालक हच्किए । उनले तुरुन्तै जेनीलाई बोलाएर सोधखोज गरे ।

जेनीले विष्णुले फोन गरेको चाल पाइसकेकी थिइन् । उनले सहकारी सञ्चालकलाई पनि भएभरको पीडा पोखिन् । 

सहकारी सञ्चालक ‘कन्भिन्स’ भए ।

सहकारीमा फोन गर्नुपूर्व जेनी विष्णुको सम्पर्कबाट टाढिइसकेकी थिइन् । तर काम गर्ने ठाउँमै फोन गरेर नानाभाँती भन्न थालेपछि उनी विष्णुसँग सम्पर्कमा रहन बाध्य भइन् । निरन्तर धम्की दिए पनि भेटघाट नै भने गरेकी थिइनन् ।

गत जेठ १ गते । भर्खर उज्यालो भएको थियो । ढोकामा ढकढक आवाज आयो ।

विष्णुले कोठा देखेका थिएनन् । आमा आउनु भयो क्यारे भनेर जेनीले दैलो उघारिन् ।

आमा होइन, उनै विष्णु थिए । हातमा भोड्का (रक्सीको ब्राण्ड)को बोतल बोकेका थिए ।

“तँ मसँग बस्छेस् कि बस्दिनस् ?” उनले सुरूमै यही सोधे ।

विष्णुको व्यवहारले जेनी आजित भइसकेकी थिइन् उनले इन्कार गरिन्, “म तपाईंसँग बस्न नसक्ने भएरै अलग बसेकी हुँ ।”

यति भनेर उनी ढोकाभित्र पसिन् । भित्रबाट चुकुल लगाइन् ।

विष्णुले धर दिएनन् । उनले ढोका जोडजोडले ढक्ढक्याउन थाले । छिमेक कोठाकाले थाहा पाउलान् भनेर जेनी बाहिर आइन् ।

“तँ मसँग नबस्ने नै हो  ?,” विष्णुले दोहो¥याए ।

जेनीले नबस्ने के भनेकी थिइन् । विष्णुले हातमा रहेको बोतल देखाए र भने, “यो के हो थाहा छ ?”

भोड्काको बोतल देखेर उनले भनिन्, “रक्सी खाने मान्छेले अरू के बोक्छ र ?”

“होइन एसिड हो एसिड..! मेरो रहिनस् भने, अर्काको पनि हुन दिन्नँ !”

यति भनेर विष्णुले आफूले बोकेको तेजाब जेनीको शरीरमा ह्वात्तै खन्याइदिए ।

संयोगले अनुहार छलिन् । घाँटी, वक्ष र पाखुरा भतभती पोल्न थाल्यो । बरण्डामा धुवाँको मुस्लो छुट्यो ।

विष्णुले नै एसिड भनिसकेकाले जेनीले गुहार मागिन् ।

संयोग नै मान्नुपर्छ, छिमेकी वरिपरि नै रहेछन् । जेनीलाई उद्धार गरेर ओम अस्पताल पुर्‍याइयो ।

ओम अस्पतालमा उपचार सम्भव भएन । कीर्तिपुर अस्पताल ‘रेफर’ गरिदियो ।

कीर्तिपुर अस्पताल पुग्दा उनको अवस्था टीठलाग्दो थियो । घाँटीमा अतिशय जलन भइरहेको थियो । मृत्युले कतिखेर घेरा हाल्ने हो ? पत्तो थिएन । अनिश्चयको भुँवरीमा थियो जीवन ।

चिकित्सक तुरुन्तै उपचारमा जुटे । शल्यक्रिया गरेर जलेको भाग पन्छाए । घाउ गहिरिन दिएनन् ।

उनी अस्पताल पुग्दानपुग्दै श्रीमान् विष्णु पेप्सीकोलाबाट पक्राउ परे ।

शनैःशनैः घाउ खाटा बस्न थाल्यो ।

डेढ महिनाको अस्पताल बसाइपछि जेनी डिस्चार्ज भइन् । तर तेजाबले जलेको घाउमा खाटा बसिसकेको छैन ।

जेनीको अहिलेसम्म चार लाख रुपैयाँ खर्च भइसकेको छ । अद्यापि नियमितजसो शल्यक्रिया गरिरहनुपर्छ । घाउको सङ्क्रमण नफैलियोस् भनेर उत्तिकै चनाखो हुनुपर्छ । कतिञ्जेल यसरी अस्पताल धाइरहनुपर्ने हो ? त्यो पनि अनिश्चित छ ।

अहिले तेजाबको जलनमाथि नुनचुक लागेको छ ।

तेजाब आक्रमणपछि जेनी अस्पतालको शैय्यामा पुगिन् । श्रीमान् विष्णु हिरासतमा पुगे । महानगरीय प्रहरी वृत्त कमलपोखरीले बच्चा अलपत्र नपरोस् भनेर बूढानीलकण्ठमा रहेको बटरफ्लाइ होम (पुतली घर) को जिम्मा लगाएका थियो ।

झण्डै ४५ दिन अस्पताल बस्दा छोराको सम्झनाको जुलुस उठिरह्यो । कहिले निको होला र छोराको अनुहार हेरेर तेजाबको जलन शीतल तुल्याउँ लागेको थियो ।

अस्पतालबाट डिस्चार्ज भए पनि चिकित्सकले बाहिर नहिँड्न सुझाएका थिए । छोरो भेट्न त्यसैले रोक्यो ।

सङ्क्रमण फैलने भय कम्ता हुँदै गएपछि उनी बूढानीलकण्ठस्थित पुतली घरमा पुगिन् । विडम्बना उनले सञ्चालकबाट ‘तीतोवचन’को सामना गर्नुप¥यो ।

जबरजस्ती श्रीमान् बनेकाले नै तेजाबको आगामा हालिदिएपछि बच्चाको मुख हेरेर र उसैको अभिभावक बनेर जीवन काट्ने निधो गरेकी थिइन् ।

तर पुतली घरले उनको कुरा सुनेन ।

“बच्चा लैजाने भए श्रीमानको स्वीकृत ल्याउनूस् !,”  पुतली घरले कटु वचन बोल्यो ।

“बच्चा लैजान नमिल्ने भए एकपल्ट मुख त हेर्न दिनूस् !,” जेनीले अनुनय गरिन् ।

“अहँ मिल्दैन, बाबुको स्वीकृति चाहिन्छ !,” सञ्चालकले अड्डी कसे ।

“आफैंले जन्माएको छोरोको अनुहार हेर्न पनि नख्खु जेलभित्र पुर्पक्षका लागि थुनामा रहेको बन्दीसँग अनुमति लिनुपर्ने !,” पुतली घरको नियम सुनेर खाटा बस्दै गरेको घाउमा नुनचुक दलेझैं पीडा भयो । उनी डेढ घण्टा पुतली घरको ढोकाबाहिर बसिन् । अहँ ! छोराको अनुहार देख्न पाइनन् । 

“बच्चा दिन त नियम- उपनियम बाधक थियो होला । मानवीयताका आधारमा मुख त हेर्न दिइनुपथ्र्यो !,” उनी दुखेसो पोख्छिन् ।

एकातिर तेजाबको जलन निको भइसकेको छैन । अर्को, आफैंले जन्माएको छोरो भेट्न नपाउँदा मुटुमा घाउ लागेको छ जेनीको । त्यसमाथि अपराधीले सजाय पनि पाइसकेको छैन । 

“जेलबाट बाहिर आएपछि तेरो आमालाई एसिड हान्छु भनेर धम्क्याएको छ,” जेनीको अनुहारमा डर सलबलाउँछ ।

अस्पतालको शैय्यामा मृत्युसँग पौंठेजोरी खेलिरहँदा मुद्दाबारे बुझ्न पाएकी थिइनन् ।

डिस्चार्ज भएपछि थाहा पाइन्– मुद्दाको त सुनुवाइ नै सुरू भएको रहेनछ !

“पाँच महिना बितिसक्दा पनि तेजाबजस्ता जघन्य, ज्यान लिने उद्देश्यका साथ घटित घटनाको सुनुवाइ अझै सुरू नहुने !,” देशको न्याय प्रणाली देखेर उनको मुटु थप चोइटिएको छ ।

मुलुकी अपराध संहिता–२०७४ को दफा १९३ मा तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पार्नुलाई दण्डनीय अपराध त ठहर गरिएको छ । तर अपराधमा व्यवस्था भएको सजाय न्यायोचित छैन ।

यस्तो कसूर गर्नेलाई कसूरको प्रकृति हेरेर सजायको व्यवस्था गरेको छ । अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद, एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुने भनिएको छ ।

जेनीले चार महिनादेखि सहँदै आएकी पीडाको तुलनामा यो सजाय ज्यादै न्यून हो । मुलुकी अपराध संहिताले तोकेको दण्ड जरिवानाले जेनीको आलो घाउ खाटा बस्न किमार्थ सम्भव छैन । सामाजिक पुनःस्थापना त निकै टाढाको कुरा ।

“तेजाब छ्यापेर मेरो जीवन कुरूप बनाउने र पलपल मृत्यु सहन बाध्य बनाउने अपराधीलाई मिलेसम्म तेजाबमै डुबाउनुपर्छ नमिले जेलमै सडोस्,” जेनी आक्रोश पोख्छिन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro