“याहु..! पोखरेल अङ्कलको घरमा उलुउलु मासु–चिउरा खान जाने ।” कलाकार नाजिर हुसेनको बाल्यकालको दसैंको ताजा स्मरण हो यो वाक्य । नाजिरलाई स्मरण भएसम्म मुस्लिम भए पनि उनको परिवारले दसैं मनाउने गर्थ्यो ।
नाजिरको बुवाको मिल्ने साथी ध्रुवप्रसाद पोखरेलको घर र उनीहरुको घर एउटै टोलमा छ । उनको परिवार हरेक वर्ष दसैं मनाउन पोखरेलकै घर जान्थे । मुस्लिम भएका कारण उनीहरु हलाल गरिएको मासु मात्रै खान्थे । यसको लागि नाजिरका बुवा बिहानै पोखरेलको घर पुग्थे ।
नाजिर पनि आमा र दिदी–दाइहरुसँग पोखरेलको घरमै दसैं मनाउने जान्थे । “आमा–दाइहरुले भन्नुहुन्थ्यो, म दसैं भन्ने बित्तिकै पोखरेल अङ्कलकोमा उलुउलु मासु–चिउरा खान जाने भनेर दङ्ग पर्थें रे,” नाजिर आफ्नो बालापन सम्झन्छन् ।
तर उलुउलु मासु भनेको के हो त्यो उनलाई न त बाल्यकालमा थाहा भयो न त अहिले नै । त्यो शब्द कहाँबाट–कसरी आयो, त्यो नाजिरलाई थाहा छैन । तर त्यो वाक्य भने हरेक वर्षको दसैंमा ताजा भएर आउँछ ।
उनी सुनाउँछन्, “अहिले पनि दसैंमा मलाई दाइ–दिदीहरुले जिस्काउँदै उलुउलु मासु–चिउरा खाने होइन त कान्छा भन्नुहुन्छ । अनि सोध्नुहुन्छ तँलाइ याद छ कान्छा ?”
उनी जवाफमा अनुहारमा हाँसोसहित प्रतिप्रश्न गर्छन्, “हो र मैले त्यस्तो भन्ने गर्थें ?”
उनको घरवरिपरि राई, तामाङ, ब्राह्मण सबै जातिको बसोबास छ । मामाघर पनि हिन्दू भएकोले होला उनको परिवारमा धर्मको नाममा केही रोकटोक छैन । बरु सौहार्द्रपूर्ण वातावरणमा एकले अर्कोको पर्व मनाउँदै आएका छन् । संस्कृति आदानप्रदान गर्दै आएका छन् ।
उनलाई याद छ, सात वर्षको हुँदादेखि उनले दसैं मनाउन थालेको । त्यसको केही वर्षपछि भने आमा र परिवारसँग नाजिर राई मामाको घरको दसैं र तिहार मनाउन जान थाले ।
‘‘हाम्रो घरछेउकै आमाले भाई मान्नुभएको राई मामा हुनुहुन्थ्यो । पहिले त हामी मामाकोमा तिहारको टीकामात्रै लगाउन जान्थ्यौं । तर पछि भने दसैं पनि मामाकै घरमा मनाउन थाल्यौंं,” उनी भन्छन् । मामा राई भए पनि माइजु भने अर्कै जाति भएकोले मामाहरु निधारमा रातो टीका नै लगाउने गर्थे ।
दसैं भन्नेबित्तिकै नाजिर रातो टीका र जमरा सम्झिन्छन् । सानो हुँदा उनी आमासँग घटस्थापनाको दिन नै जमरा राख्न मामाघर जान्थे । जमरा राख्न गएको पहिलो साल उनी अच्चम परेका थिए ।
सानो टपरीमा माटो, गोबर हालेर धान छर्नुभयो माइजुले । गाँउघरमै हुर्केको अरुबेला धान रोप्न खेतमै बीऊ छरेको देखिरहेका नाजिरको कलिलो दिमागले प्रश्न गरिहाल्यो, “धान रोप्नलाई अब यसरी राख्ने हो बीऊ ?” योसँगै उनको मानसपटलमा अर्को प्रश्न पनि उब्जियो– यति सानो टपरीमा बीऊ छरेर कति नै हुने होला ? तर पछि त्यो रोपो भएन । जमरा भयो । खेतमा रोपिएन । कानमा सिउरियो । जमरा भाँचेर मामाले कानमा लगाइदिँदाचाहिँ खुब रमाइलो लागेको थियो उनलाई ।
आमाले सिकाउनुभएको संस्कार नाजिर र उनका दुई दाइ तथा दिदीले आजसम्म पनि आत्मसात गरिरहेका छन् । “आमाजीले सुरुवात गर्नु भएको हो । अहिले आमाजी नरहे पनि हामी उहाँले सिकाउनुभएको संस्कारलाई आत्मसात् गरिरहेका छौं र कहिले पनि बिर्सने छैनौं,” नाजिर भन्छन् ।
पछिल्लो केही वर्षयता नाजिर आफ्नो कलाकार करिअरलाई अघि बढाउन काठमाडौंमै बस्दै आएका छन् । नाजिर आफ्नो पर्व ईद र दसैं–तिहार दुवै सम्मानका साथ काठमाडौंमै मनाउँछन् ।
“मेरो लागि ईद र दसैं दुवै महत्वपूर्ण छ,” उनले भने । नाजिरको दसैंको ‘बेस्ट पार्ट’ भनेकै सानोबेला गाँउघरतिर खेलिने लिङ्गे पिङ र नयाँ लुगा हो । “दसैं भन्नेबित्तिकै सानोमा खेलिने लिङ्गे पिङ र दसैं आउनेबित्तिकै आमाजीले किनिदिने नयाँ लुगा दिमागमा आउँछ,” उनी भन्छन् ।
०००
दसंँमा रातो टीका, तिहारमा भाइटीका लगाएको भनेर उनले केही व्यक्तिबाट गाली पनि नखाएको होइन । तर उनी ती कुरामा दुःखी हुँदैनन् । नाजिरका अनुसार हरेक व्यक्तिको आआफ्नो धारणा हुन्छ । त्यो उसको स्वतन्त्रता पनि हो । नाजिरले अघिल्लो वर्ष तिहारमा टीका लगाएको फोटोले सामाजिक सञ्जालमा उनको ट्रोल बन्दा निकै दुःख नलागेको होइन ।
“कतिले चलचित्रको लागि स्टन्ट गरेको भने त कतिले चर्चित हुनको लागि तिहारमा टीका लगाएको फोटो सामाजिक सञ्जालमा राखेको भन्ने कुरा गर्नुभयो । तर मैले त्यसमा केही प्रतिक्रिया दिइनँ । जसरी उहाँहरुलाई आफ्नो कुरा राख्ने स्वतन्त्रता छ, उसैगरी मलाई पनि के गर्ने के नगर्ने भन्ने स्वतन्त्रता छ,” नाजिर स्पष्ट पार्छन्, “मैले दसैं–तिहार मनाएको आज कलाकार भएरमात्रै होइन, सानैदेखि मनाउँथेँ ।”
आफ्नो मनदेखि आएको कुरा र आफ्नी आमाबाट सिकेको संस्कारलाई बिर्सन नसक्ने उनको भनाइ छ । नेपालमा धेरै मुस्लिम आफ्नो घरमा नमनाए पनि साथीहरु, छरछिमेककोमा गएर दसैं मनाउने गरेको नाजिर बताउँछन् ।
नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको कारण पनि यहाँ तेरो मेरो भन्दा पनि हामी भन्ने भावना आफूमा रहेको उनको भनाइ छ । “म दसैँ मनाउछु भन्नुको अर्थ यो होइन कि म मेरो आफ्नै मुस्लिम समुदायको पर्वहरुलाई बेवास्ता गर्दैछु । म दुवै धर्म र पर्वलाई उत्तिकै महत्वको मान्छु,” नाजिर भन्छन् ।
०००
केही वर्षयताको दसैं उनलाई पहिलेको जस्तो आत्मीय भने लाग्दैन । पहिले गाउँघर जाँदा दसैंमा सबै सँगै बसेर रमाइलोको लागि तास खेल्ने, लुँडो खेल्ने, एउटै थालमा राखेर मासुचिउरा जिस्किँदै खाने गरिन्थ्यो । तर पछिल्लो पटक दसैंमा गाउँ जाँदा एकअर्कासँग सञ्चोबिसञ्चो सोध्ने भन्दा पनि हरेक व्यक्ति मोबाइलमै व्यस्त भएको पाए उनले ।
दसैंमा मात्रै होइन, उनी अरु बेला पनि सबैलाई जोड्न ल्याएको प्रविधिले आफ्नै छेउमा भएको व्यक्तिलाई पनि टाढा पुर्याएको हो कि भन्ने महसुस गर्छन् ।
यो प्रविधिले एकअर्काबीचको सामिप्यमा दूरी ल्याएको नाजिर बताउँछन् । तर उनीचाहिँ कोही व्यक्तिसँग हुँदा फोन नचलाउने बानी बसाइरहेका छन् ।
०००
सबै हिन्दू नेपालीलाई दसैंले छपक्कै छोपिसकेको छ । तर नाजिर भने अघिल्लो वर्षजतिको यो वर्ष खासै दसैंले नछोएको बताउँछन् ।
“अस्ति युरोपबाट फर्किंदादेखि नै यो पालि दसैंमा गाउँ जान्छु केके गर्छु भनेर सोचेको थिएँ । तर समयले गर्दा होला ती कुराहरु पूरा नहुने भयो,” उनी केही निराश हुँदै सुनाउँछन् ।
कामको व्यस्तता, समय र केही पारिवारिक कुराले गर्दा नाजिर यो वर्ष दसैंमा घर नजाने भएका छन् । दसैंको केहीदिनमै उनी आफनो आगामी चलचित्रको लागि पाल्पा जाँदैछन् ।