काठमाडाैं । गएको भदौ २० गते धादिङकी ३१ वर्षीया भूमिका सापकोटा परियार थापाथलीस्थित परोपकार प्रसूति गृहमा भर्ना भइन् । उनले नियमित गर्भ परीक्षण प्रसूति गृहमा नै गर्दै आएकी थिइन् ।
भर्ना भएको दोस्रो दिन अर्थात् भदौ २१ गते बिहान उनलाई अस्पतालका डाक्टरले सुत्केरी व्यथा लाग्ने औषधी दिए । सोही दिन बेलुका सुत्केरी व्यथाले च्याप्दै गयो । रातको करिब एक बजे भूमिकालाई अत्यधिक रगत बग्ने र पेट दुख्ने समस्या देखियो । भूमिकाका श्रीमान् अमरका अनुसार भूमिकालाई त्यस्तो समस्या देखिएपछि तुरुन्त नर्सलाई त्यो समस्या सुनाइयो ।
अमरले भने, “गृहका नर्स र डाक्टर छुद्र शब्दमा अहिले रगत नबगे कहिले बग्ने, अहिले पेट नदुखे कहिले दुख्नेलगायतका शब्दले गाली गरे । श्रीमतिको त्यो अवस्था देख्दा निकै पिडा हुन्थ्यो । डाक्टरलाई पटक पटक शल्यक्रिया गरेर नै बच्चा जन्माइदिनुहोस भन्दासमेत वास्ता गरेनन् ।”
जब अपरेसन गरेर बच्चा जन्माइयो, बच्चाको धड्कन नै बन्द भएको थियो । “भर्ना भएको तेस्रो दिन अर्थात् भदौ २२ गते बिहान करिब नौ बजे बच्चाको श्वासप्रश्वासमा समस्या देखिएपछि अपरेसन गरेर बच्चा जन्माइएको थियोे । तर बच्चा अपरेसन गरेर निकाल्दासम्म धड्कन चल्न छोडिसकेको थियो,” अमर भन्छन्, “श्रीमतीको अवस्था समेत गम्भीर बन्दै गएको थियो । मैले तुरुन्तै एक जना चिकित्सकलाई श्रीमतीको अवस्था बारेमा जानकारी गराए तर ती चिकित्सक भने अहिले म अपरेसनको बिरामी हेरिरहेको छु, अहिले राउन्डको डाक्टरले हेर्नुहुन्छ, भन्दै पन्छिन्थे ।”
उनले थपे, “पाठेघरको मुख नखुलेपछि पाठेघर फुटेको डाक्टरले बताएका थिए । तर पाठेघर फाल्नुपर्ने भनेका डाक्टरले दुई स्थानमा सिलाएका रहेछन् । त्यति बेलासम्म दुवै मृगौलाले काम गर्न छाडिसकेको रहेछ ।”
प्रसूति गृहका डाक्टरले भूमिकालाई तुरुन्तै भेन्टिलेटरमा राखेर उपचार गनुपर्ने बताएका थिए । तर वीर र टिचिङमा रिफर गर्ने अस्पतालका डाक्टरहरुले जनाएका थिए । त्यहाँ बेड खाली नभएपछि एक जना डाक्टरले काठमाडौं मेडिकल कलेजमा रिफर गरिदिए ।
काठमाडौं मेडिकल कलेजमा १२ दिन आईसीयूमा राखेर उपचार गरेर हाल सामान्य बेडमा सारिएको छ । तर उनी हिँडडुल गर्न समेत सक्दिनन् । उनको दुवै मृगौलाले काम नगर्ने भएको छ ।
मृगौला फेल के कारणले भएको हो भनेर सुत्केरी समयमा संक्रमण या अन्य कारणले ६ सातापछि मात्र थाहा हुने काठमाडौं मेडिकल कलेज (केएमसी)का डाक्टरहरुले बताएको भूमिकाका श्रीमान् अमरले सुनाए ।
उनले भने, “यदि अस्पतालले केही घण्टाअघि नै शल्यक्रिया गरेको थियो भने श्रीमतीको मृगौला फेल पनि हुने थिएन होला, बच्चा नि बच्थ्यो होला । अस्पतालमा नै यस्तो हेलचेक्र्याइँ हुने भए किन लग्नुपर्यो अस्पतालमा ? घरमै राखिन्थ्यो । यस्तो अवस्था आउँदैन थियो होला । तपाईंको बिरामी निको पार्ने जिम्मा मेरो भनेर अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले भनेका थिए । तर, पटक–पटक फोन गरेर भेट्न खोज्दा मिटिङमा छु भन्दै पन्छिए ।”
निर्देशक डा. गौतमका अनुसार भूमिकाको सुत्केरी हुने डेट कटेको हुँँदा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै सुत्केरी व्यथा लाग्ने औषधी दिइएको थियो । उक्त औषधीले सुत्केरी व्यथा लाग्यो तर उनको पाठेघर फुटेर अत्यधिक रगत बग्न थाल्यो । तुरुन्तै अपरेसन गरेर बच्चा जन्माइयो । भूमिकालाई आईसीयूमा राखियो । यस्तो समस्या कमै महिलामा देखिने उनी बताउँछन् ।
“पाठेघर फुटेर रगत बगेको, रक्तचाप घटेको र पिसाब कम आउने समस्या देखिएको थियो,” निर्देशक डा. गौतमले भने, “भूमिकालाई तुरुन्त डाइलासिस गनुपर्ने देखियो । डाइलासिस सेवा यहाँ नभएकाले वीर र टिचिङमा बेड खोज्दा नपाएपछि काठमाडौं मेडिकल कलेजका डाक्टरसँग कुरा गरेर मृगौलाको डाइलासिस गर्न त्यहाँ रिफर गरेको हो । अहिले उनको स्वास्थ्य अवस्था सुधार हुँदै आएको छ ।”