site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको नयाँ आयात करले अमेरिकीहरूको दैनिकी कसरी खर्चिलो बनाउँछ ?

काठमाडौं । डोनाल्ड ट्रम्पले विश्वका लगभग सबै देशमाथि लगाएको आयात करका कारण अमेरिकीहरूको दैनिकी खर्चिलो हुने देखिएको छ । अब विदेशी वस्तुको आयातमा गिरावट आउने र अमेरिकामा लुगादेखि कफीसम्मका दैनिक प्रयोग गरिने वस्तुको मूल्य बढ्ने देखिएको हो ।

गत बुधबार ट्रम्पले अरबौँ डलरको विदेशी वस्तुका लागि अप्रिल ५ देखि लागु हुने गरी कम्तीमा १० प्रतिशतको नयाँ आयात कर लगाउने घोषणा गरेका थिए । अमेरिकालाई धेरै कर लगाउने देशमाथि उनले ५० प्रतिशतसम्म कर लगाएका थिए ।

तर, अर्थशास्त्रीहरूले नयाँ आयात कर र अन्य देशहरूले अमेरिकाले लगाएको करको जवाफमा लगाउने करले अमेरिकी उपभोक्ताका लागि सबै क्षेत्रमा मूल्यवृद्धि गर्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी संघीय रिजर्भका अध्यक्ष जेरोम पावेलले पनि यसले मुद्रास्फीति बढाउने बताएको बीबीसीले जनाएको छ ।

Argakhachi Cement Island Ad

ट्रम्पको नयाँ आयात करका कारण अमेरिकामा विदेशी सामान आयात गर्ने कम्पनीहरूले तिर्ने करको बोझ ग्राहकमा सार्ने वा देशभित्र सामानको आपूर्ति नै घटाउन सक्ने भएकाले बजारमा आपूर्ति सीमित हुनेछ  ।

कपडामा टार्गेट, एच एन्ड एम, ग्यापजस्ता ब्रान्डमा असर
सबैभन्दा धेरै आयात कर लगाइएका भियतनाम, चीन र बंगलादेशलगायत देश अमेरिकामा कपडा निर्यात गर्ने देशमा पर्दछन् । यी देश शीर्ष पाँचमा पर्छन् । यी तीन देशमाथि अमेरिकाले ३४ देखि ४६ प्रतिशतसम्मको आयात कर लगाएको छ ।

आयात करका कारण अमेरिकीले सस्तो लुगा खोज्ने प्रमुख डिपार्टमेन्ट स्टोर (जस्तैः टार्गेट र वालमार्टजस्ता कपडा ब्रान्डहरू)ले दबाब महसुस गर्ने बताइएको छ ।

डेलावेयर विश्वविद्यालयको फेसन एन्ड अपारेल स्टडिज विभागका प्रोफेसर सेंग लूका अनुसार, ओल्ड नेभी, बानाना रिपब्लिक र एथ्लेटाजस्ता ब्रान्ड सञ्चालन गर्ने अमेरिकी खुद्रा व्यापारी ग्यापले आफ्नो लुगाको २१ प्रतिशत भियतनामबाट आयात गर्छ । यसबाहेक ३७ प्रतिशत लुगा भारत, इन्डोनेसिया र बंगलादेशबाट आउँछ । सस्तो फेसनका लागि परिचित एच एन्ड एमले आफ्नो धेरैजसो लुगा चीन र बंगलादेशमा उत्पादन गर्छ ।

अमेरिकी फेसन उद्योग संगठननले बुधबार एक विज्ञप्तिमार्फत नयाँ आयात करका कारण अमेरिकी न्यून आय भएका परिवारमा आर्थिक बोझ  बढाउन सक्ने चेतावनी दिएको छ ।

कफी र अन्य आयातित खाद्यान्नमा असर
अमेरिकामा प्रयोग हुने कफी लगभग सबै विदेशबाट आयात हुन्छ । यसले अमेरिकीहरूको खल्तीमा चाँडै नै ठूलो आर्थिक बोझ बढाउन सक्छ ।

अमेरिकाले कफी मुख्यतया ब्राजिल र कोलम्बियाबाट आयात गर्छ । अमेरिकाले ती देशको उत्पादनमा १० प्रतिशत आधारभूत आयात कर लगाउने घोषणा गरेको छ । यसबाहेक भियतनाम पनि केही विशेष प्रकारको कफीको प्रमुख निर्यातकर्ता हो ।

सान फ्रान्सिस्कोको कफी रोस्टरी ग्राफियोका मालिक स्वामी वाल्टर हासले आयात कर लागेपछि उनको कम्पनीले यसको असर तत्काल महसुस गर्ने बताए । यसबाट कफीको उपभोक्तामूल्य स्थायीरूपमा बढ्ने उनले बताए ।

यसबाहेक युरोपेली युनियन (ईयू)का देशबाट आउनेबाहेक विभिन्न देशबाट आयातित खाद्यान्न पनि महँगो हुन सक्ने बताइएको छ । अमेरिकाले ईयूलाई २० प्रतिशतको आयात कर लगाएको छ । यसकारण ओलिभ तेलजस्ता आधारभूत वस्तुको मूल्य पनि बढ्न सक्छ । किनभने यो इटाली, स्पेन र ग्रिसबाट आयात हुन्छ ।

जुत्ता ब्रान्डहरूमा एडिडासदेखि नाइकसम्मलाई असर
अमेरिकीहरूको आधारभूत आवश्यकता र फजुलखर्चमा पर्ने लोकप्रिय नाइक एयर फोर्स १ र एडिडास साम्बा जुत्ताहरू महँगो हुन सक्ने बताइएको छ । यी दुवै स्पोर्ट्सवेयर कम्पनी आफ्नो उत्पादनका लागि एसियाली कारखानामा धेरै निर्भर छन् ।

नाइकको लगभग आधा र एडिडासको ३९ प्रतिशत जुत्ता भियतनाममा बन्छन् । सन् २०२४ मा अमेरिकाले २७ अर्ब डलरभन्दा बढी जुत्ता आयात गरेकामा धेरैजसो चीन र भियतनामबाट आएका थिए । यसमा करिब तीन अर्ब डलर आयात कर लागेको बताइएको छ । अहिले यो कर रकम लगभग तेब्बर हुन सक्ने बताइएको छ ।

मदिरा : युरोपेली वाइन र बियरमा मूल्यवृद्धि
अमेरिकामा वाइन आपूर्ति गर्ने विदेशी आपूर्तिकर्तामा फ्रान्स अग्रस्थानमा छ । अमेरिकाका वाइन निर्माताले युरोपियन युनियनमा लाग्ने २० प्रतिशतको आयात करले उनीहरूको व्यवसायमा के असर पर्ला भन्ने चिन्ता व्यक्त गरेका छन् ।

फ्रान्सको बर्गन्डी क्षेत्रका उत्पादकहरूको प्रतिनिधित्व गर्ने बुर्गन्डी वाइन बोर्डले अमेरिकी आयात करले फ्रान्सेली निर्यातकर्ता र अमेरिकी उपभोक्ता दुवैलाई गम्भीर असर पर्ने बताएको छ । बोर्डका अध्यक्ष लोरेन्ट डेलौनेले थप आयात करले वाइनको मूल्य बढ्ने सक्ने चेतावनी दिएका छन् ।

साथै, आयातित बियर वा विदेशी रक्सी प्रयोग गरेका पेय पदार्थको मूल्य बढ्न सक्ने बताइएको छ । ट्रम्पले आल्मुनियमको आयात कर क्यान बियरमा समेत विस्तार गरेका कारण घरमा बसेर पिउनेहरूका लागि पनि  बियर महँगो बनाउँछ ।

विश्लेषकहरूका अनुसार, आयात करको लागत ठूला मदिरा विक्रेता आफैँले नबोकेमा पाँच प्रतिशतसम्म मूल्य बढ्नेछ ।

आइफोन र भिडियो गेमिङजस्ता विद्युतीय सामग्रीमा असर
मोबाइल फोन, टीभी र भिडियो गेम उपकरण प्रायः अमेरिकामा खरिद हुने महँगा वस्तुमा पर्छन् । पछिल्लो अमेरिकी आयात करले यी वस्तु अझ महँगो बनाउन सक्नेछ । चीन, ताइवान र दक्षिण कोरिया यी सबै अमेरिकातर्फ इलेक्ट्रोनिक्स निर्यात गर्ने मुख्य देश हुन् ।

लगभग सबै आइफोन चीनमा बन्छन् । यद्यपि, केही भारतमा पनि बन्छन् । अमेरिकाले भारतलाई खराब व्यापारिक देशको सूचीमा राखेको छ । भारतलाई २६ प्रतिशत आयात कर लगाएको छ । भियतानममा सामसङ मोबाइल उत्पादन हुन्छ ।

यी प्रमुख प्रविधि कम्पनीले नयाँ आयात करप्रति कस्तो प्रतिक्रिया जनाउनेछन् भन्ने कुरा अझै स्पष्ट भएको छैन । तर, जापानी भिडियो गेमिङ कम्पनी निन्टेन्डोले शुक्रबार आफ्नो स्विच २ कन्सोलको प्रिअर्डर स्थगित गर्ने घोषणा गरेको छ । 

टेमु र सिनबाट किनमेल गर्न महँगो पर्न सक्ने
अमेरिकनहरूलाई अब चिनियाँ अनलाइन टेमु र सिनजस्ता रटेलरबाट मोबाइलमा स्वाइप गरेर सस्तो कपडा किनमेल गर्न अब पहिलेभन्दा महँगो पर्ने भएको छ । चीनमाथि आयात कर लागु गर्नुका साथै ट्रम्पले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर सानो मूल्यका सामानहरूमा महसुल नलाग्ने छुट अन्त्य गरेकाले उपभोक्तलाई असर पर्ने बताइएको छ ।

यसअघि, अमेरिकामा ८०० डलरभन्दा कम मूल्यका सामानलाई करमुक्त गरिएको थियो । अब यो नयाँ आदेशले यी कम्पनीहरूले ग्राहकलाई सिधै पठाउने कपडामा पहिलोपटक कर तिर्नुपर्ने हुन सक्छ । यो छुट हटाइएपछि यस्ता सामानहरूको मूल्य कति बढ्न सक्छ भन्ने कुरा अझै स्पष्ट छैन । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्