
काठमाडौं । कार्ल्सबर्ग ग्रुपको गोर्खा ब्रुअरी प्रा.लि. फेरि नेपालीको स्वामित्वमा आउने भएको छ । नेपालमा मदिरा उत्पादन गर्दै आएको व्यावसायिक घरना जावलाखेल ग्रुप अफ कम्पनीजले गोर्खा ब्रुअरीको स्वामित्व खरिद गर्न लागेको हो ।
जावलाखेल ग्रुप र गोर्खा ब्रुअरीको माउ कम्पनी कार्ल्सबर्गबीच हाल स्वामित्व खरिद–बिक्रीका लागि छलफल भइरहेको छ । आउँदो दुई–तीन साताभित्र खरिद–बिक्रीको ‘डिल’ टुंग्याउने गरी छलफल अघि बढेको स्रोतले बतायो । सेयर हिस्सा र लगानी रकमको विषयमा अझै टुंगोमा नपुगेको ग्रुपका एक अधिकारीले बाह्रखरीलाई बताए । लगानी खाकामा लगभग सहमतिनजिक पुगेको स्रोतको भनाइ छ ।
नेपालको बियर बजारमा गोर्खा ब्रुअरीको हिस्सा ठूलो छ । उद्योगले कार्ल्सबर्ग, टुबोर्ग, गोर्खा स्ट्रङका साथै हलुका पेयपदार्थ सेन्सबेरी उत्पादन गर्दै आएको छ । कार्ल्सबर्ग र टुबोर्ग ग्लोबल वियर ब्रान्ड हुन् भने गोर्खा स्ट्रङ नेपाली ब्रान्ड हो ।
गोर्खा ब्रुअरीको स्वामित्व लिन लागेको जावलाखेल ग्रुपको वियर नेपाली बजारमा लोकप्रिय रहेका छन् । ग्रुपले बडबाइजर, वाइस्टनर, नमस्ते र माउन्टेन आइसजस्ता ब्रान्डका वियर उत्पादन गर्दै आएको छ । बडवाइजर र वाइस्टनर पनि ग्लोबल ब्रान्डका वियर हुन् । जावलाखेलको वियरका साथै गोल्डेन ओक ह्विस्की र रुसलान भोड्का नेपालमा लोकप्रिय मदिरा ब्रान्ड हुन् ।
गत साउनमा खेतान ग्रुपले गोर्खा ब्रुअरीको १० प्रतिशत स्वामित्व बिक्री गरेर बाहिरिएको थियो । हाल नेपालमा सञ्चालनमा रहेको गोर्खा ब्रुअरीको पूर्ण स्वामित्व कार्ल्सबर्ग ग्रुपको छ ।
व्यावसायिक घराना खेतान ग्रुपले सिंगापुरस्थित कम्पनीमा रहेको आफ्नो सेयर गत साउनमा एक खर्ब रुपैयाँमा बेचेको थियो । खेतान ग्रुपका निर्देशक सीपी खेतानले गोरखाको स्वामित्व कार्ल्सबर्ग इन्डियामा रहेको सेयर डेनमार्कको कार्ल्सबर्ग समूहलाई ७४ करोड ४० लाख अमेरिकी डलर (हालको डलरको भाउअनुसार झन्डै एक खर्ब रुपैयाँ)मा बिक्री गरेका थिए ।
नेपालको गोर्खा ब्रुअरीमा कार्ल्सबर्ग साउथ एसियाको १०० प्रतिशत स्वामित्व छ । १२ वर्षअघिसम्म गोर्खा ब्रुअरीमा कार्ल्सबर्ग र खेतान ग्रुपको बराबर हिस्सा थियो । खेतानले आफ्नो ४० प्रतिशत हिस्सा कार्ल्सबर्ग ग्रुपलाई बिक्री गरेको थियो । खेतानको गोर्खा ब्रुअरीमा १० प्रतिशत भएको हिस्सा गत साउनमा बेचेको हो ।
गोर्खा ब्रुअरीको चुक्तापुँजी एक अर्ब ३९ करोड ८९ लाख रुपैयाँ छ । ब्रुअरीको सिंगापुरमा रहेको कम्पनी कार्ल्सबर्ग साउथ एसियामा ९० प्रतिशत अर्थात् एक अर्ब २५ करोड ९० लाख ७७ हजार ५०० रुपैयाँको सेयर छ ।
यस्तो छ जावलाखेलको मदिरा व्यापार
मुलुकको व्यावसायिक प्रतिष्ठान जावलाखेलको जेजीआई डिस्ट्रिब्युसनले २०२४ को ६ महिनामा पाँच अर्ब ११ करोड ८० लाख रुपैयाँको मदिरा बिक्री गरेको छ । यो गत जेठसम्मको हो । एक वर्षको वित्तीय विवरण आउन बाँकी छ ।
कम्पनीले सन् २०२३ मा १३ अर्ब ६२ करोड ५० लाख रुपैयाँको मदिरा बिक्री गरेको थियो । यस्तै, २०२२ मा १६ अर्ब ९८ करोड ९० लाख रुपैयाँको मदिरा बिक्री गरेको थियो । २०२२ को तुलनामा २०२३ मा कम्पनीको मदिरा बिक्री झन्डै तीन अर्ब रुपैयाँ घटेको थियो । २०२१ मा कम्पनीले १४ अर्ब ५० करोड २७ लाखको मदिरा बिक्री गरेको थियो । २०२० मा जेजीआईले ११ अर्ब ३६ करोड ६० लाख र २०१९ मा १३ अर्ब ३१ करोड २० लाखको मदिरा बिक्री गरेको थियो । यसबीचमा कम्पनीको कुल आम्दानीमा गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजर र हिमालयन ब्रान्डीको ५९ प्रतिशत हिस्सा छ ।
भोड्का जिन र आइलाको २२ र बडबाइजर बियरको हिस्सा १९ प्रतिशत मात्र छ । सन् २०२३ मा गोल्डेन ओक र ब्लु डाइमन्ड जिनको हिस्सा ६२ र २०२२ मा ६८ प्रतिशत थियो । तर, यी दुई ब्रान्डको हिस्सा घट्दै गएको कम्पनीले जनाएको छ ।
जावलाखेल ग्रुपअन्तर्गतका हिमालयन डिस्टिलरी लिमिटेड, विजय डिस्टिलरी, एसियन डिस्टिलरी र रोलिङ रिभर डिष्ट्रिलरीले उत्पादन गरेका विभिन्न ब्रान्डको मदिराका साथै राज ब्रुअरीको बडवाइजर बियर बिक्री वितरण गर्दै आएको छ । हिमालयन डिष्ट्रिलरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनी हो । यो कम्पनीले लगानीकर्ताहरूलाई राम्रो लाभांश दिँदै आएको छ ।
जावलाखेलभित्रका पाँचवटै कम्पनीमा विजयबहादुर शाह र उनका छोरा राजबहादुरको स्वामित्व छ । राजबहादुर ग्रुपका अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् । उनी मदिरा तथा पेयपदार्थ उत्पादनमा लागेको चार दशक बढी भइसकेको छ । जेजीआईमा विजयबहादुरको ५५ र राजबहादुरको ४५ प्रतिशत हिस्सा छ । व्यक्तितर्फ सबैभन्दा धेरै आय कर तिर्नेमा जावलाखेलका अध्यक्ष राजबहादुर सम्मानित भएका छन् । यसअघि विजयबहादुर लगातार बढी आयकर बुझाउने व्यक्तिको सम्मान पाउँदै आएका छन् ।
सन् १९७३ मा विजयबहादुरले जावलाखेल डिष्ट्रिलरी स्थापना गरेर मदिरा व्यवसायमा प्रवेश गरेका हुन् । कम्पनीले पहिलोपटक सेतो मदिरा रूस्लान भोड्का उत्पादन सुरु गरेको थियो । हाल ग्रुपभित्र मदिरा र बियर उत्पादन छ ।