site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
६३ जिल्लामा स्क्रब टाइफस, तीनजनाको मृत्यु

काठमाडौं । देशका ६३ जिल्लामा करिब सात सय जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो आठ महिनाको तथ्यांकअनुसार ६६६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो । जसमा तीनजनाको मृत्यु भएको छ । 

गत वैशाख ३० देखि सुनसरीबाट फैलिएको डेंगु संक्रमण नरोकिएको अवस्थामा थप अर्को किटजन्य रोग स्क्रब टाइफस देखिँदा सरकारलाई चुनौती थपिएको विज्ञहरु बताउँछन् । पछिल्लो आठ महिनाको तथ्यांक हेर्दा सबैभन्दा बढी प्रदेश ५ मा यसको संक्रमण देखिएको छ । उक्त प्रदेशमा २३७ जनामा संक्रमण देखिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा आठ जनामा देखिएको छ । 

त्यस्तै, प्रदेश ३ मा २०४ जनामा संक्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेशमा १२३ जनामा स्ांक्रमण देखिएको छ । गण्डकी प्रदेशमा ५१ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । प्रदेश २ मा २२ जनामा संक्रमण देखिएको छ भने प्रदेश १ मा १८ जनामा संक्रमण देखिएको महाशाखाका प्रमुख विवेक लालले बताए । 

“नेपालमा भूकम्प आएपछि बढी मात्रामा मुसा देखिन थालेको र त्यसको टोकाइका कारण मानिसहरू संक्रमित बन्दै गइरहेको देखिन्छ,” उनले भने, “पहिलेको तुलनामा अहिले स्क्रब टाइफसका बिरामी समयमा उपचारका लागि आउने गरेका छन् ।”

अत्यधिक ज्वरो आउने, शरीरबाट पसिना आउने, शरीरका विभिन्न भागहरूमा स–साना बिबिरा आउने र श्वासप्रश्वासमा समस्या आउने आदि लक्षण देखिएमा तुरुन्तै उपचारका लागि जानुपर्ने डा. लालको सुझाव छ ।

सन् २०१८ मा एक हजार ९८ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको थियो । जसमा चार जनाको मृत्यु भएको थियो । सन् २०१७ मा यस रोगबाट ६ सय ७० जना संक्रमित भएकोमा नौ जनाको मृत्यु भएको थियो । विज्ञहरुका अनुसार स्क्रब टाइफसको संक्रमण असारदेखि असोजसम्मको समयमा बढी देखिन्छ । 

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले स्क्रब टाइफस मुसाको शरीरमा बस्ने एक प्रकारको सुक्ष्म जीवाणु ओरेन्टिया सुसुगामी नामक कीरा (माइट)को टोकाइका कारण मानिसमा सर्ने बताए । “यो कीरा अथवा माइट झाडी, घाँस र खेतबारीमा पाइने मुसा प्रजातिमा पाइन्छ  । यो रोग ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्ने हुन्छ,” उनले भने, “यो रोगको समयमा उपचार गरेमा सामान्य एन्टिबायोटिकले ठिक हुने तर उपचार ढिलाइ भएको अवस्थामा शरीरभर फैलिएर फोक्सो, कलेजो, मस्तिष्कमा थुप्रै प्रकारका संक्रमण हुने गम्भीर अवस्था आउँछ ।”

सामान्यतया संक्रमित परजीवीले टोकेको ५ देखि १४ दिनसम्मा लक्षण देखिने हुन्छ भने कसैकसैमा भने २० दिनपछि मात्र देखिने हुँदा यसको लक्षण देखिने बित्तिकै उपचारका लागि अस्पताल जानुपर्ने डा.पुनको भनाइ छ ।

लक्षण
अत्यधिक ज्वरो आउने 
शरीरबाट पसिना आउने 
श्वासप्रश्वासमा समस्या आउने 
शरीरका विभिन्न भागहरूमा स–साना बिबिरा आउने 
कसैकसैमा आँखा रातो हुने 

यसरी सकिन्छ बच्न
घर वरिपरी सरसरफाई गर्ने 
मुसा आउन नदिने 
खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउने 
खुला चौरमा नबस्ने वा सुत्ने नगर्ने 
संक्रमित मुसाले टोकेको अवस्थामा लक्षण देखिएमा तुरुन्तै उपचारका लागि जाने 

प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  ११:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro